विकासन्युज

कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित

काठमाडौं । अनोररी कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन । कन्सुलर कर्प्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो । आइतबार राजधानीमा आयोजित कर्प्सको १५ औं वार्षिक साधारण सभा एवं स्थापना दिवको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो । हाल नेपालमा संसारका ५५ देशका प्रतिनिधिका रुपमा कन्सुलरहरुले जिम्मेवारी सम्हालिरहेका छन् । नेपालस्थित कन्सुलरबाट सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध, उद्योग, व्यापार व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयमा काम हुँदै आएको छ । सम्बन्धित मुलुकसँग सिधा सम्पर्क र नजिक रहेर ति मुलुकहरुको प्रवद्र्धन र सम्बद्र्धनका निम्ति काम गरिरहेको कर्प्सले जनाएको छ । कर्प्सले दुई देशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै आगामी दिनमा कर्प्सका गतिविधिलाई अझ सशक्त ढंगबाट अगाडि बढाउने नवनिर्वाचित डिन श्रेष्ठले बताए ।  

तीन महिनामा १४ प्रतिशतको मूल्यवृद्धि हुने, घरजग्गा र गैर खाद्य वस्तु वाहेकको मूल्य बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सो सर्वेक्षण सार्वजनिक गरेको हो । सर्वेक्षणका अनुसार गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेको छ । यस्तो अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत वर्षको चैतको तुलनामा बढेको छ । राष्ट्र बैंकले सर्वेक्षणमा २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत् सर्वेक्षण गरेको थियो । सर्वेक्षण ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएको राष्ट्र बैंकको भनाइ छ । सर्वेक्षणमा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै घटेको छ । तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश गत वर्ष चैत्रको तुलनामा घटेको छ । तीन महिना पछिको मध्ये अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महशुस गरेका छन् । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन् ।

एसएमएस मार्फत यसरी हेर्न सकिनेछ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड एसईई २०७८/७९ को नतिजाको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईईकाे परीक्षा दिएर बसेका विद्यार्थीले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् । विद्यार्थीले नतिजा हेर्नकाे लागि SEE लेखेर स्पेश दिएपछि आफ्नाे संम्बाेल नम्बर लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ । स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ ।    

टोखामा टिभिएसको नयाँ शोरुम

काठमाडौं । नेपालमा टिभिएस टु व्हीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखामा शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ टोखामा नयाँ शोरुम सुरु गरिएको कम्पनीले जनाएकाे छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभिएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेकाे बताए । ‘ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएस ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छू,’ उनले भने ।  

