पिपुल्स पावरको आइपिओ बाँडफाँड, दुई जनाले पाए ११ कित्ता
काठमाडाैं । आइतबार पिपुल्स पावरको प्राथमिक सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधरणकाे लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा २२ लाख ९४ हजार ६८२ कित्तकाे लागि १६ लाख ३१ हजार ३८ वटा आवेदन परेकाे थियाे । आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए । आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ जना थिए । जस मध्येबाट २ लाख २९ हजार ४ सय ६६ जनालाई १०-१० कित्ता र दुई जनालाई ११ कित्ता परेकाे थियाे । पिपुल्स पावरले प्रभु क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकमा राखी साउन ३१ गते देखि भदाै ५ गतेसम्म सार्वजनिक सेयर खुला गरेकाे थियाे । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने छ ।
जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन
जुम्ला । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ । ‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी ५५ रुपैयाँका दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब ५० करोड रुपैयाँ आम्दानी हुन्छ’, उनले भने, ‘तत्कालै शीत भण्डारको व्यवस्था नहुँदा अझै किसानले बढी लाभ लिन नपाउने अवस्था यथावतै छ ।’ स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको उनले बताए । त्यस्तै जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ । जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी ४० रुपैयाँ र ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपैयाँ भन्दामाथि बिक्री भइरहेको छ । कार्यालय प्रमुख अधिकारीका अनुसार सहजकर्ता, थोक बिक्रेता हुँदै खुद्रा व्यापारी भएर स्याउ बजारमा जानुपर्नेमा स्याउ कृषक स्वयं व्यापारी बन्दा उनीहरुले अपेक्षाकृत मूल्य पाउनेभन्दा दुःख बढी व्यहोरेका छन् । स्याउ भने दैनिक जुम्ला बाहिर गइरहेको छ । रासस
मुस्ताङको लोमन्थाङमा गल्फ प्रतियोगिता
काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । ‘यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ’, उनले भने, ‘यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।’ प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बनेका छन् । अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँ छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिए । रासस
लकिङ पिरियड सकिएपछि शिवमको मूल्य १०११ रुपैयाँले घट्यो, नाफा पनि आधा मात्र
काठमाडौं । प्रमोटर सेयरको लकिङ पिरियड सकिएपछि शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । साथै कम्पनीको नाफा पनि ५१ प्रतिशतले घटेको छ । गत माघसम्मका शिवम् सिमेन्ट लिमिटेडकाे प्रमोटर सेयर ८८ प्रतिशत र सर्वसाधारणको सेयर १२ प्रतिशत रहेको थियो । त्यतिबेला यस कम्पनीको सेयर प्रतिकित्ता १६७१ रुपैयाँसम्ममा किनबेच भएको थियो । अहिले सबै सेयर पब्लिक भएकाे छ । सेयर मूल्य झरेर ६६० रूपैयाँमा किनबेच हुन थालेकाे छ । कम्पनी सचिव लेखनाथ अर्यालका अनुसार यस कम्पनीको प्रमोटर सेयरको लकिङ पिरियड गत मागमा सकिएको हो । अहिले कम्पनीको सबै सेयर साधारण सेयर सरह किनबेच खुला भएको छ । कम्पनीले यहि भदौ महिनामा विशेष साधारणसभा गरेर प्रबन्ध पत्र र नियामलीमा समेत संशोधन गरी सेयरको वर्गिकरण र