हेटौंडा उपमहानगरले पनि अवैध संरचना हटाउने
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचना हटाउने भएको छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पास बिना बनाइएका भौतिक संरचना हटाउने तयारी थालेको उपमहानगरले जनाएको छ । अवैध संरचना हटाउने सम्बन्धी सूचना पनि एक दुई दिनमा निकाल्ने उपमहानगरले जानकारी दिएको छ । उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारबाही हुनेछ ।
जलविद्युतका आयोजना अब क्यू-२५ मा डिजाईन गरिने, पीपीए दर पनि घट्ने
काठमाडौं । उर्जा, जलश्रोत तथा सिञ्चाईं मन्त्रालयले जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र तथा निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा नीतिगत व्यवस्था परिवर्तन गर्ने भएको छ । मन्त्रालयले सो सम्बन्धी प्रतिवेदनमा विभिन्न व्यवस्था परिवर्तन गरी कार्यान्वयन गर्ने भएको हो । आरओआर तथा पीआरओआर आयोजनाहरु सम्भावित पूर्ण क्षमता अनुसार विकास गर्न हालको क्यू४० क्राइटएरियाको डिजाईन डिस्चार्जको सट्टा क्यू२५ मा आयोजना विकास गर्ने भएको छ । जसअनुसार औसतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्ने छ । आयोजनाबाट वार्षिक उत्पादन हुने उर्जा ४०.२ प्रतिशत र वर्षायामको ऊर्जा ५९.३ प्रतिशतले बढ्न सक्ने छ । आयोजनाको प्लान्ट फ्याक्टर ६८.२ प्रतिशतबाट ५१.६ प्रतिशत हुन सक्ने छ । आयोजनाको स्पेसिफिक प्रोजेक्ट कष्ट १५६० यूएसडी किलोवाटबाट १०९२ यूएसडी किलावाट हुन सक्ने छ । त्यस्ते, क्यू२५मा डिजाईन गरिएका आयोजनालाई १७ प्रतिशत आरओई दिनका लागि वर्षायामको पीपीए रेट परिवर्तन गरी प्रतियुनिट ४.२४ रुपैयाँ गरिने छ । सुख्खायामको रेट प्रतियुनिट ८.४० रुपैयाँ नै कायम गरिने जनाइएको छ । पीपीए सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरुले पनि आफ्नो डिजाईन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने साथै सो बापत वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम गरिने छ । जुन हाल ४.८० रुपैयाँ रहेको छ । गत असार २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार कायम भएको ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७५० मेगावाट क्षमता नपुगेसम्म साविकको पीपीए रेट अनुसारनै (रु ४.८० र रु ८.४०) आरओआर आयोजनाहरुको पीपीए गर्ने छ । पीपीए गरिसकेपछि प्रवर्द्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने छ । ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७५० मेगावाटपछि पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाईन डिस्चार्जमा आयोजना निर्माण गर्ने भएपछि वर्षायामको विद्युत खरिद दर प्रतियुनिट ४.२४ रुपैयाँ हुने छ । पीआरओआर आयोजनाको हकमा समेत मन्त्रिपरिषदको निर्णय अनसार कायम सिमा ४५०० मेगावाटसम्म हालै व्यवस्थालाई निरन्तरता दिइने छ । र, पीपीए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने उर्जाको रेट प्रतियुनिट ३.६१ रुपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिइने छ । सो सीमापश्चात पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाईन डिस्चार्जमा आयोजना निर्माण गर्ने भएपनि वर्षायामको विद्युत खरिद दर प्रतियुनिट ४.२४ रुपैयाँ हुने । सुख्खायामको इनर्जी ३० प्रतिशत पुगेमा मात्र ६ महिना सुख्खायामको रेट (रु ८.४० प्रतियुनिट) पाउने व्यवथा परिवर्तन गरी सुख्खायाम र वर्षायाम को रेट ६-६ महिना पाउने व्यवस्था गरिने छ । हाल सुख्खायामको इनर्जी ३० प्रतिशत नपुगेमा ४ महिना मात्र रु ८.४० प्रतियुनिट पाउने व्यवस्था रहेको छ । त्यस्तै, विद्युत खरिद तथा विक्री दर निर्धारण गर्ने अधिकार विद्युत नियमन आयोगको भएको कारण माथि उल्लेखित परिवर्तित खरिद दर (वर्षायामको प्रतियुनिट रु ३.६१ र रु ४.२४ को हकमा मात्र) प्राधिकरण संचालक समितिबाट निर्धारण गरी आयोगबाट स्वीकृत गराउनु पर्नेछ । अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गर्न वा डिजाईन परिवर्तन गरी आरओआरबाट पीआरओआरमा आयोजना निर्माण गर्न तल्लो तटीय क्षेत्रका आयोजनाको अग्रिम सहमति लिनुपर्ने व्यवस्थालाई परिवर्तन गरी तल्लो तटीय क्षेत्रको आयोजनाको औसत मासिक उत्पादनलाई असर नपर्ने गरी मन्त्रालय तथा विभागको सहमति लिई निर्माण गर्न सक्ने व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८४/८५ सम्म व्यापारिक उत्पादन शुरु गर्ने आयोजनालाई मात्र टेक अर पे प्रावधानमा पीपीए गर्ने गरेकोमा उक्त सीमा ५ वर्ष बढाई आर्थिक वर्ष २०८९/९० सम्म कायम गर्नेछ ।
‘नेपालमा नि:शुल्क बिजुली वितरण गर्ने दिन पनि आउँछ, अहिले डिमाण्ड शुल्क छुट गर्न सकिँदैन’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा नि:शुल्क बिजुली वितरण गर्ने दिन पनि आउने बताएका छन् । आइतबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नि:शुल्क बिजुली वितरण गर्ने दिन पनि आउने तर, अहिले डिमाण्ड शुल्कमा छुट दिन नसक्ने बताएका हुन् । उनले डिमाण्ड शुल्क छुट दिने नदिने अर्थ मन्त्रालयको हातमा रहेको बताउँदै आफ्नो व्यक्तिगत धारणामा भने डिमाण्ड शुल्क तिर्न सक्नेले भने तिर्नु पर्ने बताएका छन् । यस्तै, उनले प्राधिकरण ६ सय मेगावट बिजुली निर्यात गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । घिसिङका अनुसार ८० दिनको अवधिमा ६ अर्बको बिजुली नेपालबाट निर्यात भएको छ । ‘जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट विद्युत निर्यात भइरहेको छ, यो हाम्रो ठूलो उपलब्धि हो, यसले व्यापार घाटा कम गर्न मद्दत पुग्छ,’ उनले भने । घिसिङले निर्यातलाई नेपालमा हुने सबै पिपिए र अहिलेसम्मको निर्माणको ट्रेण्ड हेर्दा यो वर्ष ७ देखि ८ सय मेगावाट बिजुली उत्पादन हुन सक्ने बताएका छन् । ‘रन अफ रिभरमा बनेका जलविद्युतले नै सुक्खायामलाई धान्न सहयोग गर्न सक्छन्, अघिल्लो वर्षको तुलनामा गत आवमा वर्षको तुलनामा ५० प्रतिशतले उत्पादन र उपभोग २५ प्रतिशतले बढेको देखिएको छ,’ उनले भने ।
बस्ती बसेको बीस वर्षपछि बिजुली
कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् । बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताए । यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उहाँले बताउनुभयो । “बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो”, उनले भने, “बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ ।” यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ । नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको जानकारी दिए। लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले जानकारी दिए । सो टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ । रासस
पाकिस्तान बाढी :एक हजारभन्दा बढीको मृत्यु
काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सय २७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा एक सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन् । बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् । रासस/एएनआई
धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरलाई चर्चामा ल्याउन स्थानीयवासीको प्रयास सार्थक हुँदै गएपछि यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो ठाउँ अहिले धार्मिक पर्यटकीय स्थल बन्न थालेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिए । जीर्ण रहेको मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । तामाको छानो छाएर गजुर राखिएको उक्त मन्दिर पुनर्निर्माणका लागि साढे दुई करोड रुपैयाँ खर्च भएको छ । मन्दिरको नजिकै वनभोजस्थल बनाइएको छ । वनभोजका लागि पनि विभिन्न समूह आउने क्रम बढेको छ । चिसो हावा र मनोरम दृश्यका कारण वनभोजका लागि यस ठाउँ पर्यटकको रोजाइँमा पर्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सो अनुसारका पूर्वाधार थप गर्न करिब एक करोड रुपैयाँ आवश्यकपर्ने देखिएको छ । मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको सहयोगमा भजनकीर्तन गर्न पार्टी निर्माण गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको संयोजक घिमिरेले जानकारी दिए । ‘यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि गुरुयोजना बनाएर अघि बढेका छौँ’, उनले भने, ‘करिब रु एक करोड खर्च भए पनि गुरुयोजनाअनुसारका सम्पूर्ण काम सक्छौँ ।’ मन्दिर र अन्य पूर्वाधार निर्माणका लागि हालसम्म प्रदेश सरकारले ६५ लाख रुपैयाँ सङ्घीय सरकारले आठ लाख रुपैयाँ म्याग्दे गाउँपालिकाले २६ लाख रुपैयाँ सहयोग गरेको छ । २० लाख रुपैयाँको लागतमा व्यावसायिक भवन निर्माणको तयारी गरिएको छ । पहिलो पटक किल्चोक पुग्नुभएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले यो ठाउँ मनोरम रहेको जानकारी दिए। ‘मन्दिरको छुट्टै महत्व त छँदैछ तर यहाँको हावापानी र दृश्य पनि मनमोहक लाग्यो’, उनले भने, ‘पहिलो पटक पुग्दा नै आनन्द आयो, यस ठाउँको व्यापक प्रचारप्रसार गर्नुु आवश्यक छ ।’ यो मन्दिरको छुटृै विशेषता रहेको छ, त्यो विशेषता हो– मन्दिरमा रहेको घण्ट आफैँ हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, कसैले नहल्लाइकन पनि घण्ट आफैँ हल्लिन्छ र रु तर मन्दिरमा रहेको घण्ट आफैँ हल्लिएको देख्दा स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेका छन् । अकलादेवी खुसी भएकाबेला मन्दिरभित्र रहेको घण्ट आफँै हल्लिने र बज्ने गरेको बताइन्छ । देवी प्रशन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको संयोजक घिमिरेले जानकारी दिए । ‘यज्ञयज्ञधि, धार्मिक अनुष्ठान र पञ्चवलि दिएका बेलामा देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ, यहाँ दैविशक्ति भएको यसले पुष्टि गर्छ ।’ विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासीले बताए । त्यस बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यसबारेमा जानकारी गराएपछि यो दैवीय शक्ति नै भएको र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम सुरु भएको थियो । ‘घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चवलि लिएर आएको समयमा घण्ट हल्लन्छ’, स्थानीयवासी दधिराज घिमिरेले भने । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ दैनिक ५०/६० भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । विसं २०५५ मा मन्दिरमा योगी नरहरिनाथले ८५औँ कोटी होम लगाएका थिए । यस क्षेत्रमा धार्मिक शक्ति भएका कारणले नरहरिनाथले यहाँ कोटीहोम लगाएको बताइन्छ । अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान गरिएको छ । मन्दिर नजिकै पञ्चवलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ । रासस
सिजीको इन्टरनेट र आईपीटिभी मात्र ८१० रुपैयाँमा
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजी नेटले स्काईकमसँगको सहकार्यमा आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुरु गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् र ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरु हुने सिजीले जानकारी दिएकाे छ । यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन । कम्पनीकाे अनुसार सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । यसकाे स्प्रिण्टर जोडी (८० एमबिपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१० रुपैयाँ, पपुलार जोडी (१५५ एमबिपिएस प्लस आइपीटिभी) को १०५५ रुपैयाँ र रकस्टार जोडी ३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ रुपैयाँ शुल्क लाग्नेछ । त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबिपिएसको साथमा आइपीटिभीको २ हजार ६४०, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको ३ हजार ७५० रुपैयाँ र रक स्टार जोडी ३०५ एमबिपिएसको साथमा आइपी टिभीको ९ हजार ७२० रुपैयाँ शुल्क लाग्ने छ। यस्तै वार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबिपिएसको साथमा आइपी टिभीको ९ हजार ७२० रुपैयाँ, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको १२ हजार ६६० र रक स्टार जोडी ३०५ एमबिपिएसको साथमा आइपी टिभीको १६ हजार ४८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने कम्पनीले जानकारी दिएकाे छ । सेटप बक्सका लागि ग्राहकले एक पटक २६ सय शुल्क तिर्नु पर्ने छ । सिजी डिजिटलले सिजि नेट गको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबिपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९९९ रुपैयाँमा र ८० एमबिपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरुबाट यो सेवा निश्चित गरिसकेका छन् ।
कृषि तथा पशुसेवा प्राविधिकहरुलाई तिरन्तरता दिने मन्त्रालयको निर्णय
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गा.वि.स. एक कृषि तथा पशुसेवा प्राविधिक’ सेवालाई निरन्तरता दिने निर्णय गरेको छ । साविकका गाविसमा आर्थिक वर्ष ०७२/७३ देखि करार सेवामा नियुक्ति भइ निरन्तर प्राविधिक सेवा पुर्याइरहेका प्राविधिकहरुको निरन्तरताबाट संस्थागत स्मरण प्रवद्र्धन तथा स्थानीय तहको प्राविधिक सेवामा प्रभावकारिता रहने भएकाले उनीहरुलाई कार्यसम्पादनका आधारमा निरन्तरता दिन यही भदौ ७ गते मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । अहिले ६ सय ६४ स्थानीय तहहरुमा करिब २ हजार ५ सय ५० जना कृषि तथा पशुसेवातर्फका प्राविधिकहरुले काम गर्दै आएकोमा ती प्राविधिकहरुलाई चालु आर्थिक वर्षको लागि तलब तथा चाडपर्व खर्चका लागि ६ महिना बराबरको बजेट स्थानीय तहमा पठाएको मन्त्रालयले जनाएको छ ।