विकासन्युज

बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर पक्राउ, १५ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । बाउन्स चेक काट्ने चन्द्रागिरीका श्याम बहादुर थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले थापालाई बुधबार चन्द्रागिरीबाट पक्राउ गरेको हो । ४८ वर्षिय थापाले निजलाई पैसा नभएको सानिमा बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ३ गते फैसला गर्दै थापालाई बैकिङ कसुर अन्तरगत १५ लाख १९ हजार ७५० रुपैयाँ जरिवानासहित ५ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ९ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एक वर्षमा भित्रिए ५ अर्बका १८०७ विद्युतीय गाडी

काठमाडौं । सरकारले देशमा विदेशी मुद्राको सञ्चितीमा कमी आएको भन्दै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारी साधन आयातमा पूर्ण रुपमा रोक लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै गत बैशाख १३ गतेदेखि २५० सीसी क्षमता माथिका मोटरसाइकल तथा स्कुटर र चार पाँग्रे जीप, भ्यान आयातमा पूर्ण रुपमा रोक लगाएको थियो । यसअघि असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको सरकारले मोटरसाइकल आयातमा झनै कडाई गर्दै १५० सीसी क्षमता माथिका दुईपाँग्रेदेखि चारपाँग्रे जीप भ्यान आगामी भदौ १४ गतेसम्म प्रतिबन्ध लगाएको छ । विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै डिजेल तथा पेट्रोलबाट सञ्चालित दुईदेखि चार पाँग्रे सवारी आयातमा रोक लगाएको सरकारले विद्युतीय गाडी आयातमा भने प्रतिबन्ध लगाएको छैन । डिजेल तथा पेट्रोलबाट चल्ने गाडी आयातमा रोक लगाएसँगै पछिल्लो समय विद्युतीय गाडी आयातमा बृद्धि हुन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक अनुसार आयात प्रतिबन्धको असर विद्युतीय सवारीमा परेको पाइएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा २६१ वटा मात्रै विद्युतीय चारपाँग्रे सवारी आयात भएकोमा गत आर्थिक वर्ष उल्लेख्य मात्रमा बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको अवधिमा एक हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट भित्रिएका छन् । चीबाट १ सय किलोवाटका १६७ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६९६ गरी ८२३ वटा गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडीहरु नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको १३२, र फ्रान्सबाट १ वटा गाडी नेपाल भित्रिएका छन् । यस्तै, युकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ वटा, जापानबाट ७८, युकेबाट ४ वटागाडीहरु नेपाल आएका छन् । युकेबाट २०० देखि ३०० किलोवाट क्षमताका ४ र युकेबाटै ३०० क्षमताभन्दा माथिका २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । पाँच अर्बका गाडी भित्रिए गत आर्थिक वर्ष (एक वर्षको अवधिमा) नेपालमा विभिन्न देशबाट ५ अर्ब बढीका चार पाँग्रे विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा १ हजार ८०७ वटा विद्युतीय गाडी नेपाल भित्रदा पाँच अर्ब ५ करोड ३२ लाख ५० हजार नेपाली रुपैयाँ विदेशीएको हो । यस्तैगरी, उक्त विद्युतीय गाडी आयातबाट सरकारले एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ बराबर राजश्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा बृद्धि भएको गाडी बिक्रेताहरु बताउँछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्रकुमार उप्रेती पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने गाडीमा पूर्ण रुपमा रोक लगाउँदा विद्युतीय गाडीको आयातमा बृद्धि भएको बताउँछन् । ‘पछिल्लो समय सरकारले विद्युतीय गाडी आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि केही बढेको थियो तर, गत बैशाखदेखि सरकारले अन्य गाडी आयातमा रोक लगाउँदा विद्युतीय गाडीको आयात बढेको हो’, उनले भने । ठूला क्षमताका गाडीको आयात छैन विद्युतीय गाडीमा प्रोत्साहन गर्ने भन्दै सरकारले गत आर्थिक वर्षको बजेटमा विद्युतीय गाडी आयातमा सहुलियत दिएको थियो । तर, चालु आर्थिक वर्षको बजेट माफर्त १०० किलोवाट क्षमता माथिका चारपाँग्रे विद्युतीय गाडीको भन्सार र अन्तशुल्कमा वृद्धि गरेको छ । सरकारले किलोवाट नै तोकेर भन्सार र अन्तशुल्क बढाएपछि १०० किलोवाट क्षमता माथिका विद्युतीय गाडी आयात पूर्ण रुपमा रोकिएको नाडाका महासचिव उप्रेतीले बताए । उनले विद्युतीय गाडीको भन्सार र अन्तशुल्कमा बृद्धिसँगै डिजेल तथा पेट्रोलका गाडी आयातमा रोक लगाउँदा व्यवसायीसँग पुराना मोडलका गाडीको मात्र स्टक रहेको बताए । ‘उपभोक्ताले रोजेका कुनै गाडी अहिले बजारमा छैनन्, नयाँ ल्याउन रोक लगाइएको छ, अहिले बजारमा बिक्री नभएर लामो समयदेखि बसेका पुराना मोडलका गाडीबाहेक उपभोक्ताको रोजाइका विद्युतीय गाडी समेत छैनन्’, उनले भने । बजेटमा बृद्धि सरकारले १०० किलोवाट क्षमता माथिका चार पांग्रे विद्युतीय गाडीको भन्सार र अन्तःशुल्कमा वृद्धि गरेको छ । सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्तशुल्क बढाएको छ । २०० देखी ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ । मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जीप र भ्यानमा ६० प्रतिशत अन्तशुल्क रहेको छ । यसअघि अन्तशुल्कमा पूर्ण छुट दिएको थियो । त्यस्तै, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन् । १०० किलोवाट देखी २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखी ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ । हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो ।