सञ्चालक समितिमा रहने प्रतिनिधिको वर्गिकरण हटाएको छ । अब सबै सेयरधनी र सबै सञ्चालक एउटै अर्थात सर्वसाधारण सेयरधनीको हैसियतमा रुपान्तरित भएका छन् । सबै प्रमोटर सेयर पब्लिक सरह किनबेच भैरहँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ भन्दा बढीले घटेको छ । गत माघ ३ गते यस कम्पनीको सेयर प्रतिकित्ता १६७१ रुपैयाँसम्मका किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार शिवमको सेयर प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भयो । यस अवधिमा प्रतिकित्ता १०११ रुपैयाँले सेयर मूल्यमा गिरावट आएको छ । माघदेखि भदौंसम्ममा कम्पनीको सेयर मूल्यमा ६० दशमलव ५० प्रतिशतले घटेको छ । कम्पनीको नाफा पनि ५० दशमलव १९ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेकोमा २०७९ असार मसान्तमा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेकाे लेखापरिक्षण हुन बाँकी वित्तीय विवरणमा उल्लेख गरिएकाे छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई करिब ६ प्रतिशत मात्र लाभांश दिन सक्छ । १० प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने समार्थ्य भएका बैंकको सेयर मूल्य २०० रुपैयाँमा झरेको अवस्थामा ६ प्रतिशत लाभांश दिन सक्ने शिवमकाे सेयर मूल्य अझै घट्न सक्ने विश्लेषण एक लगानीकर्ताले गरे ।
भत्काइयो भारत नोयडाका अवैध रुपमा बनेका २ अपार्टमेन्ट, सवा ३ अर्ब चैट
काठमाडौं । भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा अपार्टमेन्ट भत्काइएको छ । १०३ मिटर अग्लो उक्त ट्विन अपार्टमेन्ट आइतबार भत्काइएको हो । ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरी अपार्टमेन्ट भत्काइएको हो । भारतको सर्वोच्च अदालतले सुपरटेकले अपार्टमेन्ट निर्मान गर्दा भवन आचारसंहिताको उल्लंघन गरेको भन्दै भत्काउन आदेश दिएको थियो । सुपरटेक बिल्डरले निर्माण गरेका यी अपार्टमेन्ट एपेक्स र केयन नामबाट चिनिएका थिए । अपार्टमेन्ट हजारौंको संख्यामा मानिसहरु बसोबास गर्दै आएका थिए ।
उत्साह छ, तर खेल्ने वातावरण छैन
पाल्पा । चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छ । सहरीकरणतर्फउन्मुख रामपुर नगरपालिका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको बीच भागमा पर्छ । यहाँ रहेका खेल मैदान व्यवस्थित गर्न भने बाँकी छ । मैदानसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके थुप्रै खेलाडी उत्पादन गर्न सकिन्छ । ‘भविष्यमा राम्रो खेलाडी बन्ने सपना छ, तर रामपुरमा खेल्ने वातावरण अझै बनिसकेको छैन’, भलिबल खेलाडी कल्पना सिञ्जाली भन्छीन् । उनले बुटवल, नेपालगञ्ज, गोरखा, पोखरा, म्याग्दीलगायत ठाउँमा विभिन्न प्रतियोगिता खेलिसकेकी छिन् । ‘आफ्नै गाउँ ठाउँमा राम्रो खेल मैदान छैन, अभ्यास गर्ने वातावरण नहुँदा प्रतिस्पर्धा गर्न समस्या छ, खेलाडीलाई कहिँबाट प्रोत्साहन छैन, स्थानीय सरकारले राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्छ’, उनले भनिन् । रामपुर क्षेत्रमा महिला खेलाडी भलिबलमा मात्रै सीमित बनेका छन् । पुरुषका लागि भने नगरस्तरबाट विभिन्न खेल प्रतियोगिता आयोजना हुँदै आएका छन् । खेलमा महिलाको आकर्षण भए पनि नगरमा भलिबल खेलमात्रै खेलाइने गरेको नगर खेलकुद विकास समितिका सचिव सञ्जु परियारले बताए । ‘विद्यालय तहमा हुने विभिन्न खेलमा महिलाको सक्रियता