विकासन्युज

जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री बडू

जनकपुरधाम । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । बन्द जनकपुर चुरोट कारखाना लिमिटेडको अनुगमन निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकमा रहेको रुग्ण उद्योगहरु के कसरी सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको र अध्ययनपश्चात् सरकारले निर्णय लिने जानकारी गराए । मुलुकको व्यापार घाटा बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्न पनि निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न रुग्ण उद्योग सञ्चालन गर्न लागेको बताउँदै उनले रुग्ण उद्योग सञ्चालन गर्ने सरकारको नीतिअनुसार आफू स्थलगत अवलोकनमा आएको बताए । सरकारले चलाएको जनकपुर चुरोट कारखाना कुनै बेला निकै नाम कमाएको उद्योग रहेको र अहिले बेहाल अवस्थामा देखिएकाले कारखानाको अवस्था, यसको सम्पत्ति, मेसिनरीको अवस्था लगायतका विषयवस्तु बुझ्नका लागि आफू अनुगमनमा आएको मन्त्री बडूको भनाइ थियो । अनुगमनका क्रममा मन्त्री बडूसँगै मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेश सरकारका कर्मचारी लगायतको सहभागिता थियो । मन्त्री बडूले आजै प्रदेश सरकारका मन्त्रीहरुसँग जनकपुर चुरोट कारखाना सञ्चालनको विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।

उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने

काठमाडौं । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । यसैबीच कामपाले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ

एक सय रूपैयाँमा पाउनै छोड्यो आईपीओ !

