काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छिन् ।
बसन्तपुर डबलीको दक्षिणतर्फ कुमारी घरसँगै रहेको जमिनमा आज विधिपूर्वक पूजाआजा गरी उनले निर्माण कार्यको शिलान्यास गरेकी हुन् ।
६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त निवासस्थानले काठमाडौंको मौलिक संस्कृति, धार्मिक परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणसँगै जीवित देवतासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्परालाई थप व्यवस्थित र संरक्षण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस्तै, काठमाडौं महानगरपालिकाको वडा नं. ८ ले गुह्येश्वरीमा पैदल यात्रुका लागि पुल निर्माण कार्य थालनी गरेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले शिलान्यास गर्दै निर्माण कार्यको थालनी गरेका हुन् ।
‘गुह्येश्वरी मन्दिरको सामुन्ने रहेको पुल जीर्ण बन्दै गएको छ । गुह्येश्वरी क्षेत्रमा लाग्ने धार्मिक तथा सांस्कृतिक गतिविधिमा श्रद्धालुहरुलाई नदी पार गर्ने माध्यम आवश्यक रहेको छ । पुल निर्माण भइसकेपछि पञ्चकन्या टोलका स्थानीयबासीलाई आवतजावत गर्न सहज हुने वडाध्यक्ष संगतले बताए ।
३० मिटर लामो पुलको चौडाइ २.२५ मिटर हुनेछ । यसमध्ये १.८ मिटर चौडाइ पैदल यात्राका लागि उपलब्ध हुनेछ । इञ्जिनियर शंकर विकका अनुसार ३.९ मिटर उचाइको अबुटमेन्ट फाउन्डेसनमा पुल निर्माण हुनेछ ।
१ करोड ९६ लाख रुपियाँ लागत अनुमान रहेको पुल निर्माणका लागि सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड १४ लाख रुपियाँमा समुद्री कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । निर्माण कार्यका लागि गत असोज १५ गते सम्झौता भएको थियो भने २०८४ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।