प्रभु क्यापिटलको एप डाउनलोड गर्दा एक लाखसम्म जित्न सकिने
काठमाडौं । प्रभु क्यापिटल हितग्राही सदस्यका लागि क्यासटिभल अफर ल्याएको छ क्यापिटलले साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै अफर ल्याएको जनाएको छ । यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिष्टर गरी आफ्नो डिम्याट खाता लिंक गर्नुपर्नेछ । यस अफरमा मासिक रुपमा ३ जना विजेताले ५ हजार, ३ हजार र २ हजार जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जनाले एक लाख जित्न सक्नेछन् । यो योजना हालसम्म एप डाउनलोड गरेको हितग्राहीको हकमा समेत लागू हुने कम्पनीले जनाएको छ ।
अब ४० माइक्रोनभन्दा पातलो झोला र प्लाष्टिकको फूल प्रयोग गर्न नपाइने
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले प्लाष्टिकजन्य पूष्पगुच्छा, माला लगायतका सामाग्रीको आयात, उत्पादन र विक्री वितरण तथा भण्डारणमा रोक लगाएका छन् । वातावरण प्रदूषण कम गर्नदेखि लिएर मानवीय स्वास्थयलाई मध्यनजर गर्दै मन्त्री यादवले गरेको प्रस्तावमा मन्त्रालयमातहतको वातावरण विभागले प्लाष्टिकजन्य सामाग्रीको आयातमा रोक लगाउने सूचना मङ्गलबार जारी गरेको छ । प्लाष्टिकजन्य पूष्पगुच्छा र मालाको आयातमा रोक लगाउँदा वार्षिक करिब १० करोड रुपैयाँको आयात रोकिने मन्त्री यादव बताउँछन्। ‘वातावरण प्रदूषण पनि कम हुने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूलको उपयोग बढ्दा पूष्प व्यवसाय पनि प्रवद्र्धन हुने भएकाले यस्ता सामाग्रीको आयातदेखि उत्पादन र विक्रीवितरणमा रोक लगाइएको हो,’ उनले भने । घरेलु उत्पादनमा संलग्न भएकाहरुलाई वैकल्पिक पेशा प्रदान गर्नुका साथै घरभित्रको सजावटमा प्राकृतिक फूल उपलब्ध गराउनु चुनौतीपूर्ण भएपनि सम्पूर्ण चुनौतीको सामना गर्ने आफू तयार रहेको मन्त्री यादवले बताए । नेपाल सरकारले निर्णय गरेर सर्वोच्च अदालतले परमादेश गरेपनि कार्यन्वयन हुन नसकेको बताउँदै मन्त्री यादवले कार्यन्वयन गरेर सरकारलाई सहयोग गर्न आग्रह गरे । यादवले फोहोर व्यवस्थापन एवम् वातावरण प्रदूषण रोक्नका लागि पनि प्लाष्टिकजन्य झोलाको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए । माघ १७ गते २०७८ को मन्त्रिपरिषद्को निर्णयअनुसार प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भई कार्यन्वयनको चरणमा भएपनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन । कोभिड(१९ को प्रकोपका कारण अनुगमन खुकुलो भएपनि अब अनुगमनलाई तिव्रता दिएर यस्ता सामाग्रीको प्रयोग भएको पाइएमा कानुनबमोजिम कारवाही पनि गरिने उनले चेतावनी दिए ।
नेपाल एयरलाइन्सले ८ महिनामा कमायो ८ अर्ब
