विराटनगरमा होटल र्याडिशन खुल्दै, तीन अर्ब लगानीमा सुपरमार्केट पनि
काठमाडौं । विराटनगरमा पनि पाँच तारे होटल र्याडिशन खुल्ने भएको छ । यसबारे अन्तराष्ट्रिय चेन र्याडिशन होटल ग्रुप र सेञ्चुरियन होटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड र र्याडिशन होटल ग्रुप, साउथ एशियाका प्रबन्ध निर्देशक जुविन साजेनाले हस्ताक्षर गरेका छन् । साेमबार काठमाडाैंकाे हाेटल र्याडिशनमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे । उक्त होटल १४० कोठाको हुनेछ । होटलमा स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट, क्यासिनोको सुविधा पनि उपलब्ध हुनेछ । होटल अबको १८ महिनापछि अर्थात सन् २०२४ को जनावरीबाट सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । नेपालको औद्योगिक राजधानी भनेर चिनिने विराटनगरमा पाँच तारे होटल खुल्दा त्यसको क्षेत्रका व्यवसायी र देश विदेशबाट आउने पर्यटक लाभान्वित हुने अध्यक्ष दुगडले बताए । ‘एक नम्बर प्रदेश भ्रमणमा आउने पर्यटक र यस क्षेत्रका मानिसहरुलाई उच्चस्तरको सेवा दिने योजनाका साथ हामीले काम अगाडि बढाएका छौं । यसमा विश्व प्रशिद्ध चेन होटल र्याडिशनलाई भित्र्याउन पाउँदा हामीलाई खुशी लागेको छ’ दुगडले भने । विराटनगरमा दुर्त गतिमा विस्तार हुँदै गरेको सडक, विमानस्थल, सामूदायिक परियोजना, सरकारी तथा निजी लगानीको ठूला संस्थाहरु खुल्दै गरेको, विराटनगर एक नम्बर प्रदेशको केन्द्रमा रहेको, यस प्रदेशको सबैभन्दा ठूलो बजार पनि भएकोले यस क्षेत्रमा पाँच तारे होटल आवश्यक भएको उनले बताए । विराटनगर एयरपोर्टबाट ४.२ किलोमिटर, जोगवनी रेलवे स्टेशनबाट १५ मिनेटको दुरी र भारतको सीमाबाट जम्मा ८.६ किलो मिटर दुरीमा अवस्थित यो होटलमा आउन भारतीय पर्यटक तथा व्यवसायीहरुको लागि पनि सहज भएकाे बताइएको छ । उक्त होटल सेन्चुरियन मलमा रहने छ । साढे एक विगा जमिनमा बन्दै गरेको यस महलमा सपिङ सेन्टर, कर्पोरेट अफिस, मनोरञ्जनस्थल, केएफसी तथा पिज्जाहट लगायतका सुविधा समेत उपलब्ध हुनेछन् । मल निर्माणमा करिव ३ अर्ब लगानी हुने, त्यसमा ४० प्रतिशत सेयर पुँजी हुने र ६० प्रतिशत बैंकको कर्जा लगानी हुने बताइएको छ । रेडिसन होटल अन्तर्राष्ट्रिय चेन होटल हो रेडिसन अन्तर्गत संसारका १२० देशमा १७०० भन्दा बढी होटल सञ्चालनमा छन् । सेञ्चुरी ग्रुप अफ कम्पनी अन्तरगत विभिन्न उद्योग तथा व्यापारिक कम्पनीहरु छन् । यस ग्रुपका अध्यक्ष दुगड पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार, पूर्व उद्योग तथा वाणिज्य राज्य मन्त्री र सांसद पनि हुन् ।
स्टार्टअप सफल पार्न इन्क्यूबेटर चाहिन्छ, राज्यको लगानी आवश्यक छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमशीलता विकासको लागि इन्क्यूबेटरमा राज्यको लगानी आवश्यक रहेको बताएका छन् । सोमबार महासंघले आयोजना गरेको बिजनेस इन्क्यूबेटर कन्फरेन्स २०२२ को कार्यक्रममा बोल्दै गोल्छाले सो बताएका छन् । अध्यक्ष गोल्छाका अनुसार उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक रहेको छ । जुन वाणिज्य महासंघको स्टार्टअप कमिटीले यो वर्षदेखि सुरु गरेको हो । नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप यो सफलताको दर बढाउन इन्क्यूबेटर सेन्टर आवश्यक भएको छ पनि गोल्छाले जानकारी दिए । ‘हाम्रा ५० लाख भन्दा बढी युवा आफ्नो देशमा भविष्य खोज्न नसकेर विदेश पलायन भएका छन्, उनीहरूले पठाएको रेमिट्यान्सले अहिले मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ, हामीले देशमा नै नयाँ उद्यमी विकास नगर्ने र युवाहरूलाई आफ्नै देशमा नै भविष्य देखाउन सकेनौं भने भोलिको भविष्य कल्पना मात्रै गर्न सक्छौं ,’ उनले भने । रोजगारीको सिर्जना र समृद्धि ल्याउनको लागि नयाँ उद्यमी चाहिने उनको भनाइ छ । गोल्छाका अनुसार स्टार्टअप सफल पार्न इन्कुबेटर्स चाहिन्छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोल्ने घोषणा बताएका छन् । औद्योगिक रूपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रूपान्तरणको लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्क्यूबेटर सेन्टर बनाउने घोषणा गरेको बडूले जानकारी दिए । मन्त्री बडूका अनुसार सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवर्द्धनमा जोड दिएको र कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको छ ।
राधी विद्युतले १४७ प्रतिशत हकप्रद जारी गर्ने, पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले राधी विद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । सेवोनले साउन ९ गते कम्पनीलाई १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १ः १.४७५२ अनुपातमा ९५ करोड ३५ लाख ६० हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
