विकासन्युज

मधेश प्रदेश सरकारद्वारा नेपाल सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

जनकपुर । मधेस प्रदेश सरकारले नेपाल सरकारविरुद्ध भोली श्रावण २९ गते आईतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्र्वाचन अगावै प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्न अनुरोध गर्दै दिइएको ध्यानाकर्षण पत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर प्रदेश प्रमुखको कार्यालयमा भोलीबाट एक हप्तासम्म दिनको दुई घण्टा धर्ना दिने गरी आन्दोलनको पहिलो चरणको कार्यक्रम घोषणा गर्नु परेको मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले एक हप्ता भित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध थप कडा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिए । धर्ना कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सांसदहरु, नागरिक समाजका अगुवाहरु र सबै राजनीतिक दलहरु सहभागी हुने दावी गरिएको छ । मन्त्री साहले भने, ‘प्रदेश सरकारको समायोजनको बारेमा हामीले नेपाल सरकारलाई जानकारी गरायौं । तर, कुनै रेसपोन्स आएन । ७ दिन अगाडि हामीले ध्यानाकर्षण पत्र दिएर नेपाल सरकारलाई प्रहरी समायोजनको विषयलाई अगाडि बढायौं । तर त्यसको कुनै जानकारी आएन । आज सातौं दिन पुग्यो । तर, सात दिन बित्दा पनि रेसपोन्स नभएपछि अव पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छौं । र, त्यो आन्दोलनको पहिलो चरणको कार्यक्रम भोली २९ गते बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा एक सातासम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ । त्यसमा मधेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सांसदहरु, नागरिक समाजका अगुवाहरु, लगायतका सर्वपक्षीय सहभागिता हुनेछ । र, त्यो आन्दोलन एक सातासम्म चल्नेछ । एक साता पछि पनि नेपाल सरकारको ध्यानाकर्षण भएन भने दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिनेछ ।’ मन्त्री साहले सबै उत्पीडित समूदायको हितका लागि आफूहरुले धर्ना कार्यक्रम गर्नु परेको उल्लेख गर्दै त्यसमा ऐक्यवद्धता जनाउन सबै प्रदेशका सरकारलाई पनि आह्वान गरे । उनले संविधानको धारा २६८ ले प्रदेश प्रहरीको सङ्गठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम सख्या १ मा शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनाव अगाडी नै प्रहरी समायोजन हुनु पर्ने जिकीर समेत गरे ।

जलेश्वर जिल्ला अस्पतालमा दुई करोड पच्पन्न लाख बढीको उपकरणहरु प्रयोगविहीन

महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो । कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन आएको थिएन तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरु भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए। स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरुलाई कमिशन र कमाईका लागि ती उपकरणहरु किनिएको आरोप लगाए । उनीहरुले जनशक्ति नै थिएन भने ती उपकरणहरु किन किनियो ? भनि प्रश्न गरेका थिए ।

शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् । उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए । उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए । मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे । उनले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताए । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए । उनले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताए । उनले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गरे । मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताए । उनले अबबाट नै विद्यालय सुधारमा लाग्नुपर्ने बताए । मन्त्री पौडेलले भने, ‘नेपालको शिक्षा साँच्चै सुधार्ने नै हो । शिक्षा सुधार्ने हामीले नै हो । साँच्चै शिक्षा सुधार्नको निम्ति मन्त्रायले नीतिगत रुपमा अघि बढाउने कुरा सुझाव लिएर अघि बढ्न तयार छ । विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितिमा शिक्षा प्रणाली जान्छ । देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरुलाई तालिम दिने हो । नेपालको शिक्षा खत्तम छ भनेर आफैँ प्रचार नगरौँ । आफैँले पढाएका छौँ । आफैँ विद्यालयमा छौँ, आफैँ व्यवस्थापन समितिमा छोँ । हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौँ भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालयहरु राम्रा छैनन् भनिरहेका छौँ । यो हामीले अन्त्य गर्नुपर्छ । यो सक्छौँ र सक्नुपर्छ । इच्छाशक्ति सक्छौँ भन्ने हुनुपर्छ । शिक्षा भनेको सेवाको क्षेत्रहरु सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान मिल्दैन । विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक छ । एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्र पसेर हेर्दा सन्तुष्ट हुने ठाउँ छैन ।’

