विकासन्युज

रिडी र रैराङ हाइड्रोले गरे एकीकृत कारोबार, अब ठूला आयोजनाहरु बनाउन सक्ने

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई साउन २९ गते (आइतबार) देखि एकीकृत कारोबार शुरु गरेका छन् । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार शुरु गरेको हो । १ः०.९३ को स्वाप रेसियोमा मर्ज भएका रिडी र रैराङले  रिडी पावर कम्पनीको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुइ कम्पनी मर्ज पश्चात बनेको कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस्तै, मर्जर पश्चात् कम्पनीको सीईओमा कुबेर मणी नेपाल र अध्यक्षमा गुरुप्रसाद न्यौपाने रहनेछन् । एकीकृत कारोबार भएपछि कम्पनीको आयोजना संख्या ४ वटा र कर्मचारी संख्या ४० जना पुगेका छन् । एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाईमा पुर्याउने बताए । उनले जलविद्युतको विकास गरी उचाईमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताए । विद्युत नियमन आयोगलाई जलविद्युत कम्पनीहरुलाई कर छुट दिने अधिकार नभएको बताउँदै अध्यक्ष सिंहले नियमन आयोगले विद्युत निर्माणमा सहुलियत दिन सहयोग गर्ने बताए । त्यस्तै, अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागि काम गर्ने हो भने जलविद्युत क्षेत्रको विकास गर्न सकिने बताए । साथै, दुई वटा विद्युत कम्पनी मिलेर ठूला आयोजनाहरु बनाउन सक्ने समेत उनको भनाइ छ ।  

नारायणगढ–मुग्लिन सडक किन हुन्छ जहिले अवरुद्ध ?

