नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी
म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल सङ्घले आह्वान गरेको छ । त्यस्तै भलिबल सङ्घमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित सङ्घको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई सङ्घले कुनै पनि मान्यता नदिने निर्णय गरिएको सङ्घका महासचिव कुमार किसानले जानकारी दिएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ । समितिको संयोजकमा सङ्घका उपाध्यक्ष खड्क केसी र सदस्यमा सङ्घका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहेका छन् । जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका सङ्घले जनाएको छ । जिल्लामा विभिन्न सङ्घसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा सङ्घको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ । साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको सङ्घका महासचिव किसानले बताए। सदरमुकाम बेनीमा भलिबल सङ्घको आफ्नै कोर्ट नभएको, विगतदेखि हालसम्म खेलमैदानको अभावमा तालिम वा खेल सञ्चालन गर्न निजी विद्यालयको खेलमैदान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । खुलामञ्चबाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायीरूपमा भए पनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको सङ्घले यस कार्यमा आवश्यक सहयोगका लागि सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । गाउँ–गाउँमा माटोको भलिबल कोर्टलाई प्लास्टर तथा ढलान गरी पक्की बनाउने कार्य भइरहकाले यसबाट भलिबल खेल क्षेत्रलाई भविष्यमा ठूलो असर पु¥याउने खतरा देखिएकाले यसको विकल्पमा छुट्टै खेलमैदान बनाउनका लागि सबै क्लबलाई सचेत गराउने गरी जिल्लाभर अभियान सञ्चालन गरिने सङ्घले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई म्याग्दीमा सञ्चालन गर्नका लागि पहल गरिरहेको सङ्घले खेलतालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ ।
निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैन : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पु¥याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुदद भएको बताए । महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । उनले सकरारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्ने बताए । साथै उनले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने बताए । सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको उनको भनाइ छ । उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताए । उनले भने, ‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदी घटाउन सकेनौँ भने अवस्था गाह्रो छ । हामी बीमा बीमा भनिरहेका छौँ । सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पु¥याउँछ कसरी ? हामीसँग पैसा कति छ ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ । सरकारले खालि कति वटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ । त्यसबाट बाहिर निस्किनुपर्छ । नभए हामी गलत बाटोमा जान्छौँ । हामीले स्वास्थ्य बीमाको कुरा गरिरहेका छौँ । यसको आफ्नै धेरै चुनौतीहरु छन् । तर हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेटलाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो । त्यसैले हामीले प्रिमियमबाट नै उठाउने पैसा र खर्च गर्ने पैसाको बीचमा ठूलो ग्याप रहन्छ । त्यसैले अब सरकारले यस विषयमा सोचेन भने कि, पैसा मैले मेरो खल्तीबाट हाल्नुपर्ने हो भनेर सोचेन भने स्वास्थ्य सुरक्षाको अवस्था गाह्रो छ । त्यसैले हामीले स्वास्थ्य सिस्टमको क्षेत्र भनेको सकेसम्म मैले खर्च कम गर्नु परोस् भन्ने हो । खर्च गर्नसक्ने अनुसारको हेल्थ सिस्टम डिजाइनबारे सरकारले सोच्नुपर्छ । सकरारले सकेसम्म मानिस अस्पताल नपुगोस् भन्ने सोच्नुपर्छ । सरकारले खर्च गर्ने पैसा घटाउन सकेमात्र स्वास्थ्य सिस्टम जोगाउन सक्छ । त्यसको निम्ति स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर सिस्टम क्रिएट गर्न सकेन भने अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा हुन सक्दैन ।’ महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने बताए ।
ललितपुरमा ठेचोको १२ वर्षे जात्रा
ललितपुर । ललितपुरको गोदावरवी नगरपालिका वडा नं १२ ठेचोको नवदुर्गा भवानी देवी नाच सुरु भएको छ । १२ वर्षमा एकचोटी हुने नाच १२ यो वर्ष सुरु भएको हो । जात्रा झण्डै वर्षभरि नै चल्ने गर्दछ । २०७९ साउन १० गते गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । मन्दिरमा ताल्चा १२ वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ । अन्य बर्षहरुमा ३ सय ६४ दिन नै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही भाद्र ९ गते जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिनेछ । जात्रा सुरु भएसंगै ठेचो बस्तीमा भोजभटेर, बिहे, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइदैन । नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखःनामक नाच सम्पन्न नभएसम्म लागु हुन्छ । धुःखःनामक नाच फागुन÷चैत तिर हुने गर्दछ । नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठीयार छन् । परम्परा अनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइदैन । श्वेत भैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । प्राय श्वेत भैरव नाच दसै पछिसाईत हेरी नचाउदै आएको पाइन्छ । यो नाच पाटन दरवार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरवारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । वंशावलीमा ‘यिनी राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मूःस्वाँ नामक पुष्पका निमित्त मालीजात प्रख्यात गरेको’ उल्लेख छ । राजा मानदेवको पालामा मू छेआँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ । जात्राको अर्को मुख्य आर्कषण सुनाकोठीमा गरिने कुल्पी यज्ञ पनि हो । रातभरी यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गलगायत गरगहनामा साधन गरी देवता प्रतिष्ठापन गर्ने गरिन्छ । नवदुर्गा गण र ठेचोबारेमा देवमाला वंशावलीमा यस्तो लेखिएको छ, ‘नेपाली सम्वत सालमा श्री राजाका पालामा श्री श्री नवदुर्गा जगाई ७०० घरको सहर बनाई प्रतिवर्ष नवदुर्गाको नाच पाटनमा दशैका टिकाको दिनल्याई श्री मनमानेश्वरीको स्वेष्ट देवतालाई भैरव कालीबाराही ३ जनाले फुलको मालालगाई पाटनको मूल चाकेमा नाच नचाउने समेत रीत चलाएको आजसम्म चलेकै छ ।’ ठेचोमा माथिल्लो लाछी टोलमा रहेको बालकुमारी मन्दिर केन्द्रित मूल ४ वटा गुठी छन् । तल्लो लाछी टोलस्थित ब्रम्हायणी मन्दिर केन्द्रित मूल ३ वटा गुठी छन् । जुन गुठीहरुले माथिल्लो लाछी र तल्लो लाछीमा भिन्नभिन्न वा ःखनामक नाच देखाउदा सम्पूर्ण पुजा सामाग्री दिने गर्दछ । १२ वर्षे जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाकाबाट मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा २७ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ । उपसंयोजकहरुमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष जगतबहादुर महर्जन, नवदुर्गा गुठीका नाइके भक्तलाल माली, नवदुर्गा भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली छन् । यसमा आर्थिक संयोजक धर्मराज माली, प्रचार प्रसार संयोजक विकास माली र स्वयेमसेवक संयोजक राजन्द्र माली रहेको नवदुर्गा भवानी देवी गुठीले जनाएको छ । १२ वर्षे जात्रा सञ्चालन गर्न गठित मुल व्यवस्थापन समिति, ठेचो सांस्कृति बाजा संरक्षण समिति, आर्थिक उपसमिति, स्वय्म सेवक उपसमिति र प्रचारप्रसार उपसमिति गठन गरिएको छ । नेपालका प्रसिद्ध नाचहरूमध्ये ललितपुर गोदावरवी नगरपालिका–१२ ठेचोको नवदुर्गा भवानी देवीको यो नाच पनि एक हो । यसबाहेक नेपाल मण्डलमा काठमाडौंको भद्रकाली खड्गी सिद्धि नाच, पचली भैरव नाच, नरदेवी नाच, देवी नाच, कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको निलबाराही, ललितपुरको हरिसिद्धि भवानी देवी नाच र खोकनाको रूद्रायणी नाच प्रख्यात छन् । प्रत्येक नाचको १२ वर्षे जात्राको आ–आफ्नो विषेशता छन् । नवदुर्गा नाचको पनि छुट्टै विषेशता छ । नवदुर्गा नाचको १२ वर्षे जात्रा त्यसपछि राष्ट्रप्रमुखलाई नवदुर्गा गुठीयारकोतर्फबाट सुपारी चढाउन पुग्छन् । अनि क्रमशःअन्य पर्वपूजाहरु सुरु हुन्छ । १२वर्षे जात्रा अवधिभर मुख्य २८ वटा पर्वपूजा सञ्चालन गर्नुपर्छ, जसमा कुल्पी यज्ञ, पाटन दरवार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउ बुङमतीमा नृत्य प्रस्तुत गराइन्छ । त्यसै साविक दलचोकीमा आग सिं भनी स्वः सि (चापको काठ) लिन जाने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन, दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीबासीलाई भोज खुवाउने, श्वेत भैरवको नृत्य गराउने चलनलगायतका २८ पर्व रहेको छ । १२ बर्षभरि गरिने पूजापाठका लागि ७६ लाख ४३ हजार एक सय ५० बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । यसका लागि गोदावरी नगरपालिकाबाट ५० लाख रुपैया बजेट व्यवस्थापन गरिदिको छ । नगरपालिकाले बजेट विनियोजित नगरेको भए जात्रा सञ्चालन गर्न निकै मुस्किल पर्ने सरोकारवालाहरु बताउँंछन् । जात्राको क्रममा २८ वटा पूजाहरु ह्ुने गर्दछन् । यी पूजाहरु साउन १० गतेदेखि मंसिर २५ गते भन्दा पछाछिसम्म हुने छन् ।
मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्
