काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले १९ खर्ब २० अर्ब बढीको विदेशी वस्तुको आयात गरेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालले विभिन्न देशबाट एक वर्षको अवधिमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख बढीको वस्तु आयात गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात गरेको थियो ।
गत आर्थिक वर्ष आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । तथ्यांक अनुसार एक वर्षको अवधिमा नेपालले २ खर्ब बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ४१.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १४ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
बढ्यो व्यापार घाटा
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटामा बृद्धि भएको छ ।
तथ्यांक अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ मात्रै थियो ।
एक वर्षका अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
एक वर्षको अवधिमा नेपालले तीन खर्ब २० अर्बभन्दा बढीको पेट्रोलियम पदार्थको मात्रै आयात गरेको छ । जसमा सबैभन्दा बढी रकम डिजेल आयातमा खर्च भएको छ । एक वर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँबराबरको डिजेल आयात भएको छ ।
यस्तै, ७१ अर्बभन्दा बढीको पेट्रोल र ६५ अर्बभन्दा बढीको खाना पकाउने एलपी ग्यास आयात र १५ अर्ब रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ ।
भटमास, पाम र सूर्यमुखीको कच्चा तेलमा एक खर्ब १३, मोबाइल र ल्यापटपमा ५२ अर्ब, ४८ अर्बको सुन–चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।