विकासन्युज

भायानेटको नयाँ शाखा अब सुर्खेत, घोराही र तुलसीपुरमा

सुर्खेत । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराउने भएको छ । साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो ।      

बीमा विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै

फाइल फोटो काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसदमा आज अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ र ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९७ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार २५० रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

तरलता र सञ्चितिको अभावमा धमाधम डलर भित्र्याउँदै बैंकहरू, कुन बैंकले कति ल्याए ?

काठमाडौं । जतिबेला कोरोना महामारी शुरु हुँदै थियो, त्यसबेला नेपाली बैंकिङ्ग क्षेत्रका लागि एउटा ऐतिहासिक क्षण बन्यो । नेपालका बैंकले विदेशबाट ऋण ल्याउँदा बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक बन्न पुग्यो । नेपालमा मात्रै सिमित बैंकहरु अन्तर्राष्ट्रिय स्तरमा समेत उपस्थित जनाउन थालेपछि बैंकिङ्ग क्षेत्रका लागि ठूलो फड्को मानियो । आजभन्दा ५ वर्षअघि पहिलो पटक एनएमबि बैंकले विदेशबाट विदेशी मुद्रामा ऋण ल्याउन सफल भयो । त्यसअघि कानुनी प्रावधानका कारण र अन्तर्राष्ट्रिय वित्त संस्थाले विश्वास नगरेका कारण ऋण ल्याउन ठूलो बाधा थियो । जब, विश्व बैंक समूहको सदस्य आईएफसीले नेपालका बैंकलाई ऋण दिन शुरु गर्याे, त्यस बेलादेखि नेपालका बैंकले पनि बैदेशिक ऋण (विदेशी मुद्रा) भित्र्याउन थाले । यसअघि अन्तर्राष्ट्रिय संस्थाहरुले सरकारलाई मात्रै विदेशी मुद्रा ऋण सहायताका रुपमा दिने गरेका थिए । राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रलाई लगाइएको रोकावट फुकुवा गरेसँगै बैंकिङ्ग क्षेत्रले विदेशी डलर नेपाल भित्र्याउन सफल भएका हुन् । यद्यपि बैंकिङ्ग क्षेत्रले चाहे जति डलर भने भित्र्याउन पाएका छैनन् । एनएमबि बैंकले पहिलो पटक विदेशबाट ऋण ल्याएपछि अन्य वित्तीय संस्थाहरुले पनि धमाधम विदेशी मुद्रामा ऋण ल्याउन थाले । गत साउन २५ गते सानिमा बैंकले आईएफसीबाट २० मिलियन डलर विदेशी ऋण ल्याउने सम्झौता गर्याे । बैंकले त्यसअघि पनि ऋण ल्याइसकेको थियो । हालसम्म सानिमा बैंकले अन्तर्राष्ट्रिय विभिन्न संस्थाहरुबाट ४५ मिलियन डलर विदेशी मुद्रा ल्याइसकेको सानिमा बैंकले जनाएको छ । जसमा बैंकले १५ मिलियन डलर ऋण भुक्तानी गरिसकेको बैंकका सीईओ निश्चलराज पाण्डेले बताए । यस्तै, वि.स.२०७६ माघमा माछापुच्छ्रे बैंकले १ अर्ब रुपैयाँ(अमेरिकी डलर १० मिलियन) बढी रकम ल्यायो । बैंकले दुवई स्थित माश्रिक बैंकबाट सो रकम ल्याएको हो । यस्तै, वि.स. २०७६ फागुनमा मेगा बैंकले २ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर२ करोड) वैदेशिक ऋण ल्यायो । बैंकले कतारको दोहा बैंकबाट विदेशी मुद्रा नेपालमा ल्याएको हो । यस्तै, वि.स.२०७७ असारमा लक्ष्मी बैंकले २ अर्ब ४३ करोड रुपैयाँ (अमेरिकन डलर २० मिलियन) वैदेशिक मुद्रामा ऋण ल्यायो । बैंकले दोहा बैंक, दुबईबाट ३ वर्षका लागि सो रकम बराबरको विदेशी ऋण ल्याएको हो । यस्तै, वि.स. २०७८ मंसिरमा ग्लोबल आइएमई बैंकले ३ अर्ब रुपैयाँ (अमेरिकी डलर २५ मिलियन) ऋण ल्यायो । बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट विदेशी मुद्रा ल्याएको बताएको छ । ग्लोबल आइएमईले आईएफसीबाट पनि २अर्ब २० करोड नेपाली रुपैयाँ ( अमेरिकन डलर २ करोड) विदेशी ऋण ल्याएको छ । यस्तै, सनराइज बैंकलेगतअसारमा २ अर्ब ३७ करोड रुपैयाँ (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्र्यायो । बैंकले जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागिसो बराबरको विदेशी ऋण भित्र्याएको हो । यस्तै, एभरेष्ट बैंकले कतारको दोहाबैंकबाट २० मिलियन डलर विदेशी ऋण ल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने बाटो खोलेपछि बैंक तथावित्तीय संस्थाहरुले विदेशबाट धमाधम ऋण ल्याएका हुन् । तरलताको समस्या चुलिएपछि बैंकले ल्याएको ऋणले ठूलो सहयोग पुग्ने बैंकर्सहरु बताउँछन् । हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूँजी अभावलाई विदेशबाट आउने ऋणले कम गर्ने विश्वास बैंकर्सहरुको छ । हाल बैंकहरुको निक्षेप घट्दो छ । कर्जा प्रवाह समेत गर्न नसक्ने अवस्थामा छ । बैंकहरुमा निक्षेप संकलन घट्दा कर्जा प्रवाह समेत रोक्नु पर्ने बाध्यता छ । यस्तै बाध्यताले बैंकहरुले विदेशबाट डलरमा ऋण ल्याउनु परेको बैंकर्सहरुको भनाइ छ । सानिमा बैंकका सीईओ निश्चलराज पाण्डेले विदेशी बैंक तथा संस्थाहरुबाट डलरमा ऋण ल्याउँदा सम्झौतामा भने अनुसारको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । नेपाली बैंकमा निक्षेप कम भएपछि विदेशबाट ऋण ल्याउनु परेको एभरेष्ट बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् । ‘पहिला बैंकलाई पैसा आवश्यक नभएपछि विदेशबाट ल्याउनु पर्ने बाध्यता थिएन, देशमा नै निक्षेप कम भएपछि बैंकहरुले ल्याउन थालेका हुन्,’ उनले भने । विदेशी मुद्राले तरलता सहजसँगै विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुर्याउने उनले बताए । ‘बैंकहरुले ल्याएको विदेशी संचितीमा सहजता ल्याउँछ तर छोटो समयकालागिमात्रै हुन्छ, तोकिएको समय पुगेपछि ऋण फिर्ता गर्नुपर्छ, बैंकले ल्याउने ठूलो सञ्चिति भने होइन,’ उनले भने, ‘डलर लिएर विदेशमा नै लगानी गर्याे भने सञ्चिति रहँदैन तर, नेपाली रुपैयाँमा कन्भर्ट गरेर लगानी, कर्जा वा ऋण दियो भने संचिति बढ्छ ।’ एभरेष्ट बैंकले कतारको दोहा बैंकबाट २० मिलियन डलर विदेशी ऋण ल्याएको बैंकले जनाएको छ । एनएमबी बैंकका प्रमुखकार्यकारी अधिकृत (सीईओ) सुनिल केसी एनएमबीले विदेशबाट ल्याएको ऋणलाई नेपाली बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक बताउँछन् । एनएमबीले नेपालमा पहिलो पटक सन् २०१८ मा विदेशबाट ऋण ल्याएको थियो । त्यसयता बैंकले हालसम्म आईएफसीबाट ६५ मिलियन डलर अर्थात् ८ अर्ब रुपैयाँभन्दा बढी रकम भित्र्याइसकेको सीईओ केसीले बताए । केन्द्रिय बैंकले कोर क्यापिटलको शतप्रतिशतअनुमति दिएमा २६ वटा बैंकले ५५० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा ल्याउन सक्ने क्षमता रहेको सीईओ केसीले बताए । हालसम्म आईएफसीबाट ३ वटा बैंकले मात्रै विदेशी ऋण ल्याएका छन् । जसमा एनएमबी, ग्लोबल आइएमई र सानिमा बैंकले आईएफसीबाट विदेशीमुद्रा नेपाल भित्र्याउन सफल भएकाहुन् । आईएफसीबाट मात्रै बैंकहरुले जम्मा ३८ अर्ब रुपैयाँ बराबरको ऋण ल्याएका छन् । आईएफसीका अनुसार हालसम्म नेपालमा ६ सय मिलियन डलर ऋण प्रवाह गरेको छ । आईएफसीबाट ल्याइने ऋण साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ । अन्तर्राष्ट्रिय बैंक वित्तीय संस्थाबाट कर्जा ल्याउन पाउने व्यवस्था गरेपछि बैंकहरु धमाधम विदेशबाट ऋण ल्याइरहेका छन् । नेपालमा विदेशी मुद्रा घट्दै जाँदा टाँट पल्टिने होकी भन्ने चिन्ताको विषय बन्दा बैंकहरु भने धमाधम विदेशबाट डलरमा रकम ल्याउन थालेका हुन् ।

आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । आइतबार निर्वाचन आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् । आयोगको अनुसार आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको र । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको छ । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । सो चुनावका लागि आवश्यक तयारी निर्वाचन आयोगले गरिरहेको छ ।

भोजपुर जिल्लाका स्थानियको लागि इष्टर्न हाइड्रोपावरको आइपीओ खुल्दै

काठमाडौं । इष्टर्न हाइड्रोपावरले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंकको भोजपुर शाखा, ग्लोबल आइएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ ।

सेयर बजारका ‘बिग बुल’ भनेर चिनिने राकेश झुनझुनवालाको निधन

काठमाडाैं । चर्चित सेयर बजार लगानीकर्ता राकेश झुनझुनवालाकाे आइतबार मुम्बइस्थित अस्पतालमा निधन भएकाे छ । लगानीकर्ता झुनझुनवाला ६२ वर्षका थिए । उनलाई बिहान करिब ६.४५ बजे ब्रीच क्यान्डी अस्पताल लगिएको थियो जहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो, स्रोतले जनाएको छ । दलाल स्ट्रीटको बिग बुलकाे रुपमा चिनिने उनीसँग करिब ५.५ बिलियन डलरको कुल सम्पत्ति भएको फोर्ब्सले जनाएकाे थियाे । धेरै स्वास्थ्य समस्याबाट ग्रसित उनी गत हप्ता आकाश एयरको प्रक्षेपणमा व्हीलचेयरमा देखिएका थिए ।

कास्कीमा थपिए ११ हजार मतदाता

कास्की । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिनादेखि सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार सात सय ६४ र पुरुष पाँच हजार तीन सय ७८ नयाँ मतदाता थपिएका हुन् । बाहिरी जिल्लाको समेत गरी महिला सात हजार तीन सय ९३ र पुरुष सात हजार छ सय नौ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार बाहिरी जिल्लाका महिला एक हजार छ सय २९ र पुरुष दुई हजार दुई सय ३१ गरी तीन हजार आठ सय ६० जनाको नाम दर्ता भएको छ । कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरुको हकमा सम्बन्धित जिल्लामा नै पठाउने छ । यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरूको कास्की जिल्लाका मतदाताको नाम आयोगले यहाँ पठाउने उनले जानकारी दिए । उनले भने, ‘निर्वाचनको मिति घोषणापछि नयाँ नाम दर्ता रोकिएको छ । अब बाहिरी जिल्लाको दर्ता भएको नाम सम्बन्धित जिल्लामा पठाउँछौँ, अन्य जिल्लाको पनि यसैगरी हामीकहाँ थप हुन्छ ।’ गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचनपछि असारदेखि नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरुले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरुले आन्तरिक भेला, प्रशिक्षण तथा सङ्गठन विस्तारका कार्यक्रम गाउँ–गाउँसम्म सञ्चालन गरेका हुन् ।