विकासन्युज

काठमाडौंमा नपाइने उपचार पनि चितवनमा, स्वास्थ्य क्षेत्रमा फड्को मार्दै

चितवन । जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् । सङ्घीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । यकिन तथ्याङ्क नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ । यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ । एक अर्बसम्म लगानी गरेर निजी अस्पतालले स्तरोन्नति गरिरहेका छन् । यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन् । भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौंपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउँछिन् । पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ । एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । उनले भनिन्, ‘सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नति र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौँ ।’ मेडिकल कलेजसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाका लागि निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था महानगरले गरेको छ । यससँगै भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालय लगायतको स्तरोन्नतिका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ । महानगरभित्र ४२ स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने काठमाडौंमा नहुने उपचार सेवा चितवनमा हुने बताउँछन् । उनले भने, ‘यहाँ नहुने सेवा काठमाडौंमा हुँदैन ।” उपचारको हिसाबले नेपालमा काठमाडौंभन्दा अगाडि चितवन रहेको दाबी उनको छ । धेरै उपत्यकाका बिरामी उपचारका लागि आफ्नो मेडिकल कलेजमा आउने गरेको न्यौपानेले बताए । उनले भने, ‘हाम्रोमा उपचार नहुने बिरामी नेपालमा अन्यत्र केही हुँदैन ।’ अङ्ग प्रत्यारोपणमा चर्चा कमाएको यो मेडिकल कलेजले क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दैछ । भरतपुरमा एउटा सरकारी क्यान्सर अस्पताल रहेकोमा अब थप दुई निजी क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारीमा छन् । प्राडा न्यौपानेका भनाइमा स्पेक्टसिटी उपकरणमार्फत न्युक्लियर मेडिसिन, कतिपय रेडियोथेरापी, शल्यक्रिया गरिएका बच्चा राख्ने बाल सघन उपचार कक्ष, सानो आन्द्राको रगत बग्दा गरिने परीक्षणजस्ता धेरै उपचार काठमाडौंमा नभएर चितवनमा मात्रै हुने गरेको छ । यही ढङ्गले विकास हुँदै गर्दा स्वास्थ्यमा भरतपुरले फड्को मार्दै अघि बढ्ने उनको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्यमा भरतपुर निकै अगाडि रहेको जनाउँदै अब व्यवस्थापकीय पाटोमा जुट्नुपर्ने बताउँछन् । शक्तिशाली मेडिकल सिटी बोर्ड गठन गर्नुपर्ने, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, यहाँका दुई मेडिकल कलेजलाई सरकारी निकायसँग साझेदारी गरी काम लगाउनुपर्ने उनको भनाइ छ । यससँगै सबैलाई जोडेर मेडिकल विश्वविद्यालयको अवधारणा यहाँ ल्याउनुपर्ने अधिकारी बताउँछन् । अहिले पनि कतिपय परीक्षणका लागि नमूना भारतलगायतका देशहरुमा पठाउनुपर्ने बाध्यता रहेको जनाउँदै उनले यही उच्चस्तरको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । यहाँ एयर एम्बुलेन्सको सुविधा जरुरी रहेको उनी बताउँछन् । मूल्य र सेवालाई एकरुपता दिनुपर्नेमा अध्यक्ष डा अधिकारीको जोड छ । यसले यहाँको स्वास्थ्य पर्यटनमा टेवा पु¥याएको भन्दै व्यवस्थित गर्नुपर्ने बताए । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने उपचारका क्षेत्रमा पछिल्लो छोटो समयमा फड्को मारेको बताउँछन् । सरकारीसँगै निजी क्षेत्र आक्रामक रुपमा अघि बढेसँगै नेपाली र भारतीय सीमा क्षेत्रका बिरामीले यहाँ सेवा पाएको उनको भनाई छ । सरकारीसँगै निजी क्षेत्रबाट पनि क्यान्सर उपचार हुने भएपछि क्यान्सरका सबै उपचार यही सम्भव हुने उनको भनाइ छ । अहिले अस्पतालले बोनम्यारो प्रत्यारोपणबाहेकका सबै खाले क्यान्सरको उपचार गर्दै आएको छ । नयाँ प्रविधि र सेवा विस्तार हुँदै गएको उनी बताउँछन् । विगतको तुलनामा यहाँबाट बिरामी रिफर भएर बाहिर जाने क्रम घटेर गएको छ । यद्यपि अस्वस्थ प्रतिस्पर्धाका कारण केही स्वास्थ्य संस्थाले जिल्लामै उपचार हुने भए पनि काठमाडौं र भारतमा समेत पठाउने गरेका छन् । रासस