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिराका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ । मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश सरकारले शाखा सडक खन्ने गरेका छन् । स्थानीयस्तरमा प्रयोगका लागि बनाइएका ती सडक खन्दा आएको पहिराले मुख्य सडक अवरुद्ध हुने गरेको हो । राष्ट्रिय राजमार्ग जोडेर शाखा सडक बनाउँदा कुनै समन्वय नहुने सडक विभागले जनाएको छ । मुख्य सडकभन्दा झण्डै दुई सय ५० मिटर माथिबाट पहिरो खस्दा मौरी खोला पुलमा पुरिएर पटकपटक सडक अवरुद्ध भइरहेको छ । यो वर्षाका कारणले नारायणगढ–मुग्लिन सडकमा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ । अहिले मौरी खोला पुल र अरु दुई–तीन स्थानका सडकमा बाढी र पहिराका कारण पटकपटक सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ । नारायणगढ–मुग्लिन सडकमा मौरी खोला पुल र अरु दुई–तीन ठाउँमा मात्रै यस वर्ष सडक अवरुद्ध हुने समस्या भइरहेको छ । मौरी खोलामा झण्डै तीन–चार सय मिटर माथिबाट पहिरोले ढुङ्गा, गेग्रान ल्याउँदा पुल पुरिएको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । पहिराले पुल पुरिँदा सडक पटकपटक अवरुद्ध भइरहेको र विभागले खुलाइरहेको उनले बताए । मौरी खोला पुलभन्दा माथिल्लो भागमा एउटा कच्ची सडक निर्माण हुँदा त्यसका कारण यस वर्ष पुलमा बढी असर पुगेको उनले बताए । सो शाखा सडक आठ/दश वर्ष पहिले निर्माण सुरु भएको थियो । त्यो सडकका कारण अझै बढी गेग्रान आइरहेको उनले बताए । पहिले स्थानीय सडक भए पनि यस वर्ष सडकलाई निर्वाचन क्षेत्र सडकमा पारेपछि अब विभागको कार्यक्षेत्रमा परेको उनको भनाइ छ । उनले भने, ‘सडकका कारण यस वर्ष पहिरो बढ्न गएको हो ।’ विसं २०६० मा पनि सो स्थानमा पहिरो आएकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ड्याम निर्माण गरिएको थियो । त्यसमा गत वर्ष क्षति भएपछि विभागले मर्मत गरे पनि यस वर्ष पहिराले पूर्णरुपमा पुरेको छ । माटो हटाएर पुल सफा गरिरहेको महानिर्देशक थापाले बताए । पहिरो खुलाउन सो स्थानमा पहिले तीन उपकरण राखिएकामा अहिले एक थप गरिएको उनले बताए । उनले भने, ‘पहिराको जानकारी प्रहरी, स्थानीयवासी कसैले देखेमा लोडर वा स्काभेटर अपरेटरलाई दिँदा तत्काल पहिरो हटाउन सुरु गरिँदै आएको छ ।’ गत वर्ष वर्षाको समयमा धेरै ठाउँमा सडक अवरुद्ध हुने गरेको थियो । अहिले बाढी र पहिराका कारण हुने क्षतिको न्यूनीकरणका लागि विभिन्न संरचना बनाइएको सडक विभागले जनाएको छ । गत वर्षमा भित्ता काटेर पहिरो नियन्त्रणका लागि बनाइएको संरचना, नदीले कटान नगरोस् भनी निर्माण भएका पाइल र ठाउँठाउँमा वृक्षरोपण गर्दा पहिराको जोखिम केही कम भएको विभागका महानिर्देशक थापाले बताए । सडकको भित्ता काटेपछि ठाउँठाउँमा विभिन्न प्रविधि प्रयोग गरेर बलियो बनाइएको उनले बताए । भित्ताभरि प्वाल पारेर छ–आठ मिटर लम्बाइको रड छिराएर त्यसमाथि जाली लगाइ त्यसलाई स्थिर बनाइएको हो । ती संरचना निर्माण गरिएको स्थानमा अहिले पहिरो नगएको उनले बताए । उनले भने, ‘ठाउँठाउँमा त्यो अहिले पनि देख्न सकिन्छ, कतै भने घाँस उम्रिसकेको छ ।’ सो सडकमा गत वर्षमा नारायणी नदीले तलबाट तानेर सडक भत्कने गरेको महानिर्देशक थापाले बताए । अहिले ठाउँठाउँमा कङ्क्रिट ब्लक राखिएको छ । नारायणी किनारमा १७ किमीमा पाइल राखिएको उनले बताए । सडकमा खाल्डा हुँदा माटो, ग्राभेलले पुर्ने र पकाएर राखेको अलकत्राले टाल्ने गरिएको छ । तीन/चार महिना पहिलेदेखि अलकत्रा पकाएर बोरामा राखिने गरिएको महानिर्देशक थापाले बताए। विशेष केमिकलमा नयाँ प्रविधि प्रयोग गरेर पकाइएको अलकत्रा बोरामा राख्न मिल्ने र जहाँ खाल्डा भयो त्यहाँ टालिने उनले बताए । उनले भने, ‘धेरै बिग्रिएमा गर्न गाह्रो भए पनि ससाना खाल्डामा सकिन्छ ।’ स्थानीयस्तरमा जतासुकै शाखा सडक खोल्दा पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने अवस्था आइरहेको महानिर्देशक थापाले बताए । पहिरो पन्छाउन पनि नजिकै विद्युत् र टेलिफोनको लाइन हुँदा समस्या रहेको उनले बताए । तार र खम्बा सडकभन्दा केही टाढा नभएर मुख्य सडकमै हुँदा डोजर, लोडर र स्काभेटर चलाउन नसकिने अवस्था रहेको छ । उनले भने, ‘नाङ्गो तारमा मेसिनले छुँदा पनि जोखिम छ।’ अहिले पहिरो पन्छाउनभन्दा पनि जाम खुल्न बढी समय लाग्ने गरेको छ । सडकको अवरोध पन्छाएर खुलेपछि गाडी आठ/नौ घण्टा रोकिनुपर्ने अवस्था रहेको महानिर्देशक थापाले बताए । तीन/चार घण्टामा सडक खुले पनि अगाडि जाने गाडीको तछाडमछाडले गर्दा त्यो क्षेत्रमा जाम हट्न आठ/नौ घण्टा लाग्ने गरेको उनले बताए । उनले भने, ‘हामीले भनेपछि गृह मन्त्रालयबाट लेन अनुशासन कायम गराउन निर्देशन भए पनि पूर्णरुपमा पालना भइसकेको छैन ।’ विगतका वर्षमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकमा हाल पुल निर्माणको काम भइरहेको छ । विगतमा कम चौडाइका पुल रहेकामा तिनलाई सडक जतिकै चौडाइ कायम गर्न पुरानो पुल भएको ठाउँसँगै नयाँ पुल निर्माण भइरहेको छ । सरकारले मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक विस्तारसमेत अघि बढाइरहेको छ । रासस

कम्पनीको चुक्ता पुँजी घट्न सक्ने, स्नातकोत्तर पास नभएका व्यक्ति सञ्चालक बन्न नपाउने