एक वर्षमा दुई लाखले गरे चितवन निकुञ्जको भ्रमण, ११ करोड राजस्व सङ्कलन

नवलपुर । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए । गत आवको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ । एघार करोड राजस्व सङ्कलन चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १५०, सार्क मुलुकका पर्यटकले एक हजार र विदेशीले दुई हजार राजस्व बुझाउने गर्दछन् । गत वर्ष निकुञ्जले पर्यटकबाट सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट १५ लाख ७३ हजार राजस्व सङ्कलन गरेको तिवारीले बताए । त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९ लाख ४९ हजार, दण्ड सजायबाट ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट सात लाख १७ हजार तथा अन्य शीर्षकबाट १७ लाख २० हजार राजस्व सङ्कलन गरेको थियो । रासस

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाई बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ इकाई बाँडफाँट सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्र्धक रहेको र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को इकाई बाँडफाँट सम्पन्न भएको हो । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धकलाई १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई, योजना व्यवस्थाकलाई १.५० प्रतिशत अर्थात् १८ लाख इकाई र १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याएको थियो । क्यापिटलको उक्त फण्डमा ६० हजार ७१९ जना आवेदकले ८ करोड ४५ लाख ८९ हजार ७६० इकाईका लागि आवेदन दिएका थिए । जसमध्ये ५६ जना आवेदकले १३ हजार ४ सय इकाईका लागि दिएको आवेदन रद्द भएको छ भने ६० हजार ६६३ जना आवेदकको ८ करोड ४५ लाख ७६ हजार ६३० इकाई रीतपूर्वक आवेदन परेकाले बााडफाँट गरिएको छ । जसमा १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिएका ६० हजार ६६३ जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट, ग्लोबल आइएमई बैंकको वेभसाइट, सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट र मेरो सेयरको वेभसाइटबाट हेर्न सकिन्छ ।

