राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटीएम
काठमाडौं । नेपाल बैंकले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनीका संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटीएमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो । बैंकले २१९ शाखाहरु, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । साथै, हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर, अधिकतम ७५ रुपैयाँसम्म दिने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई बीमा समितिले २०७९ साउन ६ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ । त्यसैगरी, अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले उक्त बीमालेखमा ९ वर्षसम्मको अवधि तथा २५ र सोभन्दा माथिकालाई बोनसदर तोकिएको छैन । त्यसैगरी, ज्योति ईजी पे जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।
कुहिने फोहोर व्यवस्थापन गर्न जग्गा खोज्दै काठमाडौं महानगर, सिसडोल पुग्ने गाडी घटे
काठमाडौं । फोहोरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहोर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहोर राख्न फरक-फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहोर व्यवस्थापन गर्ते तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले फोहोरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको जानकारी दिए । यो अवधारणाले स्थानीय स्तरमा उत्पादन भएका फोहोरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्ने उनले बताए । ‘साउन महिनाभरि नगवासीले बानी पार्नेछन् र यस समयमा दण्ड जरिवाना गरिँदैन, अगामी भदौ १ गतेदेखि अनिवार्यरूपमा सार्वजनिक तालिकाअनुसार व्यवस्थापनको काम नभए कारबाहीस्वरुप जरिवाना गर्ने तयारी नगरपालिकाको छ,’ उनले भने । पछिल्लो समय काठमाडौं उपत्यकाको फोहर व्यवस्थानको काम पेचिलो बन्दै गएपछि नगरपालिकाले उक्त अभ्यासलाई कार्यान्वयनमा उतारेको हो । सकेसम्म उत्पादन भएको स्थानमा फोहरको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको देखिन्छ । स्थान पहिचान गर्दै कामपा उपत्यकाको काठमाडौं महानगरपालिकादेखि अन्य स्थानीय तहसम्मलाई अहिले फोहर व्यवस्थापन गर्न निकै कठिन परिरहेको छ । यस्तो समस्या पटक-पटक आइरहने जनाउँदै सम्बन्धित सबै स्थानीय तहले फोहोर व्यवस्थापन उत्पादन भएको स्थानमा नै गर्नुपर्ने पहल थालेका छन् । कामपाले उपत्यकाको कुहिने फोहोर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाको प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । यसका लागि कम्तीमा पनि ५० रोपनी जग्गा आवश्यक पर्छ । स्थान प्राप्त भएसँगै उपत्यकाको कुहिने फोहोर यही नै व्यवस्थापन हुने र नकुहिने फोहर मात्र बञ्चरेडाँडा लाने योजनामा कामपा छ । कामपाले पनि फोहोरको थप व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहोर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसको छ । पुन : थुप्रन थाल्यो सडकमा फोहर अहिले सिसडोलबाट बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम भइरहेकाले केही दिनदेखि उपत्यकाको सडकमा फोहोर थुप्रन थालेको छ । सामान्यतया अन्य समयमा भन्दा बर्खाको समयमा फोहोर बढी उत्पादन हुने गर्छ । यही समयमा हप्ता दिनसम्म फोहोर व्यवस्थापन हुन नसक्नु थप समस्याको विषय हो । यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले व्यवस्थापन गर्न समस्या भएको हो । उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । सडक मर्मतको काम सकेसँगै फोहोर नियमितरूपमा व्यवस्थापन हुने कामपाले बताएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आ-आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो । रासस
एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक, प्रस्तावित लाभांश पारित
झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ । यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ । सत्र वर्षअघि दुई करोड रुपैयाँ पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । ग्राहकको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ कर्मचारी कार्यरत छन् । बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँबाट बढाएर एक अर्ब २४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । सभाले ८.५० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र बोनस सेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैतसम्ममा बैंकले ११ अर्ब २५ करोड रुपैयाँ निक्षेप सङ्कलन र १० अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिसम्मको बैंकको खुद नाफा १० करोड ५८ लाख रुपैयाँ रहेको जनाइएको छ । सभामा कम्पनीका पूर्वअध्यक्ष हेमराज ढकाल, सञ्चालक राजन शर्मा, सञ्चालक पर्शुराम दाहाल, प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेल, पूर्वसञ्चालक सुरेश बंशल, पूर्वसञ्चालक डा रुपक खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । रासस
श्रीलङ्काका ग्यास स्टेशनहरूले क्युआर कोड मात्र स्वीकार गर्ने
श्रीलङ्का । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन् । विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल र निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्यास स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन् । मन्त्रीले ६० प्रतिशत ग्यास स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन् । जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन् । राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्यास स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन् । श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा
शीत भण्डारमा बिग्रियो आलु, किसानले पाएनन् क्षतिपूर्ति
फाइल फाेटाे वालिङ । भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका-५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ । पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ-११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताए । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उनले बताए । ‘महँगो पर्ने बीउ आलुको सुरक्षित भण्डारणका लागि शीत भण्डारमा राख्यौँ’ उनले भने, ‘शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बीउ लगाउन नहुने प्राविधिकले राय दिएपछि त्यहीँ छोडेका हौँ ।’ बीउ आलु बिग्रिएको पनि करिब डेढवर्ष भइसक्दासमेत शीत भण्डारले उचित क्षतिपूर्ति नदिएकोमा आफूजस्तै यहाँका सबै किसान मर्कामा परेको उनले दुःखेसो गरे । यहाँका किसालने उत्पादन गरेको बीउ आलुको भण्डारणका लागि भीरकोट नगरपालिका कार्यालय र शीत भण्डारबीच सम्झौता भई पेश्कीस्वरुप रु एक लाख ५८ हजार शीत भण्डारलाई दिइएको निवर्तमान नगर प्रमुख छायाराम खनालले बताए । ‘भण्डारण गरिएको बीउ आलु प्राविधिकको राय बमोजिम लगाउन योग्य नभएपछि नगरपालिका कार्यालय, शीत भण्डार सञ्चालक र सम्बन्धित किसान बसेर क्षतिपूर्तिका विषयमा सहमति गरेका थियौँ’ निवर्तमान प्रमुख खनालले भने, ‘प्रतिकेजी रु ४० का दरले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भयो तर अहिलेसम्म पनि शीत भण्डारले क्षतिपूर्ति उपलब्ध गराएको छैन ।’ सहमति अनुसार किसानले क्षतिपूर्ति नपाएको गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिका कार्यालयले शीत भण्डारका नाममा क्षतिपूर्ति उपलब्ध गराउनका लागि पत्राचार गरेको नगरपालिका कार्यालयले जनाएको छ । शीत भण्डारको क्षमता १० टन रहेको र बढीमा १२ टनसम्म भण्डारण गर्न सकिने भनिएकोमा किसानको धेरै आलुको बीउ आएकाले समस्या भएको शीत भण्डार सञ्चालक श्यामप्रसाद ढुङ्गानाले बताए । ‘शीत भण्डारको क्षमताभन्दा धेरै आलुको बीउ हुँदा पनि समस्या आयो’ सञ्चालक ढुंगानाले भने, ‘तीन पक्षबीच भएको वार्तामा किसानलाई क्षतिपूर्ति दिने सहमति भएको हो, केही ढिलो भएको छ क्षतिपूर्ति नदिने पक्षमा छैनौं, दिन्छौँ ।’ शीत भण्डारमा आलुका लागि जुन तापक्रम आवश्यक पर्ने हो सोभन्दा बढी तापक्रम भएकाले आलु उम्रिएको उनले बताए । नबिग्रिएको आलु लैजान र बिग्रिएको आलुको क्षतिपूर्ति दिन खोज्दा किसानले नमानेपछि ढिला भएको सञ्चालक ढुङ्गाना बताउँछन् । रासस
पुराना कारसँग नयाँ चेरी साट्दा ६ लाख ३१ हजारसम्म फाइदा हुने
काठमाडौं । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि शुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ । एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ । सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी पुरानो चेरी कारसँग नयाँ कार साट्दा आकर्षक लोयल्टी बोनस १ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ भने एक्सचेन्ज बोनस पनि १ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ । ग्राहकलाई १ वर्षको इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क उपलब्ध हुनेछ । समग्रमा चेरी टिग्गो सिरिजका गाडीमा ग्राहकले ६ लाख ३१ हजार रुपैयाँ सम्मको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।
चितवनको नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न (फोटो फिचरसहित)
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।