सुधार भएन सार्वजनिक यातायात

काठमाडौं । हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन । बानेश्वरमा रोजगारी गर्न आउने उनीसँग अरु विकल्प पनि छैन । स्थानीय सार्वजनिक यातायातले दिएको दुःख र हैरानीको सयौँ उदाहरण छ उनीसँग । अर्को सवारी साधन नआइकन नगुड्ने बसका कारण धेरै पटक हाजिरीमा गयल पर्नुपरेको छ कार्यालयमा । बिहान र बेलुकाको समयमा अत्यधिक भीड हुने भएकाले सवारी साधन चढ्न नै युद्ध जिते जस्तो हुन्छ रे उनलाई । सिट पाउनु त परेको कुरा । भएका सिट पनि घुँडा ठोकिने खालका छन् । यात्रुको पीडा बुझिदिने कस्ले होला ? उनको मनमा यस्तै प्रश्न छ तर हालसम्म उनले कहिल्यै जवाफ पाउन सक्नु भएको छैन । विशेष गरी काठमाडौं उपत्यकामा चक्रपथभन्दा बाहिर गुड्ने सवारी साधनले दिएको पीडा नभोग्ने सायदै मानिस होलान् तर, यातायात व्यवसायी सेवाका लागि सवारी साधन चलाएका हुन् कि व्यवसायका लागि भन्नेमा नै द्विविधामा छन् । पछिल्ला दिनमा हरेक १५ दिनमा बललिने भाडाका कारण यात्रु र सवारी साधनका सहचालकबीचको झगडा पनि अर्को समस्याका रुपमा देखिएको छ । नियमानुसार हरेक सवारी साधनमा यात्रुले देख्ने गरी भाडा सूची टास्नुपर्छ तर, काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सवारी साधनले त्यस्तो सूची नै राखेका हुँदैनन् । भेडा बाख्रा कोचेजस्तै गरेर यात्रु ओसार्ने त्यस्ता सवारी साधनलाई कानुन कार्यान्वयन गराउन बसेको ट्राफिक प्रहरीले पनि देखेको नदेख्दै गर्ने गरेको मच्छेगाँउबाट हरेक दिन रत्नपार्क रुटमा यात्रा गर्ने यात्रु रामु श्रेष्ठको अनुभव छ । सवारी साधनले यात्रुसँग बढी भाडा उठाइरहेको थाहा हुँदाहुँदै पनि सहन बाध्य भएको उनको भनाइ छ । कारबाही गर्ने कस्ले हो ? किन यस्तो भइरहेको छ भन्नेबारेमा राज्यका कुनै पनि निकायले हालसम्म ध्यान दिन सकेको छैन । साँझ परेपछि सवारी साधन नपाउनु अर्को समस्या हो, राजधानीको । ट्याक्सीको मनपरि पनि उस्तै छ । साँझ बिहानको समय कमाउनका लागि हो भने जसरी मनलाग्दी भाडा लिने गरेको भुक्तभोगी यात्रुको भनाइ छ । पछिल्ला दिनमा प्रविधिमा आधारित टुटल, पठाओ, इन ड्राइभजस्ता सेवाका कारण ट्याक्सी चालकको ज्यादती केही भए पनि कानुन कार्यान्वयन गर्ने निकायले ध्यान दिन नसक्दा सार्वजनिक यातायातमा मौलाएको विकृति अन्त्य हुन सकेको छैन । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाएको बताएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको यात्रुको भनाइ छ । के सहर, के ग्रामीण क्षेत्र । सबै स्थानमा चल्ने सार्वजनिक सवारी साधन र त्यसका सञ्चालकले दिएको भुक्तमान नभोग्ने सायदै कोही पनि छैन होला । समस्या घट्नुको साटो बरु बढीरहेको छ । संसारभरका धेरैजसो सरकारले आफ्ना नागरिकलाई उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्यका साथ सार्वजनिक यातायातमा ठूलो लगानी गरेका छन् । विशेष गरी युरोपेली देशको सार्वजनिक यातायातलाई विश्वकै उत्कृष्ट प्रणालीका रुपमा लिइन्छ । जानकारका अनुसार सार्वजनिक यातायातमा नाफा खोजिदैन । यो एक प्रकारको सेवा क्षेत्र हो तर, नेपाल जस्ता केही देशमा भने यसलाई नाफा कमाउने व्यवसायका रुपमा चित्रण गरिएको छ । घण्टौं सवारी साधन रोकेर राख्ने, सिटभन्दा बढी यात्रु चढाउने तथा भाडासमेत मनलाग्दी लिने प्रवृत्ति मौलाएको छ । यस्ता छन्, संसारका उत्कृष्ट सार्वजनिक यातायात छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा अरविन्द केजरीवालको सरकारले सार्वजनिक यातायातमा ठूलो लगानी गरेको छ । महिलालाई निःशुल्करुपमा सार्वजनिक यातायातमा सवारी गर्न पाउने प्रबन्ध गरिएको छ । दिल्ली परिवहन निगममार्फत नागरिकको सहज आवागनमा सरकार लागिपरेको छ । सार्वजनिक यातायात प्रणालीको बारेमा अध्ययन गर्ने एक अन्तर्राष्ट्रिय संस्थाका अनुसार सिङ्गापुरको यातायात प्रणाली संसारकै सबैभन्दा राम्रो मानिन्छ । विशेष प्रवेशाज्ञा भएकाले न्यूनतम सात अमेरिकी डलरदेखि १४ दशमलव ५० अमेरिकी डलरमा सहजरुपमा यात्रा गर्न पाउँछन् । त्यस्तै बेलायतको सार्वजनिक यातायात पनि उत्तिकै महत्वपूर्ण र उदाहरणीय मानिन्छ । एक अध्ययन अनुसार बेलायतका ८५ प्रतिशत मानिस सार्वजनिक यातायातको सेवाबाट सन्तुस्ट छन् । उत्कृष्ट सेवा प्रदान गर्नेमा हङकङको सार्वजनिक यातायात प्रणालीलाई पनि लिइन्छ । कूल रुपमा ५० सेन्टदेखि सात दशमलव ५० अमेरिकी डलरसम्म मात्रै भाडा लाग्ने त्यहाँको सार्वजनिक यातायाता प्रणालीबाट ८३ प्रतिशत जनसङ्ख्या सन्तुष्ट छन् । त्यहाँको सार्वजनिक यातायातलाई ९९ दशमलव नौ प्रतिशत समयमै सेवा उपलब्ध गराउने गरेको छ । फ्रान्सको पेरिस, स्पेनको म्याड्रिड, अमेरिकाको शिकागो र न्यूयोर्क, जापानको टोकियो, युनाइटेड अरब इमिरेटको दुबई, चीनको सांघाई र बेइजिङ, स्वीटजरल्याण्डको जुरीच, पराग्वे, स्वीडेनको स्टकहोम, जर्मनीको बर्लिन, रसियाको मस्को, दक्षिण कोरियाको सिऊल, इटालीको मिलान, क्यानडाको टोरन्टो र चिलीको सान्टियागोमा सेवा दिइरहेको सार्वजनिक यातायात प्रणालीलाई संसारकै उत्कृष्ट मानिन्छ । छैन सरकारी नीति नेपालमा हाल ९२ हजार किलोमिटरको हाराहारीमा सडक सञ्जाल छ । झण्डै ४० लाखजति सवारी साधन छन् । ती मध्ये झण्डै १५ लाख सवारी साधन काठमाडौँ उपत्यकामा गुडिरहेका जनाइएको छ । ती झण्डै ८० प्रतिशत बढी दुई पाङ्ग्रे मोटरसाइकल छन् । आठ प्रतिशत बराबरमा निजी कार छन् । तीन प्रतिशतको हाराहारीमा मात्रै सार्वजनिक सवारी साधन छन् । कोरोना कहरपछि त निजी सवारी साधन जोड्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । वार्षिकरुपमा झण्डै २० प्रतिशतको दरले निजी सवारी साधनको सङ्ख्यामा बढोत्तरी भएको छ । त्यसको पछाडिको खास कारण हो, नेपालमा सार्वजनिक यातायात प्रणाली राम्रो नहुनु । यातायात क्षेत्रमा लामो समयदेखि अध्ययन गर्दै आउनुभएका आशिष गजुरेलका अनुसार सुरक्षित, प्रयोगकर्तामैत्री, सस्तो, भरपर्दो, वातावारणमैत्री, र आरामदायी सार्वजनिक यातायात नेपालमा छैनन् । सोही कारण नेपालीले ऋण धन गरेरै भए पनि निजी सवारी साधन जोडिरहेका छन् । विशेष गरी सार्वजनिक सवारी साधन निम्न वर्गका मानिसका लागि मात्रै हो भन्ने धारणा छ । जुन परिवर्तन गर्नु जरुरी रहेको उहाँको भनाइ छ । सार्वजनिक सवारी साधनको विकास र विस्तारमा राज्यले खास अर्थमा ध्यान दिन सकेको छैन । कोलम्बियाको राजधानी सहर बोगाटाका पूर्वमेयर तथा सहरी विकासका अभियन्ता इनरिक पेनलोसाले एक सन्दर्भमा भन्नुभएको थियो “विकसित सहर त्यो होइन, जहाँका गरिब पनि कार चढ्छन् । विकसित सहर त्यो हो, जहाँका धनी पनि सार्वजनिक यातायात प्रयोग गर्छन् ।” समाजधा धनी गरिब सबैलाई सहज र सुलभरुपमा यात्राको अवसर प्रदान गर्ने विषयले नै समाजमा लोकतन्त्र के कति रुपमा उन्नत र समतामूलक खालको छ भन्ने देखाउँछ । सवारी साधनको दर्ता, चालक अनुमतिपत्र प्रदान गर्नेबाहेक कुनै पनि भूमिका सरकारले निभाउन सकेको छैन । सोही कारण नेपालको सार्वजनिक यातायात प्रणाली खाए खा नखाए घिच भने जस्तै अवस्थामा छ । काठमाडौंको विकृति विस्तार हुँदै काठमाडौँ उपत्यकाभित्र देखिएको विकृति अन्य सहरमा समेत विस्तार हुने क्रममा छ । विशेष गरी महानगर रहेका ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज र विराटनगरले समयमै सार्वजनिक यातायातको सुधारका लागि पहल नथाले विकृति झनै विस्तार भएर जानेछ । त्यसका लागि पनि तत्कालै महानगरले स्पष्ट नीति तथा योजना बनाएर कार्यान्वयन गरिहाल्नु आवश्यक छ । काठमाडौँ र ललितपुर महानगरमा साझा यातायातमा लगानी गरेका छन् तर, साझाले सबै रुटमा सेवा विस्तार गर्न सकेको छैन । ठूला सवारी साधन ल्याउने तयारी गरेका केही व्यवसायी पनि कोरोना कहरपछि हच्किएका छन् । साँझ पर्दा नपर्दै काठमाडौँ उपत्यकामा सवारी साधन पाउन सकिँदैन । निजी व्यवसायीको मनलाग्दी नियमन गर्नेतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । राज्यको लगानी नहुँदा निजी व्यवसायीलाई यात्रुमैत्री बनाउने दायित्वबाट पनि राज्य चुकेको छ । विशेष गरी कुनै पनि सहरमा ४० लाख बराबर जनसङ्ख्या पुगेपछि मेट्रो रेलको परिकल्पना गरिन्छ । काठमाडौँमा मेट्रो रेल चलाउने विषय अघिल्ला वर्षमा असाध्यै चर्चामा रहे तर, पछिल्ला दिनमा यो विषय सेलाएको छ । काठमाडौँ महानगरले चक्रपथमा चलाउने भनेको मोनो रेलको विषय पनि यतिबेला छाँयामा परेको छ । यातायातविज्ञ गजुरेल मेट्रो रेल नै काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीका लागि उपयुक्त विकल्प भएको बताउनुहुन्छ । यसमा स्थानीय सरकारले लगानी गर्न नसक्ने भएकाले सङ्घीय सरकार नै लाग्नुपर्ने हुन्छ । हालको मूल्य अनुसार प्रतिकिलोमिटर मेट्रो रेलका लागि १० अर्ब बराबरको लगानी चाहिन्छ । त्यत्रो लगानी स्थानीय र प्रदेश सरकारले जुटाउन सक्दैनन् । बन्दै छ यातायात प्राधिकरण सार्वजनिक यातायातको समस्या सम्बोधन गर्ने लक्ष्यका साथ प्रतिनिधिसभाले आइतबार मात्रै ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ पारित गरेको छ । सहरी यातायात र यात्रुको आवतजावत र पहुँचलाई सरल, सहज, विश्वसनीय, लागत प्रभावित र सुरक्षित बनाई सार्वजनिक यातायात सेवालाई व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ । प्राधिकरणले सार्वजनिक यातायासम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्ने काम गर्नेछ । काठमाडौं उपत्यकाको लागि उपयुक्त हुने एकीकृत यातायात प्रणालीको विकास गर्ने, एकीकृत यातायात प्रणाली सञ्चालनसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने, सवारी साधनमा सचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन विद्युतीय भाडा प्रणालीको विकास गरी कार्यान्वयन गर्ने, यात्रुको हितलाई मध्यनगर गरेर सार्वजनिक यातायात सेवाको व्यवस्थापन गर्नेछ । त्यस्तै सेवाको गुणस्तर तोक्ने, यात्रको टिकट ढाँचा निर्धारण गर्ने, बिसौनी, यात्रु प्रतीक्षालय तथा पार्किङस्थल निर्धारण गर्ने, त्यस्ता स्थानमा आवश्यक शौचालयलगायतको प्रबन्ध गर्ने, रुट निर्धारण गर्ने, भाडा दर तय गर्नेलगायतका काम गर्नेछ । त्यसको सञ्चालनका लागि काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद् रहनेछ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईका अनुसार विधेयकको उद्देश्य सहरी क्षेत्र र काठमाडौँको यातायात यात्रुमैत्री बनाउनु नै हो । उपत्यकामा सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहबाट स्वीकृति लिएका गाडी गुड्ने तर तिनका बीच आपसमा समन्वय नभएकाले व्यवस्थित बनाउन विधेयक ल्याइएको उनको भनाइ छ । प्राधिकरणमा बढी जनसङ्ख्या भएका स्थानीय तहका प्रमुखले नेतृत्व लिने र जोडिएका पालिकाका प्रतिनिधिलगायत सहभागी हुने व्यवस्था रहेको उनको भनाइ छ । रासस

जीवनभन्दा निर्जीवन बीमा कम्पनीविरुद्ध बढी मुद्दा, फैसलामा सक्रिय बन्दै समिति

काठमाडौं । बीमा कम्पनी विरुद्ध बीमा समितिमा मुद्दा दर्ता गर्नेको संख्या क्रमिक रुपमा बढ्दो छ । गत पाँच वर्षको विवरणअनुसार समितिमा मुद्दा हाल्ने बीमितको संख्या निरन्तर रुपमा बढेको पाइएको हो । आर्थिक वर्ष २०७८/७९ मा मात्रै समितिमा १५३ वटा मुद्दा दर्ता भएका छन् । जुन यसअघिका वर्षमा परेका मुद्दाको तुलनामा सर्वाधिक हो । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा समितिमा कूल ३३३ वटा मुद्दा परेका छन् । जसमा १८० वटा मुद्दा अघिल्ला वर्षका हुन् भने बाँकी १५३ वटा मुद्दा गत आवको हो । मुद्दा दर्ता हुनेमा पनि अधिकांश मुद्दा निर्जीवन बीमा कम्पनी विरुद्ध रहेका छन् । जीवन बीमा कम्पनी विरुद्ध परेका मुद्दाको तुलनामा निर्जीवन बीमा कम्पनी विरुद्ध परेको मुद्दाको संख्या १२३ प्रतिशत बढी रहेको समितिले जनाएको छ । विगत ४ वर्षमा जीवन बीमा कम्पनी विरुद्ध कूल १६० वटा मुद्धा दर्ता भएका छन् भने निर्जीवन बीमा कम्पनी विरुद्ध कूल ३५७ वटा दर्ता भएका छन् । मुद्दा दर्ताको संख्यासँगै फैसला भएका मुद्दाको संख्या पनि बढ्दो छ । समितिले गत आवमा मात्रै १५३ वटा मुद्दा फैसला गरेको छ । जुन अघिल्ला आवको तुलनामा बढी हो । तर फैसला भएका १५३ वटा मुद्दा भने गत आवको मात्रै नभएको समितिले स्पष्ट पारेको छ । जसमा आर्थिक वर्ष २०७४/७५ देखिका मुद्दाहरु समावेश भएका छन् । समितिले आर्थिक वर्ष २०७४/७५ बाट १, आव २०७५/७६ बाट २, आव २०७६/७७ बाट २५, आव २०७७/७८ बाट ६८ वटा मुद्दा फर्छोट गरेको छ । त्यस्तै, आव २०७६/७७ बाट ७, आव २०७७/७८ बाट २७ र आव २०७८/७९ बाट भने २३ वटा मुद्दा सहमतिबाटै फर्छौटको भएको देखिएको छ । समितिमा दर्ता भएका उक्त मुद्दाहरु सामान्य प्रकृतिका नै हुन् । दावी भुक्तानीको क्रममा बीमा कम्पनीहरुसँग नमिलेका केशहरु नै समितिमा दर्ता हुने गरेका छन् । यस्ता केशहरु बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । पछिल्लो समय कम्पनीहरुको बिजनेस बढेसँगै मुद्दा दर्ता गर्नेको संख्या पनि बढेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘बीमा समितिले पनि छिटोभन्दा छिटो मुद्दा फर्छोट गर्नुपर्छ, त्यसको लागि हाम्रो प्रयास निरन्तर रहनेछ, तर त्योभन्दा पहिले कम्पनीहरुले नै सकेसम्म छिटो दावी फर्छोट गरेर बीमा क्षेत्रलाई विश्वासिलो बनाउनु पर्छ,’ पौडेलले विकासन्युजसँग भने ।  मुद्दा दर्ता र  फैसला  आर्थिक वर्ष २०७४/७५ को साउनसम्ममा बीमा समितिमा ७७ वटा मुद्दा निवेदन परेका थिए । उक्त आवमा मात्रै थप ३९ वटा गरी कूल ११६ वटा मुद्दा समितिमा दर्ता भएका थिए । जसमध्ये बीमा समितिले २६ वटा मुद्दाको फैसला गरेको थियो भने ७ वटा मुद्दा भने तामेली (समितिको बोर्डले आदेश गरिसकेको तर उसले माग गरेअनुसार कागजात नपुगेर थन्किएका) थिए । र, बाँकी रहेको ८३ वटा मुद्दा भने सो वर्षमा फैसला हुन सकेनन् । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा थप १०० वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षको ८३, सोहि आवको १०० र पुनरावेदनबाट रिभ्यु गर्न आएका ४ मुद्दा गरी कुल १८७ वटा मुद्दा परेको थियो । त्यसमध्ये समितिले सोहि आवमा मात्रै ८५ वटा फैसला गरेको थियो । त्यसैगरी, आव २०७६/७७ मा कूल २२८ वटा मुद्दा समितिमा परेको थियो । जसमध्ये १०१ वटा पुराना मुद्दा, १२६ नयाँ र १ वटा पुनरावेदनबाट रिभ्यु गर्न आएका मुद्दा हुन् । यी मध्ये समितिले सो आवमा ९१ वटा मुद्दा दर्ता फैसला गरी २ वटा तामेलीमा रहेको थियो भने १३५ वटा मुद्दा फैसला हन बाँकी थियो । तथ्यांक अनुसार वर्षैपिच्छे मुद्दा दर्ता गर्ने संख्या र फैसला संख्याको बढ्दो छ । आव २०७७/७८ को शुरुवातमा कूल १३५ वटा मुुद्दा विचाराधिन अवस्थामा थिए । सो वर्षमा मात्रै थप १३७ वटा निवेदन परे भने एउटा पुनरावेदनबाट आएका थिए । यससँगै कुल २७३ वटा मुद्दामा ९३ वटा मुद्दा सोहि आवमा फर्छौट भएका हुन् । जीवनभन्दा निर्जीवन बीमा कम्पनीविरुद्ध बढी समितिका अनुसार आव २०७५/७६ मा कूल १०१ वटा मुद्दा परेकोमा निर्जीवन बीमा कम्पनी विरुद्ध ७३ र जीवन बीमा कम्पनी विरुद्द २९ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै, आव २०७६/७७ मा निर्जीवन बीमा कम्पनी विरुद्ध १०१ र जीवन बीमा कम्पनी विरुद्द २५ वटा गरी कूल १२६ मुद्दा समितिमा दर्ता भएका थिए । आव २०७७/७८ मा १३७ मुद्दा दर्ता भएकोमा निर्जीवन बीमा कम्पनी विरुद्द ८४ र जीवन बीमा कम्पनी विरुद्द ५३ वटा थिए । त्यसैगरी, आव २०७८/७९ मा निर्जीवन बीमा कम्पनी विरुद्द १०० र जीवन बीमा विरुद्द ५३ वटा गरी कूल १५३ वटा मुद्दा समितिमा दर्ता भएका थिए ।

धौलागिरी लघुवित्तको आईपीओ भाग्यमानी ५ जनालाई ११ कित्ता, १० कित्ता कतिले पाउँछन् ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिनसम्म ७०.४५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका छन् । लघुवित्तको आईपीओमा आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । लघुत्तिले साउन २४ गतेदेखि साउन २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ३० हजार ८२९ जना आवेदकले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

सुकुम्बासीलाई सरकारी जग्गा दिन मिल्दैन्, राज्यको सम्पत्ति दोहन गर्न पाइदैन्

राजधानीमा वर्षा हुनेबित्तिकै डुबान पर्न शुरु भइहाल्छ । ढलको पाइप सानो हुन्छ र भएको पनि सबै फोहोरले भरिएको हुँदा डुबानमा पर्न बेर लाग्दैन् । वर्षात लागेसंगै यहाँ अति जटिल समस्या निम्तिन्छ । काठमाडौंमा जनसंख्या ह्वात्तै बढेको छ तर खाली ठाँउ छैन् । सबै घरघर छ भने बाटो पनि सबै कालोपत्रे गरिएको छ । माथिबाट झरेको पानी जमिनले सोस्न सक्ने अवस्था छैन् । आकाशबाट परेको पानी जमिनभित्र जाने ठाँउ नभएपछि रोडरोडमा पानी जमेको छ । यता, घरभित्रै समेत पानी पसेको छ । पानी जमेपछि सवारी साधनलाई ओहोरदोहोर गर्न पनि सकस परेको छ । उता, पैदलयात्रीलाई जति कठिनाइ त कसलाई होला । सडक पानीले भरिएपछि व्यापारीलाई समेत चुना लागेको छ । सरकारले ढल र पानीको पाइप सँगसँगै राखेको हुन्छ । जसले गर्दा ढल फुटेर खानेपानीमा नमिसिएला भन्न सकिन्न । वर्षातको समयमा खानेपानी कै कारण धेरै रोग लाग्ने गरेको छ । तीन दशकअघि उपत्यकामा यत्रो बस्ती थिएन् । सबै तिर खाली जग्गा देखिन्थ्यो । तर, अहिले उपत्यकामा धेरै परिवर्तन आइसकेको छ । अव्यवस्थित बस्ती र बढ्दो जनसंख्या नै काठमाडौंका लागि घाँडो बनेको छ । खोलानाला सबै फोहोर छन् । झण्डै साढे तीन दशकअघि यही खोलाका पानी निकै सफा थियो । खोलाको पानी नुहाउनदेखि पिउनका लागि प्रयोग समेत हुन्थ्यो । खोला वरपर वस्ती थिएन् । तर, अहिलेको अवस्था निकै नै दयनीय छ । खोलामा पानी होइन् ढल बग्छ । यता, खोला मिचेर घर बनाउने, टहरा हाल्ने र बस्ती बसाउनेको संख्या ह्वात्तै बढेको छ । व्यक्तिले खोला साँघुरो पारेर घर बनाए । सुकुम्बासीको नाममा खोला अतिक्रमण गरेर वस्ती बसाले । अनि खोला बग्ने ठाँउ नभएपछि वस्तीमा नछिरेर कहाँ जान्छ ? खोला बग्ने ठाँउमा घर बनाएपछि डुबानमा पर्नु स्वाभाविकै हो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र वडा कार्यालयले सरकारी जग्गा कब्जा गरेर नाजायज फाइदा उठाउने सुकुम्बासीलाई तत्कालै हटाउनुपर्छ । व्यक्तिले खोला मिचेर घर बनाएको छ भनेर त्यसलाई तत्काल भत्काउनुपर्छ । नाटकी रुपमा सुकुम्बासी बनेकाहरु आफ्नो घरचाहिँ बहालमा लगाउने । आफ्नो जग्गा अरुलाई कमाउन दिने अनि सुकुम्बासी भन्ने । राजनीतिक दलहरुले सुकुम्बासीको नाममा राजनीति गर्न छोड्नुपर्छ । वास्तविक सुकुम्बासी नभएपनि नौटंकी रच्ने काम भइरहेको छ । खोला वरपर टहरा हालेर बस्ने अनि सरकारलाई दबाब दिइरहने । सरकारले उनीहरुको जिम्मा लिएको हो र ? सरकारी जग्गा हडप्नका लागि यहाँ अनेकौं बहानाबाजी गरिएको छ । भोलि सबै जना हामी सुकुम्बासी भन्दै खोला मिचेर बस्लान् । अनि सरकारले सबैको नाममा सरकारी जग्गा बाँडफाँड गर्ने ? पहिले पनि कतिपयले सुकुम्बासीको नाममा सरकारी जग्गा हड्पिसकेका छन् । अब कतिलाई दिने ? भोट लिनका लागि राजनीतिक दलले धमाधम लालपुर्जा बाँडेका छन् । यसरी सरकारी सम्पत्ति दोहन गर्न मिल्छ ? सरकारी सम्पत्ति राजनीतिक दलको व्यक्तिगत सम्पत्ति हो र जसलाई मनलाग्यो त्यसलाई दिन ? काम गर्न नखोज्ने, सुकुम्बासी भन्ने राज्यको सम्पत्ति कब्जा गर्ने । पैसा कमाएर जग्गा किन्न सरकारले प्रतिबन्ध लगाएको छैन् तर एकछिन नाटक देखाएर सित्तैमा पाइन्छ भनेपछि कसले छोड्छ । सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गर्नेहरु राजनीतिक दलकै कार्यकर्ता हुन् । पार्टीको आडमा यो गैरकानूनी काम भइरहेको स्पष्ट बुझिन्छ । यता, ठूल्ठूला व्यक्तिले गुठी, मठमन्दिर र सरकारी जग्गा आफ्नो नाममा लगे । पहुँचवालाले धमाधम सरकारी जग्गा कब्जा गरेका छन् । राजनीतिक दल, व्यापारी, दलाली र गुण्डाहरुले राज्यको सम्पत्ति आफ्नो नाममा ल्याए । थापाथलीस्थित नर्भिक अस्पतालले एक रोपनी आठ आना जग्गाको वार्षिक भाडा जम्मा ८४ हजार तिरिरहेको छ । अरु व्यक्तिलाई भाडामा दियो भने महिनामै १८ लाख रुपैंया तिर्ने आउँछन् । सरकारी सम्पत्तिको यसरी धमाधम दुरुपयोग भएको छ । आँखाको अगाडि आएको भएर मात्र सबैले यो कुरा थाहा पाएका हुन् । ७७ वटै जिल्लामा कति सरकारी जग्गा कब्जा भएको छ यसको लेखाजोखा राज्यको कुनै पनि निकायसंग छैन् । भूमि सुधारमन्त्री शशी श्रेष्ठले मुलुकभरका १२६ वटा मालपोतलाई गुठी, मठमन्दिर र सरकारी जग्गा खोज्न निर्देशन दिएकी छैनन् । उल्टो धमाधम जथाभावी लालपूर्जा बाँडेर हिडिरहेकी छिन् । स्थानीय तहको चुनाव सकेर नयाँ जनप्रतिनिधि आएको महिनौं बितिसकेको छ । तर, तिनले पनि खोजतलासमा चासो दिएका छैनन् । नेपालको जमिन चीन र भारतले कब्जा गर्दै आएको छ । सीमानाकामा रातारात जग्गा कब्जा गर्ने काम भइरहेको छ । जसले गर्दा नेपाल साँघुरिदै गएको छ । नेपालभित्र पनि जग्गा सकिँदै गएको छ । अब आउने पुस्ताको हालत त बेहाल हुने निश्चित छ । सरकारले यसरी व्यक्तिको हातमा जग्गाको स्वामित्व दिनुहुन्न । सरकारकै अधिकार क्षेत्रभित्र राख्नुपर्छ । व्यक्तिको स्वामित्वमा जग्गा दिँदा नेपालीहरु धेरै लोभी भए । सरकारी जग्गा अतिक्रमण गरेर पनि धेरै जग्गा जोड्नतिर लागिरहेका छन् । उता, जग्गामा पनि व्यापार मौलाएको छ । जसले गर्दा नेपालीहरु जग्गा खरिदबिक्री गर्नतिर लागे । जग्गाको मूल्य रातारात आकासिदैं गयो । विकसित मुलुकमा सरकारले आफ्ना नागरिकलाई जग्गामा पूरै अधिकार दिदैंन् । जसले गर्दा त्यहाँ धेरै विकास भएको हो । आधा सरकारको नाममा हुन्छ भने आधा व्यक्तिको । नेपालमा पनि यही नियम लागू गर्नुपर्ने देखिएको छ । तर, घुस्याहा नेताहरु भएको हाम्रो मुलुकमा यो असम्भवझै छ । किन कि राजनीतिक दलहरु नै जग्गा दलाली गरेर आएका छन् । सबैभन्दा धेरै कमाउने थलो पनि हुने र दिन दुई गुणा रात चौगुणा धनी बन्ने । पछिल्लो समय नेपालमा जग्गा प्लानिङ गर्दै बिक्रीवितरण गर्ने क्रम बढेको छ । राजनीतिक पार्टी, गुण्डा, व्यापारीलगायता अधिकांश यही पेशामा आबद्ध छन् । जसले गर्दा बचेकुचेको जग्गा जोगाउन अप्ठ्यारो परेको हो । खेतीयोग्य जमिन स्वाहा भइसकेको छ । अब पनि सरकार टोलाएर बस्ने हो भने नेपालीहरु भोकभोकै मर्नुपर्ने दिन आँउछ । सरकारले कतिञ्जेल सामान बाहिरबाट आयात गर्छ । काठमाडौंमा बस्न नसक्ने स्थिति बनिसकेको छ । खुला ठाँउ छैन् , हावा कतैबाट आँउदैन् । रुखविरुवा, वनजंगल सबै फडानी भइसकेको छ । अनि गर्मी बढ्नु त स्वाभाविकै भयो । आज पानी पर्यो भने भोलि उत्तिकै गर्मी भइहाल्छ । काठमाडौ अस्तव्यस्त बनेको छ । विकासको नाममा अव्यवस्थित घर बनेको छ, पानी पठाउने एउटा ठाँउ छैन् । आकाशबाट परेको पानी घरधनीले सिधैं सडकमा खसाल्दिन्छन् । जसले गर्दा कालोपत्रे गरेको सडक ध्वस्त बनेको छ । सहरी विकासमन्त्री मेटमणि चौधरी सरकारी गाडी चढ्ने, जनताले तिरेको करबाट तलबभत्ता खाने र काम केही नगर्ने ? सहरी विकास विभाग पनि छ तर त्यसले के काम गर्छ कसलाई अत्तोपत्तो छैन् । मन्त्रालय र विभागका कर्मचारी मिलेर राज्यको ढुकुटी रित्ताउने काम मात्र गरिरहेका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकालसंग सहर विकास गर्ने केही योजना छैन् । दिन कटाउने र माना पचाउने काम मात्र भइरहेको छ । पहिले खोला भएको ठाँउमा अहिले भवन निर्माण भएको छ । लाजिम्पाटको उत्तरदोकादेखि जयनेपाल हल, कमलादी, बागबजार, टुकुचा, भृकुटीमण्डप हुदैं थापाथली बग्ने खोला खोइ ? खोलामाथिबाट घर बनेको छ । अनि खोला नपसेर के पस्छ त ? यसलाई हटाउन कुनै पनि निकायको ध्यान गएको छैन् । सरकारी सम्पत्ति कब्जा गर्ने र आफ्नो नाममा लैजाने व्यक्तिहरुलाई किन कारबाही गरिएन् ? यहाँ राजनीतिक दलकै ठूलो आड छ । थानकोटको मातातीर्थको तीन सय रोपनी बढी जग्गा बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा व्यक्तिको नाममा पास गरिदिए । यता, वालुवाटारको जग्गा व्यक्तिको नाममा गरिदिने पनि भट्टराई र माधव नेपाल हुन् । यिनीहरुलाई त जनताले एक मत पनि दिनुहुन्न । देशकै नेताहरु चोर भएपछि मुलुकले के सुःख पाउला । मुलुक कसरी समृद्धि होला । (लेख लेखकको निजी विचार हो ।)

अभियान लघुवित्तको आईपीओ बाँडफाँट गर्दा ९१ हजारले पाए १० कित्ता

काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो । क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ८० हजार ९७० जना आवेदकले २ करेड १९ लाख १२ हजार ६७० कित्ताका लागि आवेदन दिएका दिए । तर, २ हजार ३७६ जना आवेदकको विभिन्न कारणले रद्द भएको छ । बाँकि रहेका १९ लाख ७८ हजार ५९४ जना योग्य आवेदकलाई मात्रै सेयर वितरण गरेको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट बाँडफाट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले लघुवित्तको १० कित्ता सेयर पाएका छन् । आवेदन दिएका बाँकी आवेदकको हात रित्तो भएको छ । लघुवित्तले साउन १८ गतेदेखि साउन २२ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ४८ हजार ७५० कित्ता सेयर सामुहिक लगानी कोष, १२ हजार ५ सय कित्ता सेयर कर्मचारी र ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्बसाधारण लगानीर्ताका लागि छुट्याएको थियो । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट र अभियान लघुवित्तको वेबसाइट https://www.aviyanlaghubitta.com/ बाट हेर्न सकिने छ ।

खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

‘पूर्वाञ्चल विश्वविद्यालयले हजारौं गरिबका छोराछोरीको भविष्य चकनाचुर पार्यो’

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले साउन २९ गते पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने र परीक्षा नियमावली, २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यान्वयन गरिनुपर्ने लगायतका माग गरेको छ । त्यसैगरी चक्रवर्ती हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गर्नुपर्ने पनि माग गरिएको छ । नेविसङ्घ पूर्वाञ्चल विश्वविद्यालयका कार्यवाहक अध्यक्ष विजय फुलाराले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनुपर्ने र परीक्षा नतिजा तीन महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने, परीक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरे । उनले भने, ‘यी माग दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमाबाबु र भविष्य बनाउन आएका विद्यार्थीको हितमा छ, विश्वविद्यालयले हजारौं गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको छ ।’