विकासन्युज

दुई हजार नजिक पुग्यो नेप्से परिसूचक, एचडीएलपछि नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजार बिन्दु नजिक पुगेको छ । पछिल्लो केही दिनदेखि निरन्तर घटिरहेको परिसूचक आइतबार पनि घटेर २०१०.०१ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा २७.९२ बिन्दु अर्थात १.३७ प्रतिशतले घटी हो । दिनभर निरन्तर रुपमा घटेको बजारमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२७ कम्पनीको ४५ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सर्वाधिक कारोबार हुनेमा हिमालयन डिष्टिलरी रहेको छ भने दोश्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । हिमालयन डिष्टिलरी (एचडीएल) को १६ करोड ५३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुबैको प्रतिकित्ता सेयर मूल्य घटेर क्रमशः ३५२६ र ६७१.९० रुपैयाँमा झरेको छ । त्यसैगरी, घटेको बजारमा पनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ता १५४.८० रुपैयाँ पुगेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेर प्रतिकित्ता १०७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २३३.६८ अंकले घटेको छ ।

इन्जिनियरले जोखिम देखेर जलविद्युतको सेयरमा लगानी गर्दैनन् : अध्यक्ष सिंह

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले हाइड्रोपावर इन्जिनियरले जोखिम देखेर जलविद्युतको सेयरमा लगानी नगरेको बताएका छन् । आइतबार रिडी र रैराङ हाइड्रोपावर कम्पनीबीच काठमाडौंमा सम्पन्न भएको मर्जर कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘इन्जिनियरलाई जलविद्युत क्षेत्रमा ठूलो जोखिम देखेको हुन्छ । बरु इन्जिनियरले बैंक तथा संस्थामा लगानी गर्न रुचाउँछन् तर जलविद्युत कम्पनीको सेयर किन्न जोखिम मान्छन्,’ उनले भने । उनले जलविद्युत क्षेत्रमा मर्जर आवश्यक रहेको बताए । हालसम्मा १६ कम्पनि मर्जर भएकोमा पब्लिक सूचीकृत कम्पनीमा रिडी पहिलो मर्जर भएको पनि उनले बताए । यस्तै उनले विद्युत नियमन आयोग कम्पनीमा ७ जना कर्मचारी भएर पनि धेरै काम भएको बताए । ‘ढिलो चाडो भएपनि सबै काम विद्युत नियमन आयोगले गरेको छ, नियमनभन्दा पनि सुविधामा आयोगले काम गरेको छ,’ उनले भने । उनले सरकारले मात्रै जलविद्युतको विकास गर्न नसक्ने हुनाले जलविद्युत क्षेत्रमा निजी लगानीकर्ता ल्याउनु पर्ने बताएका छन् ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल र भिभान्ता डेन्टलमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग सम्झौता गरेको छ । बैंकले हिमाल र भिभान्ता डेन्टलसँग बैंककाच भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सेवामा छुट दिने सम्झौता गरेको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली, डडेलधुरा )मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