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै उक्त विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने छ । त्यसपछि मात्रै लागू हुने छ । बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण हुने छ । प्रतिनिधसभाबाट पारित उक्त विधेयकको दफा ३८ मा नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले दुई अवस्थामा बीमकको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने विधेयकका लेखिएको छ । बीमा कम्पनी समस्यग्रस्त परेको देखिएमा र बीमाको पोर्टफोलिया मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा चुक्ता पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्नेछ । विधेयकमा बीमकको चुक्ता पुँजी तोकिएको छैन । ‘बीमकको न्यूनतम चुक्ता पुँजी प्राधिकरणले समय समयमा निर्धारित गरे बमोजिम हुनेछ’ भनिएको छ । तोकिएअनुसार चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकको लाइसेन्स निलम्बन गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ । बीमा समितिको सञ्चालकले निरन्तरता पाउने यो विधेयक २ वर्षअघि नै पारित हुने चरणमा पुगेको थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बीमा समितिको तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईप्रति पूर्वाग्रह राखेर विधेयक पारितसँगै बीमा समितिको सञ्चालक समिति भंग गराउन प्रयास गरेपछि विधेयक अगाडि बढ्न सकेको थिएन । प्रतिनिधसभाबाट पारित विधेयकमा बीमा समितिको सञ्चालक समितिले बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरिएको छ । स्नातकोत्तर पास नभएका व्यक्ति बीमाको सञ्चालक बन्न नपाउने धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । बीमा कम्पनीको सञ्चालक बन्न स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ । तर चार्टर्ड एकाउन्टेन्सी (सीए) पास गरेकाले सञ्चालक बन्न पाउने प्रष्ट पारिएको छ । बीमा कम्पनीको सञ्चालक बन्न सीए, वा बीमा, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । विज्ञान लगायत अन्य विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरु बीमा कम्पनीको सञ्चालक बन्न अयोग्य हुने गरि बनेको विधेयक संसदको अर्थसमितिबाट पारित भएको छ । सेयर कारोबारीलाई पनि रोक नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार गर्न अनुमति पाएका व्यवसायीहरुलाई पनि बीमा कम्पनीको सञ्चालक बन्न रोक लगाइएको छ । बीमकको सञ्चालकको कार्यकाल ४ वर्ष हुने र पछि पुनः नियुक्त हुन सक्ने उल्लेख छ । तर विज्ञ सञ्चालक भए बढीमा ४ वर्ष मात्र सञ्चालक बन्न पाउने व्यवस्था गरिएको छ । सरकारी निकायमा कर्मचारी वा पदाधिकारी, एकाघर परिवारको दोस्रो व्यक्ति, आधारभूत सेयर नलिएको व्यक्ति, कम्पनीसँग स्वार्थ बाझिएको व्यक्ति बीमा कम्पनीको सञ्चालक बन्न पाउने छैन । यस्तै हाल बीमा क्षेत्रमा कार्यरत सर्भेयरहरु क्षेत्र विषेशको आधारमा काम गर्दैनन् । बीमा विद्येयकले सर्भेयरले गर्ने कामलाई विषेश विधागत आधारमा गर्ने व्यवस्था गर्नेछ । अहिले बीमा क्षेत्रमा काम गर्ने सर्भेयर सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित हो भने उसले मेकानिकल समेतको सर्भे गरेका पाइन्छ । तर, बीमा ऐन आए पश्चात सिभिल इन्जिनियरिङ्ग पढेको सर्भेयरले मेकानिकलमा सर्भे गर्न पाउँदैनन् । बीमा क्षेत्रमा सुशासन कायम गर्ने कुरामा बीमा ऐन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।

बीमा निजी क्षेत्रलाई दिन व्यापार होइन, नयाँ विधेयक फिर्ता गर्नुपर्छ : प्रेम सुवाल