रुकुम-पूर्वमा प्रहरीको गाडी पल्टिँदा एकको मृत्यु, डिएसपीसहित पाँच घाइते

रुकुम-पूर्व । रुकुम पूर्व मा नेपाल प्रहरीको गाडी पल्टिँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । उक्त दुर्घनामा परी सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । मृतक सुरक्षाकर्मीको पहिचान खुल्न सकेको छैन । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए । सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए।

पाल्पामा छ हजार बढी मतदाता थपिए

पाल्पा । पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली सङ्कलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । उक्त नामावलीमा साढे छ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्माङ्गत अर्यालले बताए। उनका अनुसार तीन हजार एकसय ४० महिला र तीन हजार पाँच सय ३० पुरुष थपिएका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९९ हजार छ सय ९० मतदाता रहेकामा पछिल्लो थप विवरणसहित दुई लाख छ हजार तीन सय ६० मतदाता पुगेको हो । यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १३ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले आयोगबाट तोकिएको समय सीमामा थप समय उपलब्ध गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य २० गतेदेखि स्थगित गरेको थियो । स्थानीय तह निर्वाचनसम्म करिब १० हजार मतदाताको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन ।

तनहुँमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज स्थापना, सय बढीलाई रोजगारी प्रदान

तनहुँ । चार व्यक्ति मिलेर व्यास नगरपालिका–११ स्थित दुम्सीमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज सञ्चालनमा ल्याइएका छन् । उद्योग सञ्चालनमा ल्याएसँगै स्थानीय मानिससहित एक सय बीसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशकै दोस्रो ठूलो भनी जिकिर गरिएको उद्योग जिल्लामा स्थापना भएसँगै युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग मिलेको छ । उद्योगमा आवश्यक पर्ने सबै उपकरण ल्याएपछि उत्पादन सुरु भइरहेको उक्त इन्डष्टिजका अध्यक्ष सूर्य तामाङले जानकारी दिए। सो उद्योगमा अहिले दैनिक पाँच सय थान प्लाइ, एक सयभन्दा बढी थान ढोका र ५० थान चौकोसलगायत सामान उत्पादन भइरहेको छ । स्थानीय सूर्य तामाङ, बाबुराम उप्रेती, बाबुराम पुरी र भुपाल आलेको करिब रु १२ करोडको सामूहिक लगानीमा उद्योग सञ्चालन गरिएको हो । अहिले उद्योगमा उत्पादित वस्तु जिल्लाभित्रै खपत हुँदै आएकाले आगामी दिनमा बाह्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाइएको सञ्चालकहरुले बताए । उद्योग सञ्चालनका लागि सोह्र रोपनी जग्गा ६५ लाखमा खरिद गरी १० रोपनी जग्गा व्यक्तिसँग भाडामा लिइएको उनको भनाइ थियो । केही गरौँ र स्वदेशमा रोजगारीे सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको इन्डष्ट्रिजका अर्का सञ्चालक एवं सचिव बाबुराम उप्रेतीले जानकारी दिए। उप्रेती डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत पदबाट अवकाश प्राप्त व्यक्ति हुन भने अन्य तीन व्यवसायी स्थानीय हुन् । करिब दुई सयसम्म जनशक्तिलाई गाउँमै रोजगारी दिन सकिने लक्ष्य रहेको सञ्चालकहरुले बताए । जिल्लामा यस्ता किसिमका उद्योग कलकारखाना सञ्चालन गरेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा विदेसिनु पर्ने अवस्थामा न्यूनीकरण गर्न सकिने अर्का सञ्चालक बाबुराम पुरीले बताए । उक्त उद्योगमा बिजुलीको लाइन गएको समयमा समस्या नहोस् भनी हालै मात्र भारतबाट जेनेटर ल्याई जडानसमेत गरिसकिएको छ ।