एफवान सफ्टको प्रमुख सञ्चालन अधिकृतमा ढकाल नियुक्त, कम्पनी थप उचाइमा पुग्ने
काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । सोमबार बसेको एफवान ग्रुपको सञ्चालक समितिको बैठकले ढकाललाई प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । एफवान सफ्टमा आवद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । नवनियुक्त प्रमुख सञ्चालन अधिकृत ढकालसंग २४ वर्षभन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ । ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका हुन् । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे । यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गरेका ढकालले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
बैंकहरुसँग पौने ७ अर्बको गैर बैंकिङ सम्पत्ति, धितो बिक्री नभएपछि १३.२१ प्रतिशतले बढ्यो
काठमाडौं । वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) बढेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै गैर बैंकिङ सम्पत्ति बढेको देखाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको गैर बैंकिङ सम्पत्ति १३.२१ प्रतिशतले बढेको हो । सरकारी स्वामित्वमा रहेका बैंकहरुको गैर बैंकिङ सम्पत्ति भने १४.२३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रका वाणिज्य बैंकहरुसँग ६ अर्ब ३२ करोड ९० लाखरुपैयाँको नन बैंकिङ एसेट छ भने सरकारको स्वामित्व रहेको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । यस्तै, आर्थिक वर्ष ७६/७७ मा ५ अर्ब ५४ करोड ९० लाख रुपैयाँ र सरकारी स्वामित्वको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट थियो ।
खाता सुचारु गर्न सानिमा बैंक धाउनै नपर्ने, अब भीकेवाईसीबाटै हुने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । जसअन्तर्गत गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । भीकेवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् । ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाईसी विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ । भीकेवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक १ करोड रुपैयाँसम्म खर्च (डेविट) गर्न सक्नेछन् । सानिमा बैंकको शाखा देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा रहेका छन् ।
नेप्सेमा दुई वटा फण्ड सूचीकृत
काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको म्युचुअल फण्ड सूचीकृत भएको छ । सोमबार कुमारी क्यापिटलको धनवृद्धि योजना र एनआईसी एशिया क्यापिटलको फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । दुवै कम्पनीको फण्ड मंगलबारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ । सोमबार कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गको कुमारी धनवृद्धि योजना नेप्सेमा सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड २५ लाख ७ हजार २५९ सामुहिक लगानी कोष इकाई कुमारी धनवृद्धि योजना नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि केडीबीवाई सिम्बोल प्रदान गरेको छ । त्यस्तै, एनआईसी एशिया क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको हो । क्यापिटलको प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड २० लाख सामुहिक लगानी कोष इकाईको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको दोस्रो बजार कारोबारको लागि एनआईसीएफसी सिम्बोल प्रदान गरेको छ ।
ज्योति विकास बैंक १४ वर्षमा, सुरु गर्यो भिडियो केवाइसी
काठमाडौं । ज्योति विकास बैंकले भिडियो बैंकिङको सुरुवात गरेको छ । बैंकले १४ औं वार्षिकोत्सवको अवसरमा भिडियो बैंकिङको सुरुवात गरेको हो । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको भिडियो केवाक्इसी सार्वजनिक गरेको हो । यस पश्चात् देशविदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन् । वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए । सोहि अवसरमा बैंकले १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरेको थियो । यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औं शाखाको औपचारिक उद्घाटन पनि गरेको छ । डल्लु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरि ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।