डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा अग्रवाल नियुक्त
काठमाडौं । नेपालका लागि डोमेनिक रिपब्लिकको अवैतनिक बाणिज्यदूतमा गौरव अग्रवाल नियुक्त भएका छन् । अग्रवाल काठमाडौं मेरियट होटलको प्रबन्ध निर्देशक छन् । वाणिज्यदूतमा अग्रवालको नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताएका छन् । अग्रवालले नेपाल र डोमेनिक रिपब्लिकबीचको मित्रता र सहयोगलाई बढावा दिनेतर्फ ध्यान दिने बताएका छन् । डोमेनिक रिपब्लिकले नेपालसँग पर्यटन, व्यापार र शिक्षाको क्षेत्रमा सहकार्य गर्न सक्ने अग्रवालले बताए । त्यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।
यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने पहल गर्न मन्त्री किरातीलाई परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्यमा जोड दिएका छन् । युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने अग्रवालले बताए । युरोपका पर्यटकहरु धेरै खर्च गर्ने मध्येमा पर्ने भएकाले युरोपियन यूनियनको सुरक्षा सुचीबाट जतिसक्दो छिटो हटाउनुपर्नेमा उनले जोड दिए । छलफलमा मन्त्री किरातीले नेपाल युरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन पहल भईरहेको र छिट्टै सकारात्मक समाचार आउन सक्ने बताएका थिए । युरोपियन यूनियनसँग पुनः सिधा हवाई सम्पर्क स्थापित गर्न नेपाल सरकार कठोर रुपमा अगाडि बढ्ने विश्वास उनले दिएका छन् । मन्त्री किरातीले नेपाल गन्तव्य महङ्गो भईरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिबृद्धि कर लगाउने कुरामा आफ्नो असहमती राखेको बताए ।
कानूनका २०६ जना विद्यार्थी एक साताको लागि ट्राफिक
काठमाडौं । काठमाडौँ स्कूल अफ लका २०६ जना विद्यार्थीहरू सोमबारबाट ट्राफिक स्वयंसेवकका रुपमा सडकमा खटिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गत शनिबार २०६ जना विद्यार्थीहरूलाई सडक सुरक्षा र आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण दिएर स्वयंसेवकको रुपमा परिचालन गरेको हो । काठमाडौं स्कूल अफ लले आइतबार ट्राफिक स्वयंसेवक कार्यक्रम आयोजना गरेको थियो । विद्यार्थीहरु सोमबारबाट बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार, अनामनगर, पद्मोदयमोड, बागबजार, पुतलीसडक र कमलादीमोडमा स्वयंसेवक ट्राफिकको रुपमा खटिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । स्वयंसेवकले पैदलयात्रीलाई जेब्राक्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौनीमा यात्रुलाई सहयोग गर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
अब व्यवसायीले तीन करोड भारुसम्मको एलसी खोल्न पाउने, आयातमा राष्ट्र बैंकले हात फैलायो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा खुकुलो नीति अघि सारेको छ । राष्ट्र बैंकले चालूआर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै एकैपटक ६० हजार डलरको वस्तु आयात गर्न सकिने नीति अघि सारेको हो । यसअघि ५० हजार डलरको सीमा थियो । यसअघि विदेशी मुद्राको सञ्चितिमा कमि आउँदा राष्ट्र बैंकले आयातमा कडाइ गरेको थियो । एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था गरेको थियो । अहिले विदेशी मुद्राको सञ्चिति प्रयाप्त हुँदा यो सीमा बढाएको हो । यस्तै, भारतबाट आयात हुने वस्तुको हकमा भने तीन करोड भारु सम्मको एलसी खोल्न पाइने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत आयातमा खुकुलो नीति अघि सारेको देखिन्छ । [pdf id=428912]
ल्हारक्याल नियुक्तिको स्वामित्व कांग्रेसले बोक्दैन : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्त गर्ने सरकारी निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन् । सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेर गलत सन्देश प्रवाह भएको बताए । विवादास्पद छविका लामाको नियुक्तीप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको शर्माले बताए । सरकारको निर्णयप्रति नेपाली कांग्रेसको आपत्ति रहेको पनि उनले बताए । कांग्रेस सत्तारूढ दल भए पनि लामाको नियुक्तीको सम्बन्धनमा समर्थन गर्न नसक्ने शर्माको भनाई छ ।
अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा गौरव शारदा निर्विरोध
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा निवर्तमन अध्यक्ष गौरव शारदा दोहोरिएका छन् । संघको १३ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी, उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना चयन भएका छन् । संघको सदस्यमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् । संघको साधारण सभाले कोभिड–१९ महामारीको समयमा अक्सिजन सिलिण्डर सरकारी निकायले ठूलो परिमाणमा लगेको तर, फिर्ता नगर्दा उद्योगले नोक्सानी बेहोर्नु परेको बारेमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यसैगरी, अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय पनि साधारण सभाले गरेको संघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन लाइफको आइपिओ बाँडफाँट, कसले कति पाए सेयर ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले सोमबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा न्युनतम १० देखि ४० कित्तासम्म आवेदन गर्ने सात हजार ८८५ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् । त्यस्तै ५० देखि दुई हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जनालाई पनि पहिलो चरणमा ४० कित्ताका दरले सेयर वितरण गरिएको छ । त्यस पश्चात बाँकी रहेको शेयर ५० कित्ता भन्दा बढी आवेदन गरेकाहरु मध्येबाट १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर वितरण गरिएको कम्पनीले बताएको छ । कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओमा २७ हजार ६३२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये ४ जनाको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बताएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
फेसबुकमा रवि लामिछानेको आक्रोश : संसद चल्दैन, बार्गेनिङ चल्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक निरन्तर अवरूद्ध भएकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबारका दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सारिएको समयमा समेत बैठक बस्न नसकेपछि लामिछानेले फेसबुकमा स्टेटस लेखेका थिए । उनले संसदमा जनताका विषयमा छलफल नभई बार्गेनिङ मात्रै चलिरहेको आरोप लगाएका छन् । ‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन छ । जनसरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुःखद’, लामिछानेले लेखेका छन् । त्रिभुवन विमानस्थलको भन्सार हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणमा प्रमुख प्रतिपक्ष एमालेले एमालेले उच्च स्तरीय छानबिन समिति माग गरेर संसद बैठक अवरोध गरिरहेको छ । संसद खुलाउनका लागि ठूला दलका शीर्ष नेताहरु सोमबार दुई पटक बैठक बसेका भए पनि संसद खुलाउने बारे सहमतिमा पुग्न सकेका छैनन् ।