लगानीकर्ता तथा उद्यमीलाई पिच-नीक सेवा दिँदै नबिल इन्भेष्टमेन्ट

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले उद्यमीलाई लक्षित गर्दै पिच-नीक सेवा संचालनमा ल्याएको छ । बैंकिंगले संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन उक्त सेवा संचालन गर्ने भएको हो । कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनीहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरुलाई छानीे उक्त व्यवसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ । साथै, कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस् वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ । यो सेवा प्राय जसो सुरुवात र हुर्कने अवस्थामा रहेका कम्पनीहरूका लागि आवश्यक हुन सक्छ । भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तीय संस्थाहरूमा व्यवसायीको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूजीँको उपलब्धता गराउने कम्पनीले जनाएको छ । त्यस्तै, प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी (व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ । यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यवसायीहरुको व्यवसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ । यसरी विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएका विभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिएका लगानीकर्ताहरु, उद्यमीहरु, तथा नयाँ व्यावसाय संचालन गर्न चाहने व्यवसायी र उद्यमीहरुले आफ्नो विचारहरु यस योजना अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन कम्पनीमा खडा गरिएको पिच-नीक डेस्कमा सम्पर्क गर्न सक्नेछन् । यससँगै उनीहरुले बिना कुनै शुल्क आफ्नो व्यावसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गरि आफुले सोचे अनुसारको व्यवसाय संचालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेकोले व्यावसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले पनि यसबाट पूर्ण रुपमा फाईदा लिनेछन् भन्ने कम्पनीले विश्वास लिएको छ । महिनाको अन्तिम शुक्रबार कुनै कारणबस विदा परेमा लगत्तैको अर्को कार्यदिनमा यस कार्यक्रम सञ्चालन हुने नबिल इन्भष्टमेण्टले जनाएको छ ।

