विकासन्युज

इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा बिहिबार एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका संचालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए । उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावरलगायत विभिन्न पुर्वाधार विकासमा लगानी गरेको छ । इमर्जिङ नेपालले पुर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ । उनले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले आगामी दिनमा कम्पनिले विभिन्न विकासका पुर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तिय संस्था, क्यापीटल मार्केट र प्राइभेट फर्महरु लगाएतको सहभागीता रहेको थियो ।

कुन बैंकले दिन्छ सस्तोमा ऋण ? यस्तो छ २६ वटै बैंकको ब्याजदर

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । बैंकहरुले लगानीयोग्य रकम नपाइरहेको अवस्थामा ब्याज बढाएर निक्षेप संकलन गर्ने रणनीति पनि बनाइरहेका छन् । लगानी गर्नका लागि स्रोतको अभाव भएपछि बैंकहरुले विभिन्न बचतका योजनामा आकर्षक ब्याज दिएर पैसा संकलन गर्ने रणनीति बनाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य स्रोतको अभाव हुँदा निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) पनि बढाएको छन् । जसले गर्दा बैंकहरुको ब्याजदर थप महँगो भएको छ । बैंकहरु ब्याज बढाउने उद्धेश्यले आधार दर बढाउन बाध्य भएका छन् । अहिले बैंकहरुको आधारदर नै दोहोरो अंकमा छ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ । आधार दरमा केही निश्चित प्रिमियम तोकेर बैंकहरुले ऋण लगानी गर्छन् । बैंकहरुको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको आधार दर औसतमा ९.४६ प्रतिशत छ । अहिले आधा दर्जन वाणिज्य बैंकहरुको आधार दर १० प्रतिशत माथि छ । कुमारी, सिभिल, सेञ्चुरी, सिटिजन्स, मेगा र सनराइज बैंकको आधारदर १० प्रतिशतभन्दा बढी देखिएको छ । यी बैंकहरुको आधार दर क्रमशः १०.५७ प्रतिशत, १०.४६ प्रतिशत, सेञ्चुरी बैंकको १०.२३ प्रतिशत, सिटिजन्स बैंकको १०.०९ प्रतिशत, मेगाको १०.०१ प्रतिशत र सनराइज बैंकको १०.०१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकहरुको औसत आधार दर ८.९९ प्रतिशत थियो । यो अवधिमा चार वटा वाणिज्य बैंकको आधार दर ३ प्रतिशत बिन्दुले वृद्धि भएको छ । १३ वटा वाणिज्य बैंकका आधार दर ९ प्रतिशतको हाराहारीमा छ । पाँच वटा वाणिज्य बैंकहरुको आधार दर ८ प्रतिशत र दुइटा वाणिज्य बैंकको आधारदर ७ प्रतिशतको हाराहारीमा छ । अहिले सबैभन्दा कम आधारदर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छ । आधार दर बढेपछि बैंकहरुको कर्जामा दिने ब्याज पनि बढाउँछन् बैंकहरुले अधिकतम ५ प्रतिशत प्रिमियम लिँदै आएका छन् । अहिले १० प्रतिशत हाराहारीमा आधारदर भएका बैंकहरुको कर्जा १५ प्रतिशतसम्म हुन्छ । कम आधारदर भएका बैंकहरुको ब्याजदर कम र बढी हुनेको कर्जाको ब्याजदर पनि बढी नै हुन्छ ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन, पीडितहरूसँग वार्ता सुरु

काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सह(सचिव डा। भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । शुक्रबार बिहान गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता सुरु गरेको छ । डा। भुसालको संयोजकत्वमा मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित ७ जनाको टोलीसँग अहिले वार्ता भइरहेको छ । कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्कालाई मनोनयन गरिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । पश्चिम नवलपरासीका ७७ जना मिटरब्याजी पीडित केही दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् ।

नेपाल लाइफको जीवन बीमाकोष १ खर्ब ३६ अर्ब नाघ्यो, लगानी विस्तारमा देखियो आक्रामक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.५० प्रतिशतले घटी हो । इन्स्योरेन्सले सो वर्षमा ३२ अर्ब ३६ करोड रुपैया बराबरको प्रिमियम संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमाकोष बढेर १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ थियो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा तथा कोषमा २८ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोष जगेडामा ७२ करोड २ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्स लगानी विस्तारमा आक्रामक देखिएको छ । २०७९ असार मसान्तसम्ममा कम्पनीले १ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २२.७१ प्रतिशतले बढी हो । २०७८ असारसम्ममा इन्स्योरेन्सले १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । उक्त लगानी सुरक्षित क्षेत्रमा गरिएको समेत कम्पनीको दावी छ । गत आवमा इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । हाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ नोक्सानमा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा छ भने औसत प्रतिफल ९.५७ प्रतिशत रहेको छ । इन्स्योरेन्सले ६८ हजार ७५९ वटा बीमालेखबाट कूल १३ अर्ब ३२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, १ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

अब कोही पनि ज्येष्ठ नागरिक अलपत्र हुँदैनन्, सरकारले सबै जिम्मा लिन्छ : मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्तिको स्वामित्व स्थानीय सरकार मातहत जानेछ । यसरी आफ्नो कर्तव्य पूरा नगरी अंशसमेत खान नपाउने व्यवस्थाले समाजमा ज्येष्ठ नागरिकप्रति हेरिने दृष्टिकोण, व्यवहारलाई परिवर्तन गरी सुसंस्कृत समाज निर्माण गर्न बल पुग्नेछ । समग्रमा यस विधेयकले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको छ । त्यस्ता ज्येष्ठ नागरिकका नाममा भएको सम्पत्ति पनि सरकारले नै लिने र हेरचाह पनि सरकाले नै गर्ने गरी हालै संसद्बाट पारित भएको ज्येष्ठ नागरिकसम्बन्धी विधेयकले विशेष व्यवस्था गरेको छ । संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको सो विधेयकका सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग गरिएकाे कुराकानीको सम्पादित अंशः संसद्को दुवै सदनबाट ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक पारित भएको छ, यसलाई यहाँले कसरी हेर्नु भएको छ ? ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विद्येयक पास गरेको छ । ज्येष्ठ नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको यो विधेयक राष्ट्रियसभाले २०७५ फागुनमा पारित गरेको थियो भने प्रतिनिधिसभाले यही साउन ४ गते पारित गरेको छ । यस विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । ज्येष्ठ नागरिक उहाँका परिवार र सन्तानको बोझ बनिरहेका र वृद्धाश्रममा पठाउने काम गरिरहेकाले उनीहरूलाई नसियत दिने व्यवस्था गर्न जरुरी रहेको थियो । त्यसैले स्थानीय तहले उहाँहरूका सन्तान र परिवारलाई दण्डित गर्ने र उहाँहरूको संरक्षण गर्ने व्यवस्था गर्नेगरी विधेयक ल्याइएको हो । नेपाली समाजमा