काठमाडौं । आर्थिक वर्ष ०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा १ सय ३१ वटा मुद्दा दायर गर्यो । जसमा ३ सय ११ जना राष्ट्रसेवक कर्मचारीहरु मुछिएका थिए । सोही आवमा आयोगले २५ वटा स्टिङ अपरेसन गरेको थियो । सो अपरेसनमा २६ जना राष्ट्रसेवक कर्मचारीहरु रंगेहात समातिएका थिए । भ्रष्टाचार, घुस र अनियमितताका घट्ना वर्षेनी रुपमा बढ्दै गएको आयोगको प्रतिवेदनले देखाउँछ ।
हालसम्मको अवस्थालाई हेर्दा नेपाल सरकारको जागिर धेरै नेपालीहरुको आकर्षणको विषय बनेको छ । लोक सेवा आयोगले दरखास्त आह्वान गर्दा त्यसको सयौं गुणा बढीले सो आह्वानमा दरखास्त बुझाएको देखिन्छ । धेरै नेपालीहरुले जीवनको सुरक्षित जागिरको रुपमा रोजेको सरकारी जागिर क्षेत्र भ्रष्टाचार र अनियमितता जस्ता कारणले बद्नामी हुँदै गएको देखिन्छ । तोकिएको तलब तथा सेवा सुविधामा सन्तुष्ट हुन नसकेर कर्मचारीहरुले किन भ्रष्टाचार तथा अनियमितता गरिरहेका छन् ? कर्मचारीहरुले भ्रष्टाचार तथा अनियमितता बाध्यताले गरिरहेका छन की ?
‘खान लाउन नपुगेर कर्मचारीले भ्रष्टाचार गर्छन्’
कर्मचारीहरुले किन भ्रष्टाचार गर्छन भन्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले राज्यले दिएको सेवा सुविधाले खान लाउन नपुगेको कारणले पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको बताउँछन् । भ्रष्टाचार गर्नुमा केही मुख्य कारण भएको उनको भनाइ छ ।
भ्रष्टाचारको पहिलो कारण राज्यले उपलब्ध गराएको सेवा सुविधाले खान लाउन नपुग्नु भएको उनले बताए । ‘एउटा त उनीहरुलाई नपुगेर हो, खान लाउन नपुग्ने हुन्छ , हाम्रो तलब थोरै छ, काठमाडौंमा जीवन धान्नलाई गाह्रो नै हुन्छ, परिवार राखेर बस्न गाह्रो हुन्छ, अनि भ्रष्टाचार गर्न वाध्य हुन्छन्,’ उपाध्यायले भने ।
कर्मचारीहरुलाई हुने पारिवारिक दबाबको कारणले पनि कर्मचारीले भ्रष्टाचार गर्ने गरेको उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘कर्मचारीहरु पारिवारिक दबाबमा पनि हुन्छन्, कर्मचारीको श्रीमतीले दबाब दिइरहेकी हुन्छे, यति गर्न पर्यो, उती गर्न पर्यो, यहाँ खर्च गर्न पर्यो, त्यहाँ खर्च गर्न पर्यो भन्ने पनि हुन्छ, त्यस्तो दबाबमा परेर पनी कर्मचारीले भ्रष्टाचार गर्छ ।’
त्यस्तै कारवाहीको डर कम हुँदा पनि कर्मचारीले भ्रष्टाचार हुने गरेको उपाध्यायको भनाइ छ । ‘भ्रष्टाचार गरेर पनि केही पनि हुँदैन, डर नभएर गर्न सक्छ, कारवाही गर्नेहरुले कारवाही नगरेपछि जोगिन सकिन्छ की भनेर पनि गरेका हुन्छन्,’ उनले भने ।
कर्मचारीको जीवन सुरक्षाको विषयलाई सम्बोधन गर्न नसक्दापनि भ्रष्टाचार भएको हुनसक्ने तर भ्रष्टाचार कुनैपनि बाहानामा छुट नहुने विषय भएको सुचना आयोगका पूर्व प्रमुख कृष्णहरी बास्कोटाको भनाइ छ ।
बास्कोटा भन्छन्, ‘भ्रष्टाचारको केशमा खान नपुगेर, नेताले बाध्य पारेर अथवा अन्जानवश गरेतापनि माफी हुँदैन, भ्रष्टाचार भनेको मनोवृत्ति हो, विकृत मानसिकताको परिणाम हो, वास्तवमा खानै नपुगेपनि मान्छे बरु मरेका छन, तर इमान्दार मान्छेहरुले भ्रष्टाचार गरेका छैनन् ।’
बास्कोटाले आफ्नो आर्थिक हैसियतका कारण उपचार गर्न नसक्ने अवस्था आएपनि भ्रष्टाचार गरेर उपचार गर्न नहुने बरु मर्न ठिक हुने बताउँछन् । ‘बरु केटाकेटी खानै नपाएर हिँड्छन, फुटपाथे नै हुन्छन, केटाकेटीलाई पढाउन, छोरीको बिहे गर्न अथवा म मर्ने भएँ भ्रष्टाचार गरेर औषधी उपचार गर्नु पर्यो भन्ने कुरामा पनि माफी हुँदैन, त्यो पनि भ्रष्टाचार गर्ने मनस्थितिबाट गरिने विषय हो, इमान्दार मान्छे मरेर जान्छ भ्रष्टाचार गर्दैन ।’
कर्मचारीहरुको आधारभुत आवश्यकता र भ्रष्टाचारको विषय जोडिएको कुरालाई स्वीकार गर्दैै अख्तियारका पूर्व प्रमुख आयुक्त उपाध्यायले कर्मचारीको आवश्यकता धेरै भएको र आवश्यकता पुरा गर्न महंगी भएको बताए । ‘खास गरेर खान पुग्दैन नी, अहिलेको आवश्यकताहरु धेरै छ, बच्चाहरु पाल्नुपर्यो, डेरा लिएर बस्नुपर्यो, सबैकुरा महँगो छ,’ उपाध्यायले भने ।
कर्मचारीको बालबच्चाको पढाई, स्वास्थ्य, जीबन बीमा, पेन्सन लगायतका विषयहरु आवश्यकताअनुरुप सम्बोधन भएमा भ्रष्टाचार गर्ने अवस्था सिर्जना नहुने बास्कोटा बताउँछन् । कर्मचारीहरु आर्थिक रुपमा कमजोर भएको कारणले उनीहरुलाई दबाब दिएर काम गराउन सकिन्छ भन्ने कुरालाई धेरैले लिएको उनको भनाइ छ ।
कसरी गर्न सकिन्छ भ्रष्टाचारको न्यूनीकरण ?
भ्रष्टाचारको न्यूनीकरण गर्न भ्रष्टाचार गर्नेहरुलाई नै कारवाही गर्नुपर्ने उपाध्यायको भनाइ छ । ‘पहिलो, यसलाई न्यूनिकरण गर्न अख्तियारले भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्नपर्यो, दोस्रो, इन्साइट एजेन्सीहरुले पनि कडा किसिमले कारवाही गर्न पर्यो, सिस्टम यस्तो बनाउन पर्यो की भ्रष्टाचार गर्ने ठाउँ नहोस, सबै कुरा डिजिटल बनाउन सकेमा पनि भ्रष्टाचार कम हुन्छ,’ उनले भने ।
भ्रष्टाचारको न्यूनीकरणका लागि राजनीति सुध्रिनु पर्ने पहिलो शर्त बास्कोटाको छ । उनी भन्छन्, ‘पहिला राजनीति नै सुध्रिनुपर्छ, कर्मचारीले राजनीतिबाट नै देखासिकी गरेका हुन्, कर्मचारीले राजनीतिलाई भ्रष्टाचार गर्न सिकाएका होइनन्, राजनीति गर्नेले नै कर्मचारीलाई भ्रष्टाचार गर्नको लागि उत्प्रेरित गरेका हुन् ।’
पैसा भने नेताले कर्मचारीलाई दिने नभएर कर्मचारीले नै नेतालाई दिने अवस्था रहेको तरपनि त्यसको वातावरण नेताले नै बनाउने गरेको बास्कोटाको भनाइ छ । भ्रष्टाचारको सबैभन्दा ठूलो कारण भनेको विकृत राजनीति भएको उनको तर्क छ ।
कर्मचारीलाई राज्यले सुरक्षाको अनुभुति दिलाउन नसक्दापनि भ्रष्टाचार भएको बास्कोटा बताउँछन् । कर्मचारीलाई घरबहाल दिन नपर्ने, उसलाई होस्टेलको व्यवस्था गरिदिने, कर्मचारीका छोराछोरीले पढ्ने निजामती स्कुल बनाइदिने, उपचारको निमित्त अस्पताल बनाइदिने, खाजा खान कार्यालयले व्यवस्थापन गरिदिने र रासनपानीको लागि सुपथ मूल्यको पसलको व्यवस्था गरिदिने काम हुन नसकेको उनको भनाइ छ । भ्रष्टाचारको न्यूनीकरणको लागि कर्मचारीको जीवन सुरक्षाको काम राज्यले गर्नेपर्ने उनले बताए ।
भ्रष्टाचार नियन्त्रण गर्नको लागि असल शासन, शुसासन, पारदर्शिता र सदाचारितामा सरकारको मिसन बन्नुपर्ने बास्कोटाको भनाइ छ । तर, सरकार त्यसरी मिसनमा अगाडि नबढेको उनले बताए ।
कर्मचारीको आवश्यकतालाई सम्बोधन गर्ने कुरामा सरकार संवेदनशिल नभएको तर हात नै बाँधेर भने नबसेको बास्कोटाको भनाइ छ ।
‘त्यो सन्दर्भमा सरकार धेरै संवेदनशील भएको चाहिँ पाइंदैन, तर सरकारले गर्दै नगरेको हात नै बाँधेर बसेको भन्ने चाहिँ होइन, सरकारले पनि घाँटी हेरेर हाड निल्न पर्छ,’ उनले भने । यस्तै, निजामती कर्मचारीको सेवा सुविधाको नियमित अपडेट गर्ने कुराको ऐनमा नै व्यवस्था भएको बास्कोटाले बताउँछन् ।
‘निजामती सेवा ऐनमा नै प्रत्येक २/२ वर्षमा कर्मचारीको तलब पुनरावलोकन गरिनेछ भनेर लेखिएको छ, मुख्यसचिवको अध्यक्षतामा प्रत्येक २/२ वर्षमा त्यो विषयमा अध्ययन हुने नै गरेको छ,’ उनले भने । समय–समयमा सरकारले केही आयोगहरुको पनि गठन गर्ने गरेको तर त्यसबाट धेरै प्रभावकारी ढंगले काम नगरेको उनको भनाइ छ ।