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । उनले सो क्षेत्रमा डिप बोरिङको वैकल्पिक उपाय अपनाउन प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेको उल्लेख गर्दै राहतको प्याकेजसमेत ल्याउन माग गरे । अध्यक्ष शाहले भने, ‘भगवान् पनि निष्ठुर हुनुभयो, नेपालगञ्जमा पानी पर्छ तर नरैनापुरमा पानी पर्दैन ।’ उनले केही ठाँउमा लगाएको धानबालीसमेत नष्ट भइसकेको उल्लेख गर्दै उक्त क्षेत्रमा पानी नपरेपछि खेतीयोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेको बताए। ‘यस क्षेत्र त्यसै पनि गरिबीको चपेटामा छ, आकासे पानीको भर पर्दा यहाँको अवस्था दयनीय भएको छ’ अध्यक्ष शाहले भने, ‘खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यकको जीवन कष्टकर बन्दै गएकाले प्रदेश र सङ्घीय सरकारको ध्यान पुग्न आवश्यक छ ।’ नरैनापुरमा पानीको हाहाकार भएकाले गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए। गाउँपालिकाको उक्त बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णयसमेत गरेको उनले जानकारी दिए । गाँउपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरुप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गराउन प्राथमिकता दिइएको वडा नं ४ का अध्यक्ष मनोज शर्माले बताए। जिल्लाको सो गाउँपालिकालाई दुर्गम गाउँपालिकाका रुपमा चिनिँदै आएको छ ।

पर्यटक आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो । गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयवासीले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झर्ना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्दछ । झरनाबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । पर्यटक झरनासम्मै पुगेर मनोरम दृश्यको रसास्वादन गर्ने गरेका छन् । झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिवकुमार राईले बताउ । उन्ले भने, ‘यो झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गाउँपालिकाको केन्द्र तथा सदरमुकामबाट जनिकै रहेकाले पनि झरना हेर्न दैनिकजसो मानिस आउने गरेका छन् । यसलाई अझ प्रचारप्रचारमा ध्यान दिनसके गाउँपालिकाको लागि राम्रो आर्थिक स्रोत बन्न सक्छ ।’ भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटर भित्र पर्छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् । टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन् । पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीयवासीको भनाइ छ । यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेत जानकारी दिनुहुन्छ । यसका लागि अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हँुदै चखेवाभञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । त्यस्तै झरना आसपासमा ससाना दह निर्माण गरेर माछापालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेत बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय झरनामा आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढेको छ । यो झरनासम्म पुग्नका लागि हामी सहज आवागमनको व्यवस्था मिलाउने तयारीमा छौँ । यहाँ पुग्न पदमार्ग निर्माण गर्ने योजना छ । गुम्न आउने मानिसले यहाँका मुख्य पर्यटकीय क्षेत्र महभिर झर्ना, चखेवाभञ्ज्याङ, टेम्केडाँडा र मैयुङ डाँडा एकै प्योजकमा घुम्नसक्ने गरी संरचना निर्माण गर्ने योजना छ ।’ मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ । यसकोे पनि थप विकासमा ध्यान दिने अध्यक्ष राई जोड दिनुहुन्छ । महभिर झरनालाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमा राई उल्लेख गर्छन् । यहाँ आवश्यक केही पूर्वाधार निर्माण भए पनि थप संरचना निर्माण गर्ने उनको भनाइ छ । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने योजना रहेको उपाध्यक्ष राई चर्चा गर्छन्। उनी भन्छन्, ‘हाम्रो गाउँपालिका पर्यटकीय हिसाबले निकै धनी छ । यहाँ दर्जनौँ पर्यटकीय क्षेत्र छन् । तिनीहरुको नमूनायोग्य विकास गरेर गाउँपालिकालाई पूर्वको एक पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य छ ।