राम्रो रहेको पाइएको छ, जिल्लास्तरमा भने महिला खेलाडी प्रतिस्पर्धात्मकरुपमा पुग्न सकेका छैनन्’, उनले भने । स्थानीयस्तरमा नै बलियो आधार खडा हुनुपर्ने र पुरुषजस्तै महिलाका लागि पनि विभिन्न प्रतियोगिता आयोजना गर्नुपर्नेमा उनले जोड दिए। महिला घरपरिवार, समाजबाट माथि उठेर अन्यत्र खेलमा सहभागी हुँदा समाजमा आलोचना खेप्नुपर्ने परेको परियारे बताउछन् । ‘खेलमा रुचि भए पनि विविध कारणले राष्ट्रियस्तरसम्म पुग्न महिला खेलाडीका लागि वातावरण बनेको छैन, उनले भने । खेल खेल्ने मैदान प्रशस्त छन् । पूर्वाधार विकास नहुँदा खेलकुदको विकास हुन नसकिरहेको जिल्ला भलिबल सङ्घका सदस्य कमल राना बताउछन् । ‘खेलमैदान व्यवस्थित छैन, तालिमको व्यवस्था छैन, खेलमा राम्रो गर्छु भन्ने दृढ इच्छा भए पनि वातावरण, पूर्वाधार नै व्यवस्थित नहुँदा सोंचेजति खेलाडी उत्पादन गर्न सकिएको छैन’, उनले भने । आफ्नो गाउँ ठाउँलाई चिनाउने खेलाडीले हो । यहाँ अझै पनि खेल खेलेर के हुन्छ र भन्ने आम नागरिकको बुझाइ छ । यहाँ फुटबलतर्फ सी डिभिजन, भलिबलमा जिल्ला तथा प्रदेश र तेक्वान्दोमा राष्ट्रियस्तरका खेलाडी उत्पादन भएका छन् । हरेक पालिकामा क्षेत्रीय र प्रदेशस्तरका खेलकुदका कार्यक्रम हुने पूर्वाधार तयार पारियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन हुने राना बताउछन् । ‘प्रोत्साहन नगरिँदा भविष्यमा राम्रो सम्भावना बोकेका खेलाडीलाई खेल खेलेरै केही हुँदोरहेछ भन्ने अनुभूति भएको छ, विधागतरुपमा स्थानीय सरकारले रकम विनियोजन गर्नुपर्छ, बर्सेनि मेयर कपलाई मात्रै एकमुष्ठ रकम छुटयाएर भएन, विभिन्न खेललाई प्राथमिकता दिइयो भने खेलाडीको मनोबल बढ्छ’, उनले भने । विशेषगरी खेलाडी उत्पादन गर्न विद्यालय तहमा एक खेल प्रशिक्षकको व्यवस्था, खेलमैदान व्यवस्थित, विधागतरुपमा खेल आयोजना, स्थानीयस्तरमा नै खेलसम्बन्धी प्रशिक्षणको व्यवस्था, बेला बेलामा प्रोत्साहनमूलक कार्यक्रम भएमा यसप्रति घरपरिवार, समाजबाटै आफ्ना सन्नततिलाई खेलमा लाग्न उत्साह मिल्नेछ । यसवर्ष रामपुर नगरपालिकाले खेलकुदका लागि १५ लाख रुपैयाँ तथा पाँच र सात नं वडामा कभर्डहल निर्माणका लागि आठ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । खेलकुदको विकासका लागि हरेक वर्ष मेयर कपमार्फत विभिन्न खेलका कार्यक्रम सञ्चालन भइरहेका छन् भने रामपुरको प्रतिनिधित्व गर्दै अन्यत्र कार्यक्रममा प्रतिस्पर्धा गर्न सहयोग गर्दैआएको नगर प्रमुख थापा बताउछन् । रामपुर–५ स्थित मटेरी ठूलोटार खेल मैदानलाई क्षेत्रीय रङ्गशाला बनाउन डिपिआरको काम भइसकेको छ । रङ्गशाला निर्माणमा ठूलो रकम आवश्यक पर्ने भएपनि स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम अगाडि बढ्न नसकेको नगर प्रमुख थापाले बताए। अब प्रदेश र सङ्घीय सरकारबाट बजेट माग गरेर निर्माण गर्ने सोँच बनाएको उनको भनाइ छ । ‘खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको विकास गर्न नगरपालिकाले बेलाबेलामा विद्यालयबीच प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ’, उनले भने । ‘खेललाई प्राथमिकता दिएर बर्सेनि बजेट विनियोजन गरेको छु, दक्ष प्रशिक्षक ल्याएर खेलाडीलाई प्रशिक्षण दिने तयारी भइरहेको छ, विभिन्न प्रतियोगिताका लागि सहयोग गरिरहेको छु’, थापाले भने । रामपुरका मटेरी, बेझाड, किसानबारी, विजयपुर, तिलकपुर, खयरबोट, गेझा, देविस्थानलगायतका