काठमाडौं । पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै सेयर निष्काशन गर्ने कम्पनी पनि धमाधम आउन थालेका छन् । लामो समयदेखि बजारमा आफ्नो छुट्टै छाप छाड्न सफल कम्पनी पनि राम्रो मूल्य पाउन थालेपछि सेयर बजारमा आकर्षित हुन थालेका हुन् । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि यस्ता कम्पनीलाई पूँजी बजारमा ल्याउन प्रिमियम र बुक बिल्डिङ्गको व्यवस्था गरेपछि आकर्षण बढ्न थालेका हो । हाल आईपीओ निष्काशन गर्ने कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता एक सय रुपैयाँमा नै सेयर बिक्री गरिरहेका छन् । तर, लामो समयदेखि नाफामा रहेका र बजारमा आफ्नो छुट्ट छवि बनाएर नाम कमाएका कम्पनी प्रिमियमा आउन थालेपछि एक सय रुपैयाँमा पाइने सेयर नपाइने अवस्थामा पुगेको हो । प्रिमियममा सेयर आउनु भनेको पूँजी बजारका लागि फाइदा हुने सेयर विश्लेषकहरू बताउँछन् । लामो समयदेखि परिश्रम गरेर नाफा आर्जन गर्दै आएका कम्पनीले एक सय रूपैयाँमा सेयर जारी नै गर भन्दा कम्पनीको लागि अस्वभाविक हुने उनीहरू बताउँछन् । हालसम्म अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम सिमेन्ट्स, रूरू जलविद्युत परियोजना, चिलिमे जलविद्युत कम्पनी, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) लगायतका कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गरिसकेका छन् । यी कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा प्रिमियम मूल्य थप गरेर साधारण सेयर जारी गरेका हुन् । अब सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग मिल्स, घोराही सिमेन्ट, नेपाल विद्युत प्राधिकरण, सोनापुर मिनरल्स एण्ड आयल, हिमालयन रि इन्स्योरेन्स,कान्तिपुर टेलिभिजन नेटवर्क, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका छन् । जसमा सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग मिल्स र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशनका लागि सेबोनमा आवेदन नै दिइसकेका छन् । कम्पनीका संस्थापकले ठूलो मेहेनत गरी प्रमाणित गरिसकेका कम्पनीले एक सय रूपैयाँमा सेयर दिन नसक्ने ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकाल बताउँछन् । पूँजी बजारलाई रियल सेक्टरका कम्पनी आवश्यक रहेकाले यस्ता कम्पनी आउनुपर्ने उनले बताए । ‘बजार घटबढ हुन मौद्रिक नीतिमा निर्भर हुन्छ, वर्षको ४ वटा मौद्रिक नीति आउँछन्, मौद्रिक नीति आउनुभन्दा १५/२० दिन अगाडि के आउँछ भनेर थर्कमान हुनुपर्ने अवस्था छ ।’ सीईओ ढकालले भने, ‘फरक क्षेत्रका कम्पनीहरू पूँजी बजारमा आएपछि ती कम्पनीको प्रभाव छुट्टै लेभलमा हुन्छ, ती कम्पनीहरुको पूँजी बजारमा दबाब हुनुपर्छ ।’ यदि एक सय रूपैयाँमा नै आईपीओ बिक्री गर्ने अवस्था रहिरह्यो भने पूँजी बजारले खासै फड्को मार्न नसक्ने उनको बुझाइ छ । ‘केही सामान्य पोलीसी (नीति वा निर्देशन) आउँदा त्यसले नै बजारलाई प्रभाव पारिरहेको हुन्छ, नियामकलाई गालि गर्नुभन्दा बजारलाई विविधिकरण गरेर स्थीरता ल्याउन सकिन्छ, त्यसले व्यवस्थापन पनि राम्रो हुन्छ,’ उनले भने । प्रिमियम मूल्यमा सेयर आउन थालेपछि नेपालको पूँजी बजार पनि व्यवस्थित हुने उनले बताए । ४/५ वर्षको अवधिमा राम्रो नाफा आर्जन गरिरहेको कुनै कम्पनीले एक सय रूपैयाँमा सेयर दिनै नसक्ने लगानीकर्ता विष्णु बस्याल बताउँछन् । ‘यदि कुनै कम्पनीको मुल्याङ्कन गर्दा उसको मूल्य प्रतिसेयर ५–६ सय रुपैयाँ आयो भने उसले एक सय रुपैयाँमा दिन सक्दैन ।’ उनले भने, ‘कम्पनीको उचित मुल्याङ्कन होस् भन्ने हो, यदि पूँजी बजारको विकास गर्ने हो भने त्यस्ता कम्पनीको मुल्याङ्कन हुनुपर्छ, बजारले निर्धारण गरेको मूल्य पाउनु कम्पनीका लागि राम्रो हो ।’ अन्तर्राष्ट्रिय अभ्यास हेर्दा कम्पनी खोलेको एक वर्ष मात्रै भएको छ भनेपनि प्रिमियम वा बुक बिल्डिङ्गमा आईपीओ निष्काशन गर्न पाउने प्रावधान रहेको बताउँदै लगानीकर्ता बस्यालले नेपालमा नियामक निकायले लगाएका बन्देज हटाउनु पर्नेमा जोड दिए । रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा ल्याउनका लागि एक सय रुपैयाँमा नै दिनुपर्छ भन्ने हो भने कोही कम्पनी पनि आउन नमान्ने लगानीकर्ता बस्यालको बुझाइ छ । लामो समयदेखि लगानी गरेर ब्राण्डेड कम्पनीको सेयर एक सय रुपैयाँमा दिनुपर्छ भनेर अधिकार खोज्न नमिल्ने एलिट क्यापिटल लिमिटेडका अध्यक्ष दिनेश आचार्य बताउँछन् । एक सय रुपैयाँमा नै सेयर बिक्री गर्ने परम्परा रहने हो भने पूँजी बजारको स्तर बढ्न नसक्ने उनले बताए । ‘यस्तो अवस्था रहिरहने हो भने पूँजी बजार चल्न सक्दैन, कि त कम्पनी स्थापना हुना साथ आईपीओ ल्याउनुपर्याे, लामो समयदेखि बजारमा एक खालको ब्राण्ड बनाएको कम्पनीलाई एक सय रुपैयाँमा सेयर दिनुपर्छ भन्न मिल्दैन, अर्थशास्त्रका सिद्धान्त र सामाजिक न्यायका हिसावले पनि मिल्दैन ।’ उनले भने, ‘प्रिमियममा आईपीओ पहिला नै आइसकेको हो, अहिले बुक बिल्डिङ्ग भनेको मात्रै हो, रियल सेक्टरका पुराना कम्पनीलाई पूँजी बजारमा आकर्षित गर्नका लागि ल्याइएको हो ।’ बुक बिल्डिङ्गमा कम्पनीको गुडविल नेटवर्थ ब्राण्ड लगायतका आधारमा मूल्य निर्धारण गरिने मात्रै हो । बुक बिल्डिङ्गमा आउने सेयर सर्वसाधारणले पाउँदै नपाउने सेयर रहेको आचार्य बताउँछन् । ‘बुक बिल्डिङ्गमा आएको सेयर सर्वसाधारणे कहिलै नपाउने सेयर हो । यदि त्यो प्रक्रिया नगर्ने हो भने त्यस्ता कम्पनी पूँजी बजारमा कहिल्यै नआउने उनको धारणा छ ।

