विकासन्युज

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं १ का थोरै स्थानमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । रातको समयमा देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : मन्त्री भुसाल

फिनल्याण्ड । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छिन् । उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिइन । तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ ।’ नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘अबको नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास हो, सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ । यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् ।’ विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उहाँले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताइन् । मन्त्री भुसालले भनिन्, ‘प्रकृतिले दिएको साधन र स्रोतलाई उपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्छ । कला, संस्कृतिका हिसाबले पनि अद्वीय नेपालमै राम्रो काम गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ ।’ कृषि, जलस्रोत र पर्यटनको विकास तथा प्रवद्र्धन गरेर नै नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालले पछिल्लो समय विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको जानकारी दिइन् । मन्त्री भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताइन् । उनले भनिन्, ‘आफ्नो देशको उर्वराभूमि, प्राकृतिक सम्पदा एवं साधन स्रोत सम्झेर सबै नेपालीलाई नेपाल फर्कन आग्रह गर्दछु ।’ नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, ‘फिनल्याण्डमा बस्ने नेपालीहरू एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ । विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन ।’ उनले काउन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाइन् । मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । लामो समयदेखि फिनल्याण्डमा सक्रिय रहेको गुल्मी/रुपाकोट समाजका अध्यक्ष भक्तिराम भण्डारीले नेपालीलाई फिनल्याण्डमा बसोबासका लागि कुनै पनि समस्या नभएको बताइन् । उनले नेपाल र फिनल्याण्ड आवतजावतका लागि भिसा प्रक्रियाका लागि अर्को देश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिन् । कार्यक्रममा पाँच सयभन्दा बढी नेपालीको सहभागिता थियो । जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिम कम गर्ने विषयमा नेपाल सरकार र फिनीस सरकारबीच हुँदै आएको सहकार्यको निरन्तरता एवं उच्चस्तरीय अध्ययन तथा छलफलका लागि मन्त्री भुसालसहित जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित उच्चस्तरीय टोली फिनल्याण्ड आएको छ । रासस

औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्ध बन्छ- राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धिको बाटोमा जाने बताएका छन्। उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सिर्जना हुने भएकाले उद्योग र औद्योगिक क्षेत्रको स्थापनाबिना देशमा समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए । कालिका नगरपालिकाद्वारा आज आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र र शक्तिखोर–मझिमटार सुरुङ मार्ग चितवनको गहना भएको बताए । उनले भने ‘शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणले शक्तिखोरमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास र देशको यातायातको पूर्वाधारमा महत्वपूर्ण भूमिका रहने छ ।’ कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद तथा प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशमा उद्योग कलकारखाना बिनाको समृद्धि सम्भावना नभएको भन्दै पार्टीभन्दा माथि उठेर देशको समृद्धिमा सबै लाग्नुपर्ने बेला आएको बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले देशको विकास र समृद्धिको लागि सडक, उद्योग कलकारखाना प्रमुख हुने बताए । स्थानीयको समस्याको पहिचान र समाधान गरी औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्ने उनको भनाइ थियो । शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र देशकै मध्य भागमा रहेकाले यसको बढी महत्व रहेको भन्दै स्थानीयलाई रोजगारीको सिर्जना गरी औद्योगिक क्षेत्रको विकास गर्नसके नेपाली विदेशिने क्रमलाई कमी ल्याउन मद्दत पुग्ने बताए ।

फोहरका कारण कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

काठमाडौ । नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन । फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ । उहाँका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन् । कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ । कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो ।

