काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले प्लाष्टिकजन्य पूष्पगुच्छा, माला लगायतका सामाग्रीको आयात, उत्पादन र विक्री वितरण तथा भण्डारणमा रोक लगाएका छन् ।
वातावरण प्रदूषण कम गर्नदेखि लिएर मानवीय स्वास्थयलाई मध्यनजर गर्दै मन्त्री यादवले गरेको प्रस्तावमा मन्त्रालयमातहतको वातावरण विभागले प्लाष्टिकजन्य सामाग्रीको आयातमा रोक लगाउने सूचना मङ्गलबार जारी गरेको छ ।
प्लाष्टिकजन्य पूष्पगुच्छा र मालाको आयातमा रोक लगाउँदा वार्षिक करिब १० करोड रुपैयाँको आयात रोकिने मन्त्री यादव बताउँछन्। ‘वातावरण प्रदूषण पनि कम हुने र स्वदेशी किसानले उत्पादन गरेका प्राकृतिक फूलको उपयोग बढ्दा पूष्प व्यवसाय पनि प्रवद्र्धन हुने भएकाले यस्ता सामाग्रीको आयातदेखि उत्पादन र विक्रीवितरणमा रोक लगाइएको हो,’ उनले भने ।
घरेलु उत्पादनमा संलग्न भएकाहरुलाई वैकल्पिक पेशा प्रदान गर्नुका साथै घरभित्रको सजावटमा प्राकृतिक फूल उपलब्ध गराउनु चुनौतीपूर्ण भएपनि सम्पूर्ण चुनौतीको सामना गर्ने आफू तयार रहेको मन्त्री यादवले बताए ।
नेपाल सरकारले निर्णय गरेर सर्वोच्च अदालतले परमादेश गरेपनि कार्यन्वयन हुन नसकेको बताउँदै मन्त्री यादवले कार्यन्वयन गरेर सरकारलाई सहयोग गर्न आग्रह गरे । यादवले फोहोर व्यवस्थापन एवम् वातावरण प्रदूषण रोक्नका लागि पनि प्लाष्टिकजन्य झोलाको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।
माघ १७ गते २०७८ को मन्त्रिपरिषद्को निर्णयअनुसार प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भई कार्यन्वयनको चरणमा भएपनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन ।
कोभिड(१९ को प्रकोपका कारण अनुगमन खुकुलो भएपनि अब अनुगमनलाई तिव्रता दिएर यस्ता सामाग्रीको प्रयोग भएको पाइएमा कानुनबमोजिम कारवाही पनि गरिने उनले चेतावनी दिए ।