निफ्रा मर्जको विपक्षमा र एचआइडीसीएल पक्षमा

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत् चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गर्ने उल्लेख गरेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)बीच मर्ज गराउने खोजेको सन्देश प्रवाह भैरहेका छन् । नीति अनुसार एचआइडीसीएल मर्जमा जाने पक्षमा देखिएको छ भने निफ्रा विपक्षमा । निफ्रालाई मर्जरमा लैजाने राष्ट्र बैंकको नीतिबारे आफूहरु स्पष्ट नभएको निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् । उदेश्य र लाइसेन्स नै फरक भएको संस्था मर्ज गराउने भन्ने सुनेर आफू समेत अन्यौलमा परेको उनले बताए । यसबारे आफूले राष्ट्र बैंकसँग परामर्श गर्न चाहिरहेको उनले बताए । ‘राष्ट्र बैंकले के चाहेको हो ? मर्जर कोसँग गराउने हो ? निफ्राले राष्ट्र बैंकसँग जुन लाइसेन्स पाएको छ, त्योसँग मिल्ने अर्को संस्था हामीले देखेका छैनौं’ प्रमुख कार्यकारी अधिकृत खतिवडाले भने । एचआइडीसीएल र निफ्रा फरक प्रकृतिको कम्पनी भएको, दुई कम्पनीको उदेश्य र लाइसेन्स नै फरक भएकाले आपसमा मर्जको सम्भावना नरहेको उनले बताए । ‘निफ्रा बैंक हो, एचआइडीसीएल बैंक होइन, कसरी मर्ज हुन्छ ?’ खतिवडाले भने । एचआइडीसीएल ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । यो कम्पनी ऐनमा आधारित भएर स्थापित कम्पनी हो । यस कम्पनीले निक्षेप परिचालन गर्न सक्दैन । निफ्रा उर्जा लगायत पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएको बैंक हो । यसको कानुनी आधार कम्पनी ऐन मात्र नभई बैंक तथा वित्तीय संस्था ऐन हो । यसले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिएर बैकिङ कारोबार गर्दै आएको छ । निफ्राले निक्षेप पनि परिचालन गर्दै आएको छ । पछिल्लो समय एचआइडीसीएललाई पनि राष्ट्र बैंकले नियमन गर्न थालेको छ । तर राष्ट्र बैंकले निफ्रालाई पूर्वाधार विकास बैंक मानेको छ भने एचआइडीसीएल बैंक वर्गमा छैन । एचआइडीसीएलका चिफ म्यानेजर जीवन कुमार बस्नेतले दुवै संस्थामा सरकारको लगानी भएकाले नीति निर्देशन आयो भने मर्जर हुन सक्ने बताए । ‘कम्पनीको मर्जर तथा प्राप्तिको कुनै योजना छैन, कुनै छलफल तथा निर्णय नै भएको छैन ।’ उनले भने, ‘ तर दुवै संस्थामा नेपाल सरकारको लगानी छ, सरकारले नीति नै ल्यायो भने मर्जर हुनै पर्याे, सञ्चालकहरुले नै निर्णय गरेर आए भने सम्भव पनि हुन सक्छ ।’ मौद्रिक नीतिमा एचआइडीसीएलको नाम नतोकिएकाले निफ्रा र एचआइडीसीएल नै मर्ज गराउन चाहेको भनेर भन्न हतार हुने उनले बताए । ‘राष्ट्र बैंकले कुनै पत्र पठाएको छैन, राष्ट्र बैंकको मौद्रिक नीतिमा एचआइडीसीएल नै हो वा अन्य कुनै संस्था हो भनेर खुलाएको छैन, यो स्पष्ट छैन’ उनले भने । एचआइडीसीएलबाट मर्जर तथा प्राप्तिका लागि राष्ट्र बैंकमा कुनै सुझाव नपठाएको उनले स्पष्ट पारे । तर राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पत्रकार सम्मेलनमा निफ्रा र एचआइडीसीएल नै मर्ज गराउन चाहेको बताएका थिए। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निफ्रा बैंकलाई इन्भेष्टमेन्ट वर्गमा राखिएको छ । निफ्रासँगै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोष, इमर्जिङ्ग नेपाल, एचआइडीसीएल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी एउटै वर्गमा छन् । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले ठूला परियोजनामा लगानी गर्न सक्षम संस्था निर्माण गर्न राष्ट्र बैंकले चाहेको बताए । निफ्रा जम्मा २० अर्ब पुँजी भएको बैंक हो । अहिले धेरै वाणिज्य बैंकहरुको पुँजी २० अर्बभन्दा बढी छ । पूर्वाधार विकास बैंकले भन्दा वाणिज्य बैंकको लगानी क्षमता ठूलो भईसकेको छ । बाणिज्य बैंकहरुले जस्तै निफ्राले पनि ठूलो कर्जा लगानी गर्दा अरु बैंक तथा वित्तीय संस्थासँग सहवित्तीय करणको अभ्यास गर्दै आएको छ । उता एचआइडीसीएलको पुँजी २३ अर्ब ४९ करोड रुपैयाँ छ । निफ्रा भन्दा एचआइडीसीएल पुरानो कम्पनी हो । निफ्रामा सरकारी निकायसँग व्यवसायिक घरानाहरु पनि प्रवर्द्धक छन् भने एचआइडीसीएलमा सरकार मात्र प्रवर्द्धक हो । दुबै कम्पनीले सर्वसाधारणलाई सेयर बेचेका छन् । आईतबार निफ्राको सेयर प्रतिकित्ता २५१ रुपैयाँमा कारोबार भएको थियो भने एचआइडीसीएलको सेयर प्रतिकित्ता २१३ रुपैयाँमा किनबेच भएको थियो । लाभांश इतिहास भने निफ्राको भन्दा एचआइडीसीएलको राम्रो रहेको छ ।

डब्लुएचओले भन्यो : मङ्कीपक्स बढ्न थाल्यो, निगरानी बढाऔं

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंकीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स द्रुत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेकाे हो । सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । ‘मंकीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेका छन्, ‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’ डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मंकीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ । भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मंकीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मंकीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा खेत्रपाल सिंहले भने । प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मंकीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् । मंकीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मंकीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ । रासस

१९ खर्ब २० अर्बको आयात हुँदा १७ खर्ब २० अर्ब बढीको व्यापार घाटा

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले १९ खर्ब २० अर्ब बढीको विदेशी वस्तुको आयात गरेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालले विभिन्न देशबाट एक वर्षको अवधिमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख बढीको वस्तु आयात गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात गरेको थियो । गत आर्थिक वर्ष आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । तथ्यांक अनुसार एक वर्षको अवधिमा नेपालले २ खर्ब बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ४१.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १४ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो । बढ्यो व्यापार घाटा आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटामा बृद्धि भएको छ । तथ्यांक अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ मात्रै थियो । एक वर्षका अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । एक वर्षको अवधिमा नेपालले तीन खर्ब २० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थको मात्रै आयात गरेको छ । जसमा सबैभन्दा बढी रकम डिजेल आयातमा खर्च भएको छ । एक वर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँबराबरको डिजेल आयात भएको छ । यस्तै, ७१ अर्बभन्दा बढीको पेट्रोल र ६५ अर्बभन्दा बढीको खाना पकाउने एलपी ग्यास आयात र १५ अर्ब रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ । भटमास, पाम र सूर्यमुखीको कच्चा तेलमा एक खर्ब १३, मोबाइल र ल्यापटपमा ५२ अर्ब, ४८ अर्बको सुन–चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओ सोमबार बिहान बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म २३ लाख ६६ हजार २४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि र २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४ लाख ९१ हजार ७२२ जना आवेदकले १ करोड ६२ लाख ७६ हजार ६१० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार ४२४ जनाको आवेदन रद्द भएको छ भने १४ लाख ९० हजार २१८ जना आवेदकको मात्रै सदर भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १७ हजार ६९४ जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी १२ लाख ७४ हजार २८ जना आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीको नतिजा सिदार्थ क्यापिटलको वेवसाइट, सिडिएससीको मेरो सेयरको वेवसाइट, सिडिएसले आईपीओको नतिजा हेर्न संचालनमा ल्याएको वेवसाइट र कम्पनीको वेवसाइटबाट हेर्न सकिन्छ ।