आफूले कमाएको सम्पत्ति विभिन्न बहानामा सबै माग्ने र आमा बुबाले नसकेका अवस्थामा सार्वजनिक पाटीमा बास बसाउने क्रम बढ्न थालेपछि सरकारले ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखी संशोधित विधेयकको आवश्यकता बोध भएको हो । यसले ज्येष्ठ नागरिकको अधिकार संरक्षणमा महत्वपूर्ण योगदान हुने विश्वास लिएको छु । विधेयक कार्यान्वयनका सन्दर्भमा ज्येष्ठ नागरिकहरुलाई यहाँ के भन्न चाहनुहुन्छ ? वृद्धावस्थामा हेरविचार नगर्ने छोराछोरीलाई अंश नदिनुस् जसले तपाईको संरक्षण गर्छ उसलाई नै जेजति भएको सम्पत्तिको हकवाला बनाउनुस् । जसले रेखदेख गर्छ, जसले पालनपोषण गर्छ उसलाई आफ्नो सम्पत्ति प्रदान गर्न हरेक ज्येष्ठ नागरिक स्वतन्त्र हुनुहुन्छ । परिवारको खर्च चलाएर विभिन्न माध्ययमबाट जगेडा गरेको सम्पत्तिबारे पनि छोराछोरीलाई जानकारी दिन आवश्यक छैन आफूले सक्दैमा अशक्त अवस्थामा आफ्ना लागि जगेडा गर्न पनि म ज्येष्ठ नागकिलाई अनुरोध गर्दछु । अब कोही पनि ज्येष्ठ नागरिकले आफ्ना सन्तान वा सम्पत्तिको दाबेदारबाट उचित लालनपालन वा हेरचाह नपाउने वा अलपत्र अवस्थामा रहनुपर्ने अवस्था आउन दिदैनौँ । त्यस्तो अवस्था आएमा ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितमा परिचालन गरिनेछ । कोही पनि ज्येष्ठ नागरिकले एक्लो वा असहाय भएको अनुभव गर्नुपर्ने छैन । उहाँहरुको अभिभावकत्व राज्यले लिनेछ । ज्येष्ठ नागरिकका सम्बन्धमा यस विधेयकले महत्वपूर्ण व्यवस्था गरेको छ भन्नुभयो, केही उल्लेखनीय प्रावधानहरु के के हुन् त ? समाजमा पढेलेखेकाले पनि आफ्ना अभिभावकलाई आश्रममा छाड्ने गरिएकाले यस विधेयकमा उहाँहरूका सवालमा सन्तानलाई उत्तरदायी बनाइएको छ । यस विधेयकमा विशेषगरी परिवारको व्याख्या गरिएको छ । यसमा छोराछोरी, बुहारी र छोरातर्फको सन्तानपछि छोरीतर्फको नातिनातिना पनि थप गरिएको छ । ज्येष्ठ नागरिकप्रति निजका सन्तानलाई नै यसले जिम्मेवार बनाउने विषय यसमा समावेश गरिएको छ । ज्येष्ठ नागरिकलाई सन्तानले लालनपालन, हेरविचार गरेनन् भने कानूनअनुसार कोही हकवालालाई जिम्मा लिन मिल्ले विषय पनि यस विधेयकमा समावेश रहेको छ भने दुवैले जिम्मा लिने अवस्था नआए त्यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने व्यवस्था यसमा स्पष्टरुपमा उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेको वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई ज्येष्ठ नागरिकको हकहितका लागि परिचालन गर्ने व्यवस्था गरिएको छ । यसरी आफ्ना बाबुआमाप्रति सन्तान उत्तरदायी भएनन् भने स्थानीय सरकारलाई उत्तरदायी बनाइएको छ । यस विधेयकले परिवारलाई मात्र नभई छरछिमेकलाई समेत उत्तरदायी बनाउन खोजेको छ । कुनै परिवारमा ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार वा कुनै पनि खालको हिंसा भएको जानकारी छिमेकीलाई अवगत भएमा उनीहरुले पनि त्यसको सूचना स्थानीय तहलाई गराउनुपर्छ । वृद्धवृद्धा स्वयंले उजुरी गर्न नसकेमा छिमेकीले उजुरी गरेमा पनि कानुन आकर्षित हुने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक राष्ट्रको गहना भएकाले उहाँहरूको सीप, ज्ञानको उपयोग गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ । ज्येष्ठ नागरिकले आफूलाई मर्का परेका विषयमा कसरी र कहाँ उजुरी गर्न सक्छन् ? अन्य नागरिकसरह ज्येष्ठ नागरिकले आफूलाई छोराछोरी वा अन्य हकवाला नातेदारले उचित पालनपोषण, हेरचाह नगरेमा त्यसका बारेमा स्थानीय निकायको न्यायिक समितिमा उजुरी दिन सक्नेछन् । यस्तो उजुरी छोटो विधिबाट सुनुवाइ गर्न समितिले अलग्गै कार्यविधि तर्जुमा गर्न सक्नेछ । साथै, ज्येष्ठ नागरिकका मुद्दा हेर्नका लागि न्यायपरिषद्को परामर्शमा छुट्टै ज्येष्ठ नागरिक इजलास गठन गर्नसक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । आर्थिक अवस्था सम्पन्न भएका ज्येष्ठ नागरिकको लालनपालन गर्ने व्यक्ति नहुँदा पनि उनीहरुले अनेक समस्या झेल्नुपरेको छ । यसमा यहाँले के सोच्नुभएको छ ? हो, हाम्रो समाजमा आर्थिक हिसाबले सम्पन्न रहेका ज्येष्ठ नागरिकले पनि सहाराविहीन बन्नुपरेको छ । जापानलगायत धेरै देशमा नेपालबाट ज्येष्ठ नागरिकको हेरविचार गर्न रोजगारीका लागि धेरै कामदार जाने गरेका छन् । अब हामी देशमै यस किसिमको रोजगारीको अवसर सिर्जना गर्दैछौँ । नेपालमै आर्थिक हिसाबले सम्पन्न ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्तिका लागि तालिम सञ्चालन गर्नेछौँ र उनीहरुलाई स्वदेशमै रोजगारी दिनेछौँ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । यसले राज्यलाई पनि फाइदा हुनेछ भने रोजगारीको पनि अवसर प्राप्त हुनेछ । आफ्नै आर्जन भएका वा विदेशमा रहेका छोराछोरीले आफ्ना बाबुआमाको हेरचाह गर्ने भरपर्दो व्यक्ति भएमा आवश्यक रकम पठाउन तयार रहेकाले यसलाई छिट्टै कार्यान्वयनमा ल्याउनेछौँ । मैले आमाबुबा पालेको छु भन्नुभन्दा म आमाबुबासँग बसेको छु भन्ने सोच हरेक छोराछोरी र बुहारीमा आएमा ज्येष्ठ नागरिकका समस्या धेरै हदसम्म समाधान हुनसक्ने भएकाले हाम्रो सोचमै परिवर्तनको खाँचो छ । छोराछोरीले कमाएको निश्चित रकम बाबुआमालाई दिनुपर्ने बाध्यात्मक व्यवस्थाको कार्यान्वयन कसरी हुन सक्दछ ? यस विधेयकले नियमित पारिश्रमिक, निवृत्तिभरण पाइरहेका तथा स्वरोजगार व्यक्तिले निश्चित रकम बाबुआमाका नाममा खाता खोली जम्मा गर्नुपर्छ । यसरी जम्मा गरेको जानकारी वार्षिकरुपमा व्यक्तिले स्थानीय तहलाई गराउनुपर्छ । रकम जम्मा नगरे यसो नगरे उक्त छोराछोरीलाई सम्पत्ति लिने अधिकार पनि हुँदैन भने बाबुआमाले दायित्व भएका व्यक्ति कार्यरत संस्थामा उजुरी गर्न पाउने व्यवस्था गरिएको छ । कति रकम जम्मा गर्ने भन्ने विषयमा विधेयकमा नभए पनि पछि बन्ने नियमावलीमा स्पष्ट उल्लेख गरिनेछ । यसमा बुबाआमा सँगै बस्नुहुन्छ भने सयुक्त खाता खोल्ने र फरकफरक बस्ने अवस्थामा फरक फरक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिनेछ । विधेयकमा ज्येष्ठ नागरिकको सबालमा स्थानीय तहलाई बढी नै जिम्मेवार बनाउन खोजिएको देखिन्छ । के हाम्रा स्थानीय तहहरु ती प्रावधानहरु कार्यान्वयन गर्न सक्षम छन् त ? विधेयक प्रमाणीकरण भई ऐन बनेपछि स्थानीय सरकारलाई यसमा जिम्मेवार बनाइनेछ । स्थानीय तहले ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारी गर्नेछन् । दिवा स्याहार केन्द्र वा आवास गृहको प्रबन्ध गर्नुपर्ने हुन्छ । यसका लागि मन्त्रालयले सम्पूर्ण स्थानीय तहलाई बाध्यकारी तरिकाबाट सूचना प्रवाह गर्ने भनाइ । यस विधेयकलाई ज्येष्ठ नागरिकसमक्ष पु¥याउनका लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ । अशक्त अवस्थामा रहनुभएको अर्थात् घर बाहिर निस्कन नसक्ने ज्येष्ठ नागरिकको हकमा वृद्धाभत्ता पनि घरमा नै पु¥याउने व्यवस्था गर्नुपर्छ भन्दै मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरेको भए पनि अझै धेरैले त्यसलाई कार्यान्वयन नगरेकाले तत्काल त्यसको कार्यान्वयन गर्न आग्रह गर्दछु । सरकारले यस वर्ष ज्येष्ठ नागरिकलाई दिइने भत्ताको उमेर हद ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गरेको छ । यसलाई कार्यान्वयन गर्न कत्तिको सहज देख्नुहुन्छ ? ज्येष्ठ नागरिकप्रति वर्तमान सरकार निकै उदार रहेको छ । वर्तमान सरकारले यस वर्षको बजेटमा ७० वर्षलाई घटाएर ६८ वर्ष कायम गरेको छ । नेपालीहरुको औसत आयुको आसपास ७० वर्षमा भत्ता वितरण गरेर खासै उपलब्धि नहुने भएकाले यसलाई हाललाई दुई वर्ष घटाएका छौँ । अन्तर्राष्ट्रिय अभ्यासमा ६५ वर्षबाट नै ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था रहे पनि हाल नेपालमा त्यसो गर्नसक्ने अवस्था छैन तर छिट्टै ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था गरिनेछ । ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने कुरा के भइरहेको छ नी ? ज्येष्ठ नागरिकका लागि ५० बेडको अस्पताल बनाउनका लागि डिपिआरको काम सम्पन्न भएको छ । उहाँहरुका लागि एउटा मात्रै अस्पतालले नपुग्ने भएकाले गोठाटारबाहेक देशका अन्य स्थानमा पनि अस्पताल निर्माणका लागि छलफल भइरहेको छ । गोठाटारमा अस्पतालसँगै उहाँहरुको लागि आश्रम पनि निर्माण गरिनेछ । त्यहाँको निर्माणको काम सम्पन्न भएसँगै पशुपति वृद्धाश्रममा रहनुभएका सबै आमाबुबालाई गोठाटारमा लैजाने तयारी मन्त्रालयको छ । वृद्धाश्रममा राखेर समाधान खोज्नु हुँदैन । वृद्धाश्रम बाध्यताको उपज रहेकाले त्यसतर्फभन्दा घरलाई स्वर्ग बनाउँदै परिवारसँग बस्ने वातावरण बनाउनुपर्छ । जीवनभर कमाइ गरेर निर्माण गरेको घर नै ज्येष्ठ नागरिकको मन्दिर हो र सन्तान त्यसका पुजारी हुन् । अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ? सन्तानले घरलाई नै स्वर्ग बनाएर बस्नसक्ने वातावरण निर्माण गर्ने गरी विधेयक आएको छ । अस्पताल र सार्वजनिक यातायातमा पनि ज्येष्ठ नागरिकलाई केही सहुलियतको व्यवस्था गरिएको भए पनि त्यस विषय पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले सम्बन्धित मन्त्रालयले त्यसतर्फ ध्यान दिन परिपत्र गरेका छौँ । हामीले सन्तानलाई नै जिम्मेवार बनाउन खोजेका छौँ । यदि जिम्मेवार बहन गर्न नखोजेको अवस्थामा ज्येष्ठ नागरिकलाई अलपत्र पार्न हुन्न भन्ने सरकारको मनसाय हो । त्यसैले हरेक छोराछोरीले भोलि आफू पनि वृद्ध भइन्छ भन्ने वास्तविकतालाई सम्झँदै आफ्ना बाबुआमाको उचित पालनपोषण, हेरविचार गर्न सबैसँग आग्रह गर्दछु । रासस

कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा पुनःसञ्चालन

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार)सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले आफूहरुले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार गर्न पाउने भएका छन् । भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा संचालनमा ल्याएपछि विरामीहरुलाई सहज हुने भएको छ । विशेष गरी नेपालीहरुमा ग्यासट्राईटिसको कारणले गर्दा पेट र आन्द्राहरुमा हुने घाउलाई इन्डोस्कोपीको माध्यामबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ । सो सेवा लिनका लागि नेपालगंज र काठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बाध्यता अहिले जुम्लामै उपचार भएपछि विरामीहरुलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिए । आर्थिकरुपमा पछाडी परेका गरिब असहाय तथा सिमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेको उक्त प्रतिष्ठानले जनाएको छ । रासस