एक वर्षमा १३ सय बढी व्यापारिक फर्म कारबाहीमा, सबैभन्दा धेरै किराना पसल

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षकोे अवधिमा एक हजार ३३१ व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । यसबाट एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिए । उनले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको बताए । यसअवधिमा विभागले तीन हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्ममात्र सामान्य अवस्थामा रहेको पाइएको थियो । एक हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, ६८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, साधनसहित तीन जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकाले ५४ लाख लाख ८२ हजार ७११ मूल्य बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै कारवाही खाद्यान्न तथा किराना पसललाई गरिएको छ । एक वर्षको अवधिमा ८३८ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ४२९ फर्मलाई आर्थिक जरिवाना गरिएको हो । यस्तै, ११९ फार्मेसी पसलको अनुगमन गर्दा ३९, २३३ कस्मेटिक तथा कपडा पसलको अनुगमन गर्दा २५ पसललाई कारवाहीस्वरुप आर्थिक जरिवाना गरिएको उल्लेख छ । यस्तैगरी, ४ स्टेशनरी, तीन सर्जिकल हाउस, २९ वटा अण्डा तथा मासु पसल, पाँच वटा मार्ट, छ वटा फ्युल तथा कोइला पसल, १७ वटा ग्यास, नौ वटा चस्मा पसल, ११ वटा डिर्पाटमेन्ट स्टोर, १४ वटा पानी उद्योग, १७ वटा मदिरा तथा पेय पदार्थ, ४३ वटा फलफूल तथा तरकारी पसल, १८ वटा दुग्धजन्य पदार्थ तथा बेकरी उद्योग र ६६० अन्य फर्मलाई कारवाही गरिएको निर्देशक पङ्गेनीले जानकारी दिए । उनका अनुसार विभागले नियमितरुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, तरकारी तथा पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ । विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर दैनिक बजार अनुगमन गर्ने गरेको जनाइएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ । रासस

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । सिभिल बैंकले इलाम जिल्लाको फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । इलामकी उपप्रमुख चित्रकला बराइलीले उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन गरिन् । योसँगै फिक्कल क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन । सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै, बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

‘अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी ठूलो चुनौति, बैंकहरुमा साइबर जोखिम पनि बढ्यो’