विभिन्न स्थानमा खेलकुदका पूर्वाधार तयार गर्न सकिने प्रशस्त आधार छन् । यहाँको खेलमैदान व्यवस्थित नहुँदा खेलाडीलाई चोटपटक लाग्ने जोखिम उत्तिकै छ । स्तरीय खेल मैदानको अभावमा दर्शक पनि खेल अवलोकनबाट वञ्चित छन् । रामपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ‘एक वडा एक खेलकुद मैदान’को अवधारणालाई अगाडि बढाइने, नगरको खेलकुद विकासलाई व्यवस्थित गरी युवावर्गको सहभागिता वृद्धि एवं खेलाडीको उत्पादन गर्न नगर खेलकुद विकास समिति गठन गरी कार्य बढाइएको उल्लेख छ । साथै मेयर कपअन्तर्गत वडास्तरीय रनिङ सिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै राष्ट्रिय खेल समावेश गरी नगर खेलकुद महोत्सव सम्पन्न गरिने, फुटबल, भलिबल र क्रिकेट खेलका लागि प्रशिक्षकको व्यवस्था मिलाइने, विभिन्न खेलका लागि छानिएका खेलाडीलाई अन्तर जिल्ला र अन्तर पालिकास्तरीय खेलकुदमा सहभागी गराइने, समुदायको लगानीमा निर्माण हुने खेलकुद पूर्वाधारमा सहयोग गर्ने नीति नगरपालिकाको छ । त्यस्तै प्रदेशस्तरको खेलमैदान निर्माणको सम्भाव्यता अध्ययन गरी सम्बन्धित निकायसँग पहल गरिने, प्रोत्साहन गर्न विभिन्न विधामा खेल्ने उत्कृष्ट खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्नेलगायत नगरको नीति तथा कार्यक्रममा उल्लेख छ । रासस
नेप्से परिसूचक दोहोरो अंकले घट्दा ५८ प्रतिशतले बढ्यो सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । पछिल्लो कारोबारको तुलनामा परिसूचक ३३.३६ अंकले घटेको छ भने कारोबार रकम ५८.९१ प्रतिशतले बढेको छ । गत शुक्रबारको तुलनामा आइतबारको नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, आइतबार कारोबारमा २ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा ७६ करोड रुपैयाँले बढी हो । शुक्रबार २१३ वटा स्क्रिप्सको १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कारोबारमा आएका स्क्रिप्सको संख्या बढेसँगै कारोबार रकम पनि बढ्न पुगेको हो । दिनभरमा २२४ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी कारोबार हुनेमा अरुण काबेली पावर रहेको छ । कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने ६ रुपैयाँले घटेर प्रतिकित्ता ४६४ रुपैयाँमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा रुरु जलविद्युत परियोजनाको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले अर्थात १०४.४० रुपैयाँले घटेर प्रतिकित्ता ९३९.६० रुपैयाँमा झरेको छ । त्यस्तै, बढी गुमाउनेको दोश्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी छ । कम्पनीको सेयर मूल्य ७.०३ प्रतिशतले घटेर ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बजारमा टप गेनरको शीर्ष स्थानमा राधी विद्युत कम्पनी छ । कम्पनीको सेयर मूल्य ५.९० प्रतिशतले बढेर २९८ रुपैयाँ पुगेको छ । आइतबार म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड सामान्य अंकले बढ्दा निर्जीवन बीमा समूह १६५.९४ अंकले घटेको छ ।
डा. गोविन्द केसीले गरे अनसनको घोषणा
काठमाडाैं । डा. गोविन्द केसीले विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै केसीले आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका हुन् । उनले क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्नेलगायतका माग अघि सारेका छन् ।