बीमा र ठगी छुट्एिन, छुट्याउनुपर्छ । त्यसको लागि सरकारले मात्रै बीमा गर्न पाउने कानुनी व्यवस्था जरुरी छ । खानेपानी शिक्षा र स्वास्थ्य निजीलाई दिँदा आज देशले कस्तो समस्या भोगिरहेको छ । सबैलाई थाहा छ । त्यस्तै, अब बीमा पनि त्यस्तै हुँदै छ । सबैभन्दा ठगीको ठूलो व्यापार । हामीले सुनेका छौं । संसद सदस्य हुन पाएको र बीमाको व्यापार गरेबापत ठगी गरेको आरोपमा अदालतमा मुद्धा खेपिरहेको । त्यस्ता मान्छे पनि संसद सदस्य हुन पाउने । के हो ? विगत ३२ वर्ष यताका सरकारहरु यति कमजोर छ । शिलसिला हो । भागबण्डाको सरकार हो । विदेशीलाई सबै दिँदै जाने । आफू कुर्सीमा बस्न पाएपछि देश नै छोड्ने । संसद सदस्य हुँदा राम्रा काम गर्नेहरु अहिले सरकारमा गएपछि एउटा राम्रो काम भएको छैन । यसरी देश चल्दैन । यो एकदमै तितो कुरा हो । बैंकिङ्ग र बीमालाई पनि हामीले खानेपानी जस्तै, मुद्रासँग सम्बन्धित भएकोले निजी कम्पनीलाई गर्न दिनुहुँदैन । बीमा व्यापार होइन, यो सेवा हो । र, सवारी साधान लगायत निर्जीवन बीमा अनिवार्य नविकरण गर्नलाई सबै दुर्घटना नै हुन्छ । ५० लाख वटा गाडीबाइक होला, सबै दुर्घटना हुन्छ ? कसैको इच्छा छैन निर्जीवन बीमा गर्न तर सरकार मान्दैन, तिम्रो नविकरण हुन्न भन्छ । त्यस्तो गर्न पाइन्छ ? निर्जीवन बीमा त इच्छा भएकाले बीमा गर्ने हो नी । बरु स्वास्थ्य बीमा सरकारले सबैलाई अनिवार्य गर्नुपर्ने त्यो नगर्ने । अब स्वास्थ्य बीमा निजी कम्पनीमा जानुपर्छ भनेर सरकारले कानुन बनाउँछ । आफूले गर्दा गर्नुपर्दैन । त्यसकारण यो सरकार जनताप्रति जिम्मेवार होइन । यसैले पुष्टि हुन्छ । मन्त्री बन्नु सजिलो काम हो । देश र जनताको लागि जिम्मेवार भएर काम गर्नु गाह्रो हो । त्यो महशुस मन्त्रीहरुले गर्नुभएको छैन ? सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको आर्जन ८ अर्ब ४७ करोड रुपैयाँ । एउटा निजी कम्पनीको ३५ अर्ब ३८ करोड रुपैयाँ । यसले सरकारसँगै मन्त्री कति कमजोर भन्ने देखाउँछ । आफ्नो सारा श्रोत साधन प्रयोग गर्न पाउने राष्ट्रिय बीमा कम्पनीको आर्जन ८ अर्ब । तर निजी कम्पनी जोसँग केहि छैन, सरकारसँग मात्र दर्ता गर्न अनुमति लिएको उसको ३५ अर्ब । के यसमा मन्त्रीको साँठगाँठ छैन भन्न मिल्छ ? अर्थमन्त्रालयका अधिकारीहरुको साँठगाँठ छैन भन्न मिल्छ ? वाणिज्य बैंकमा एक जना ग्राहक जानुभएको रहेछ । यहाँ किन खाता खोल्ने, फलाना कम्पनीमा खोल्यो भने यति व्याज आउँछ, उति व्याज आउँछ भनेर पठाइदिएको रहेछ । के यो विषयमा के अर्थमन्त्रीलाई थाहा छैन ? पछिल्लो समय सारा विषय निजी क्षेत्रलाई छोेड्ने गलत काम गरिहेको छ । सरकारले ययसलाई फिर्ता गर्नुपर्छ । र, बीमा विधेयक फिर्ता गर्नुपर्छ । (सांसद सुवालले आइतबारको प्रतिनिधि सभामा राखेका मन्तब्य )

सम्पत्तिको ५० प्रतिशत ट्रष्टमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्छु : राज्यमन्त्री श्रेष्ठ

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताएका छन् । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उनले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न लागेको उल्लेख गरेका हुन् । जलविद्युत्, शिक्षा, स्वास्थ्य, बैंकिङ, कृषिलगायतका क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गर्नुभएका राज्यमन्त्री श्रेष्ठले भने, ‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु ।’ नेपालमा शिक्षा क्षेत्रमा परिचित श्रेष्ठको जलविद्युत्मा मात्रै ४० अर्बभन्दा बढी लगानी रहेको छ । चार नाफारहित अस्पताल बनाउँदै गरेको सो अवसरमा उनले जानकारी दिए । राज्यमन्त्री श्रेष्ठले भने, ‘अरु ठाउँबाट कमाएर सेवाको भावनाले खोल्नुपर्छ भनेर चार अस्पताल बनाउँदैछु ।’ नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले जग्गाको लालपुर्जा पाउनुपर्ने भन्दै उनले आवश्यक पहलकदमी गर्ने बताए । उनले भने, ‘अस्पतालले लालपुर्जा पाउनैपर्छ, मन्त्रिपरिषद्बाट निर्णय भइसकेको कुरा किन पाएन ?’ हाल भरतपुर आँखा अस्पताल रहेको जग्गाको लालपुर्जा भरतपुर अस्पतालका नाममा छ । सफल स्वास्थ्य संस्था र धेरै सेवा दिनेलाई आवश्यक बजेट दिनुपर्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘व्यवस्थापन र स्रोतमा हाम्रा कमीकमजोरी छन् । चितवनका धेरै अस्पतालको स्रोत यहीँ जुटाउन सकिन्छ ।’ आफूले चितवनका धेरै अस्पतालको अनुगमन गरेको भन्दै उहाँले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । राज्यमन्त्री श्रेष्ठले भने, ‘चितवनका अस्पतालमा धेरै गर्न सकिन्छ । यहीँबाट स्रोत सिर्जना गर्न सकिन्छ ।’ आँखा अस्पतालको निर्माणाधीन भवनका लागि आवश्यक बजेटको स्रोतको खोजी गर्ने राज्यमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सरकारी स्रोत पनि खोजौँ, स्वदेशी तथा विदेशी दाताको पनि खोजी गर्नुपर्छ ।’ सो अवसरमा उनले नेपाल नेत्रज्योति सङ्घको यसस्कर सदस्य बन्ने घोषणा गरे । सङ्घको यसस्कर सदस्य बन्न २० लाख शुल्क लाग्छ । सङ्घद्वारा सञ्चालित अस्पतालमा सदस्यबाट उठाइएको शुल्कले अस्पताल सञ्चालन र भवन निर्माण गरिँदै आएको छ । सो अवसरमा सङ्घका यसस्कर सदस्य महेन्द्रलाल प्रधान, कोषाध्यक्ष तेजेन्द्र खड्का, सहसचिव केशव अधिकारी, अस्पतालका प्रा डा सोनु दुलाललगायतले अस्पतालका बारेमा राज्यमन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । रासस

भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न

काठमाडौं । भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । पोखराको ग्रान्डी होटलमा भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको हाे । डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए । कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तक्र्रिया र पुरस्कार वितरणसमेत भएको थियो । कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १ हजार ४ सय ९९ किलोलिटर बिक्री गर्ने टार्गेट घोषणा भएको थियाे । कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका थिए, जसमा जगदम्बा बेरिङ सेन्टर, विराटनगरले प्रथम; सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी, सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर; शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर सेल्स; बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर सेल्स; शिखर लिंक ट्रेडिङ, ललितपुरले फेरि बेस्ट पीसीएमओ सेगमेन्ट सेल्स; डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स; विएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट गियर ट्रान्समिसन सेल्स; जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका थिए । त्यसैगरी, कार्यक्रममा प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोईको अवार्ड प्रदान गरिएकाे थियाे । नेपालमा भिडोल लुब्रिकेन्ट सम्पूर्ण सेगमेन्टमा उपलब्ध छ । यो लुब्रिकेन्ट टु ह्विलरदेखि हेभी इक्विपमेन्टसम्मको क्याटागोरीमा उपलब्ध छ । कम्पनीले औद्योगिक क्षेत्रमा पनि लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ । नेपालमा यस लुब्रिकेन्टलाई भी. जी. ल्युबले बिक्री वितरण गरिरहेको छ ।

