काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूका विरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताएका हुन् । उनले राष्ट्रिय जागरण अभियानलाई त्यसको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको उनको आरोप छ । दाहालले पछिल्लो राजनीतिक परिस्थितिले देशलाई अर्को दुर्घटनातर्फ लैजाने षड्यन्त्रको संकेत गरिरहेको दाबी गरे । यस्तो अवस्थामा शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको छ । यसले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने जोखिम उत्पन्न गरेको छ । त्यसैले शान्ति सम्झौता र संविधानको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढाउनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनताका अधिकारको रक्षाका लागि नयाँ संकल्प र प्रतिबद्धतासहित जनतामाझ जानु आवश्यक छ । राष्ट्रिय जागरण अभियानमार्फत शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्त्व र संघर्षबाट प्राप्त उपलब्धिबारे जनतालाई घरघर र टोलटोलमा पुगेर सचेत गराउनुपर्छ ।’
उनले देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन नयाँ संकल्प र प्रतिबद्धतासहित आन्दोलनमा उत्रिनुपर्ने बताए । शान्ति सम्झौता र संविधानको ऐतिहासिक महत्त्वबारे जनतालाई जानकारी गराउन घरघर र टोलटोलसम्म पुग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।