
काठमाडौं । सरकारले औपचारिक रुपमा मदिराको आयातमा प्रतिवन्ध लगाएपछि बजारमा डुब्लिकेट मदिराको बिगबिगी बढेको जनाइएको छ । नेपाल मदिरा पैठारी संघले आज एक विज्ञप्ति निकाल्दै बजारमा अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरुको बिगबिगी देखिन थालेको बताएको हो ।
बजारमा देखिएको डुब्लिकेट मदिराले आम जनस्वास्थ्यमा प्रतिकुल असर पार्नसक्ने संघले जनाएको छ । संघका अनुसार भारतमा मदिरामा भएको अधिकतम मूल्य र नेपालमा पाइने मूल्यमा ठुलो अन्तर भएकाले भारतीय बजारबाट ठुलो परिमाणमा मदिरा तस्करी हुन लागेको छ ।
साथै नेपालमा वार्षिक रुपमा सिल बन्द भएका मदिरा १ करोड २० लाख अमेरीकी डलर बराबरको मात्रै हुने गरेको र सो अयात भनेको नेपालबाट बाहिरिने कूल विदेशी मुद्राको जम्मा ०.१० प्रतिशत मात्रै हो । १ करोड २० लाख अमेरीकी डलर खर्च गरेर मदिरा आयात गर्दा सरकारले ३ अर्ब ३० करोड बराबरको राजस्व आम्दानी गर्ने गरेको संघको दाबी रहेको छ ।
नेपालमा घुम्न आउने पर्यटकहरुले अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरु नै उपभोग गर्न खोज्ने र अहिले सरकारले लगाएको प्रतिवन्धका कारण पर्यटन क्षेत्रलाई नै नकरात्मक प्रभाव पार्न खोजेको संघको भनाइ रहेको छ । साथै संघले सरकारले मदिरा आयातमा लगाएको प्रतिवन्ध छिट्टै नै नहटाए यसले प्रतिकुल प्रभाव पार्ने कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
मदिरामा लगाएको आयात प्रतिवन्धका कारण होटल, रेष्टुरेन्ट र बारहरुले आफ्नो आम्दानी क्षमता गुमाउँदै गएको र कामदारहरु हटाउन पर्ने अवस्था सिर्जना हुनसक्ने बताउँदै संघले त्यस्तो परिस्थिति आएमा व्यापक बेरोजगारीको स्थिति पैदा हुने जनाएको छ ।
अहिले सरकारले कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिवन्ध श्रावण १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । सरकारले लगाएको आयात प्रतिवन्धका कारण सम्पुर्ण मदिरा व्यवसाय क्षेत्र प्रभावित हुन पुगेको हो।