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी कारोबार चुनौतिपूर्ण रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेन्सी कारोबार चुनौतिपूर्ण रहेको उल्लेख गरेको हो । प्रतिवेदनमा भनिएको छ, ‘क्रिप्टो मुद्रा विश्वव्यापी वित्तीय को लागि एक प्रमुख चुनौतिका रुपमा विकसित भएको छ, विश्व अर्थतन्त्रमा यसको प्रभाव ठूलो छ, नेपालमा क्रिप्टो मुद्राको कारोवार गैरकानूनी भए पनि कारोबार भएको देखिन्छ, यसको नियन्त्रण गर्न आवश्यक छ ।’ राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारले ठगी र कर छली पनि बढेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साइबर क्राइमका घटनाहरु पनि बढेको निष्कर्श निकालेको छ । नयाँ–नयाँ प्रविधिको विकास र प्रयोगसँगै साइबर सेक्युरिटीमाथि जोखिम बढेको राष्ट्र बैंकको निष्कर्श छ । पछिल्लो समय एटीएम ह्याकिङ, बैंक ह्याकिङ लगायतका घटनाहरु बढेको जनाएको छ । पछिल्लो समय प्रहरीको केन्द्रबिन्दुमा क्रिप्टो कारोबारीहरु परेका छन् । क्रिप्टोको अनलाइन कारोबार गरेर छोटो समयमै मनग्य कमाउन पाइने आशामा क्रिप्टो कारोबारीहरु बढ्दा उनीहरु प्रहरीको ‘टार्गेट’मा परेका हुन् । राष्ट्र बैंकले् पनि क्रिप्टोकरेनसीको कारोबार गर्नेहरुलाई निगरानी गर्नु पर्ने जनाएको छ । अहिले अधिकांश देशमा क्रिप्टोकरेन्सी गैर कानुनी कारोबारका रुपमा लिइएको छ । नेपाल राष्ट्र बैंक, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बैंकर्स संघ लगायतले सूचना नै जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन दिइसकेका छन् । विभिन्न निकायहरुले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिइसकेका छन् । के हुन्छ कारवाही ? विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैंकबाट इज्जाजतपत्र लिनुपर्ने उल्लेख हुन्छ । विदेशी विनिमयसँग सम्बन्धित कसुरको बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्था कानुनमा छ । इजाजतप्राप्त व्यक्तिले बैङ्कको आदेश पालना नगरे उसलाई नसिहत दिन, कारोबारमा प्रतिबन्ध लगाउन, धरौटी वा जमानत जफत गर्न र इज्जाजतपत्र रद्द गर्न सकिने व्यवस्था कानुनमा छ । उक्त ऐनसँग जोडिएका कसुरसँग सम्बन्धित विदेशी विनियमलाई जफत गर्ने साथै बिगो बमोजिमको जरिवाना गर्ने र त्यसमा तीन गुणासम्म जरिवाना गराउन सकिने कानुनमा उल्लेख छ ।