चिराइतो खेतीमा वार्षिक ८ लाखसम्म आम्दानी लिँदै भोजपुरका किसान

भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन् । बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रुपमा चिराइताको खेती गरेको देख्न पाइन्छ । एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँको माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका करिब ६०÷७० किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतो राम्रो उत्पादन हुँदै आएको र यसबाट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुने किसानको भनाइ छ । एक किसानले २० देखि ५० मन चिराइतो उत्पादन गर्दै आएको यसको व्यावसायिक खेती गरिरहेका स्थानीय किसान देवेन्द्र राउतले जानकारी दिए । उनले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गरिरहन छ । किसान राउतले भने,‘हाम्रो क्षेत्र जडीबुटी खेतीको लागि उपयोगी मानिन्छ । यहाँका अधिकांश किसानले चिराइतो खेती गरिहेका छन् । मैले करिब ६२ रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु । यसवर्ष मात्र मेरो २५ मन बढी चिराइतो उत्पादन हुन्छ । आगमी वर्ष ५० मनजति उत्पादन हुन्छ ।’ आठ वर्षदेखि चिराइतोको व्यावसायिक खेती गर्दै आएका अर्का किसान प्रेम बस्नेतले गतवर्ष चिराइतो बिक्रीबाट छ लाख ५० हजार आम्दानी भएको बताए । उनको गत वर्ष करिब ३५ रोपनी जमिनमा २५ मन चिराइतो उत्पादन गरिएको थियो । उत्पादित चिराइतो आफ्नै घरबाट प्रतिमन २६ हजारले बिक्री भएको बस्नेतको भनाइ थियो । ‘गतवर्ष चिराइतोबाट छ लाख ५० हजार आम्दानी लिएँ,’ उनले भने,‘यो वर्ष थप २० रोपनीमा विस्तार गरेको छु । गत वर्षको जस्तै मूल्य पाइए यो वर्ष पनि राम्रै आम्दानी हुन्छ ।’ चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने कृषक बस्नेतले जानकारी दिए । ५० हजार आलु मकैबाट आम्दानी हुने बारीमा चिराइतो खेती गरिए रु पाँचलाखदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ थियो । चिराइतोले आलु र मकैभन्दा अलि ढिलो आम्दानी दिन्छ । किसान बस्नेतले भने,‘हामीले आफूले जानेको पराम्परागत रुपमा खेती गरिरहेका छौँ । हालसम्म राज्यबाट खास सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ बढी आम्दानी गर्न सकिने थियो ।’ किसानले चिराइतोलाई असोज, कात्तिक महिनामा सङ्कलन गर्ने गर्दछन् । गत वर्ष मूल्य वृद्धि भएका कारण धेरै किसानमा चिराइतो खेतीमा मोह बढेको देखिन्छ । मूल्यमा आउने उतारचडावले भने किसानलाई समस्या हुने गरेको छ । विगतका वर्षमा ४५ मनसम्म चिराइतो उत्पादन भएको बाह्र वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएका किसान गुणराज राउतले सुनाए । एक रोपनीमा आठ मनसम्म चिराइतो उत्पादन भएको उनको भनाइ थियो । राउतले हाल २० रोपनीम जमिनमा चिराइतो खेती गरिरहेका छन् । यो साल आठदेखि दश मनको हाराहारीमा उत्पादन हुने किसान उनको भनाइ थियो । ‘मसँग ४५ मनसम्म उत्पादन गरेको अनुभव छ’ किसान राउतले भने,‘यसलाई मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी पाउन सकिन्छ । एक रोपनीमा ८ मनसम्म चिराइतो उत्पादन भयो । एक पटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादन योग्य हुन अलि समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक÷फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ।’ ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेकोलगायत रोगमा चिराइतो प्रयोग गर्न सकिने किसान राउतको भनाइ छ । यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको बताइन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । भोजपुरमा चिराइतोसँगै सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायत जडीबुटीको पनि खेती विस्तार भइरहेको छ । रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : साढे ४० वर्षदेखिको सपना साढे ४ महिनामा पूरा हुँदै

गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्न भएमा आगामी सन् २०२३ को जनवरी १ देखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासी यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेको अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउँछन् । ‘पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरुप विमानस्थल सञ्चालनमा आउने अवस्थामा पुग्नु समग्र पोखरेली एवं गण्डकी प्रदेशका लागि हर्षको विषय हो’, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस कास्कीका प्रवक्तासमेत रहेका उनले भने, ‘विमानस्थल सञ्चालनमा आउनुपूर्व ल्याण्डफिल साइटको व्यवस्थापनसँगै सयौँ वर्षदेखि यस क्षेत्रमा आवतजावत गरिरहेका चराको व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।’ नवनिर्मित विमानस्थलको नजिकै रहेको ल्यान्डफिल साइटका कारण चराको गतिविधि निकै रहेको बताउँदै उनले ल्याण्डफिल साइट अन्यत्र व्यवस्थापन भए पनि तत्कालै चराका गतिविधि रोक्ने सकिने वा नसकिने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिए । चराका कारणले कुनै दुर्घटना हुन पुग्यो भने त्यसले नकारात्मक असर पार्ने हुँदा बेलैमा त्यसबारे सोचेर अघि बढ्नु जरुरी रहेको उनको भनाइ छ । अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ गते विज्ञप्ति प्रकाशन गर्दै सङ्घर्षका कार्यक्रम सुरु गरेकामा चैत १७ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, सार्वजनिक लेखा समिति, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पत्राचार गरेको थियो । त्यसयता समयसमयमा विज्ञप्ति, भेला, सरोकारवालाको ध्यानाकर्षण गरेकामा २०६९ सालको दसैँ, तिहारजस्ता चाडपर्वमा समेत एकसय ५३ शृङ्खलासम्म दुई हजार चारसय दुई जनाद्वारा रिले अनसन गरिएको थियो । विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको पालिखेले बताए । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा विमानस्थलको निर्माण भएको हो । विमानस्थल करिब ती हजार ७०० रोपनी क्षेत्रफलमा निर्माण भएको छ । विमानस्थल सञ्चालनका लागि तयार भइसकेको र ल्याण्डफिल साइटको व्यवस्थापन र रिठ्ठेपानीको डाँडा कटानको काम बाँकी रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानलस्थल निर्माण आयोजनाका प्रमुख विनेस मुनकर्मीले जानकारी दिए । उनका अनुसार डाँडा कटानको काम आगामी अक्टोबरभित्र नै सकिनेछ । विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ जुन दुईसय सिटभन्दा कम क्षमताका हुन् । यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । विमानस्थलको मुख्य भवनसँगै १४ भवनको निर्माण र सजावट गरिसकिएको छ । त्यस्तै आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटपाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडलगायतका काम सबै सम्पन्न भइसकेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को अघिल्लो आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गते (सन् २०२३ जनवरी १) देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । विमानस्थल सञ्चालनमा मुख्य बाधक मानिएका ल्याण्डफिल साइटलगायतका समस्या समाधान नहुँदासम्म हवाई उडान सञ्चालन सम्भव नहुने विज्ञहरूले बताउँदै आएका छन् । मुख्य समस्याका रुपमा देखिएको ल्याण्डफिलसाइट सार्ने विषय महानगरपालिकाका लागि पेचिलो बनेको छ । पोखरा महानगरपालिका–१४ बाच्छेबुडुवामा ल्यान्डफिल साइट सञ्चालनमा आइरहेकामा विमानस्थल सञ्चालनका लागि यो उक्त ठाउँबाट हट्नुपर्ने टड्कारोे आवश्यकता छ । महानगरपालिकाले विकल्पका रुपमा विभिन्न स्थान खोजिरहे पनि समस्याको समाधान हुन सकेको छैन । हाल ल्याण्डफिल साइट रहेको बाच्छेबुडुवा नवनिर्मित विमानस्थलबाट करिब दुई किलोमिटर दूरीमा पर्दछ । यसका कारण चराको आवतजावत निकै हुने भएकाले पनि यहाँबाट तत्काल यसलाई अन्यत्र व्यवस्थापन गरिनुपर्ने विषय यतिखेर पेचिलो बन्दै गएको छ । आगामी जनवरी १ मा हुने उडानलाई प्रभाव नपार्ने गरी ल्याण्डफिल साइटको स्थानान्तरणका लागि महानगरपालिकाले आश्वासन दिएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । विमानस्थल सञ्चालनका लागि सम्बद्ध सबै निकायमा छलफल भइरहेको उनले बताए । महानगरपालिकाले यसअघि ल्यान्डफिल साइडको व्यवस्थापनका लागि विभिन्न ठाउँ नखोजेको भने होइन । पछिल्लो समय पोखराको वडा नं ३३ भरतपोखरीको टिमुरपाटामा