वीरगञ्ज । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । बजेट प्रविष्ट नगरेका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको सूत्रमा बजेट विवरण प्रविष्ट गर्न परिपत्रमार्फत निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए। देशका सात सय ५३ पालिकामध्ये हालसम्म विभिन्न ६३ स्थानीय तहले चालु आवका लागि बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख उपसचिव रेशम कँडेलले जानकारी दिए । मन्त्रालयको सूत्रमा प्रविष्ट गरेपछि चालू आवको कारोबार सुरू भएर भुक्तानी प्रक्रिया सुरू हुन्छ । कानुनतः स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा ९६० मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । स्थानीय तहबाट आव २०७९/८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्यरूपमा मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककाहरूलाई पत्राचार गरिसकिएको छ ।
पाल्पामा फस्टाउँदैछन् उद्योग व्यवसाय
पाल्पा । पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भएपनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग खुल्ने क्रम बढिरहेको छ । जिल्लामा हिजोआज उद्योग व्यवसाय फस्टाउनुका साथै बर्सेनी लगानी बढाउने उद्यमीको आकर्षण उत्तिकै छ । वैदेशिक रोजगारबाट फर्केका युवाले आफूले कमाएको धन गाउँमै विभिन्न उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न थालेका छन् । करिब एक दशक जापानमा वैदेशिक रोजगारको अनुभव बटुलेका रामपुरका युवा कैलाश डोटेलले बेझाड बजारमा रबिन जनरल स्टोर्स तथा क्यारोल सप्लायर्स सञ्चालन गरेका छन् । लामो समयसम्म विदेशको अनुभव सँगालेका डोटेलले गाउँमै बसेर व्यवसाय गर्ने र अन्य युवामा पनि प्रोत्साहन मिलोस् भन्ने मनसाय बोकेर व्यवसाय सुरु गरेको बताउँछन् । ‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, सोचेअनुसार काम सबैलाई मिल्दैन, केहीले राम्रै कमाइ पनि गरेकै छन् भने केही रित्तो हात फर्कनुपरेको छ, परिवारको साथमा गाउँमै बसेर व्यवसाय गर्दा धेरै आनन्द छ, व्यापार राम्रै चलेको छ,’ उनले भने। रामपुरकै अर्का युवा सुदीप गैरेले बेझाड बजारमै पूजा सामग्री पसल सुरु गरेका छन् । उद्योग तथा व्यवसाय फस्टाउँदै गरेको रामपुर बजारमा भोलिको राम्रो सम्भावना देखेर परिवारको सहयोगमा व्यवसाय सञ्चालन गरेको उनी बताउँछन् । आर्थिक वर्ष २०७८/७९ मा उत्पादनमूलक ५३, ऊर्जामूलक ५०, कृषि तथा वनजन्य तीन सय २६, पर्यटन ६१, सेवामूलक ८१, निर्माणतर्फ छ गरी जम्मा पाँच सय २१ उद्योग नयाँ दर्ता भएका छन् । यी उद्योगमा रु एक अर्ब ६५ लाखको पूँजी लगानी र रु १८ लाख ८२ हजार तीन सय २० कुल राजस्व प्राप्त भएको छ । त्यसैगरी वाणिज्यतर्फ तीन सय ७१ फार्म दर्ता भएका छन् । यी फर्ममा ५८ करोड ७८ लाख ५० हजार कुल पूँजी लगानी र ३३ लाख ७६ हजार दुई सय ७९ कुल राजस्व प्राप्त भएको छ । गत आवमा तीन सय ८५ उद्योग नवीकरण, एक सय ८८ लगतकट्टा, दुई सय ३१ पूँजी वृद्धि, २९ प्रतिलिपि लिएको, सातवटा उद्देश्य थप वा परिवर्तन, पाँचवटा नामसारी तथा ठाउँसारी गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए। उनका अनुसार पछिल्लो क्रममा प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो । ‘पाल्पा जिल्लामा उद्योग तथा वाणिज्य फर्म स्थापना गरी व्यवसाय गर्नेको आकर्षण बढ्दो छ, यहाँ उद्योग तथा वाणिज्य फर्म विस्तार हुँदै जाँदा धेरैले रोजगार गर्ने राम्रो अवसर पाएका छन्,’ उनले भने। आव २०७७/७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएको पाइएको छ । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । उत्पादनमूलक ५१, कृषि तथा वनजन्य चार सय २८, पर्यटन र सेवामूलक ७०/७० वटा दर्ता भएको पाइएको छ । महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । दर्ता भएका उद्योगमध्ये २०७८/७९ मा तीन सय ४२ र २०७७/७८ मा दुई सय ९८ छन् । प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनी बढ्दै गएका हुन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् । वाणिज्यतर्फ दर्ता भएका फर्ममा अधिकांश किराना पसल रहेको पाइएको छ । आव २०७७/७८ मा दर्ता भएका उद्योगमा एक अर्ब २१ करोड ४३ लाख लगानी भएको छ भने वाणिज्य फार्मको ५४ करोड ८१ लाख लगानी परेको छ । यसैगरी कार्यालयमा आव २०७७/७८ मा उद्योग चार सय ६० र वाणिज्य छ सय ६१ गरी जम्मा एक हजार एक सय २१ फर्म नवीकरण गरिएको छ । यहाँ एक सय दुई उद्योग र एक सय ४३ वाणिज्य फर्म गरी जम्मा दुई सय ४५ लागतकट्टा भएका छन् । पूँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारीलगायतका एक हजार एक सय एक काम भएका छन् । आव २०७६/७७ मा जिल्लामा चार सय सात नयाँ उद्योग थपिएका छन् । जसमा लघुउद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम तीन सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक एक सय ५५, पर्यटनमूलक एक सय ४८, सेवामूलक ६२ उद्योग दर्ता भएका छन् । महिलाका नाममा एक सय ८१ र पुरुषको नाममा दुई सय ४३ उद्योग दर्ता भएको पाइएको छ । आव २०७५/७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक एक सय ११, पर्यटनमूलक ९७ र सेवामूलक एक सय १० गरी जम्मा तीन सय ७० उद्योग थपिएका थिए । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा रु ५० लाख, प्रालितर्फका रु एक करोड र कृषि उद्योग १५ लाखदेखि २० लाखसम्मका दर्ता भएको पाइएको छ । पाल्पामा कार्यालय स्थापनादेखि हालसम्म उत्पादनमूलक छ सय ११, कृषि तथा वनजन्य एक हजार तीन सय चार, पर्यटनमूलक आठ सय ४३, सेवातर्फ एक हजार ६९ गरी जम्मा तीन हजार आठ सय २७ उद्योग तथा व्यवसाय दर्ता भई सञ्चालनमा छन् । कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ । १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । १० करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । साना लगानी गरेरै भए पनि उद्यमी बन्नेको जिल्लामा आकर्षण छ । उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुई–दुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीन–तीन वर्षमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।
संसद भवन भित्र सांसदहरुको मनमर्जी (फोटोफिचर)
काठमाडौं । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै । कतिपय संसदका दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । एकातिर संसदीय विषयहरुमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरु गफिएका देखिन्छन् भने कोही फोनमा ब्यस्त त कोही निदाइरहेका पनि । यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ । आरोप/प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ । संसद बैठकका धेरै समय कुर्सीहरु खाली नै हुन्छन् । सांसदहरु फोन र गफमा व्यस्त अनि निन्द्रमा मस्त । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्यहरु आजको फोटो फिचरमा । स्रोत : न्युज एजेन्सी नेपाल
सबै जिम्मा मेयरले सम्हाल्ने हो भने काठमाडौंलाई वडाध्यक्ष किन चाहियो ?
