काठमाडौं । नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत कात्तिक २८ गते प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मंसिर ४ गते शुक्रबारसम्म आइपुग्दा २६ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य साताभर लगातार घटेको देखिन्छ । कात्तिक २९ गते आइतबार सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि कात्तिक ३० गते सोमबार थप १ हजार १०० रुपैयाँ घटेर २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको थियो ।
मंसिर १ गते मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम भयो । मंसिर २ गते बुधबार एकैदिन ६ हजार ३०० रुपैयाँ घटेपछि सुन २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंसिर ३ गते बिहीबार सुनको मूल्य थप ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ । यससँगै सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा झरेको हो ।