५ करोडको लगानीमा बाइसधारा पार्क ‘स्मार्ट’ बन्दै, पिकनिक स्पटदेखि स्विमिङ पुलसम्मको सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको बाइसधारा पार्कको स्तरोन्नती गर्ने भएको छ । महानगरले सो पार्कको स्तरोन्नती गरेर ‘स्मार्ट पार्क’ को रूपमा विकास गर्ने भएको हो । बालाजुको बाइसधारा पार्कलाई नयाँ स्वरूपमा फेरेर पुनर्निमार्ण गर्ने योजनाका साथ काठमाडौं महानगरपालिकाले काम अगाडि बढाएको हो । महानगरका सार्वजनिक निर्माणका विभागीय प्रमुख रामबहादुर थापाले बाइसधारा पार्कलाई स्मार्ट पार्कका रुपमा अगाडि बढाउने बताएका हुन् । उनका अनुसार सो पार्ककालाई स्मार्ट पार्कको रूपमा विकास गर्ने योजनासहित अहिले महानगर अगाडि बढेको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि बालाजु बाइसधारा पार्कको सौन्दर्यता हराएको थियो । त्यसपश्चात् उक्त पार्कको स्वरुप परिवर्तन हुन सकेको थिएन । अब महानगरले उक्त पार्कलाई पुनः निर्माण गरी नयाँ स्वरुप दिन लागेको हो । विभागीय प्रमुख थापाका अनुसार पार्क निर्माण गर्नको लागि ५ करोड ९७ लाख ७९ हजार रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । सो पार्क निर्माण गर्नको लागि महानगरपालिकाले टेन्डर लगाइसकेको छ । श्री पशुपति कन्स्ट्रक्सन कम्पनीले सो पार्क निर्माण गर्ने टेन्डर पारेको हो । कम्पनीले टेन्डर पारे पनि महानगरसँग पार्क निर्माण गर्नको लागि सम्झौता भने भएको छैन । पार्क निर्माणको लागि उक्त कम्पनीसँग सम्झौता गर्ने तयारीमा रहेको महानगरपालिकाले जनाएको छ । ‘पार्क निर्माणको लागि अहिले महानगरले आवश्यक तयारी गर्दै छ, उक्त कम्पनीसँगै महानगरले पार्कको स्तरोन्नती तथा निर्माण गर्नको लागि सम्झौता गर्ने तयारीमा लागेको छ, खरिद विभागबाट टेन्डर भएर सम्झौता भएपछि काम अगाडि बढाउने हो, अहिले खरिद सम्झौता गर्ने क्रममा छौं,’ थापाले भने । महानगरपालिकाका अनुसार साउनभित्रै उक्त कम्पनीसँग सम्झौता हुनेछ । सम्झौता पश्चात् मात्र पार्क कहिले निर्माण सक्ने भन्ने विषय टुङ्गो लाग्नेछ । निर्माण पश्चात् पार्कका सम्पूर्ण स्वरुप परिवर्तन भई नयाँ संरचनामा पार्क देख्न पाइने पनि थापाले बताए । महानगरपालिकाले ३ वर्ष अगाडि सो पार्कको स्तरोन्नती गर्ने योजना बनाएको थियो । पार्क भित्र सामान्य मर्मत सम्भार गरे पनि पार्कको कामले पूर्णता पाउन सकेको थिएन । नयाँ संरचनाको विकास गर्ने योजना सहित महानगरले एक वर्ष अगाडि नै टेन्डरको आव्हान गरेको थियो । तर, टेन्डर भए पनि सम्झौता हुन नसक्दा पटक–पटक ठेक्का रद्ध हुँदै आएको पनि थापाले बताए । पार्कको संरक्षण गरेर थप आकर्षक, सुविधायुक्त र मनमोहक बनाउने योजना अनुसार महानगरले बाइसधारा पार्कको गुरुयोजना तयार पारी स्मार्ट पार्कका परिकल्पना साथ अगाडि बढाएको हो । ‘अब पार्कलाई मर्मत गरेर मात्र हुँदैन, यसलाई पुनः संरचनामार्फत् नयाँ स्वरुप दिएर स्मार्ट बनाउने हाम्रो सोच छ, निर्माण सम्पन्न गर्न केही वर्ष लाग्ला तर पार्कलाई स्तरोन्नती गरेर साँच्चिकै थकाइ बिसाउने उत्तम विकल्प बनाउँछौं,’ उनले भने । पार्कभित्र रहेका स्पटहरुलाई पिकनिक खान योग्य बनाउन सके आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने महानगरको विश्वास छ । पार्कभित्रको प्राकृतिक बगैँचा र धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण पनि गर्ने महानगरको योजना छ । पार्क निर्माण पश्चात् पार्क भित्र प्रवेश गर्न सामान्य शुल्क पनि लाग्छ । तर, शुल्क निर्धारण अहिले नै भई नसकेको पनि थापाले बताए । महानगरपालिकाले अहिले बाइसधारा पार्कमा नयाँ स्विमिङ पुल (पौडी पोखरी), पिकनिक