बिएससीएजी पास भएका सयौं विद्यार्थी इजरायल जाँदै, तालिमसँगै दशौं लाख कमाई हुने

काठमाडौं । बिएससीएजी उत्तीर्ण भएका सयौं विद्यार्थी तालिमको लागि इजरायल जान पाउने भएका छन् । इजरायलमा गरिने खेती प्रविधिको अध्ययन एवं सिकाइका लागि कृषि र पशु विज्ञान अध्ययन संस्थानले एक सय विद्यार्थीहरुलाई इजरायल पठाउन लागेको हो । इजरायल कृषिका लागि विश्वकै नमूनामध्येको मुलुकको रुपमा मानिन्छ । संस्थानका सहायक डिन किशोर दाहालका अनुसार इजरायलमा कृषि क्षेत्रमा उत्कृष्ट प्रविधिको प्रयोग गरेर कृषि फार्महरु निर्माण गरिएको छ । इजरायलमा कृषि सम्बन्धी सिकाइको लागि भारत, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडिया लगायतका मुलुकबाट पनि विद्यार्थीहरु जाने गर्दछन् । सोही क्रममा नेपालबाट पनि भर्खरै बिएस्सीएजी पास भएका १ सय जना विद्यार्थीहरुलाई इजरायल पठाउन खोजिएको सहायक डिन दाहालले बताए । ‘यो एक प्रकारले विद्यार्थीहरुलाई काम सहितको तालिम हो,’ उनले भने, ‘यसलाई कामबाट सिक्ने तालिम भनेर भनिन्छ ।’ सो तालिममा एक दिन सैद्धान्तिक प्रकारको तालिम हुने र बाँकी ५ दिन सो अनुसार फिल्डमा गएर सो अनुसार काम गर्नुपर्ने उनले बताए । सो काम गरेवापत उनीहरुले कामको ज्याला समेत प्राप्त गर्ने उनको भनाइ छ । ‘त्यही भएर यसलाई सिक्ने र कमाउने तालिम पनि भनिन्छ,’ उनले भने । अहिले संस्थानले भर्खरै बिएससीएजी पास गरेका सय जना विद्यार्थीलाई छनोट गरेर पठाउने तयारी गरेको छ । त्यसको लागि विद्यार्थी छनोट गर्ने कार्यक्रम भइरहेको दाहालले विकासन्युजलाई बताए । विद्यार्थी छनोट गर्ने प्रकृयामा इजरायलका राजदुत नै सहभागी भएका थिए । यसरी छनोट भएका विद्यार्थीहरु आगामी सेप्टेम्बरको पहिलो साता इजरायल जान पाउनेछन् । तालिमसँगै कमाइको लागि इजरायल विद्यार्थी पठाउनको लागि संस्थानले आवेदन आह्वान गरेको र सो आवेदनमा १ सय ४८ जना विद्यार्थीले निवेदन दिएका थिए । आवेदन दिएका विद्यार्थीमध्ये संस्थानले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई क्रमश अन्तवार्तामा सहभागी हुने अवसर दियो । अन्तवार्ता नेपालका लागि इजरायली राजदुतको सहभागीतामा नै भएको दाहालको भनाइ छ । यसरी भएको अन्तवार्तामा ९० जना विद्यार्थी मात्रै छनोट भएकाले बाँकी विद्यार्थी दोस्रोपटकको छनोट विधीबाट छनोट गरिएको उनले बताए । गतवर्ष अध्ययन संस्थानबाट ३ सय ५० जना विद्यार्थीले बिएस्सीएजी पास गरेका थिए । तालिमको लागि छनोट भएर इजरायल जाने विद्यार्थीहरुले त्यहाँ गएर ११ महिनासम्म ‘अन द जब ट्रेनिङ’ गर्नेछन् । राजदुतको संलग्नतामा भएको अन्तवार्ता तथा छनोट कार्यक्रम भएकाले लैजाने विधि सरल हुने दाहालको भनाइ छ । उनका अनुसार अहिले विद्यार्थीहरुको पासपोर्ट, मेडिकल र पुलिस रिपोर्ट बनाउने काम भइरहेको छ । सो काम सकिएपछि भिसा आवेदनको लागि राजदुतावासमा पठाइने र भिसा निःशुल्क हुने उनले बताए । कृषि तालिमको लागि इजरायल जाने विद्यार्थीहरुको भिसा निःशुल्क लाग्ने भएतापनि मेडिकल रिपोर्ट बनाउने काम र हवाइजहाज भाडा भने उनीहरुले नै व्यहोर्नुपर्नेछ । ‘मेडिकल आँफै गर्नपर्यो, पुलिस रिपोर्ट आँफै गर्नपर्यो, अनि हामीले प्रोसेसिङ लागत भनेर १ हजार रुपैयाँ लिएर डकुमेन्टेसको काम गरिदिएका छौं,’ दाहालले भने । उनका अनुसार इजरायलमा ५० जना मानिसहरु मिलेर एउटा फार्म सञ्चालन गर्ने गर्छन्, ती फार्महरुको क्षमताअनुसार सञ्चालकले प्रशिक्षार्थी कामदार राख्छन् । नेपालबाट गएका विद्यार्थीहरु तिनै फार्महाउसमा बाँडिएर बस्ने, तालिम लिने र काम गर्ने गर्दछन् । त्यहाँ एउटा मात्रै नभएर धेरै प्रकारका तरकारी तथा फलफुलका फार्म हुने उनको भनाई छ । विद्यार्थीहरुले फार्ममा बसेर सिक्दै काम गर्दा उनीहरुको खाने बस्ने सुविधा पनि फार्ममा नै हुन्छ । यो विषयमा सम्झौतामा नै व्यवस्था गरिएको दाहालको भनाइ छ । उनका अनुसार विद्यार्थीहरुले सिक्दै काम गर्दा निश्चित रकम तलब बापत प्राप्त गर्छन् । खाना खाने र बस्ने व्यवस्था फार्म हाउसले नै गर्ने र त्यो बापत निश्चित रकम पनि लाग्ने गर्दछ । विद्यार्थीहरुले फार्म हाउसमा फरक-फरक ढंगले काम गर्ने अवसर प्राप्त गर्ने र सो अनुसार नै धेरै काम गर्न पाउनेले धेरै कमाई गर्ने र थोरै काम गर्न पाउनेले थोरै कमाई गर्ने दाहालको भनाई छ । समग्रमा काम गर्ने अवधिभर सम्पूर्ण खर्च कटाएर झण्डै १० लाख रुपैयाँ बचत गर्न सकिने कुरा पुरानो अनुभवले देखाएको उनी बताउँछन् । इजरायलमा सिक्दै कमाउँदै गरेर फर्केपछि विद्यार्थीहरुले आँफैले फार्म हाउस चलाउन वा सो सम्बन्धी काम गर्न व्यवहारिक रुपमा दक्ष हुन्छन् । ‘यो नन एकेडेमिक डिग्री हो, एक प्रकारको तालिम हो, यसले उनीहरुको वृद्धि विकास गरेको हुन्छ, उनीहरुले सिकेको सिपको आधारमा यहाँ फर्किसकेपछि आँफै केही गर्न सक्छन्,’ दाहालले भने । त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत वार्षिक रुपमा ३ सय ५० भन्दा धेरै विद्यार्थीले बिएससीएजी पास गर्ने र ती विद्यार्थीहरुलाई व्यवहारिक रुपमा थप ज्ञान हासिल गर्न र सोही क्रममा पैसा आर्जन गर्नको लागि इजरायलले उपलब्ध गराएको तालिम एउटा अवसर भएको सहायक डिन दाहालको भनाइ छ ।

अपर हेवाखोला हाइड्रोको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । हाइड्रोले साउन १० गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ ।