विकासन्युज

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै, चार करोड ४२ लाख खर्चेर अध्ययन गरिँदै

फाइल फोटो कर्णाली । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो । सरकारले चालु आवमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि चार करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विमानस्थल भेरीगङ्गा नगरपालिका वडा नं ९, १० र ११ मा अवस्थित रामघाट-घारीवन क्षेत्रमा निर्माणको प्रस्ताव गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले प्रारम्भिक सम्भाव्यता अध्ययनमा उक्त स्थान उपयुक्त देखिएकाले थप अध्ययन अघि बढाइएको जानकारी दिए । ‘वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को प्रक्रिया लामो हुने हुँदा सम्भाव्यता अध्ययनसँगै यसको काम पनि सुरु गरिएको छ,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्र अध्ययनका सबै काम सम्पन्न गर्ने तयारीमा छौं ।’ उनले विमानस्थल निर्माण हुने स्थानको चार किल्लाको टुङ्गो लागिसकेको बताए । प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीका अनुसार विमानस्थल धावनमार्ग (रनवे) को लम्बाइ दुई हजार पाँच सय मिटर र चौडाइ ४५ मिटरको हुनेछ । दुई सय २४ हेक्टर क्षेत्रफल ओगट्ने विमानस्थल पूर्व पश्चिम फैलिनेछ । त्यस्तै ट्याक्सीमार्ग एक हजार दुई सय ९६ मिटर लम्बाइ र ३० मिटर चौडाइको बनाइनेछ । रामघाट क्षेत्रमा सम्भावना देखेर नै अध्ययनको काम सुरु गरिएको प्राधिकरणको भनाइ छ । यसअघि प्राधिकरणले पूर्वी सुर्खेतकै छिन्चु-मदानेचौर क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो । त्यहाँ प्राविधिकरूपले उपयुक्त नदेखेपछि प्राधिकरणले गत वर्ष कर्णाली प्रदेश सरकारसँगको साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजना अघि सारेको थियो । प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विसं २०७८ असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब तीन सय मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो । जसका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेटसमेत छु्ट्याएका थिए तर स्थानीयवासीसँग सहमति नजुटेपछि र रात्रिकालीन रूपमा सञ्चालन गर्न कठिनाइ हुने भएपछि विकल्पमा रामघाटमा विमानस्थल निर्माण गर्न लागिएको हो । सुर्खेत उपत्यकामा रहेको विमानस्थलको धावनमार्ग थप तीन सय मिटर विस्तार गर्दा मात्रै दुई सय निजी घर, जग्गा र विद्यालयजस्ता सार्वजनिक संरचनामा क्षति पुग्ने अध्ययनले देखाएको थियो । ‘सुर्खेत विमानस्थल विस्तार कार्य प्राविधिक र आर्थिक दुवै हिसाबले खर्चिलो देखियो, लगानीअनुसार प्रतिफल आउने सम्भावना नदेखेपछि विकल्पको खोजी गरेका हौं,’ प्राधिकरणका इन्जिनियरिङ विभाग प्रमुख भण्डारीले भने, ‘अहिले प्रस्ताव गरिएको स्थानको एप्रोच राम्रो छ, टु वे (दुई बाटो) सञ्चालन गर्न सकिन्छ ।’ प्रस्तावित रामघाट विमास्थल जङ्गल क्षेत्रमा निर्माण हुने भएकाले जग्गा विवाद, मुआब्जा उल्झन नहुने बताइएको छ । अध्ययन टोलीले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि स्थानीयवासीसँग राय सुझाव सङ्कलनको काम थालेको छ । प्राधिकरणले प्रभावित क्षेत्रका सरोकारवाला नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सामुदायिक वन तथा सरोकारवाला व्यक्ति तथा संस्थासँग वातावरणीय प्रभावबारे सात दिनभित्र लिखित राय-सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले आफ्नो क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुनु गौरवको कुरा भएको बताए । उनले भने, ‘प्रारम्भिक चरणका काम सुरु गरिएको छ, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माण गर्दा आइपर्ने कुनै समस्या आइपरे हामी समन्वयकारी भुमिका खेल्न तयार छौं ।’ रासस

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् : पर्वतारोहणका लागि नयाँ हिमाल खुलाउँछौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले आरोहणका लागि हाल खुला गरिएकाबाहेक थप हिमाल तथा चुलीहरु खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन् । ‘अहिले आरोहणमा नरहेका पाँच हजार आठ सय मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तिनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने । मन्त्री श्रेष्ठले नेपालका हिमाल तथा चुलीहरु विदेशी पर्यटक आकर्षक गर्ने महत्वपूर्ण माध्यम भएकाले पर्वतारोहणको विकास तथा प्रवद्र्धनमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन विदेशी मुद्रा आर्जनका साथै रोजगार सिर्जना गर्ने माध्यम बनेको उनको भनाइ छ । उनले साहसिक पर्यटनको विकास गर्दै नेपाललाई विश्वको पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे । हाल नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार सय १४ हिमाल आरोहणका लागि खुला गरिएको छ । मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढाएको बताउए । पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीलगायतले पर्यटन क्षेत्रलाई सुदृढ र गुणस्तरीय सेवा प्रवाहका लागि सरोकारवालाबीच सहकार्य र समन्वयको खाँचो रहेको बताएका थिए । सङ्घका अध्यक्ष निमा नुर्बु शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि सङ्घले विगत चार दशकदेखि सक्रिय रहँदै आएको बताए । विसं २०३० कात्तिक १५ गते स्थापना भएको सङ्घमा हाल देशभर दुई हजारभन्दा बढी पर्वतीय पर्यटन व्यवसायी आबद्ध छन् । सोही कार्यक्रममा पर्वतीय पर्यटनमा विशेष योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस

विदेश पठाइदिने लोभ देखाएर २२ लाख रुपैयाँ ठगी, दुई पक्राउ

काठमाडौं । बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ । बेलायत पठाइदिने लोभ देखाएर १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति रु नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा चार लाख रुपैयाँ तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति तीन लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ । त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ । यता दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा दुबई जानका लागि सात लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ मासिक एक लाख रुपैयाँसम्म तलब हुने भनी सात लाख ५० हजार रुपैयाँ लिई उनी फरार भएका थिए । उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

सडकमा सौर्य बत्ती जडान गर्दै तारकेश्वर नगरपालिका, लागत साढे २ करोड

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले दुई करोड ६० लाख रुपैयाँमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी दिए । उनका अनुसार ५० मिटर दूरीमा सडक बत्ती जडान गरिनेछ । नगरप्रमुख महर्जनले जरङ्खुदेखि काभ्रेस्थलीसम्म, जरङ्खुदेखि चिसापानीसम्म, नेपालटारदेखि साङ्लासम्म, लोकतान्त्रिक चोकदेखि फुटुङसम्म र महादेवखोला करिडोरमा सौर्य बत्ती जडान गर्ने बताए । “मुख्य सडकबाहेक आवश्यक परेको ठाउँमा भित्री सडकमा समेत बत्ती जडान गर्छौं”, उनले भने । यस्तै, नगरपालिकाभित्रका बिजुली तारलाई भूमिगत गर्ने भएको छ । नगरपालिकाका प्रमुख महर्जनले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई भेटेर नगरपालिकाभित्रको अव्यवस्थित बिजुलीका तार भूमिगत गर्नेबारे ध्यानाकर्षण समेत गराएका छन् । रासस

‘हाइड्रो व्यवसायीका समस्या सुनुवाइ हुनुपर्छ, बैंकले लगानी बढाउनु पर्छ’

काठमाडाैं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठले जलविद्युत व्यवसायीका समस्या समाधानमा सरकार अग्रसर हुनु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जलविद्युत व्यवसायीका समस्याहरु समाधानका लागि सरकार अग्रसर हुनु पर्ने बताएका हुन् । ‘नेपालका निजि लगानीकर्ताले जलविद्युत आयोजना निर्माण गर्न लगानीको समस्या भोग्नु परेको छ, स्वदेशी लगानीको लागि क्षमता अअभिवृद्धि गर्नु पर्छ, बैंकको लगानी क्षमता पनि वृद्धि भैसकेको छ,’ उनले भने । यस्तै, उनले लोडसेडिङ अगाडि र लोडसेडिङ पछाडि हाइड्रो व्यवस्थापनमा ब्यबस्थापनमा कमि आएको बताए । उनले विद्युत विधेयकमा निजि क्षेत्रको समस्या सुनुवाइ हुनुपर्ने धारणा पनि राखे । नेपालमा छिटोभन्दा छिटो ४२ हजार मेगावाट बिजुली उत्पादन हुनु पर्ने उनको भनाइ छ ।

पूर्व गभर्नर क्षेत्री भन्छन् : भारतलाई पश्चिम सेती निर्माणको जिम्मा दिनुमा गलत नियत देखियो

काठमाडौं । पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले पश्चिम सेती आयोजनाको निर्माण गर्न भारतलाई दिनु गलत नियत भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले भारतलाई पश्चिम सेती जलविद्यतुत आयोजना निर्माणको ठेक्का दिनु गलत नियत भएको बताएका हुन् । यस्तै, उनले भारतले नेपालको प्राकृतिक स्रोतमा गिद्दे नजर लगाएको बताएका छन् । प्राकृतिक सम्पदाको धनी नेपालको प्राकृतिक सम्पदामा भारतले गिद्दे नजर लगाएको बताएका हुन् । ‘भारतले नेपालको प्राकृतिक स्रोतमा गिद्दे नजर लगाएको छ, यसमा नेपालले समयमै ध्यान दिनुपर्छ,’ उनले भने । यस्तै, उनले बिद्युत नियमन आयोगलाई बिजुली उत्पादनमा नलाग्न आग्रह गरे ।

नाफा आर्जन गरेर आयोजना बन्द गर्ने प्रवृतिको अन्त्य हुनुपर्छ : सांसद भण्डारी

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले जलविद्युत आयोजनाबाट नाफा आर्जन गरेर बन्द गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै सांसद राजभण्डारीले पछिल्लो सयम आयोजना निर्माण गर्ने र सो आयोजनाबाट नाफा भइसकेपछि बन्द गर्ने अभ्यास भइरहेको बताउँदै यो प्रवृतिको अन्त्य गर्नु पर्ने धारणा राखे । जलविद्युतको क्षेत्रमा विदेशी लगानिकर्ता भन्दा स्वदेशीलाई प्राथमिकता दिनु पर्ने उनकाे भनाइ छ । स्वदेशी लगानीकर्तामा लगानी, प्राविधिक लगायत सबै क्षमताकाे अभिवृद्धि गर्न पनि आवश्यक रहेकाे उनले बताए । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चिलिमे हाइड्रोपावरको पर्फमेन्स राम्रो भएको बताउँदै भण्डारीले चिलिमे हाइड्रोपावर जस्तै कम्पनी निर्माण गर्नु पर्ने धारणा राखे । निजी क्षेत्रको विकास भन्दापनि देशको विकास हुनुपर्ने उनको भनाइ छ । ‘७ दिन ७ रात जलविद्युत क्षेत्रको विकासको लागि छ्लफल गर्न तयार छु, तर निजी क्षेत्रको मात्रै विकास नभएर देशको विकास हुनुपर्छ,’ उनले भने ।

प्रशासनमा भ्रष्टाचार : आधारभुत आवश्यकताको अभाव र श्रीमतीको दबाब नै मुख्य जड

काठमाडौं । आर्थिक वर्ष ०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा १ सय ३१ वटा मुद्दा दायर गर्यो । जसमा ३ सय ११ जना राष्ट्रसेवक कर्मचारीहरु मुछिएका थिए । सोही आवमा आयोगले २५ वटा स्टिङ अपरेसन गरेको थियो । सो अपरेसनमा २६ जना राष्ट्रसेवक कर्मचारीहरु रंगेहात समातिएका थिए । भ्रष्टाचार, घुस र अनियमितताका घट्ना वर्षेनी रुपमा बढ्दै गएको आयोगको प्रतिवेदनले देखाउँछ । हालसम्मको अवस्थालाई हेर्दा नेपाल सरकारको जागिर धेरै नेपालीहरुको आकर्षणको विषय बनेको छ । लोक सेवा आयोगले दरखास्त आह्वान गर्दा त्यसको सयौं गुणा बढीले सो आह्वानमा दरखास्त बुझाएको देखिन्छ । धेरै नेपालीहरुले जीवनको सुरक्षित जागिरको रुपमा रोजेको सरकारी जागिर क्षेत्र भ्रष्टाचार र अनियमितता जस्ता कारणले बद्नामी हुँदै गएको देखिन्छ । तोकिएको तलब तथा सेवा सुविधामा सन्तुष्ट हुन नसकेर कर्मचारीहरुले किन भ्रष्टाचार तथा अनियमितता गरिरहेका छन् ? कर्मचारीहरुले भ्रष्टाचार तथा अनियमितता बाध्यताले गरिरहेका छन की ? ‘खान लाउन नपुगेर कर्मचारीले भ्रष्टाचार गर्छन्’ कर्मचारीहरुले किन भ्रष्टाचार गर्छन भन्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले राज्यले दिएको सेवा सुविधाले खान लाउन नपुगेको कारणले पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको बताउँछन् । भ्रष्टाचार गर्नुमा केही मुख्य कारण भएको उनको भनाइ छ । भ्रष्टाचारको पहिलो कारण राज्यले उपलब्ध गराएको सेवा सुविधाले खान लाउन नपुग्नु भएको उनले बताए । ‘एउटा त उनीहरुलाई नपुगेर हो, खान लाउन नपुग्ने हुन्छ , हाम्रो तलब थोरै छ, काठमाडौंमा जीवन धान्नलाई गाह्रो नै हुन्छ, परिवार राखेर बस्न गाह्रो हुन्छ, अनि भ्रष्टाचार गर्न वाध्य हुन्छन्,’ उपाध्यायले भने । कर्मचारीहरुलाई हुने पारिवारिक दबाबको कारणले पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीहरु पारिवारिक दबाबमा पनि हुन्छन्, कर्मचारीको श्रीमतीले दबाब दिइरहेकी हुन्छे, यति गर्न पर्यो, उती गर्न पर्यो, यहाँ खर्च गर्न पर्यो, त्यहाँ खर्च गर्न पर्यो भन्ने पनि हुन्छ,  त्यस्तो दबाबमा परेर पनी कर्मचारीले भ्रष्टाचार गर्छ ।’ त्यस्तै कारवाहीको डर कम हुँदा पनि कर्मचारीले भ्रष्टाचार हुने गरेको उपाध्यायको भनाइ छ । ‘भ्रष्टाचार गरेर पनि केही पनि हुँदैन, डर नभएर गर्न सक्छ, कारवाही गर्नेहरुले कारवाही नगरेपछि जोगिन सकिन्छ की भनेर पनि गरेका हुन्छन्,’ उनले भने । कर्मचारीको जीवन सुरक्षाको विषयलाई सम्बोधन गर्न नसक्दापनि भ्रष्टाचार भएको हुनसक्ने तर भ्रष्टाचार कुनैपनि बाहानामा छुट नहुने विषय भएको सुचना आयोगका पूर्व प्रमुख कृष्णहरी बास्कोटाको भनाइ छ । बास्कोटा भन्छन्, ‘भ्रष्टाचारको केशमा खान नपुगेर, नेताले बाध्य पारेर अथवा अन्जानवश गरेतापनि माफी हुँदैन, भ्रष्टाचार भनेको मनोवृत्ति हो, विकृत मानसिकताको परिणाम हो, वास्तवमा खानै नपुगेपनि मान्छे बरु मरेका छन, तर इमान्दार मान्छेहरुले भ्रष्टाचार गरेका छैनन् ।’ बास्कोटाले आफ्नो आर्थिक हैसियतका कारण उपचार गर्न नसक्ने अवस्था आएपनि भ्रष्टाचार गरेर उपचार गर्न नहुने बरु मर्न ठिक हुने बताउँछन् । ‘बरु केटाकेटी खानै नपाएर हिँड्छन, फुटपाथे नै हुन्छन, केटाकेटीलाई पढाउन, छोरीको बिहे गर्न अथवा म मर्ने भएँ भ्रष्टाचार गरेर औषधी उपचार गर्नु पर्यो भन्ने कुरामा पनि माफी हुँदैन, त्यो पनि भ्रष्टाचार गर्ने मनस्थितिबाट गरिने विषय हो, इमान्दार मान्छे मरेर जान्छ भ्रष्टाचार गर्दैन ।’ कर्मचारीहरुको आधारभुत आवश्यकता र भ्रष्टाचारको विषय जोडिएको कुरालाई स्वीकार गर्दैै अख्तियारका पूर्व प्रमुख आयुक्त उपाध्यायले कर्मचारीको आवश्यकता धेरै भएको र आवश्यकता पुरा गर्न महंगी भएको बताए । ‘खास गरेर खान पुग्दैन नी, अहिलेको आवश्यकताहरु धेरै छ, बच्चाहरु पाल्नुपर्यो, डेरा लिएर बस्नुपर्यो, सबैकुरा महँगो छ,’ उपाध्यायले भने । कर्मचारीको बालबच्चाको पढाई, स्वास्थ्य, जीबन बीमा, पेन्सन लगायतका विषयहरु आवश्यकताअनुरुप सम्बोधन भएमा भ्रष्टाचार गर्ने अवस्था सिर्जना नहुने बास्कोटा बताउँछन् । कर्मचारीहरु आर्थिक रुपमा कमजोर भएको कारणले उनीहरुलाई दबाब दिएर काम गराउन सकिन्छ भन्ने कुरालाई धेरैले लिएको उनको भनाइ छ । कसरी गर्न सकिन्छ भ्रष्टाचारको न्यूनीकरण ? भ्रष्टाचारको न्यूनीकरण गर्न भ्रष्टाचार गर्नेहरुलाई नै कारवाही गर्नुपर्ने उपाध्यायको भनाइ छ । ‘पहिलो, यसलाई न्यूनिकरण गर्न अख्तियारले भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्नपर्यो, दोस्रो,  इन्साइट एजेन्सीहरुले पनि कडा किसिमले कारवाही गर्न पर्यो, सिस्टम यस्तो बनाउन पर्यो की भ्रष्टाचार गर्ने ठाउँ नहोस, सबै कुरा डिजिटल बनाउन सकेमा पनि भ्रष्टाचार कम हुन्छ,’ उनले भने । भ्रष्टाचारको न्यूनीकरणका लागि राजनीति सुध्रिनु पर्ने पहिलो शर्त बास्कोटाको छ । उनी भन्छन्, ‘पहिला राजनीति नै सुध्रिनुपर्छ, कर्मचारीले राजनीतिबाट नै देखासिकी गरेका हुन्, कर्मचारीले राजनीतिलाई भ्रष्टाचार गर्न सिकाएका होइनन्, राजनीति गर्नेले नै कर्मचारीलाई भ्रष्टाचार गर्नको लागि उत्प्रेरित गरेका हुन् ।’ पैसा भने नेताले कर्मचारीलाई दिने नभएर कर्मचारीले नै नेतालाई दिने अवस्था रहेको तरपनि त्यसको वातावरण नेताले नै बनाउने गरेको बास्कोटाको भनाइ छ । भ्रष्टाचारको सबैभन्दा ठूलो कारण भनेको विकृत राजनीति भएको उनको तर्क छ । कर्मचारीलाई राज्यले सुरक्षाको अनुभुति दिलाउन नसक्दापनि भ्रष्टाचार भएको बास्कोटा बताउँछन् । कर्मचारीलाई घरबहाल दिन नपर्ने, उसलाई होस्टेलको व्यवस्था गरिदिने, कर्मचारीका छोराछोरीले पढ्ने निजामती स्कुल बनाइदिने, उपचारको निमित्त अस्पताल बनाइदिने, खाजा खान कार्यालयले व्यवस्थापन गरिदिने र रासनपानीको लागि सुपथ मूल्यको पसलको व्यवस्था गरिदिने काम हुन नसकेको उनको भनाइ छ । भ्रष्टाचारको न्यूनीकरणको लागि कर्मचारीको जीवन सुरक्षाको काम राज्यले गर्नेपर्ने उनले बताए । भ्रष्टाचार नियन्त्रण गर्नको लागि असल शासन, शुसासन, पारदर्शिता र सदाचारितामा सरकारको मिसन बन्नुपर्ने बास्कोटाको भनाइ छ । तर, सरकार त्यसरी मिसनमा अगाडि नबढेको उनले बताए । कर्मचारीको आवश्यकतालाई सम्बोधन गर्ने कुरामा सरकार संवेदनशिल नभएको तर हात नै बाँधेर भने नबसेको बास्कोटाको भनाइ छ । ‘त्यो सन्दर्भमा सरकार धेरै संवेदनशील भएको चाहिँ पाइंदैन, तर सरकारले गर्दै नगरेको हात नै बाँधेर बसेको भन्ने चाहिँ होइन, सरकारले पनि घाँटी हेरेर हाड निल्न पर्छ,’ उनले भने । यस्तै, निजामती कर्मचारीको सेवा सुविधाको नियमित अपडेट गर्ने कुराको ऐनमा नै व्यवस्था भएको बास्कोटाले बताउँछन् । ‘निजामती सेवा ऐनमा नै प्रत्येक २/२ वर्षमा कर्मचारीको तलब पुनरावलोकन गरिनेछ भनेर लेखिएको छ, मुख्यसचिवको अध्यक्षतामा प्रत्येक २/२ वर्षमा त्यो विषयमा अध्ययन हुने नै गरेको छ,’ उनले भने । समय–समयमा सरकारले केही आयोगहरुको पनि गठन गर्ने गरेको तर त्यसबाट धेरै प्रभावकारी ढंगले काम नगरेको उनको भनाइ छ ।