स्पट, चेन्जिङ रुम, पुल, सांस्कृतिक सम्पदा आदि जस्ता संरचनाको निर्माण हुनेछन् । पौडी पोखरीको वरपरको जग्गामा बच्चाहरूका लागि पनि छुट्टै पोखरी बनाउने तयारी गरिएको छ । स्विमिङ पुल वरपर हरियाली बगैँचा पनि रहनेछ । सँगै विभिन्न आकर्षक संरचनाहरू बनाएर स्विमिङ पुललाई स्तरी बनाइनेछ । उक्त कम्पनीसँग सम्झौता भई ठेक्का लगाएर दशैैं अगाडि बाट नै काम सुरु गर्ने योजना रहेको पनि थापाले बताए । थापाका अनुसार पार्कको डिजाइन सामान्य परिवर्तन भएको छ । पार्क ओलम्पिक स्ट्याण्डर्डमा हुनेछ । महानगरका अनुसार पार्क १ सय ६५ रोपनी जमिनमा हुनेछ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरूले सजिएको बाइसधारा पार्कमा थप आन्तरिक पर्यटक भित्र्याउन भन्दै महानगरले स्तरीकरणको योजना बनाएको हो ।

दिक्तेलमा अनुमति बिना ४ कराेडमा बन्याे ‘सपिङ कम्प्लेक्स’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स (व्यापारिक केन्द्र) तथा चिल्ड्रेनपार्क (बाल उद्यान) निर्माण गरेको खुलेको छ । दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौँले आफ्नो स्वामित्व दाबी गरेपछि यस्तो खुलासा भएको हो । बाल मन्दिरको नाममा रहेको कित्ता नम्बर ११६४ मा पर्ने १ रोपनी सात आना ३ पैसा दुई दाम जग्गामा बिना अनुमति व्यवसायिक भवन बनाएर भाडामा लगाइ अनाधिकृत प्रयोग गरेको जनाउँदै बाल मन्दिरले लिखित रुपमा जग्गा फिर्ता गर्न माग गरेको छ । नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा अनुमतिबिना व्यापारिक भवन तथा बालबालिकाको खेलमैदान निर्माणगरी भाडामा दिन लागेको बारे मौखिक जानकारी प्राप्त भएपछि रोक्का गर्न पत्राचार गर्दा हालसम्म प्रत्युत्तर प्राप्त नभएको बाल सङ्गठनका कार्यकारी अधिकृत अजयकुमार साहले लेखेकाे पत्रमा उल्लेख गरिएको छ । जिल्ला मालपोत कार्यालय खोटाङले सो जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको पुष्टि गरेको छ । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत फागुन–३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक रुपमा उद्घाटन गरेकी थिइन् । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क विसं २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ सटर र माथिल्लो तलामा रेष्टुराँ हल, विभिन्न ‘स्टल’ सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । भाडावापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व सङ्कलन गर्ने स्रोतका रुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ । चिल्ड्रेनपार्कका लागि केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्बस राईड (पिङ), स्वीङराईड लगायतका संरचना तयार पारिएको छ । यद्यपि, सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको मैदान गत असार पहिलो साता सामान्य वर्षाकै कारण भासिएपछि निर्माण कम्पनीले मर्मत गरेको थियो । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले गत फागुन२ गते न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आह्वान गरेको थियो । नगरपालिकाको लागि आम्दानीको स्रोत बनाउने उद्देश्यले निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको भाडा अझै लाग्न सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७७ भदौ २ गते सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि सरकार मन्त्रीस्तरको गत माघ २९ गतेको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको थियो । रासस