अब बाढी नआए पनि कैलाली र बर्दियाका किसानले बीमाबापतको रकम पाउने

भजनी । कैलालीका दुई र बर्दियाका तीन स्थानीय तहमा बाढीका कारण हुने कृषि क्षेत्रको नोक्सानीलाई मध्यनजर गर्दै कर्णाली नदीको बाढीको सतह मापन सूचकाङ्कका आधारमा बाढी बीमा कार्यक्रम लागू गरिएको छ । प्राक्टिल एक्सनलगायत विभिन्न गैरसरकारी संस्थाको समन्वय तथा शिखर इन्स्योरेन्स कम्पनीले किसानले लगाएको बालीको बीमा गर्ने र कर्णाली नदीको बाढीमापन केन्द्रको सूचकलाई आधार मानेर बीमाको भुक्तानी गर्ने गरी पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम लागू भएको हो । अब किसानले बाढी नआए पनि बीमाबापतको पाउनुपर्ने रकम नदीको पानीको सतहको मापनका आधारमा प्राप्त गर्नेछन् । कर्णाली नदीको चिसापानीमा भएको पानीको मापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर इन्स्योरेन्स कम्पनीले १० देखि शतप्रतिशत बीमाबापतको रकम पाउने व्यवस्था मिलाइएको छ । त्यसका लागि किसानले सात प्रतिशत बीमा प्रीमियमबापतको रकम इन्स्योरेन्स कम्पनीलाई तिर्नुपर्ने छ । कार्यक्रम कर्णाली नदीको तटीय क्षेत्रमा रहेका कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिका तथा बर्दियाको मधुवन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कर्णाली नदीको पानीको सूचकाङ्क मापनका आधारमा हुनसक्ने क्षतिको आकलन गरेर किसानलाई बिना झन्झट बीमा रकम भुक्तानी हुने गरी कार्यक्रम ल्याएको छ । उक्त भुक्तानीको प्रक्रिया एक हप्ताको हुने छ । किसानले भएको क्षतिबापत रकम एक हप्तामा प्राप्त गर्नेछन् । कर्णाली नदीमा १० दशमलव ८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् । त्यस्तै ११ दशमलव ८१ देखि १२ दशमलव ८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३ दशमलव ८० मिटरदेखि १४ दशमलव ८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४ दशमलव ८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले सूचकाङ्कका आधारमा बाढीबाट प्रभावित किसानले राहत पाउनु नयाँ कार्यक्रम भएको बताए । ‘यो एकदमै नयाँ कार्यक्रम भएको छ, सुरुवाती अवस्थामा भएका कारण प्रभावकारी हुने नहुनेमा अझै विश्वस्त भने हुने ठाउँ छैन’, मन्त्री रावलले भने, ‘क्षति नभए पनि बीमा रकम भुक्तानी पाउने कुरा नयाँ छ तर कहिलेकाहीँ मापदण्डअनुसार नभएर बढी क्षति भएको अवस्थामा बीमा भुक्तानी नपाउने कुराले किसान आकर्षित नहुन पनि सक्छन् ।’ उनले विपत्को पूर्व तयारी नै महत्वपूर्ण भएको र विपत्पछि दौडनु स्वभाविक मात्रै भएको जनाउँदै यसवर्ष सुदूरपश्चिममा मात्रै दुई लाख ६० हजार जनसङ्ख्या विपत्को जोखिममा पर्ने सम्भावना रहेको बताए । त्यस्तै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले नागरिकलाई विश्वास दिलाउने र त्यसको परिणाम आउने गरी काम गर्न सकेपछि मात्रै बीमाको प्रभावकारी भएको मान्न सकिने बताए । उनले बाढी सूचकाङ्कका आधारमा किसानले कृषि बीमा बापतको भुक्तानी पाउने कुरा नयाँ भएकाले त्यसलाई कार्यान्वयनमा कठिनाइ आउने कुरा पनि ठूलो नहुने बताए । ‘जुनसुकै काम गर्दा पनि सुरुआती चरणमा कठिनाइ हुन्छ, त्यसलाई सामान्य नै मान्नुपर्छ’, मन्त्री शर्माले भने, ‘परिणाम पहिलो कुरा हो, जहाँ नतिजा आउँदैन त्यहाँ लगानीको कुनै अर्थ पनि हुँदैन ।’ उहाँले अहिलेको अनुदान कार्यक्रम प्रभावकारी हुन नसकेको जनाउँदै राज्यले पनि त्यसको विकल्प सोच्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालले विपत् व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकार ऐन कानुन नै बनाएर अगाडि बढेको जनाउँदै विपत् कोषका लागि २० करोड बजेटसमेत व्यवस्था गरिएको बताए । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले विपत्को क्षेत्रमा सबैभन्दा अग्रपङ्क्तिमा रहेर काम गर्ने निकाय भनेकै वडा तह र प्रहरी प्रशासन नै भएको जनाउँदै प्रदेश सरकारले विपत् कोषमा १० करोड बजेटको व्यवस्थापन गरेको बताए । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बीमामा प्रीमियमको कुरा मुख्य हुने जनाउँदै किसानलाई राम्रोसँग बुझाएर मात्रै कार्यक्रमलाई लागू गर्न सके त्यसले राम्रो नतिजा दिने बताए । राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारुले बीमा कम्पनी बफादार नभएका कारण समस्या आउन सक्ने उल्लेख गर्दै किसानलाई राम्रोसँग बुझाउन सकेपछि मात्रै आफुहरुले समन्वय गर्नसक्ने बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले नदीको मापनका आधारमा किसानले बीमाको रकम दाबी गर्ने कुरामा विश्वस्त हुन नसक्ने जनाउँदै किसानको एकीन तथ्याङ्क लिएर बृहत छ्लफल गरेर मात्र अगाडि बढ्न सकेपछि कार्यक्रमले सार्थकता पाउने बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्णाली नदीमा राखिएको नदीमापन केन्द्रका आधारमा मात्रै नभइ अन्य सूचकाङ्कको पहिचान गरेर त्यसको क्षेत्रलाई फराकिलो बनाउन कृषि बीमा कार्यक्रम लागू गर्न आवश्यक रहेको उल्लेख गरे । रासस

नेपाल सरकारको ३५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका विभिन्न ३ वटा विकास ऋणपत्रको ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा १५ अर्ब रुपैयाँको २०८४ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ९.१९ प्रतिशत रहेको छ । त्यस्तै, १५ अर्ब रुपैयाँको २०८४ ‘ज’ विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ९.०२ प्रतिशत रहेको छ । त्यस्तै, ५ अर्ब रुपैयाँको २०८५ ‘च’ को विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने ८.४९ प्रतिशत रहेको छ ।