काठमाडौं । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले रु तीन अर्ब २७ करोड जतिबेला पनि चलाउन सक्छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा ५८ करोड नगद मौज्दात भएकामा करिब दुई अर्बको नगद मौज्दात भई एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ । दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । ओभर ड्राफ्ट रकम भुक्तानीले पाँच महिनाको अवधिको निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत हुन गएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ । निगमको आठ महिनामा आठ अर्ब आम्दानी निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम आठ महिना (साउनदेखि फागुन)सम्म रु आठ अर्ब ३८ करोड आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी पाँच अर्ब ७० करोड रहेको थियो । निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ । कात्तिकमा ए–३२० ले सात घण्टा ३८ मिनेट र ए–३३० ले छ घण्टा ३८ मिनेटले बढेको छ । चैतमा नौ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ । विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सञ्चालन भएका छन् । निगमका एक उच्च अधिकारीका अनुसार कात्तिकमा दिल्लीको दैनिक एक उडान भएकामा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा तीन उडान भइरहेको छ । बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान सङ्ख्या बढाएर उडान भएका छन् । निगमले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ र कार्गोतर्फ २४ वायुसेवाहरूसँग सम्झौता गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखी निगमको उडानको सीमालाई व्यापक सुधार गरी अन्तर्राष्ट्रिय ख्यातिमा पनि वृद्धि गरिएको छ । निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पिएसएस’ पद्धतिमार्फत रिजर्भेशन, टिकेटिङ, एयरपोर्ट चेकिङ, इन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ । मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल परीक्षण र अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत् प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ । रासस
बेसहारालाई प्रहरी अस्पताल नि:शुल्क उपचार
काठमाडौं । नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ । सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थाबाट उद्धार गरेर आश्रमको संरक्षणमा राखिएका व्यक्तिलाई अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्रहरी अतिरीक्त महानिरीक्षक डा आशा सिंह र आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् अस्पतालले विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत आश्रमको संरक्षणमा रहेका व्यक्तिलाई तीन शैय्या उपलब्ध गराउने भएको छ । उक्त सम्झौतापछि अब बेसहारा नागरिकले समेत निःशुल्क रुपमा उपचार प्राप्त गर्न सक्ने छन् । साथै, अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीका लागि भर्ना भइसकेपश्चात् औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइने भएको छ । मेडिकल डाइरेक्टर सिंहले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । ‘जीवनरक्षाका लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिको जीवन पनि बचाउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो । आगामी दिनमा उक्त आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु ,’ उनले थपिन् । अस्पतालसँगको सहकार्यले यस आश्रमको काममा सहजता हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । ‘सडकपेटीबाट उद्धार गरिएका व्यक्ति विभिन्न क्यान्सर, एचआइभी एड्स, हेपाटाइटिस, मिर्गौलाले काम नगर्नेजस्ता रोग लागेका व्यक्ति छन् । अस्पतालको साथले हामीमा थप हौसला बढेको छ,’ उनले भने, ‘यो सम्झौता एक वर्षका लागि रहेको र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने छ ।’ आश्रमले हाल सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा शाखा स्थापना गरी सहयोगापेक्षी सडकआश्रित व्यक्तिको उद्धार एवं संरक्षण गरिरहेको छ । अहिले आश्रमको संरक्षणमा करिब एक हजार ५०० आश्रित छन् भने संस्थाको स्थापनादेखि १० वर्षको अवधिसम्म आइपुग्दा सातहजार २०० बढीको उद्धार भइसकेको छ ।
धितोपत्र बोर्डको नीति तथा कार्यक्रमले मौद्रिक नीतिको व्यवस्थालाई समेट्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आगामी बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सेवोनले साउन १२ गते धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । बोर्डका अध्यक्ष भएर आएसँगै रमेशकुमार हमालले भने पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छन् । अध्यक्ष भएर आएको छोटो अवधिमा पूँजी बजारको विकासको लागि केही गृहकार्य गरिरहेका हमालले महत्वपूर्ण योजना ल्याउने अपेक्षा गरिएको छ । साथै, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्थालाई अध्यक्ष हमालले नीति तथा कार्यक्रममा समेट्ने बुझिएको छ । उक्त नीति तथा कार्यक्रमका लागि बोर्डले बजारका सरोकारवालाहरुसँग राय तथा सल्लाह/सुझाव मागिसकेको छ । जसको अन्तिम म्याद असार २० गतेसम्म थियो ।
सिद्धार्थ बैंकका ग्राहकलाई धनगढीको नोभा अस्पतालमा २० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र धनगढीस्थित नोभा अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पतालका तर्फबाट प्रशासन अधिकारी सुमन भट्ट पनेरुले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अस्पतालमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
भिन्न अर्बिटमा काम गर्छौं र बीमाको केन्द्रमा हामी हुन्छौं : विजय बहादुर शाहसँगको अन्तर्वार्ता
बीमा क्षेत्रमै पहिलो मर्जर भएर बजारमा नयाँ पदचिन्ह छोडेको छ हिमालयन एभरेष्ट इन्स्योरेन्सले । कम्पनीले नयाँ आर्थिक वर्षको पहिलो दिनमै नयाँ उमंग, नयाँ जोश र नयाँ उर्जासहित मर्जपछिको एकीकृत कारोबार पनि शुरु गरिसकेको छ । कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाहरुको तुलनात्मक रुपमा छोटो अवधिमै मर्जरको कम सकेर एकीकृत कारोबार गर्न सफल भयो । यो अवधिमा मर्जको भोगाई कस्तो रह्यो ? कस्तो कस्तो अवसर पायो, कस्ता चुनौतिहरु भोग्यो र भावी दिनका योजनाहरु कस्ता छन् र भविष्यमा आइपर्ने चुनौतिलाई कम्पनीले कसरी सामाना गर्दैछ । प्रस्तुत छ यिनै विषयमा केन्द्रित भएर विकासन्युजका लागि रामकृष्ण पौडेल र मञ्जरी पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहसँग गरेको विकास वहस । बीमा क्षेत्रमै पहिलो मर्जर गर्नुभयो । यसको अनुभव कस्तो रह्यो ? मर्जको दुईटा पाटो हुन्छ । एउटा वैधानिकता (लिगालिटी), जहाँ दुई संस्था एक आपसमा गाभिएर वैधानिक रुपमा कारोबार शुरु गर्छन् । जुन हामीले टुंगाइसक्यौं र हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि कारोबार शुरु गर्यौं । जुन बीमा क्षेत्रमै पहिलो कोसेढुंगा बन्न सफल भएको छ । अर्को हुम्यान क्यापिटल इन्टिग्रेशनको पाटो । जुन एकदमै चुनौतिपूर्ण हुन्छ । आजको दिनमा मेरो सम्पूर्ण इफोर्ट नै यसलाई कसरी सहज गर्ने, सामान्य बनाउने, कसरी सजिलै स्वीकार्य बनाउने भन्ने तिर लागिरहेको छ । प्रत्येक संस्थामा जनशक्ति बढी महत्वपूर्ण हुन्छ । एउटै विषयलाई दुई जनाले हेर्ने फरक फरक नजरिया हुन्छन् । त्यो कन्टेक्समा ४/५ सय जनाको ४/५ सय वटा नजरिया हुन सक्छन् । कसैले यसलाई ठूलो अवसरको रुपमा हेरेका हुन सक्छन्, धेरैले यसलाई ठूलो नजरको रुपमा हेरेको होला । हिजो हामी एउटा स्किल्डमा काम गरिरहेका थियौं, अब हाम्रो स्किल्ड अपलिफ्ट भयो । भिन्न होराइजिन, भिन्न अर्बिटमा काम गर्छौं । हाम्रो भिजिबिलिटी राम्रो रहन्छ । पहुँच बढ्छ भनेर धेरै जना बढी एक्साइटेड भएका होलान् । तर केही मान्छे सशंकित पनि हुन सक्छन् । स्वभाविक रुपमा एउटा पार्टमा यो मर्जर सक्सेस् भयो । किनभने यसले रेकर्ड टाइममा सबै काम गर्यो । मलाई लाग्छ मर्जर कति सफल भयो, कति असफल भयो या कति औषत रह्यो भन्ने कुराको निर्क्यौल केही समय पछि हुन्छ । जब कम्बाइन्ड संस्थाले कम्बाइन्ड इफोर्टका साथ सिनर्जी क्रिएट गर्छ । र हामीले हाम्रो विज्ञापनमा भनेको जस्तै, एक र एक जोडेर दुई होइन ११ हुन्छ भनेका छौं । त्यो हेर्नलाई बाँकी छ । समान्यतः मर्जरपछि सिनर्जीसहित एक र एक जोडेर तीन भन्छन् । तर, तपाईंले ११ भन्नुभयो । यो कसरी सम्भव छ ? वास्तवमा सीईओले ठूलो जोखिम लिएका हुन्छन् । जे भन्छन् त्यो पुरा गर्नुपर्छ । यदि पुरा गर्न सकेनन् भने आफूले एग्री (सहमत) गरेको किई प्रफरमेन्स इन्डिकेटर (प्रमुख सूचकहरु) प्राप्त हुँदैन । त्यसले बाधा अडचन सिर्जना गर्छ । त्यसैले म यसलाई मूर्खता भनौं, या एग्रेशन भनौं या अति विश्वास भनौं । हामीले ट्रेडिसनल रुपमा एक र एक जोडेर दुई हुने मात्र होइन, त्योभन्दा धेरै परको सोचेका छौं । धेरै परको सोच्ने सन्दर्भमा हामी एक र एक ११ बनाउँछौं भनेका हौं । तर हिजो एक सय करोडको बिजनेश थियो अब भोलि ११ सय करोडको बनाउँछौ भनेर ११ मल्टिपलमा कुरा गरेका होइनौं । यसले रियल सिनर्जीको कुरा गरेको हो । जहाँ सिनर्जी भनेकै ‘इट इज मच मोर द्यान सिम्पल अर्थमेटिकल समेसन’ अर्थात साधारण अंक गणितको जोडबाट आउने अंकभन्दा सिनर्जीको इफेक्ट धेरै हुन्छ भनेको हौं । त्यसैले हामीले हाम्रा भावी योजनाहरु नर्मल अंक गणितभन्दा धेरै परको सोचेर बनाएका छौं । र, हाम्रो क्याम्पेन पनि त्यसैमा आधारित छ । हुन सक्छ, कसैले यसमा डिबेट गर्नुहोला, तर यो डिबेटको लागि होइन । इट इज आवर भिजन । यसले सीईओसँगै संस्थाको सफलताको मापन गर्छ । हामीले फर्ष्ट इनिएसन पार गर्यौं । असाध्यै राम्रोसँग । असाध्यै सहयोगात्मक वातावरणमा सम्पन्न भएको छ । त्यो सहयोगको लागि दुबै कम्पनीका कर्मचारीहरु, लगानीकर्ता लगायत सञ्चालक समिति सबैको पूर्ण साथ रह्यो । मलाई लाग्छ, जब दुईटै संस्थाको यसरी पूर्ण साथ पाइन्छ, त्यो पूर्ण साथ पाइसकेपछि हामी बीमा क्षेत्रकै केन्द्रमा हुन्छौं । मर्जरलाई सफल बनाउन के के कुरामा ध्यान दिनुपर्छ ? तपाईंले जानेका कुरा अरुलाई कसरी सेयर गर्न चाहानुहुन्छ ? प्रत्येक संस्थाका आ-आफ्ना विशेषता हुन्छन् । आ-आफ्ना संस्कृति एवं कल्चर हुन्छन् । त्यो कल्चर जाँनिदो या नजाँनिदो तरिकाले बसिसकेको हुन्छ । सर्वप्रथम त दुईटा संस्थामा भएका फरक संकृतिलाई एक आपसमा मेल गराउनै पर्यो । अर्को, यो सानो उद्योग छ, एक आपसमा अनुभव सेयररिङको अवसर आए वा कसैलाई वास्तवमै मेरो अनुभवको खाँचो पर्यो भने म तयार छु । होइन भने मैले मर्जर गरे म तिमीहरुलाई सल्लाह दिँदै हिड्छु भन्ने पनि भएन । तर बीमा क्षेत्रमै आवद्ध केही साथीहरु मसँग सम्पर्कमा हुनुहुन्छ, उहाँहरुलाई मैले गरेको तरिका भन्ने हो । मैले यसरी गरेँ र यो लक्ष्यमा पुगेँ भन्ने हो । अब त्यो अर्को संस्थामा हुबहु लागू हुन्छ या त्यसलाई कस्टुमाइज्ड गर्नुपर्छ, त्यो उहाँहरुले हेर्ने हो । त्यसैले मैले मर्जर प्रकृया सम्पन्न गर्दासम्म जे जस्ता इस्यूहरुलाई विचार हेर्नुपर्छ, जे जस्ता माइलस्टोन तय गर्नुपर्छ, सम्भावित व्यवधान आउन सक्ने क्षेत्रहरु हुन सक्छ त्यसको बारेमा आफ्नो अनुभव सेयर गर्ने हो । कर्मचारी लगायत भिन्ना भिन्नै स्टेकहोल्डरलाई कसरी एउटै भावनामा, लयमा वा लक्ष्यमा समाहित गर्दै लैजाँदै हुनुहुन्छ ? मर्जर गर्दा सबैभन्दा महत्वपूर्ण के हो भने एउटा पक्षले अर्को पक्षबाट ठगिएको छु भन्ने महशुस गर्नुहुँदैन । यदि कुनै पनि स्टेक होल्डार चाहे कर्मचारी होस्, चाहे सेयरधनी हुन्, चाहे बीमा समिति होस् या चाहे पुनर्बीमा कम्पनी नै किन नहोस् उसको लागि मर्जर फेयर(निष्पक्ष) भएन भन्ने लाग्यो भने यसले संस्थालाई लामो समयसम्म प्रभाव पारिराख्छ । त्यसैले हाम्रो इफोर्ट नै यी सबै विषयहरुलाई सौहार्द रुपमा सम्पन्न गर्ने । र, आफ्ना कृयाकलापहरु जस्तै, डीडीए गर्दा, कर्मचारी इन्टिग्रेशन लगायत कुनैपनि कामहरु पारदर्शी राख्ने । यसमा कुनै हिडन एजेण्डा छैन भने यो दीगो हुन्छ । हामीले यहि गरेका छौं र कोही ठगिएको छैन भन्ने लागेको छ । मेरो काम नै यहि हो । कतिपय विषय हामीले मर्जर अघि नै टुंगाइसकेका छौं । जुन दुबै पक्षबाट स्वीकार भएको छ । त्यसबाहेक के छ भने प्रमोटरहरु जो संस्था जन्माउँछन् र उनीहरुको संस्थाप्रति एक किसिमको एट्याच्मेन्ट हुन्छ । त्यो पछि २६/२७ वर्ष भइसकेको कम्पनीहरुमा त गहिरो सम्बन्ध रहन्छ । त्यसमा केही प्रभाव नपरोस् भनेर हामीले दुबै संस्थाको आईडेन्टिटी नमासिने गरी कम्पनीको नाम राख्यौं, हिमालयन एभरेष्ट । जहाँ दुबै कम्पनीमा कार्यरत कर्मचारी र लगानीकर्ताले पनि मेरो कम्पनी भन्न पाउँछन् । त्यस्तै, हामीले डिजाइन गरेको नयाँ लोगोमा पनि दुबै कम्पनीलाई प्रतिकात्मक रुपमा रिफ्लेक्ट गरेका छौं । जहाँ एभरेष्ट पनि छ र हिमालयन पनि छ । यसमा अपनतत्वको भावना नटुटोस् भन्ने हो । लगानीकर्तालाई स्वाप रेसियोको मार्फतबाट, कर्मचारीहरु जसलाई संस्थाप्रति इमोसन गाँसिएको छ, उनीहरुलाई दुई कम्पनी मेटिएर एउटा आयो भन्ने होइन की दुई मिलेर एउटा संस्था बनायौं जहाँ हाम्रो भावनाहरु समेटिएको छ भन्ने देखियोस् भन्ने हिसावले गरिएको छ । यसले गर्दा धेरै अनुन्तरित प्रश्नहरुको जवाफ आउँछ । पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ? धेरै नै बाँकी छन् । २०७९ असार मसान्तसम्मको कारोबारलाई आ आफ्नो किताबमा लेखाङ्कन गर्ने र त्यसैलाई क्लोज गर्नुपर्ने छ । त्यसलाई क्लोज गर्न अर्को तीन महिनाको समय लाग्न सक्छ । प्रकृयामा रहेको यसलाई दूर्तगतिमा टुङ्गयाउनु पर्छ भनेर लागिरहेका छौं । तबसम्म पुरानो व्यवसाय क्लोज हुँदैन, तबसम्म सही आउटपुट आउँदैन । अर्को हामीहरुले शाखाहरुलाई समायोजन गर्न बाँकी छ । हामीहरुले कुनै पनि कर्मचारीलाई मर्जरको कारणले रोजगारीबाट हात धुन नपरोस् भनेर सबै कर्मचारीलाई समाहित गर्ने योजना बनाएका छौं । यो सन्दर्भमा हामीलाई आवश्यकता नभएका शाखाहरु अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्छ । भर्खरै मर्जर सकेको केही दिन मात्र भएकाले यी काम गर्न बाँकी छन् । यति गरेर मात्रै पुग्दैन । किनकी हामीलाई सिनर्जी क्रिएट गर्नु छ । त्यसको लागि कम्पनीले तयार गरेका योजनाहरुलाई कसरी अर्को उचाईमा पुर्याउनेमा सोच्नु पर्ने हुन्छ । हामीले बीमा पहुँचलाई व्यापक अभिवृद्धि गर्नु छ, शाखा सञ्जाल बढाउनु छ, हामीले हिमालयन एभरेष्टलाई एक कम्पनीका अब्बल दक्ष जनशक्तिको आकर्षणको केन्द्र बनाउनु छ । बीमा क्षेत्रनै सबैको रोजाईको क्षेत्र बनाउनु छ । बीमा क्षेत्रलाई सम्मानित, पारदर्शी, करियर ग्रोथ भएको र व्यवसायिक तरिकाले चलाएको क्षेत्र बनाउने हाम्रो योजना छ । यो एक दिनको योजना होइन, यसलाई कार्यान्वयन गराउन लामो समय लाग्छ । मर्जर पछि गर्ने कार्यक्रम यी नै हुन् । यो बाहेक बीमाको पहुँचलाई व्यापक अभिवृद्धि गर्नको लागि प्रविधिको भरपर्दो प्रयोग गर्नुपर्छ । कम्पनीको प्रमुख कार्यालय र शाखामा मात्रै प्रविधि भएर हुँदैन, यसलाई इण्ड युजर अर्थात ग्राहकहरुसम्म पुर्याउनु पर्छ । कम्पनीभित्र आवद्ध कर्मचारीहरुलाई शिक्षित बनाउने, ग्राहकहरुलाई शिक्षित बनाउने र उनीहरुलाई इम्पावर गर्नको लागि प्रविधिको प्रयोग गर्नु पर्ने भएको छ । डिजिटाइजेशनमा गइसकेपछि कस्ता कस्ता परिवर्तन हुन्छ ? यसमा व्यवहारिक रुपान्तरणको चित्र कस्तो हुनेछ ? आजको दिनमा प्रविधिले धेरै नै परिवर्तन ल्याएको छ । मानिसहरु ठगिनबाट जोगिएका छन् । जस्तै बीमाकै उदाहरण हेरौं, जस्तो की तपाईंलाई घरको बीमा गर्नुपर्यो भने तपाईंले आफ्नो घरको फोटो खिच्नुहुन्छ, घरसम्बन्धी विभिन्न डकुमेन्टहरुको फोटो खिच्नुहुन्छ । र, बीमा कम्पनीको एप्स्मा लगइन गर्नु हुन्छ र बीमा कम्पनीलाई पठाउनुहुन्छ । कम्पनीले प्रिमियम यति भन्छ । त्यसपछि तपाईंले गोजीको पैसा तथा चेक नझिकी कुनै भुक्तानी सेवा प्रदायक संस्था मार्फत बीमा कम्पनीमा ट्रान्सफर गरिदिनुहुन्छ । बीमा कम्पनीले त्यसको बीमालेख बनाउँछ र तपाईंको मेलमा पठाइदिन्छ । यो बीमालेख पाएका बेला । भोलिका दिनमा भवितव्य पर्यो भने त्यो अवस्थाको फोटो खिच्नुहुन्छ । त्यसको रिपेयर बिल सम्बन्धित कन्ट्रयाकसँग लिनुहुन्छ । बीमा कम्पनीलाई पठाउनुहुन्छ । र, तपाईंको बैंक अकाउन्टमा डिजिटल्ली पैसा हाल्दिन्छ । कहीँ जानै पर्दैन । यसले गर्दा ६/७ पटक कम्पनी भिजिट गर्ने समय बच्यो । फ्रि एण्ड फेयर सेटलमेन्ट भयो । पारदर्शी भयो । यसैले ग्राहकलाई सबल र सशक्त बनाउँछ । ग्राहकले आफ्नो पावर फिल गर्छ । कुनै पनि गाडी तथा घरको बीमा गर्नुपर्यो भने बीमा गर्नुअघि नै त्यसको प्रिमियम कति आउँछ तथा नोक्सानी हुँदा के कति क्षतिपूर्ति तिर्नुपर्छ भनेर तत्काललै क्यालकुलेट गर्न मिल्ने प्रविधि कहिले आउँला ? अथवा यो कल्पना मात्रै को हो ? यो धेरै जसोमा भइसकेको छ । यसको लागि कसै न कसैले सपना देख्नै पर्छ । जुन दिउँसै देख्नुपर्छ । हामी सपना देखिरहेका छौं । जस्तै, गाई भैसीको बीमा गर्दा गाई भैसीको फोटो खिचेर पठायौं भने भोलिका दिनमा त्यो गाई भैसी मर्यो भने त्यसको फोटो खिचाऔंछौं । र, त्यो बीमा गरेकै हो या होइन भनेर त्यसलाई डिजिटल्ली म्यापिङ गर्छौं । त्यसको आधारमा भुक्तानी तुरुन्तै जान सक्छ । तर कुनै हाइड्रोबाट क्षति आयो भने फोटो मात्रै प्रयाप्त नहुन सक्छ । त्यहाँ मान्छे नै गएर त्यसको क्षति हेर्नुपर्ने हुन्छ । त्यसैले लामो समय लाग्ने क्षतिहरुमा भने समय लाग्न सक्छ । बीमा पहुँच वृद्धिमा प्रविधिको प्रयोग धेरै प्रभावकारी हुन्छ । हामीले छोटो अवधिमा प्रविधि मार्फत लाखौंको संख्याका ग्राहक वृद्धि गरेका छौं । बीमाप्रति आम मानिसमा खराब भन्दा राम्रो इप्रेसन परेको छ । यो त अहिले शुरुवात मात्रै भयो । २० वर्ष अघि मोबाइल, ल्यापटपले जीवन नै रुपान्तरण गर्छ, यी बिना मान्छे बाच्न नै सक्दैन भन्नेमा कसले विश्वास गरेको थियो ? त्यसैले, सबैले मान्नै पर्छ टेक्नोलोजी हाम्रो जीवनमा एक हिस्सा हो । सम्भवतः यसको बारेमा ज्ञान भएन भने मानिस अपुरो हुन्छ । हालसम्म हिमालयन जनरलले लगानीकर्तालाई जति लाभांश दिँदै आएको थियो अब मर्जरपछि त्यसमा कति वृद्धि होला ? मर्जर गर्नुको एउटै कारण हो, दुई कम्पनी कम्बाइन हुँदा राम्रो हुन्छ । अरु केही पनि छैन । भन्न त नियामक निकायले चुक्ता पुँजी पुर्याउन बाध्य बनाएकोले मर्जरमा जान बाध्य भएका हुन् भन्लान् । तर त्यो दोश्रो पाटो हो । मर्जरपछि कहीँ न कहीँ सिनर्जी क्रिएट गर्ने नै हो । यो सन्दर्भमा बिजनेशले पनि फड्को मार्नुपर्छ । र लगानीकर्ताले पनि आजको दिनमा जति प्रतिफल पाइरहेका छन् त्यो औषतमा पक्कै पनि बढ्छ । बढेन भने मर्जर हुनुको औचित्य नै हुँदैन । तर कुनै प्रावधानले गर्दा प्रतिफलमा इम्प्याक्ट पर्नु मर्जरभन्दा बाहिरको कुरा भयो । यसमा बैंक तथा वित्तीय संस्थाको केही लाग्दैन । यता हिमालयन एभरेष्टको हकमा हिजोको दिनमा एभरेष्टले ६ प्रतिशत दिएको थियो हिमालयनले ७ प्रतिशत दिएको थियो भने अब १५ प्रतिशत हुने होइन । अब कम्तिमा ६ प्रतिशत हुनु पनि दुबैको लागि राम्रो हो । त्यसैले इमोसनल थिङ्किङ भन्दा एकाउन्टेन्ट थिङ्किङ इज मोर इम्पोरटेन्ट । मर्जरपछि कम्पनीले दिने प्रतिफलको दर बढ्छ । किन बढ्छ भने मर्जर गर्नु भनेको डुप्लिकेशन हटाउनु हो । डुप्लिकेशन हटेपछि खर्च कम हुन्छ । खर्च घटेपछि नाफा स्वतः बढ्छ । जसको फाइदा लगानीकर्तालाई नै हो । मर्जपछि नयाँ सहायक कम्पनीहरु सिर्जना गरेर फराकिलो दायरा बनाएर लैजाने योजना छन् कि छैनन् ? कम्पनीको व्यवसायिक योजनामा सबै छ । वास्तवमा हामीले अर्गानिक र इन अर्गानिक दुबै ग्रोथ हेर्छौं । हाम्रो लिमिटेशन नै छैन । यसको लागि सबैभन्दा पहिला आवश्यक हुने भनेको स्रोतसाधन हो । जुन दुई कम्पनी एक भएपछि स्रोतसाधन डबल भयो । हामीसँग इन्भेष्टिबल सर्प्लस रहन्छ । लगानी गर्ने पैसा रहन्छ । जुन पैसा हामीले पूर्वाधारमा पनि लगानी गर्न सक्छौं । अब बल्ल कम्पनीले बक्सभन्दा बाहिर गएर सोच्ने मौका पाएको छ । जसमा ग्रिनफिल्ड प्रोजेक्ट लगायत विभिन्न उद्योगहरु होलान् । वा यहि क्षेत्रलाई थप विश्वासिलो बनाउनको लागि हामीले हाम्रै पूर्वाधारमा गर्नुपर्ने लगानी पनि धेरै नै महत्वपूर्ण छ । त्यसैले यी सबैलाई समानान्तर रुपमा अगाडि लैजानुपर्छ । कम्पनीको क्याप्टेनको नाताले मैले ब्यालेन्स मिलाएर लैजानुपर्छ । त्यहि नै सिजन म्यानेजरको टेष्ट हो । जतिपनि मल्टी स्टेकहोल्डरलाई एउटा व्यवहारिक र दीगोपूर्णप्रतिफल दिने र उनीहरुलाई संलग्न गराउने नै ‘फाइन आर्ट अफ ब्यालेन्सिङ’ हो । अब मैले कत्तिको ब्यालेन्स मिलाएर लैजान सक्छु, त्यो नै मेरो सफलता हो ।
पैसा नभएको बैंकको चेक काट्ने बाफलकी निशा पक्राउ, २३ लाख जरिवाना तिर्नुपर्ने
काठमाडौं । बैंकिङ कसुरकी फरार प्रतिवादी बाफलकी निशा गुरुङ पक्राउ परेकी छिन् ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले उप्रेतीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । ४२ वर्षिय गुरुङले निजलाई पैसा नभएको कुमारी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको बैशाख १३ गते फैसला गर्दै गुरुङलाई बैकिङ कसुर अन्तरगत १३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित ४ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।