विकासन्युज

मन्दाकिनी हाइड्रोको आईपीओमा १६ गुणा बढी आवेदन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा बिहीबार ५ बजेसम्म १६ लाख १० हजार ९२६ जना आवेदककाे आवेदन परेको हाे । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषहरुका लागि र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

फाइल फाेटाे काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । विधेयकमाथि बिहीबार नै दफाबार छलफल प्रारम्भ भएको थियो । विधेयक पारित भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने – ‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रश्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।’ त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

व्यवसायी त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाई ५ करोड १४ लाख रुपैयाँ भरेर बाउन्स गराए

काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले खाली चेकमा हस्ताक्षर गर्न लगाएर बाउन्स गरी सम्पती हडप्न खोजेको आरोप बौद्व धर्म गुरु भीमसुवा गुरुङले लगाएका छन् । व्यवसायी त्वानावासुले आफैले ५ करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरेको आरोप गुरुङले लगाएका हुन् । गुरुङले गत जेठ २ गते त्वानावासुसँग आएका जीवन बुढाथोकी लगायत ९ जनाले विप्लव समुहका हौ भन्दै हतियार खल्तीमा छ भनेर धम्काएर ६ घण्टा बन्धक बनाएको समेत बताए । उनले अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने ३ वटा चेक लगेको सुनाइन् । उनीहरुले आफ्नो छोरा मार्ने र आफुलाई अपाङ्ग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको रुदै बताइन् । रिम्पोछे ट्रष्टकी अध्यक्ष समेत रहेकी गुरुङले नियन्त्रणबाट छाडे लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराएपनि सुनुवाई नगरेको भन्दै दुखेसो पोखिन् । लगत्तै उनले जिल्ला प्रहरी परिसर टेकुमा आफुलाई अन्याय परेकोबारे जाहेरी दिन जाँदा दर्ता नगरेको पनि सुनाइन्् । गुरुङले सभामुख, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, संघिय संसद समेत १२ वटा कार्यालयमा प्रमाणको रुपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गरेपनि सुनुवाइ नभएको गुनासो गरिन् । धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालक केशव त्वानाबास र अस्का कन्स्ट्रक्सनका सञ्चालक बिनोद कुमार तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपीओ आस्पा जापानसँग र अस्का कन्स्ट्रक्सनले सम्झौता भएको थियो । सम्झौता अनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका संचालकले गुरु रिम्पोछे ट्रष्टको खातामा ३ करोड रुपैयाँ जम्मा गरेको र उक्त रकम विनोद कुमार तामाङले बुझेपनि कोभिडको कारण काम अगाडी बढाउन सकेनन् । सम्झौता बमोजिम काम नभएपछि ३ करोड रुपैयाँ बुझेका विनोद कुमारले रकम फिर्ता गर्न नसकेपछि केशवले आफुमाथि अपराधिक कार्य गरेको उनको दाबी छ । गुरुङले आफु अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाच्नुसम्म टर्चर दियो, सात–सात घण्टा नियन्त्रणमा लिएर मेरो चेक जबरजस्ती लगेको छ, त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरी त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ ।’ गुरुङले केशवसँग अफिसकै कामको सिलसिलामा चिनजान भएको बताइ्न् । आफ्नो तामाङ दाजुभाईले स्वयम्भुको लागि जम्मा गरेको उक्त रकम फिर्ता हुनुपर्ने उनको भनाई थियो ।

मुक्तिनाथ विकास बैंकद्धारा विश्व हिन्दु महासङ्घ संस्थालाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  पुस्तक प्रकाशनका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक पुस्तकको प्रकाशनका लागि उक्त रकम सहयोग गरेको हो । यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अन्य आधिकारिक सदस्यहरु, वालिङ नगरपालिकाका नगर उप–प्रमुख कविता तिवारी र विश्व हिन्दु महासङ्घ जिल्ला शाखा, स्याङजाका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिहरु र अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सेयर रोक्का सम्बन्धी निर्देशिका २ हप्ता भित्रमा लागु गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका दुई हप्तामा लागु गर्ने बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर रोक्का निर्देशिका तयार पारिरहको छ । मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का सम्बन्धी विषय आफुले उठाएको उनले बताए । लगानीकर्तालाई अन्याय नहोस् भनेर आफुले सो विषय उठान गरेको उनको दाबी छ । अब मर्जर तथा प्राप्तिमा धितोपत्र बोर्डको नीति लागु हुने उनले बताए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, यसमा हतार गर्नु हुँदैन, सबै मुद्धाहरु हेर्नुपर्छ,’ उनले भने । उनले बढीमा २ हप्ताभित्रमा उक्त निर्देशिका लागु गर्ने बताए । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको थियो । उक्त सेयर कारोबार रोक्का सम्बन्धीको टोलीमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।

लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटाेन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो । सो सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल र एमए।डब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारीयाले संयुक्त रुपमा हस्ताक्षर गरे । सो सम्झौतापत्र अनुसार  लुम्बिनी विकास बैंकले सबै शाखाहरुबाट यो सुविधा लिन सकिनेछ ।साथै सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले सो सेवा बिक्रेताको देशभरी रहेको १३ वटा शोरुम मार्फत खरिद गर्न सक्नेछन । लुम्बिनी विकास बैंकले हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु मार्फत सेवा दिँदै आएकोे छ ।

एकैदिन ७१० जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । एकैदिन ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार ५ हजार २५ जनामा परीक्षण गर्दा ७१० जनामा संक्रमण देखिएको हो । यस्तै, आज २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।

सगरमाथा इन्स्योरेन्सले गर्यो दुई करोड ६५ लाखको दावी भुक्तानी

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले  दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८४८ को बीमा दावी भुक्तानी गरेको हो । सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले बिहीबार सो रकम बराबरको चेक स्विचगियरका अध्यध द्वारिक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब ८५ करोड बराबरको रकम भुक्तानी गरेको थियो ।