विकासन्युज

मोरू वालेटबाट क्यूआर भुक्तानी गर्न सकिने

काठमाडाैं । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु भएकाे छ । हालै पे नेप प्राइभेट (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज सँग सम्झौता गरी एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो । यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५ प्रतिशत वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन । यसैगरी, भविष्यमा  स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।  

डिशहोमले सुरु गर्यो ‘आइ टिभी’

तस्विर : रिसब चौधरी, विकासन्युज काठमाडौं । डिश मिडिया नेटवर्कले आइ टिभीको सेवा सुरु गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइ टिभीको सेवा सुरु गरेको हो । सेवा सुरुवात गर्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले संसारको सबैभन्दा राम्रो प्रविधीमा कम्पनीले कम्प्रोमाइज नगर्ने बताए । आइ टिभी वर्ल्ड क्लास प्रविधी भएको उनी बताउँछन् ।  यस्तै, कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यले ग्राहकको रोजइ र मागलाई मध्यनजर गर्दै आइ टिभी ल्याएको बताए । कम्पनीको अनुसार आइ टिभी डिटिएच र टेरेस्ट्रियलभन्दा फरक रहेको छ । प्रविधी इन्टरनेट प्रोटोकल बेस्ड आइपि टिभीमा सर्टस टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा बढि टिभी च्यानलहरु रहेको कम्पनीले जानकारी दिएको छ । यसका साथै यसमा ५ हजार घण्टाभन्दा बढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याचअप टिभीरस्टार्टओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ । नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्कले विगत १२ वर्ष देखि सेवा दिइरहेको छ । २०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेको यस कम्पनीले पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको हो ।

एसईईको रिजल्ट तीन माध्यमबाट हेर्न सकिने

फाइल फाेटाे काठमाडौं । २०७८ सालको एसईई (माध्यामिक शिक्षा परीक्षा)को परीक्षाफल सार्वजनिक हुने अन्तिम तयारीमा छ । यो अवसरमा विद्यार्थीलाई परीक्षाफल थाहा पाउन सहज बनाउने हिसावले नेपाल टेलिकमले विभिन्न माध्यमबाट परीक्षाफल हेर्न मिल्ने व्यवस्था मिलाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने उक्त परीक्षाफल कल गरेर (आईभीएस), एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै, नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, एसएमएस मार्फत पनि उक्त परीक्षाफल हेर्न सकिने छ । मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान (स्पेस) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर एसईई स्पेश सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउन सकिने छ । त्यसैगरी, विद्यार्थीले टेलिकमको वेबसाइटबाटै पनि मार्कसिट सहितको नतिजा प्राप्त गर्न सक्नेछन् । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ । उक्त परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पछि मात्रै हेर्न सकिने छ ।

एकैदिन ६३८ जनामा देखियो कोरोना, २ जनाको मृत्यु

काठमाडौं । मंगलबार कोरोनाको ६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार ५ हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनामा संक्रमण देखिएको हो । गत २४ घण्टामा २१८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३ हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

५ करोड घुस लिएको आरोप लागेका डा. चौरसियालाई स्वास्थ्य मन्त्रालयमा उपस्थित हुन आदेश

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता सम्बन्धमा सोधपुधका लागि आज पत्र काटेका छन् । औषधि खरिद लगायतमा अनियमितता गरेको भन्दै वास्तविकताका सम्बन्धमा सोधपुध गर्न मन्त्रालय उपस्थित हुनका लागि डा चौरसियालाई पत्र काटिएको हो । पत्रमा डा चौरसियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाखको लेनदेनको सरुवा गरेको, पाँच करोडभन्दा बढी घूस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको तथा ०.५ प्रतिशत कमिसन लिने गरेको आरोप सञ्चार माध्यममा प्रकाशन प्रशारण भएकोप्रति राज्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

नाफा बुक गर्नेको हावी हुँदा घट्यो सेयर बजार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक गरेको तेस्रो दिनमा आएर सेयर बजारमा राताम्य छाएको छ । मौद्रिक नीति सार्वजनिक भएको २ दिन लगातार बढेको सेयर बजार तेस्रो दिनमा आएर भारि अंकले घटेको छ । सार्वजनिक कार्यक्रममा नै विभिन्न संघ संस्थाका अध्यक्ष लगायतले नै मौद्रिक नीतिका तरलताको समस्या कायम रहने वक्तव्य दिएका कारण लगानीकर्तामा निराशा छाएको छ । साथै नेपाल बैंकर्स संघले झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप घटेको तथ्याङ्क सार्वजनिक गरेपछि सेयर बजारमा प्रभाव परेको सेयर जानकार बताउँछन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । साथै आज दिनभरिमा २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ६० हजार ५१७ पटक किनबेच हुँदा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नप्सेले जनाएको छ । दुई दिन लगातार उच्च अंकले सेयर बजार बढेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजार घटेको सेयर जानकारहरुले बताएका छन् । साथै ब्याजदर अझै बढ्न सक्ने भएकाले पनि बजारमा त्यसको प्रभाव परेको बताइएको छ । मंगलबार बैंकिङ्ग समूह १.७९ प्रतिशत, ट्रेडिङ्ग समूह २.३९ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७७ प्रतिशत, विकास बैंक समूह २.९६ प्रतिशत, हाइड्रोपावर समूह १.९४ प्रतिशत, फाइनान्स समूह २.७७ प्रतिशत, निर्जीवन बीमा समूह १.२४ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.७३ प्रतिशत, अन्य समूह ३.५६ प्रतिशत, माइक्रोफाइनान्स समूह २.२८ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.५६ प्रतिशत घटेको छ । आज मल्टिपर्पाेज फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.३२ प्रतिशत बढेको छ । त्यस्तै सूर्याेदय वोमी लघुवित्तको ६.७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ६.१९ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गणपति लघुवित्तको ६.८२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १९ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

खल्तीमा ५२ दिनमा एक करोडभन्दा बढी पटक कारोबार

काठमाडौं । खल्ती हाइपरलिंकले आफ्ना प्रयोगकर्ताहरूका लागि आयोजना गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा १ करोडभन्दा बढी संख्यामा कारोबार भएको छ । कम्पनीले जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको अफरमा पाँच लाख ग्राहकले सो संख्यामा कारोबार  गरेका हुन् । यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले क्यासब्याक तथा थुप्रै उपहार जितेका थिए । यसकाा साथै अफर अन्तर्गत ३ जनाले बजाज पल्सर एनएस १६० एबिएस बाइक, ७६ जनाले ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टिभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट र  ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेका थिए । डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न अफरहरू प्रदान गर्दै आईरहेको छ ।

खप्तड लघुवित्त र इस्टर्न हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न दुई कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । सेबोनले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुलाका लागि अनुमति दिएको हो । खप्तड लघुवित्तलाई साउन १० गते र इस्टर्न हाइड्रोपावरलाई साउन ९ गते आईपीओ निष्काशन गर्न सेबोनले अनुमति दिएको हो । खप्तड लघुवित्तले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, इस्टर्न हाइड्रोपावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि चुक्ता पूँजीको २० प्रतिशत अर्थात् १२ करोड ४० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका कुल १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।