उत्पादन क्षमता बढाउने तयारीमा बोटलर्स नेपाल, पुँजी ४ अर्ब ४४ करोड पुर्याउने
काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले आफ्नो पूँजी वृद्धि गर्ने भएको छ । साउन ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्थिर पूँजी वृद्धि गरि ४ अर्ब ४४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो । कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउनका लागि उक्त पूँजी वृद्धि गर्न लागेको कम्पनी सचिव प्रतिमा वुर्माले बताइन् । उनका अनुसार यसअघि कम्पनीको स्थिर पूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको थियो । साथै, कम्पनीको सोहि बैठकले चालु पूँजी अर्थात् कार्यगत पूँजी ७० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो । यसअघि उक्त पूँजी ३५ करोड रुपैयाँ रहेको वुर्माले बताइन् । कम्पनीको पूँजी वृद्धि गर्नका लागि आन्तरिक पूँजी परिचालन तथा बैंकबाट ऋण लिन सक्ने कम्पनीले बताएको छ । जसका लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भएकाले जानकारी मात्रै गराएको कम्पनीले बतायो । बोर्डले अनुमति दिएपछि अन्य प्रक्रिया अघि बढाउने कम्पनीको भनाइ छ ।
नेपालको निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो । आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो । आव २०७८/७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।
भारतमा १६ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि
नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । हिजो २० हजार नाघेको समाचार बाहिर आएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ७४ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ । रासस
कुवेतमा नयाँ प्रधानमन्त्री नियुक्त
कुवेत सिटी । कुवेतका अमिरले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले आइतबार एक निर्देशिका जारी गर्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराएका हुन् । कुवेतका अमिरले यहाँका अहमद नवाफ अल–अहमद अल–सबाहलाई कुवेतको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी सो निर्देशिकामार्फत् शनिबार गराएका छन् । कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले दिएको जानकारीअनुसार यहाँको संसदले राष्ट्रिय सभामा सो कुराको जानकारी गराउने छ । नवनियुक्त प्रधानमन्त्री र उनको नयाँ मन्त्रिमण्डलले आफ्नो कार्यभार सुरु गर्नुअघि राष्ट्रिय सभामा अनुमोदन गराउनुपर्ने संवैधानिक प्रावधान रहेको बताइएको छ । सोही बमोजिम सोमबार उक्त सभाबाट उनीहरुको नाम अनुमोदन गराएर नयाँ कार्यभार सुरु गर्ने कुवेतको सेन्टर फर गवर्मेन्ट कम्युनिकेसनले जानकारी दिएको छ । यसअघि अघिल्लो प्रधानमन्त्रीले गत मे मा दिनुभएको राजीनामा कुवेतका अमिरले स्वीकृत गरेका थिए । उक्त मन्त्रिमण्डलमा नवनियुक्त प्रधानमन्त्री अहमद नवाफ अल–अहमद अल–सबाह उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री रहेका थिए । सन् १९५६ मा जन्मिएका नवनियुक्त प्रधामन्त्री कुवेतका अमिर नवाफ अल–अहमद अल जाबिर अल–सबाहका कान्छा छोरा हुन् ।
बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै
ललितपुर । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् । बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेका छ ।’ प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे । मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरुले सो महामारी निदानका लागि दुई हजार ८०० को हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए । ‘कोभिड कारण आर्थिक हानी मात्रै होइन् ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ’, उनले थपे । ३४ हैजाका बिरामी मुलुकमा कोभिड महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका सो शाखाका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, ‘हैजाका बिरामी काठमाडौँ उपत्यकामा दुई र नुवाकोटमा ३२ गरी ३४ भेटिएका छन् ।’ दुईदेखि ६९ वर्ष उमेर समुहका २० पुरुष र १४ महिलामा सो समस्या देखिँदा खानेपानी तथा सरसफाईमा विचार पु¥याउन जरुरी रहेको गेलालले जानकारी गराए । हवाइ यात्रा र नाकामा कडाइको व्यवस्था मङ्कीपक्स विदेशी ७० मुलुकमा फैलिँदै गइरहेकाले मुलुकको हवाई यात्राका साथै नाकामा पनि कडाइको व्यवस्था हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘छिमेकी मुलुक भारतमा मङ्कीपक्स तीन केशका बिरामी देखिएकाले नेपालमा पनि स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिन्छ ।’ मङ्कीपक्स हालसम्म भने नेपालमा पुष्टि भइसकेको छैन तर, विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी पौडेलले दिए । रासस
भारतीय कुखुरा अवैधरुपमा आयात गर्दा व्यवसायी डुब्ने अवस्थामा
नेपालगञ्ज । बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो । बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख चल्ला उत्पादन हुँदै आएको छ । जिल्लामा करिब १५ करोड पोल्ट्री व्यवसायमा लगानी रहेको छ । भारतबाट अवैधरुपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायीमा गरेको लगानी डुब्ने अवस्थामा पुगेको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बताए । भारतीय कुखुराका कारण नेपाली व्यवसायी मारमा परेको उल्लेख गर्दै उनले अवैधरुपले कुखुराको आयात नरोकिए व्यवसाय बन्द गर्ने चेतावनी दिए । ‘भएका कुखुराको बजार राम्रो छैन, त्यसैमा पनि अवैधरुपले भारतीय कुखुरा आयातले हामी व्यवसायीलाई ठूलो चेपुवा पारेको छ,’ उनले भने । नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब लगानी रहेको छ । यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान गरेको र यसबाट आठ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीले बाँकेका नाकाबाट अवैध रुपमा भित्रिने कुखुराको मासु काठमाडौँसम्म पुगेको र यसले बजारमा प्रत्यक्ष असर गरेकाले नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको बताए । ‘हामी मासु र अण्डामा पूर्णरुपमा आत्मनिर्भर छाैं तर नाकाबाट गैरकानुनी रुपमा कुखुराको मासु आउदा हामी मारमा परेका छौँ’’ उनले भने, ‘भारतमा अहिले बर्डफ्लु भएको र त्यसको सङ्क्रमण यहाँ पनि फैलने भएकाले तत्काल कुखुराको अवैध आयात रोक्नु पर्छ ।’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कुखुराको अवैध आयात रोक्न सक्दो प्रयास गरिने बताए ।
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब
काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ ।
झापामा सवा पाँच अर्ब उत्पादत क्षमता भएको उद्योग दर्ता
काठमाडौं । झापामा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् । त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका ती उद्योगको स्थायी पुँजी एक अर्ब ४४ करोड ७९ लाख ३३ हजार र चालु पुँजी तीन अर्ब छ करोड ७२ लाख ४१ हजार रहेको कार्यालयका उद्योग अधिकृत टङ्कप्रसाद प्रसाईंले जानकारी दिए । दर्ता भएका उद्योगमा एक हजार १९६ पुरुष र एक हजार १६६ महिला गरी दुई हजार ३८९ उद्यमी रहेका छन् । ती उद्योगबाट एक हजार ४०६ महिला र एक हजार ५६६ पुरुष गरी दुई हजार ९७६ जनाले रोजगारी पाउने छन् । ती उद्योग दर्ताबापत कार्यालयले ७७ लाख १७ हजार ९०० राजस्वसमेत सङ्कलन गरेको कार्यालयले जनाएको छ ।