राजधानीको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । फोहोर उठ्न नसकेको महिनौं बितिसकेको छ । काठ्माडौं महानगरपालिकाको फोहोर नउठ्नु मेयर बालेन्द्र साहको मात्र कमजोरी हो ? फोहोर उठाउने जिम्मेवारी उनकै मात्र हो ? कि त प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र शहरी विकासमन्त्री मेटमणि चौधरीको पनि हो ? आफू केही नगर्ने अनि फोहोरमा पनि राजनीति गर्न खोज्ने ? नियतले पनि यस्तो गर्न दिन्छ ? उपमेयर सुनिता डंगोल एमालेबाट छिन् तर गर्ने केही होइन् । एक्लो भएको मौका छोपेर यिनीहरुले बालेन्द्रलाई शिथिल बनाएका छन् । यता, बालेन्द्रलाई काम गर्न पनि नदिने अनि दोष मात्र लगाउने । नगरसभाको बैठकमा बालेन्द्रलाई एक्लो पारेर बोल्नसमेत दिदैंनन् । झोले वडाध्यक्षहरुले उनको एउटा कुरा पनि टेर्दैनन् अनि कसरी अघि बढ्ने ? सुझाव माग्यो भने विवाद गर्न खोज्ने पार्टीगत वडाध्यक्षहरुकै कारण पनि फोहोर उठाउन सकस परेको हो । यता, नुवाकोटको बञ्चरेडाँडामा आन्दोलन गर्ने र फोहोर लैजान नदिने पनि झोले कार्यकर्ता नै हुन् । बञ्चरेडाँडाको स्थानीय उचाल्नुमा प्रधानमन्त्री देउवा र ओलीको ठूलो हात छ । सहयोग कसैले नगर्ने अनि एक्लै यत्रो महानगरको फोहोर उठ्छ ? बालेन्द्रलाई सिद्धयाउनका लागि पूरै गिरोह नै मिलेका छन् । यहाँ त काठमाडौंको फोहोर उठाउने जिम्मा बालेन्द्रको जस्तो मात्र देखिन्छ । आफ्नो वडाको फोहोर व्यवस्थापन गर्ने दायित्व वडाध्यक्षकै हो । वडाको सरसफाइ पनि वडाध्यक्षकै जिम्मेवारी हो । वडाध्यक्षहरु हात बाँधेर बस्ने अनि मेयरको खुट्टा तानेको तान्यै गर्ने । यदि हरेक वडा चहारेर मेयरले काम गर्ने हो भने वडाध्यक्ष किन चाहियो ? बेकारमा राज्यको सम्पत्ति किन दोहन गर्ने ? पार्टीबाट आएका सबै वडाध्यक्षले सामुहिक राजीनामा दिनुपर्यो, जे जे काम छ सबै मेयरले नै गर्छन् । समन्वय गरेर काठमाडौंवासीलाई सहजता बनाइदिनुको साटो कसरी निचा देखाउने भन्ने मात्र छ । यता, उपमेयर डंगोलको कसैले नाम पनि लिएको सुनिदैन् । जतिबेला पनि त्यही बालेन्द्रले केही काम गरेन भन्यो अरुको टाउकोमा दोष थुपार्यो । मेयर मात्र होइन्, उपमेयर र वडाध्यक्ष पनि काम गर्न असफल भएका छन् । अरुमाथि जुठो छर्केर आफू चोखो बन्ने काम काठमाडौंका वडाध्यक्ष र उपमेयरले नगरे नै बेस होला । स्वतन्त्रले जितेको प्रतिशोध साँधेर एउटा व्यक्तिलाई कतिसम्म नङ्गाउने खोज्ने ? अर्को चोटिबाट जनताले स्वतन्त्रको नाम लिइयोस् भनेर यस्तो रणनीति बनाएको स्पष्ट बुझिन्छ । तर, आफ्नो कारणले सर्वसाधारणले कति दुःख पाएका छन्, झोले उपमेयर र वडाध्यक्षले बुझेनन् । हिजो ठूलो कुरा त उपमेयर र वडाध्यक्षले पनि गरेका थिए । खोइ त नतिजा ? एक प्रतिशत पनि केही विकास भएको छैन् भने यिनीहरुकै कारणले फोहोर पनि उठ्न सकेन् । काम गर्छु भनेर पाइला अघि सारेका व्यक्तिलाई झोले कार्यकर्ताहरुले रोक लगाएका छन् । मेयरमा पछारिएका एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहको बालेन्द्रलाई असफल पार्न ठूलो हात छ । अर्कोचोटि आफ्नो पार्टी आओस् भन्ने स्वतन्त्रलाई थिचोमिचो गर्ने काम भइरहेको छ । जनता सडकमा ल्याएर त्यत्रो आन्दोलन गर्न लगाउने पनि चुनाव हारेका व्यक्तिहरु नै हुन् । पदका लोभीहरुले मुलुक सखाप पार्ने निश्चित छ । यता, निवर्तमान उपमेयर हरिप्रभा खड्गीले एउटा कार्यक्रममा आफूहरुको सल्लाहबिना