कारबाही बढे पनि कालोबजारीया घटेनन्

काठमाडौं । सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने निकाय हो । विभागले आर्थिक वर्ष २०७७/७८ मा अखाद्य वस्तु उत्पादन गर्ने एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक अवधिको प्रगति समीक्षा प्रतिवेदनमा मुद्दा दायराको सङ्ख्या गत वर्षको तुलनामा १५ प्रतिशतले बढेको उल्लेख छ । आव २०७८/७९ मा चार हजार छसय ६० खाद्यान्न तथा दाना नमूना सङ्कलन गर्दा एक सय १५ कम्पनीले अखाद्य वस्तु उत्पादन गरेको ठहर गर्र्दै ‘खाद्य ऐन, २०२३’ बमोजिम विभागले मुद्दा दर्ता गरेको थियो । आव २०७८/७९ मा आठ हजार ६६ पटक खाद्य तथा दाना बजार, उद्योग, होटेल, रेष्टुरेन्ट, हाटबजार, मेला महोत्सवमा अनुगमन गरिएको र २०७८ कात्तिकदेखि तराईका सात नाकामा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरेर तरकारी तथा फलफूलका ५६ हजार तीन सय ३८ नमूना लिइ विषादी अवशेष परीक्षण भइरहेको उल्लेख गरे पनि उपभोक्ता भने आस्वस्त हुन सकेका छैनन् । विभागले निरन्तर कारबाहीको दायरा बढाउँदै लगेको तथ्याङ्कमा देखिए पनि कालोबजारीयाको सङ्ख्या नघटेकाले उपभोक्ता आस्वस्त हुन नसकेका हुन् । खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनाइएको थियो । उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वाभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ । ऐनबमोजिम अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गर्ने कम्पनीलाई ‘खाद्य ऐन, २०२३’ दफा ३ ले पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले कानुनी कारवाहीको दायरा विभागले बढाउँदै लगेको भए पनि कारबाही कमजोर र फितलो भएकाले अखाद्य वस्तु उत्पादन गर्ने कम्पनीको मनोबल बढ्दै गएको बताए। कानून व्यवसायी हरिप्रसाद दुलालले खाद्यान्नमा लेवल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलिफर्म, मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका कम्पनी बजारमा छ्यापछ्याप्ती भेटिए पनि कानूनी कारवाही फितलो छ । फितलो कारवाही भएकैले कसुरदारले छिटो उनमुक्ति पाउछन् भने। विभागले पछिल्लोपटक सार्वजनिक गरिएको तथ्याङ्कमा दालमोठ, मासु, सब्जी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना, चाउमिन, मह, बेकरी, गहँुको पीठो, चामल, पेडा, सूर्यमुखी तेल, पोष्टा दाना, क्यारामेल सस, कुखुराको दाना, बिस्कुट, मम, भेज सस, पुष्टकारी, बेनेगर र गुदपाकलगायत वस्तु अखाद्य ढङ्गले उत्पादन भइरहेको उल्लेख छ । बजारमा अखाद्य वस्तु उत्पादनसँगै खाद्यान्नमा व्यापक मिसावट हुने गरेको छ । होटलमा बासी भातलाई खीर, खसीको मासुमा बाख्राको मासु, दूधमा पानी, उन्नत जातको चामलमा न्यून गुणस्तरीय चामल, ताइचिनको चिउरामा अन्य जातको चिउरा, शुद्ध तोरीको तेलमा विभिन्न थरीका तेल, शुद्ध घिउमा डाल्ला घिउ, महमा चिनीपाक मिसावट गरी व्यापारीले कालोबजारी गर्दै आएको विभागले स्वीकार गरेको छ । उपभोक्ता संरक्षण ऐनले मिसावट गर्ने त्यस्ता व्यक्तिलाई तीन वर्षदेखि १० वर्षसम्म थुनामा पठाउनसक्ने उल्लेख गरेको छ तर उक्त ऐन कमजोर भएकाले फौजदारी अपराध संहिताको दफा १०७, १०८, र १०९ बमोजिम कारबाही गर्नुपर्ने अधिवक्ता दुलालको भनाइ थियो ।

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

बैतडी । पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् । यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दोगडाकेदार गाउँपालिका–३ की लक्ष्मी भट्टले राजश्व छुटका साथै महिला पनि उद्योग चलाउन सक्षम छन् भन्ने देखाउनका लागि आफ्नो नाममा उद्योग दर्ता गराएको बताए । बैतडीमा हालसम्म तीन हजार पाँच सय ९० उद्योग दर्ता भएका छन् ।

सरकारद्वारा मिटरब्याजीविरुद्ध उजुरी दिन पीडितहरुलाई आह्वान

काठमाडौं । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न आग्रह गरेको हो । ‘मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ’, कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालद्वारा जारी सूचनामा भनिएको छ । मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिकरुपले अफ्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहेको गृहमन्त्रालयले जनाएको छ । अझै धेरै पीडितहरु आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसक्ने अबस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ । मन्त्रालयले कार्यदल गठन भएको एक घण्टा भित्रैमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौँ माइतीघर मण्डलामा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर सङ्घर्ष समितिसँग काठमाडौँका प्रजिअ नेतृत्वको टोलीले वार्तासमेत गरिसकेको जनाएको छ । उक्त समस्या नवलपरासीमा मात्रै नभई अधिकांश जिल्लाहरुमा रहेको हुनसक्ने भएकाले स्थानीय प्रशासनमा उजुरी दर्ता गर्न आह्वान गरिएको हो । गृहमन्त्रालयले शुक्रबारमात्रै मन्त्रालयका सहसचिव डा. भुसालको संयोजकत्वमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेको कर्यादल गठन गरेको थियो । कार्यदलको सदस्यसचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर–निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी छ ।

रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन्। शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे। ‘रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौं’ उनले भने। अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उनको भनाइ छ । अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गरे। ‘भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ । पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन । मलसम्बन्धी कारखाना खोलौँ भने समय लाग्छ । कारखाना सहज छैन । ठूलो ऊर्जाको आवश्यकता पर्छ,’ गृहमन्त्री खाणले भने। अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पारे। नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उनको भनाइ छ । शुद्धोधनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उनले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राखे। सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाति, धर्म र सम्प्रदायका नागरिकको संस्कारअनुसार फरकफरक रहेकाले सोहीअनुसारको व्यवस्था मिलाउनुपर्ने बताए। ‘उद्यान विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ,’ उनले भने । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रदेशसभाका सदस्य तुल्सी चौधरी र पुष्पा थरुनीले उद्यान निर्माणमा अवरोध सिर्जना भए पनि सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताए। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले उक्त उद्यानको विकास र सौन्र्दयीकरणका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताए । गाउँपलिकाका प्रवक्ता केशवप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन उद्यानमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कङ्गारु, उट, डाइनोसरलगायत जनावर र चराका आकृतिका मूर्ति राखिएका छन् । किनारमा पाम ट्री, गौतमबुद्धको मूर्ति र वाटर फाउण्टेनले उद्यानलाई थप आकर्षक बनाएको छ । उद्यानको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । उद्यान अवलोकनका लागि आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराइले तीन करोडको गुरुयोजना बनाएर उद्यान निर्माण गरिएको जानकारी दिए ।