
काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा निवर्तमन अध्यक्ष गौरव शारदा दोहोरिएका छन् ।
संघको १३ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना चयन भएका छन् । संघको सदस्यमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् ।
संघको साधारण सभाले कोभिड–१९ महामारीको समयमा अक्सिजन सिलिण्डर सरकारी निकायले ठूलो परिमाणमा लगेको तर, फिर्ता नगर्दा उद्योगले नोक्सानी बेहोर्नु परेको बारेमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यसैगरी, अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय पनि साधारण सभाले गरेको संघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।