मेयरलाई हल्लिन पनि नदिन बताएकी थिइन् । उनी को हुन् ? यसअघिको असफल र नालायक उपमेयर । आफू पदमा बसुञ्जेल एउटा सिन्को भाँच्ने काम पनि गरेनन् । यिनीहरुको पालामा पनि सडकको फोहोर यस्तै थियो । बालेन्द्रले पटकपटक बैठक बोलाएर फोहोर कसरी व्यवस्थापन गर्ने भनेर सुझाव मागिरहेका छन् । तर, सुझाव दिन पनि र्याल काढ्ेको देखिन्छ । तत्कालिन मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्कीले त्यति पनि गरेनन् । फोहोरकै कारणले महामारी फैलिने अवस्था सिर्जना भएको छ । जनतालाई बाटो हिड्न पनि धौधौ परेको छ । यस्तोमा पनि पार्टीकै बारेमा सोच्नु, उसकै निर्देशनको आधारमा चल्नु कतिसम्म लज्जास्पद विषय हो । काठमाडौंवासीले पनि फोहोर उठाउन पहल गर्नुपर्ने भएको छ । आफ्नो शहर सुन्दर चाहिएको छ भने जनताले पनि आवाज उठाउनुपर्छ । होइन् भने केही दिनपछि घरबाट बाहिर ननिस्किए पनि हुन्छ । यता, पार्टीको पछि लागेर आरोप प्रत्यारोप गर्ने वडाध्यक्षहरुलाई राम्रो सबक सिकाउनुपर्छ । अबको चुनावमा कांग्रेस र एमालेलाई कसैले पनि भोट दिनुहुदैंन । यिनीहरुकै कारण काठमाडौं ध्वस्त भयो । बालेन्द्रको पार्टी भनेकै जनता हो । जनताले नै उसलाई साथ दिएन् भने कसरी शहर सफा र सुन्दर हुन्छ ? अझैपनि पार्टीकै कार्यकर्ता बनेर सोच्ने हो भने रााजधानीको हाल बेहाल हुन्छ । अस्तिकै नगरसभाको बैठकमा बालेन्द्रलाई बोल्न पनि दिइएन् । उनलाई वडाध्यक्षहरुले प्याकप्याकी बनाए । सबै आरोप उनीमाथि पनि खन्याएर अरु सबै पन्छिए । यिनीहरुको योजना बालेन्द्रलाई भित्तामा पुर्याएर छाड्ने थियो जसमा उनीहरु सफल हुदैं गएका छन् । तर, काठमाडौंको हाल के हुन्छ ? यो यिनीहरुले देखेका छैनन् । तत्कालिन मेयर र उपमेयरले महिनौ दिनदेखिको फोहोर बालेन्द्रलाई सुम्पिएर गएका थिए । अरुको पालाको फोहोर उठाउने ठेक्का पनि उसकै हो ? काठमाडौंका जनताले समेत यतिखेर बालेन्द्रलाई साथ दिएको देखिदैंन् । उसले पटकपटक फोहोर वर्गीकरण गर, फोहोर व्यवस्थापन गर्न ठाँउको खोजी नभएसम्म घरमा राख भनेर आग्रह गर्दा पनि कोही सुन्न चाहदैनन् । आफ्नो घर सफा चाहिनेलाई सडकचाहि किन नचाहिएको होला ? जनता आफै पनि अलिकति जिम्मेवार भइदिए पनि राजधानीको फोहोर उठाउन त्यति अप्ठ्यारो पर्दैन् । अब बालेन्द्रले फोहोरको जिम्मेवारी छोडिएदिए पनि हुन्छ । वडाध्यक्षले नै फोहोर व्यवस्थापन गर्नुपर्ने निर्णय उनले गर्नुपर्छ । राजधानी सुधार्नु मेयरको मात्र जिम्मेवारी होइन् । वडाभित्रको समस्या समाधान गर्नु वडाध्यक्षको कर्तव्य हो । त्यसैले मेयर अब आफैं सतर्क हुनुपर्यो । किन कि वडाध्यक्षले जानाजान विवादमा ल्याउन खोजेका छन् । यता, बञ्चरेडाँडाका स्थानीयहरु दहीचिउरे भए । कि त फोहोर नै फाल्न नदिने भनेर अडान लिनुपर्यो । होइन् भने कहिले फाल्न दिने भन्ने कहिले सडकमा उत्रिने । विभिन्न माग राख्ने अनि आएको पैसा ल्यामल्युम पार्ने । त्यसपछि फेरि आन्दोलन गर्ने । अडानमा टेकेपछि सरकारले पनि केही गर्न सक्दैन् । जनता मारेर फोहोर फाल्ने कुरा त आउदैन् । बञ्चरेडाँडाका स्थानीयहरु प्नि पैसामा बिके । फोहोरका कारणले उनीहरुलाई समस्या परेको सबैले बुझेका छन् तर छिनमै कुरा फेर्नु त भएन । अब फोहोर व्यवस्थापन अझै जटिल हुन्छ । आफ्नो घरबाट निस्केको फोहोर आफैले जिम्मा लिने भनेर सरकारले नीति ल्याउनुपर्यो । उत्पादनकर्ताले नै फोहोर व्यवस्थापन गर्नु परेपछि त सबैको चेत खुल्ला । सरकारले फोहोरको जिम्मा लिनु नै घाँडो बनेको छ । काठमाडौंका बासिन्दा आफू घर बनाउने, भाडामा लगाउने अनि बञ्चरेडाँडाका जनतालाई दुःख दिने । मोज आफूहरु गर्ने अनि सास्ती अरुलाई दिने । काठमाडौंका बासिन्दा सामन्ती सोचाइका छन् । आफ्नो काम भए अरुको के मतलब भन्ने खालका मानिसहरु बस्ने ठाँउ हो यो । बञ्चरेडाँडाको जस्तो समस्या आफूलाई परेको भए पो थाहा हुन्थ्यो । आफू मन्त्री पदबाट हटेको आवेगमा आएर रामकुमारी झाँक्रीले पर्दाभित्र बसेर बञ्चरेडाँडाका जनता उचालेको कुरा सुन्नमा आइरहेको छ । मन्त्री पदको मोह झाँक्रीमा कति थियो ? स्पष्ट देखियो नी । २०७९ जेठ २७ गते झाँक्रीले अब काठमाडौंको फोहोर उठ्छ । उनीहरुको माग पूरा गरेको र फोहोर उठाउनमा कुनै अवरोध नहुने भनेर उनले दाबी गरेकी थिइन् । तर, खोइ त ? अहिले पनि काठमाडौंको फोहोर जस्ताको त्यस्तै छ । अहिलेको शहरी विकासमन्त्री चौधरीले केही काम गर्न नसक्ने हो भने उनले पनि राजीनामा दिए हुन्छ । महानगरभन्दा ठूलो जिम्मा शहरी विकास मन्त्रालयको हो । शहर व्यवस्थित बनाउने, फोहोर उठाउने र सफासुन्दर बनाउने पनि मन्त्रालयकै मातहतमा पर्दछ । न घर बनाउन नयाँ मापदण्ड नै ल्याउन सके । आफू आएको एक सय दिनको उपलक्ष्यमा पत्रकार सम्मेलन गरेर फाइफुर्ति लगाउने काम भयो । प्रश्न उठेको छ, आखिर उनले गरेचाहि के ? फोहोर ज्युको त्यु छ । शहर हेर्दै घिनलाग्दो देखिन्छ । नेकपा एकीकृत समाजवादीबाट आएका मन्त्रीहरु सबै उस्तै रहेछन् । केही काम नगर्ने, तलबभत्ता खाने र सरकारी गाडी चढ्ने । एउटा सिन्को पनि नभाँच्ने मन्त्री जति सबै समाजवादीकै छन् । यिनीहरुलाई पार्टीले तत्कालै फिर्ता बोलाउनुपर्छ । यिनकै कारणले समाजवादी तहसनहस हुने निश्चित छ ।
पनौती नगरपालिकाले मोतीबिन्दुको उपचार निःशुल्क गर्ने
काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ । नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताए। उनले भने ‘अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।’ अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ । अस्पतालले यसअघि आँखामा लाग्ने मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेपलाञ्चोकको बनेपा नपा, नमोबुद्ध नपा र बेथानचोक गाउँपालिकासँग सम्झौता गरिसकेको छ । यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धनुषाको मिथिला नपा, छिरेश्वर नपा र कमला नपासँग पनि अस्पतालले सम्झौता गरेको जनाइएको छ । अस्पतालकै सहयोगमा दुई साताअघि पनौती–५ मा आँखा शिविरको आयोजना गरी चारसयको आँखा परीक्षण गरेमध्ये सो रोग लागेको देखिएका करिब एक दर्जन वृद्धवृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो । वडा कार्यालयले ती वृद्धवृद्धाको बनेपास्थित उक्त अस्पतालमा उपचारार्थ आवतजावतका लागि यातायात व्यवस्था गरेको थियो । आँखा विशेषज्ञका अनुसार मोतीबिन्दु रोग मधुमेह तथा हाइपरटेन्सनजस्ता रोग, बढ्दो उमेर, जलबिन्दु, पोषण तत्वको कमी, चिनी रोग, जन्मजातरूपमा वा आँखाको अन्य समस्याका लागि गरिएको शल्यक्रिया, वंशाणुगत, शिशु जन्मनुभन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सन, चोटपटक, घामको विकीरण, आँखाको पानीको खराबी तथा धूमपानका कारण लाग्ने गर्दछ ।