ल्याण्डफिल साइट व्यवस्थापनका लागि तयारी गरे पनि त्यसको स्थानीयवासीले विरोध जनाइसकेका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा वडा नं ३३ टिमुरापाटामा ल्यान्डफिल साइट व्यवस्थापनका लागि १० करोड रुपैयाँ विनियोजन गरिसकेको थियो । यता नागरिक उड्डयन प्राधिकरणले रिट्ठेपानी डाँडा कटानको माटो हाल रहेको ल्याण्डफिल साइट पुर्नका लागि प्रयोग गर्ने तयारी गरेको छ । ल्याण्डफिलसाइट पुरेपछि खानाको अभावमा चरा बाहिरिने र आसपासका रुख नभएपछि चराको आवतजावत रोकिने विश्वास लिइएको छ । लामो समय उक्त क्षेत्रमा विचरण गरिरहेका चरा सार्ने विषयलाई भने यस क्षेत्रमा काम गर्नेले त्यति सजिलो मानेका छ्रैनन् । अहिलेको ल्याण्डफिल साइट हटाए पनि त्यहाँ चराको आवतजावत रोक्न न्यूनतम एक वर्ष समय लाग्ने चराका क्षेत्रमा काम गरिरहनुभएका पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । ल्याण्डफिल साइटमा गिद्ध, चिललगायत थुप्रै प्रजातिका चराहरूको बासस्थान भएको बताउँदै उनले आगामी तीन महिनाभित्रै ल्याण्डफिलको व्यवस्था भइसके पनि त्यसबीचको छोटो अवधिमा चरालाई अन्यत्र बासस्थान सार्ने बनाउन नसकिने घिमिरेको तर्क छ । उक्त क्षेत्रमा वर्तमानमा धेरै चराहरु खाने र बस्ने गर्दछन् । उक्त क्षेत्रमा क्षेत्रमै चराहरुले गुँड लगाएका कारण तीनलाई तत्कालै अन्यत्र सार्न सम्भव नभएको उनले बताए । विमानस्थलको उत्तरपूर्व विजयपुर खोला र आसपासको क्षेत्रमा गिद्ध र चिल बस्नुका साथै दैनिक आहारा खोज्ने गर्दछन् । सेती नहर हुँदै आउने मरेका जनावरको सिनोको खोजीमा दैनिक गिद्धहरू यस क्षेत्रमा घुम्ने गरेको घिमिरेको भनाइ छ । तथ्याङ्कअनुसार विमानस्थल रहेको क्षेत्रमा विभिन्न एकसय ६२ प्रजातिका चरा पान्इछ । यसअन्तर्गत एकसय ६२ मध्ये पाँच प्रजाति अति सङ्कटापन्न र दुई वटा सङ्कटापन्न प्रजातिका गिद्ध र चरा यस क्षेत्रमा बस्दै आएका छन् । ल्याण्डफिल साइटकै क्षेत्रमा सेतो गिद्धले पहारामा र सानो खैरो गिद्धले सन् २०१४ यता रुखमा गुँड बनाउने गरेको छ । प्याराग्लाइडिङको अवस्था के हुनेबारे चिन्ता नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पोखराको साहसिक पर्यटनमा महत्वपूर्ण स्थान ओगेटको सराङकोटको प्याराग्लाइडिङ के हुने हो त्यसबारे चासो र चिन्ता बढ्दै गएको छ । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै सराङ्कोटबाट प्याराग्लाइडिङ उडान गर्न नमिल्ने प्राधिकरणले जनाएको छ । उडान सुरु भएसँगै प्याराग्लाइडिङ सञ्चालन गर्न नमिल्ने विषयले कतै पोखराबाट यो व्यवसाय नै विस्थापन हुने त होइन भन्ने चिन्ता बढाएको यस क्षेत्रका व्यवसायी बताउँछन् । पोखरामा हाल विभिन्न ६० कम्पनीले प्याराग्लाइडिङको व्यावसायिक उडान सञ्चालन गरिरहेका छन् । पोखरामा करिब तीनसय ६० जना प्याराग्लाइडिङ उडान गर्ने पाइलटले प्रत्यक्ष रोजगारी पाएको नेपाल हवाइ खेलकुद संस्था पोखराका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘प्याराग्लाइडिङ पोखराको पहिचान पनि हो, यसको सञ्चालनले विमानस्थलको दीर्घकालीन सञ्चालनमा पनि टेवा पुग्नेछ’, उनले भने, ‘प्याराग्लाइडिङकै लागि पनि उडानमार्फत आउने पर्यटकले उडान भर्न योगदान पु¥याउने हुँदा त्यसतर्फ पनि सोच्नु जरुरी छ ।’ उडानका प्राविधिक पक्ष मिलाएरै भने पनि यसलाई निरन्तरता दिने गरी पहल गर्नका लागि सम्बद्ध निकायसँग आग्रह गरिएको भण्डारीले बताए । प्याराग्लाइडिङ विस्थापन नगर्नका लागि सम्बद्ध निकायले पनि चासो दिएको छ । एक कार्यक्रमका बीच अघिल्लो साता पोखराको भ्रमणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने किसिमले उपाय खोजिने बताएका थिए । विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताउँदै उनले भने, ‘पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ । विमानको सेफ्टिमा कुनै पनि सम्झौता गर्नु हुँदैन । सुरक्षामा कुनै पनि असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागिपरेका छौँ ।’ मन्त्री श्रेष्ठले आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउँदै हालसम्म ९८ प्रतिशत काम सकिएको जानकारी दिए । उनले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने बताउँदै, ‘पोखरा विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनको निर्णय भएको छ, रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनका लागि काम अघि बढाउने प्रक्रिया सुरु गर्नेछौँ’, भने । रासस