‘बीमा कम्पनीलाई लाइसेन्स दिने नदिने प्राधिकरणको जिम्मा, कुनै हस्तक्षेप हुँदैन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीलाई नयाँ लाइसेन्स तथा चुक्ता पुँजीको सबै अधिकार बीमा प्राधिकरणको हुने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले बीमा विधेयक २०७९ पारितपश्चात सबै अधिकार प्राधिकरणको हुने बताएका हुन् । ‘बीमा प्राधिकरणलाई स्वतन्त्र रुपमा काम गर्न दिइने छ, यसलाई अधिकार सम्पन्न स्वायत्त संस्थाको रुपमा परिभासित गरिएको छ, कुनै हस्तक्षेप हुँदैन, त्यसैले कति लाइसेन्स दिने, कति संस्था खोल्ने, पुँजी कसरी निमार्ण गर्ने लगायतका विषयको अधिकार प्राधिकरणलाई दिइएको छ,’ अर्थमन्त्री शर्माले भने । आइतबार प्रतिनिधि सभाबाट पारित भएको बीमा विधेयक २०७९ अनुसार अब बीमा समिति बीमा प्राधिकरणमा परिणत हुने छ । सो अनुसार सबै अधिकार उसैलाई हुने छ । तर यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि मात्रै लागू हुने छ । उक्त विधेयकमा भएको व्यवस्था अनुसार प्राधिकरणको कोषमा प्राप्त हुने रकम बीमाको लागि नै खर्च गर्नुपर्ने छ । प्राधिकरणबाहेक नेपाल सरकारले पनि बीमाको लागि विभिन्न कामहरु गर्दै आएको छ । त्यसका लागि आवश्यक पर्ने रकम प्राधिकरणको कार्य सञ्चालन तथा बीमा विवरण तथा व्यवसायको लागि वार्षिक रुपमा छुट्याइएको रकमको अतिरित्त तोकिएको प्रतिशतभन्दा बढी संघीय सञ्चित कोषमा जम्मा हुने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बताए । राष्ट्रिय बीमा संस्थानलाई थप प्रभावकारी बनाउन कम्पनीमा परिणत गर्ने गरी यो विधेयकमा प्रस्ताव गरिएको छ । साथै, बीमा संस्थान ऐन २०२५ मा भएको व्यवस्थाले निमुनको अधिकार संकुचन गरेको तथा नियामक निकायलाई हुने अधिकार समेत रहेकोले उक्त ऐनलाई खारेज गर्ने गरी यस बीमा विधेयकमा प्रस्ताव गरिएको छ । यो विधेयकले स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने छ । साथै, बीमाको लागि अन्तर्राष्ट्रिय रुपमा रहेका इन्टरनेशन एशोसिएशन अफ इन्स्योरेन्स सुपरिभिजन आईएआईएसले निर्धारण गरेका मान्यताहरुलाई पनि समेटिएको छ । त्यसैगरी, ६ वटा आधारित सिद्धान्तलाई समेटिएको छ । बीमा नियमन, बीमा व्यवसाय, बीमा करार, बीमितसहित संरक्षण, बीमा अपराधको रुप र सजाय, सहयोगी संस्थाहरुको निमार्ण विषयहरु समावेश भएको छ । लघुबीमाले ग्रामीण समाजलाई बीमामा पुर्याउने भएकोले लघुबीमाको लागि मात्र कम्पनी खोल्न सक्ने व्यवस्था छ । पुनर्बीमालाई सरल बनाइएको छ । बीमा कम्पनी समस्याग्रस्त भएमा कसरी नियमन गर्ने भन्ने विस्तृत व्यवस्था गरिएको, बीमा दावी प्रदेशमा गर्न सक्ने, बीमाको पहुँच गाउँका दुरदराजमा पुर्याउन सक्ने आवश्यकता रहेको छ । यसको लागि तीनवटै तहको सहयोग चाहिने अर्थमन्त्री शर्माले बताए । बीमा कम्पनी पब्लिक कम्पनीको रुपमा रहने भएकोले यसको सुशासनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपाल सरकार, नियामक निकाय तथा सेयरहोल्डहरुको निगरानी रहन्छ । यसबाट बीमा कम्पनीले आफ्नो दायित्व पुरा गर्ने विश्वास छ । समितिबाट प्राधिकरण भएपछि बीमा क्षेत्रलाई नियम गर्ने र विकृतिलाई समाधान गर्ने अधिकार हुने छ । साथै, लघुबीमा, जीवन बीमा, निर्जीवन बीमा लगायतका कृषि सेवा, पर्यटन क्षेत्रमा विस्तार गर्नमा प्राधिकरणले विशेष प्राथमिकता दिने छ । बीमा कोषमा अनुदानको व्यवस्था राम्रो छ । यो पूर्ण नभएपनि समय सापक्ष विकसित गरिएको छ । यसले बीमा क्षेत्रलाई प्रभावकारी बनाएर बीमाको पहुँच विस्तार गर्ने लक्ष्य छ । बीमाको पहुँचलाई चालु आवको अन्त्यसम्ममा ३३ प्रतिशत पुर्याउने लक्ष्य भएकोमा हाल नै ४२ प्रतिशत पुगिसकेको समेत उनले जानकारी गराए ।

हाइड्रोपावर कम्पनी मर्जर हुँदा कर छुट दिनुपर्छ : कार्यकारी निर्देशक नेपाल

काठमाडाैं । रिडी पावर कम्पनीका कार्यकारी निर्देशक कुबेर मणिले संस्थागत रुपमा अनुगमन गर्ने नसकेर मर्जर हुनुपरेको बताएका छन् । आइतबार रिडी र रैराङ हाइड्रोपावर कम्पनीबीच काठमाडौंमा सम्पन्न भएको मर्जर कार्यक्रममा उनले यस्तो बताएका हुन् । १ मेगावाट विधुत उत्पादन गर्न २० करोड लगानी लाग्ने भएकाले ठूला आयोजना बनाउन साना कम्पनीले निर्माण गर्न नसक्ने उनले बताए । ‘ठूला आयोजना निर्माणमा अन्य कम्पनीको पनि सहयोग आवश्यक परेकाले मर्ज हुनु परेको हो,’ उनले भने । उनले हाइड्रोपावर कम्पनी मर्जर हुदा कर छुट दिनुपर्ने पनि बताएका छन् । ‘बैंक तथा बीमा कम्पनीले मर्जर तथा एक्विजिसनमा कर छुट र सहुलियत पाएकाले विद्युत नियमन आयोगले समेत यस्तो व्यवस्थापन गर्नु पर्यो, यस्तो सुविधा पाएपछि अन्य हाइड्रोपावर कम्पनी पनि मर्जर हुन्छन्,’ उनले भने । उनले मर्जर हुँदा मर्मत तथा संभार खर्च बचत, नियामक निकायलाई सहजता, चुक्ता पुँजी वृद्धि, हकप्रदको माध्यमबाट ठूलो स्वपुँजी वृद्धि गर्न सकिने, विदेशी लगानी ल्याउन सकिने, सेयरधनिको लगानी सुरक्षित र सरकारको कर बढ्ने लगायत फाइदा हुने बताए ।

५० प्रतिशत सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरेका श्रेष्ठको बैंकमा पनि लगानी, कति छ सम्पत्ति ?

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत् शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताएका छन् । आइतबार भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उनले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न लागेको बताएका हुन् । ‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु, चार नाफारहित अस्पताल बनाउँदैछु,’ उनले भने । उनले आफ्नो ५० प्रतिशत सम्पत्ति सरकारलाई दिने घोषणा गरेसँगै उनीसँग कति सम्पत्ति छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । व्यवसायिक पृष्ठभूमीका राज्यमन्त्री श्रेष्ठ गत वर्षको साउनमा राज्यमन्त्री बनेका थिए । उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेको समयमा उनले आफ्ना १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने घोषणा गरेका थिए । उनले राज्यमन्त्रीमा रहँदासम्म आफ्ना कुनै पनि व्यापारिक संस्थाको पदमा नरहने घोषणा पनि गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले गएको साउन १० गते उनलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसको केही समयपछि उनी तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री बने । श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन् । उनको अन्य धेरै क्षेत्रमा पनि लगानी छ । नेपालमा शिक्षा क्षेत्रमा परिचित श्रेष्ठको जलविद्युत्मा मात्रै ४० अर्बभन्दा बढी लगानी रहेको छ । श्रेष्ठको लगानीमा ९ वटा जलविद्युत् आयोजना छन् । तीमध्ये अधिकांश जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा लगानी गरेका छन् धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा पनि उनको लगानी छ । यस्तै, उनको तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्च प्रालि, जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा पनि उनले लगानी गरेका छन् । पोखरामा पनि उनकै लगानीमा एउटा होटल छ । महेन्द्र नारायाण निधी अस्पतालमा पनि उनको लगानी छ । एकान्तकुनामा हेलोइस अस्पताल पनि उनकै लगानीमा बनेको हो । शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् । उनले लिटिल एञ्जल्स विद्यालयलाई विश्वविद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना उनको योजना छ । श्रेष्ठ यसअघि निजी विद्यालयहरुको संघ प्याब्सन र हिसानमा अध्यक्ष समेत भएका थिए । त्यसैगरी संविधान सभामा सभासद समेत थिए । उनी प्राइम बैंकको सबैभन्दा ठूलो सेयरधनी पनि हुन् । साढे १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम बैंकमा श्रेष्ठको ३.१० प्रतिशत सेयर छ ।

कालिका लघुवित्तले माग्यो ८३ जना कर्मचारी

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८३ जना कर्मचारी माग गरेको छ । संस्थाले आइतबार सूचना जारी गर्दै ४ वटा पदको लागि कर्मचारीको माग गरेको हो । संस्थाले सहायक प्रबन्धक १ जना, अधिकृत २ जना, सहायक २० जना र कनिष्ठ सहायक ६० जना गरी कुल ८३ जनाको माग गरेको छ । लघुवित्तले यि विभिन्न पदको लागि भदौ १२ गतेसम्म आवेदन दिन पाइने जनाएको छ ।

मन्त्रिपरिषद् निर्णय : विश्व बैंकबाट १ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने

काठमाडाैं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । हरित, उत्पादनशील र समावेशी विकासका लागि विश्व बैंकले नेपाललाई दिने भनेकाे करिब १२ अर्ब ७० करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । आईतबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताए । प्रवक्ता कार्कीकाअनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । उनले जापान सरकारबाट पूर्वी तराईको सिंचाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करित्ब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताए । यस्ता छन् मन्त्रिपरिषद्को पुरा निर्णय आगामी भदौ सात देखि ७ देखि ९ मा संयुक्त राष्ट्र संघको आयोजनामा थाइल्याण्डको राजधानी बैंर्ककमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने । विश्व बैंकबाट हरित उत्पादनशिल र समावेशी विकासका लागि प्राप्त हुने अमेरिकी डलर १ सय मिलियन करिव १२ अर्ब ७० करो सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने । जापान सरकारबाट पूर्वी तराईको सिंचाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता सरकारले स्वीकार गने । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम ग्रेड स्वीकृत गर्ने । आर्थिक वर्ष २०७८/०७९ का लागि उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । आर्थिक वर्ष २०७८/०७९का लागि कानून तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरुको स्थायी दरबन्दी स्वीकृत गर्ने आर्थिक वर्ष २०७८/७९ का लागि कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने । नसिम नाइनको प्रमाणपत्र नम्बर १५,०१,७१,०५४७० मिति २०७१/८/७ मा जारी भएको वंशजको नागरिकता रद गरी निजलाई नेपाली नागरिकबाट हटाउने सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षती भएका भौगोलिक क्षेत्रलाई विपत शंकटग्रस्त क्षेत्र घोषणा गर्ने । पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गा मध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गा मध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनियक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने । आर्थिक वर्ष २०७८/०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका,२०७९ स्वीकृत गर्ने । भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने । युएस डिपार्टमेण्ट इन्जिरको आयोजनामा आगामी २०२२ नोबेम्बर १४ देखि १८ सम्म अमेरिकामा हुने फण्डामेन्टल कार्यक्रममा नेपालको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृत दिने । रोमनियाको बोखारेष्टमा आएटुयुको आयोजनामा असोज १० देखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार संघको कार्यक्रममा सहभागि हुन सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई स्वीकृत दिने । आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने । नेपाल स्वास्थ्य सेवा नियमावली,२०५५को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाश गर्ने ।’ आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै,नेपाल स्वास्थ्य सेवा नियमावली,२०५५को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ ।