काठमाडौं । तामाको भाँडामा मासु पाकिरहेको छ । पन्युले मासु चलाउँदा निस्कने ‘टवाङ्-टवाङ्’ आवाजले भान्साको मौनता तोड्छ । भाँडाबाट उठेको बास्ना नाकसम्म आइपुग्दा पाहुनाको मनमा एउटै प्रश्न उब्जिन्छ- आखिर यो मासुको स्वाद कस्तो होला ?
सेतो टोपी लगाएका सेफ आगोको ताप मिलाउँदै मासु चलाइरहेका छन् । कोही पाकिरहेको मासुलाई नियाल्छन्, कोही सेफसँग त्यसको स्वाद र पाक्ने समयबारे जिज्ञासा राख्छन् । जवाफ आउँछ, ‘हामीले बनाएको भाँडामा ३०–४० मिनेटमा तयार हुन्छ ।’
यो कुनै सामान्य परिकारको तयारी होइन । पुस्तौंदेखि नेपाली खानासँग जोडिएको स्वाद र परम्परालाई नयाँ पुस्ता तथा विदेशी पाहुनासम्म पु¥याउने प्रयास हो । परिकारको नाम हो- पक्कु ।

महाराजगन्जस्थित प्रेसिडेन्टल सेकुवामा शनिबारदेखि सुरु भएको पाँचदिने पक्कु महोत्सवमा अहिले यही परिकारको चर्चा छ । तर, यहाँको चासो मासु पकाउने र खुवाउनेमा मात्र सीमित छैन । एउटा परिकारलाई नेपाली पहिचान, पर्यटन र व्यवसायसँग जोड्न सकिन्छ भन्ने सन्देशसमेत महोत्सवले दिन खोजेको छ ।
नेपाली रैथाने परिकारको स्वाद, परम्परा र आतिथ्यलाई एउटै थलोमा जोड्ने प्रयास पनि यो महोत्सवको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा पक्कुलाई केन्द्रमा राखेर नेपाली खानाको विविधता पस्किइँदै छ । घटस्थापनाको अघिल्लो दिन पक्कु महोत्सव आयोजना गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।
यहाँको उद्देश्य पाहुनालाई पेटभरि खुवाउनुमा मात्र सीमित छैन । नेपाली खानालाई पर्यटनसँग जोड्ने, नयाँ पुस्तालाई मौलिक परिकारसँग परिचित गराउने र खानामार्फत नेपाली संस्कृति चिनाउने ध्येय पनि यससँग जोडिएको छ ।
नेपालको पर्यटनको चर्चा गर्दा हिमाल, पहाड, तालतलैया, जंगल र सांस्कृतिक सम्पदाको नाम अगाडि आउँछ । तर, कुनै देश वा ठाउँको पहिचान त्यहाँका प्राकृतिक दृश्य र सम्पदाले मात्र बनाउँदैन, खानाको स्वादले पनि बनाउँछ ।
विदेशी पर्यटक नेपाल आउँदा हिमाल हेर्न सक्छन्, जंगल घुम्न सक्छन् र ऐतिहासिक सम्पदाको अवलोकन गर्न सक्छन् । तर, नेपाली खानाको मौलिक स्वाद चाख्ने अवसर पाए उनीहरूको यात्रा थप स्मरणीय बन्न सक्छ । खानामार्फत स्थानीय संस्कृति बुझ्ने अवसरसमेत मिल्छ ।
यही बुझाइलाई व्यवहारमा उतार्न खोजिरहेका छन् प्रेसिडेन्टल सेकुवाका सञ्चालक शंकर भण्डारी ।
शंकर भण्डारी ।
‘पर्यटकलाई यहाँका हिमाल र जंगल मात्र देखाएर हुँदैन, खाना पनि चखाउनुपर्छ,’ उनी भन्छन्, ‘नेपाली खानाको विविधता प्रशस्त छ । यहाँको संस्कृति देखाउन र बुझाउन पनि यस्ता परिकारको प्रवर्द्धन गर्नुपर्छ ।’
भण्डारीका लागि पक्कु केवल मासुबाट तयार हुने परिकार होइन । यो स्वाद, संस्कृति र आतिथ्यको सम्मिश्रण हो । नेपाली खानालाई व्यवस्थित रूपमा ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको विश्वास छ ।
‘नेपाली खानालाई चिनाउन सकियो भने त्यसको लाभ रेस्टुरेन्टमा मात्र सीमित हुँदैन,’ उनी भन्छन्, ‘स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ ।’
नेपाली खानाको प्रवद्र्धनसँगै नयाँ पुस्तालाई पुराना परिकार र तिनको सांस्कृतिक महत्त्व बुझाउने लक्ष्य पनि महोत्सवको रहेको उनी बताउँछन् ।
दिनमै २५० किलो खसीको मासु खपत
प्रेसिडेन्टल सेकुवाले पक्कु महोत्सव आयोजना गर्न थालेको तीन वर्ष भएको छ । महोत्सवमा पक्कुको माग र खपत उल्लेख्य हुने गरेको भण्डारी बताउँछन् ।
उनका अनुसार महाराजगन्जस्थित रेस्टुरेन्टमा दैनिक करिब २५० किलो खसीको मासु खपत हुन्छ । नियमित आपूर्ति सुनिश्चित गर्न डिके कोल्ड स्टोरसँग मासु ल्याउने सम्झौता गरिएको उनले जानकारी दिए ।
‘हामीले मासुको बोसो हटाएर मात्र पक्कु बनाउँछौं,’ भण्डारी भन्छन् ।
उनका अनुसार रेस्टुरेन्टले खसीको मासु प्रतिकिलो एक हजार ४५० रुपैयाँमा खरिद गर्छ । तयार पक्कु भने प्रतिकिलो तीन हजार पाँच रुपैयाँमा बिक्री गरिन्छ ।

कच्चा मासु खरिद गर्ने मूल्य र तयार परिकारको बिक्री मूल्यबीचको अन्तरमा पकाउने प्रक्रिया, तयारीमा लाग्ने श्रम, इन्धन, सञ्चालन खर्च र अन्य लागतसमेत जोडिन्छन् । त्यसैले पक्कुको मूल्य मासुको खरिद मूल्यसँग मात्र तुलना गरेर बुझ्न सकिँदैन ।
पक्कु महोत्सवमा आउने पाहुनाले परिकारको स्वादसँगै फरक अनुभव पनि लिएर जाऊन् भन्ने भण्डारीको चाहना छ । चाडपर्वको मौसम सुरु भइसकेकाले मानिसमा उत्सवको माहोल रहेको उनी बताउँछन् ।
त्यही माहोललाई थप रमाइलो बनाउन रेस्टुरेन्ट परिसरमा पिङसमेत राखिएको छ । बालबालिकाले खेल्दै रमाउन पाउने व्यवस्था गरिएको छ । खानपानलाई मनोरञ्जन र पारिवारिक भेटघाटसँग जोड्ने प्रयासले महोत्सवलाई परिकारको स्वाद चाख्ने अवसरमा मात्र सीमित राखेको छैन ।
पक्कुसँगै नेपाली खानाको विविधता
महोत्सवको मुख्य आकर्षण पक्कु भए पनि पाहुनाका लागि अन्य परिकारसमेत तयार पारिएका छन् । शाकाहारी परिकारदेखि बारा, सिस्नो मटन, योमरी र फरक स्वादका आइसक्रिमसम्मका विकल्प उपलब्ध हुने भण्डारी बताउँछन् ।
नेपाली खानाको विविधता एउटै परिकारमा सीमित छैन । भौगोलिक अवस्था, स्थानीय उत्पादन, समुदायको जीवनशैली र परम्पराअनुसार खानपानका आफ्नै विशेषता छन् । कुनै ठाउँको खाना त्यहाँको कृषि, पशुपालन र सामाजिक जीवनसँग जोडिएको हुन्छ ।

तर, आधुनिक खानपानको विस्तारसँगै कतिपय रैथाने परिकार ओझेलमा पर्ने जोखिम पनि छ । नयाँ पुस्तामा पुराना खानाको स्वाद र तिनको पृष्ठभूमिबारे जानकारी कम हुँदै जान सक्ने भण्डारीको चिन्ता छ ।
‘नेपालीले आफ्नो संस्कृति र परम्परा बिर्संदै गएका छन् । यस्ता महोत्सवले त्यसलाई जोगाउन सहयोग गर्छन्,’ उनी भन्छन् ।
उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले परिकार मात्र होइन, त्यससँग जोडिएको नेपालीपन पनि महसुस गरून् भन्ने उद्देश्य छ । त्यसैले पक्कु महोत्सवलाई हरेक वर्ष दोहो¥याउने गरिएको हो ।
महोत्सव पाँच दिनमा सकिए पनि पक्कु र अन्य परिकार रेस्टुरेन्टमा निरन्तर उपलब्ध हुनेछन् ।
सुन्धाराबाट १३ आउटलेटसम्मको यात्रा
पक्कु र नेपाली खानाको प्रवद्र्धनमा लागेका भण्डारीको व्यावसायिक यात्रा पनि लामो छ । उनी करिब दुई दशकदेखि आतिथ्य तथा रेस्टुरेन्ट क्षेत्रमा सक्रिय छन् ।
सुन्धाराबाट सुरु भएको उनको व्यवसाय अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फैलिएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गत उपत्यकामा १३ वटा आउटलेट सञ्चालनमा रहेको उनले बताए । कलंकी, रविभवन, सुन्धारा र महाराजगन्जलगायतका क्षेत्रमा व्यवसाय विस्तार भइसकेको छ ।
४२ वर्षीय भण्डारीले रेस्टुरेन्ट क्षेत्रमा काम गर्दा सिकेको अनुभवलाई व्यवसाय विस्तारमा उपयोग गरेको बताउँछन् । मेहनत, निरन्तरता र टिमवर्कलाई उनी आफ्नो यात्राका मुख्य आधार मान्छन् ।
‘एक्लैको प्रयासले मात्र व्यवसाय अगाडि बढाउन सकिँदैन । टिमको मिहिनेत र सहकार्यले नै विस्तार सम्भव भएको हो,’ उनको भनाइ छ ।
उनका अनुसार समूहका विभिन्न व्यवसायमा करिब ३५० जनाले रोजगारी पाएका छन् । बुढानीलकण्ठ र बुटवलमा थप सेकुवा कर्नर सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।
सुनधाराबाट सुरु भएको व्यवसायलाई काठमाडौं उपत्यकाबाहिरका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उनको लक्ष्य छ । प्रेसिडेन्टलाई स्थापित व्यावसायिक ब्रान्डका रूपमा अघि बढाउने योजनासहित उनी काम गरिरहेको बताउँछन् ।
महाराजगन्जस्थित प्रेसिडेन्टल सेकुवा करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । फराकिलो परिसर, खानपान र पारिवारिक मनोरञ्जनलाई जोडेर ग्राहकलाई फरक अनुभव दिने प्रयास गरिएको छ ।

स्वादबाट संस्कृति चिनाउने प्रयास
पक्कु महोत्सवको भान्सामा तामाको भाँडामा मासु पाकिरहन्छ । सेफको पन्युले भाँडो चलाउँदा निस्कने आवाजसँगै मासुको बास्ना परिसरभरि फैलिन्छ । पाहुना स्वाद चाख्न आतुर हुन्छन् ।
तर, यो दृश्यको अर्थ प्लेटमा पस्किइने मासुमा मात्र सीमित छैन । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रैथाने खानालाई नयाँ पुस्तासम्म पु¥याउने, रोजगारी सिर्जना गर्ने र पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउने सम्भावना पनि यसमा छ ।
पर्यटनको अनुभव आँखाले देखेका दृश्यमा मात्र पूरा हुँदैन । जिब्रोले चाखेको स्वाद र त्यससँग जोडिएको कथाले पनि यात्राको सम्झना लामो समयसम्म जीवित राख्न सक्छ ।
नेपाली खानालाई त्यसैगरी पर्यटनको एउटा पहिचान बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको व्यावहारिक उत्तर खोज्ने प्रयासमा छ प्रेसिडेन्टल सेकुवाको पक्कु महोत्सव । तामाको भाँडामा पाकिरहेको पक्कु त्यस प्रयासको एउटा स्वादिलो सुरुवात हो ।