काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा नि:शुल्क बिजुली वितरण गर्ने दिन पनि आउने बताएका छन् । आइतबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नि:शुल्क बिजुली वितरण गर्ने दिन पनि आउने तर, अहिले डिमाण्ड शुल्कमा छुट दिन नसक्ने बताएका हुन् ।
उनले डिमाण्ड शुल्क छुट दिने नदिने अर्थ मन्त्रालयको हातमा रहेको बताउँदै आफ्नो व्यक्तिगत धारणामा भने डिमाण्ड शुल्क तिर्न सक्नेले भने तिर्नु पर्ने बताएका छन् ।
यस्तै, उनले प्राधिकरण ६ सय मेगावट बिजुली निर्यात गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । घिसिङका अनुसार ८० दिनको अवधिमा ६ अर्बको बिजुली नेपालबाट निर्यात भएको छ । ‘जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट विद्युत निर्यात भइरहेको छ, यो हाम्रो ठूलो उपलब्धि हो, यसले व्यापार घाटा कम गर्न मद्दत पुग्छ,’ उनले भने ।
घिसिङले निर्यातलाई नेपालमा हुने सबै पिपिए र अहिलेसम्मको निर्माणको ट्रेण्ड हेर्दा यो वर्ष ७ देखि ८ सय मेगावाट बिजुली उत्पादन हुन सक्ने बताएका छन् । ‘रन अफ रिभरमा बनेका जलविद्युतले नै सुक्खायामलाई धान्न सहयोग गर्न सक्छन्, अघिल्लो वर्षको तुलनामा गत आवमा वर्षको तुलनामा ५० प्रतिशतले उत्पादन र उपभोग २५ प्रतिशतले बढेको देखिएको छ,’ उनले भने ।