विकासन्युज

डायलायसिस मेसिन आयो, जडान भएन

तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए । मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताए । रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । ‘मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ,’ उनले भने, ‘प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।’ अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताए । त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् । पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए। उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् ।

कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

 बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगिता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् ।

‘नयाँ ब्रोकरलाई लाईसेन्स दिन बाहानाबाजी नगरौं, कमिसन घटाऔं’

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले नयाँ ब्रोकर लाईसेन्स वितरणमा बाहानाबाजी नगर्न माग गरेका छन् । पुँजीबजारका लगानीकता संघ संगठनले नेपाल धितोपत्र बोर्डका अक्ष्यक्ष रमेश कुमार हमालसमक्ष उक्त कार्यमा बाहाना बाजी नगरी तत्काल स्वीकृत गरी कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले समग्र लगानीकर्ताको तर्फबाट बोल्दै मन्त्रिपरिषदमा पेश भएको उक्त मस्यौदा तत्काल कार्यान्वयनमा ल्याउन बोर्डले पहल गर्नु पर्ने माग गरेका हुन् । बोर्डले उक्त मस्यौदा गत साउनको पहिलो सातामै अर्थमन्त्रालयमा पेश गरेको थियो । त्यस्तै, लगानीकर्ताहरुले तत्काल ब्रोकर, नेप्से, सिडियस र स्वयं धितोपत्र बोर्डको समेत लगानीकर्ताहरुबाट असुल गर्दै आएको कमिसन तत्काल घटाउन पनि बोर्डका अध्यक्ष हमालसँग माग गरेका छन् । साथै, मर्जरको नाममा लामो समयसम्म सेयर कारोबार रोक्का रहेको अवस्थालाई तत्काल सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ । नेपाल स्टक एक्सचेञ्जलाई निजिकरण वा नयाँ स्टक एक्सचेञ्ज खुलाउने प्रकृयामा छिटो भन्दा छिटो लाग्न आवश्यक रहेको उनीहरुको भनाई छ । यदि सेबोनबाट यी सबै काम यथाशिघ्र भएमा बोर्डको नीति तथा कार्यक्रममा सहयोग पुग्नेमा लगानीकर्ताहरु विश्वस्त छन् ।

७८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७८१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ९० जना तथा एन्टिजेन विधिबाट २ हजार ४२२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५११ जना निको भएका छन् भने २३ हजार ८०१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

‘सृजनशील महिला उद्यमी मेला–२०७९’ काठमाडौंमा सुरु

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला–२०७९’ सूरु भएको छ । शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे«ड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको सो मेलाको शुभारम्भ गरेकी हुन् । महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए । ५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको विक्रीवितरण गरिनेछ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास व्यक्त गरे । यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित वस्तुहरुको उपयोग गर्न आम उपभोक्ताहरुलाई आह्वान गरेकी छिन् । सो मेलाको अवलोकन गरेपछि उहाँले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै महिला दिदीबहिनीहरुले गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी वस्तुभन्दा स्वदेशमै उत्पादन भएका वस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गरेकी हुन् । मन्त्री रेग्मीले महिला दिदीबहिनीहरुले संचालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोलाआदि प्रर्दशन गरिएको छ । ५ दिनसम्म चल्ने मेलामा करिब १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राईजिङ नेपाल प्रालिले जनाएको छ ।

भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

अर्बपति अडानीको लगानी अब मेटलमा पनि, ५.२ अर्बको लागतमा खोले उद्योग

काठमाडाैं । भारतका उद्योगपति तथा अर्बपति गौतम अडानीले मेडल उद्योगमान पनि लगानी गर्ने भएका छन् । अडानी इएन्टरप्राइजेजले अब मेटल क्षेत्रमा पनि प्रवेश गर्ने घोषणा गरेको हो । अडानी इन्टरप्राइजेजले कुल ५.२ अर्ब भारतीय रुपैयाँ लगानीमा अल्युमिना रिफाइनरी उद्योग स्थापना गर्न लागेको हो । अडानी समुहले गत वर्षको डिसेम्बर महिनामा मुन्द्रा एल्युमिनियम लिमिटेड नामको कम्पनी बनाएको स्थापना गरेको थियो । अडानी समूहले एकपछि अर्को नयाँ क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । सो समूहले हालै हालै मात्रै दुरसञ्चार क्षेत्रमा पनि प्रवेश गरेको छ । दर्जनौं क्षेत्रमा अडानी समूहको लगानी छ । एसियाकै धनी व्यक्ति अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा छन् । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा छन् ।