फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन
वीरगञ्ज । फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो । करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराएका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । विसं २००५ मा जन्मेका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्सामा ४० वर्ष फुटबल प्रशिक्षकका रुपमा काम गरी सेवानिवृत भएका थिए । जिल्ला फुटबल सङ्घ पर्साले श्रेष्ठको निधनबाट फुटबलका साथै समग्र खेलकुदको क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ । रासस
नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू [फोटो फिचर]
काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यू टनेल ब्रेक–थ्रू भएको हो । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आजबाट सकिएको छ । २.६ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम भने १८ प्रतिशत बाँकी रहेको बताइएको छ । मुख्य टनेल ब्रेक–थ्रू हुनका लागि अब ५ सय ६ मिटर खन्न बाँकी रहेको बताइएको छ ।
आइपिओ ल्याउने तयारीमा सागर डिष्टिलरी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । सागर डिष्टिलरीले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सागर डिष्टिलरी जारी पूँजीको १५ प्रतिशतले हुने सात करोड ५० लाख रूपैयाँ बराबरको सात लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको तयारी थालेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने अध्यक्ष सन्दिप जलानले बताए । सागर डिष्टिलरी लिमिटेड २०६९ सालमा स्थापना भएको थियो । उक्त कम्पनीको फ्याक्ट्री नवलपुरमा रहेको छ । खासगरी सागर डिष्टिलरीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्डका मदिरा बजारमा विक्री गरिरहेको छ ।
नेशनल लाइफको बीमा सचेतनाका लागि साइकल र्याली सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाको सहभागिता थियो । पोखराको बाराहीघाट बाट शुरु भएको र्यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्यालीको समापन गरिएको थियो । उक्त साईकल र्यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ । कम्पनीले देशको सुगम तथा दुर्गम ठाउँमा आफ्नो सेवा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर मंगलबारसम्मको लागि स्थगित
फाइल तस्बीर काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गरेर संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो । सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दल सहमत भएका छैनन् ।
यस्तो देखियो गत वर्ष वाणिज्य बैंकको वित्तीय विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९र८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ । त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन । गत आवको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ । खुद मुनाफा गत आव २०७९र८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ बराबर खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आवमा नबिल बैंक लिमिटेडको नाफा सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बराबर छ । अघिल्लो आवमा चार अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबर नबिल बैंकले गतवर्षको तुलनामा तीन अर्ब १७ करोड १० लाख रुपैयाँ बराबरले नाफा बढाएको हो । गत आवमा बढी नाफा कमाउने बैंकहरुको सूचिमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आवमा चार अर्ब ९५ करोड ९२ लाख रुपैयाँ बराबर नाफा गरेको ग्लोबल आइएमई बैंकले गत आवमा सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आवमा चार अर्ब २९ करोड २८ लाख रुपैयाँ बराबर वार्षिक नाफा कमाएको वाणिज्य बैंकले गत आव चार अर्ब ९१ करोड ७१ लाख रुपैयाँ बराबर कमाएको छ । नाफा बढी कमाउने वाणिज्य बैंकको सूचिमा एनआइसी एसिया बैंक चाँैथौ नम्बरमा छ । एनआइसी एसिया बैंकले गत आवमा चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबर नाफा कमाएको छ । चार अर्बभन्दा माथि नाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष चार अर्ब ६५ करोड १३ लाख रुपैयाँ बराबर कमाएको छ । तीन अर्ब रुपैयाँभन्दा माथि र चार अर्ब रुपैयाँभन्दा कम वार्षिक नाफा कमाउने बैंकको सङ्ख्या सात छ । गत आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ५२ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले तीन अर्ब ४१ करोड १५ लाख रुपैयाँ, एनएमबी बैंकले तीन अर्ब ४१ करोड चार रुपैयाँ र एभरेष्ट बैंकले तीन अर्ब ३९ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै हिमालयन सिभिल बैंकले तीन अर्ब २६ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले तीन अर्ब १९ करोड एक लाख रुपैयाँ र कृषि विकास बैंकले तीन अर्ब नौ करोड ९३ लाख रुपैयाँ नाफा कमाएका छन् । छ वाणिज्य बैंकले रू दुई अर्बदेखि रतीन अर्बको बीचमा नाफा कमाएका छन् भने दुई वाणिज्य बैंकको नाफा दुई अर्ब रुपैयाँ भन्दा कममा खुम्चिएको छ । गत आवमा प्रभु बैंकले दुई अर्ब ८२ करोड ५२ लाख, सानिमा बैंकले दुई अर्ब ६१ लाख ९२ करोड र प्राइम कमर्सियल बैंकले दुई अर्ब २६ करोड ३१ लाख रुपैयाँ बराबर नाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंकको नाफा दुई अर्ब २६ करोड १८ लाख, नेपाल एसबिआई बैंकको नाफा दुई अर्ब २४ करोड १६ लाख र सिटिजन्स बैंकको नाफा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ बराबर छ । गत आवमा कुमारी बैंकले रू एक अर्ब ९५ करोड ७१ लाख र माछापुच्छ«े बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ बराबर नाफा कमाएका छन् । प्रतिशेयर आम्दानी वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी ४० दशमलव २२ बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३७ दशमलव ३९ रुपैयाँछ भने राष्ट्रिय वाणिज्य बैंकको ३३ दशमलव ९६ रुपैयाँबराबर छ । त्यस्तै एभरेष्ट बैंकको ३१ दशमलव ७२, नबिल बैंकको २७ दशमलव ८२, नेपाल बैंकको २३ दशमलव २२, सिद्धार्थ बैंकको रू २२ दशमलव ६४ र नेपाल एसबीआई बैंकको २२ दशमलव १४ रहेको छ । सानिमा बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव शुन्य दुई, कृषि विकास बैंकको २० दशमलव ६२, ग्लोबल आईएमई बैंकको २० दशमलव २८, लक्ष्मी सनराइज बैंकको १९ दशमलव ४४, एनएमबी बैंकको १८ दशमलव शुन्य पाँच र माछापुच्छ्रे बैंकको १५ दशमलव शुन्य पाँच रहेको छ । गत आवको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव शुन्य सात, सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ५९ र हिमालयन बैंकको प्रतिशेयर आम्दानी रू १५ दशमलव शुन्य आठ रहेको छ । त्यस्तै प्रभु बैंकको १२, प्राईम कमर्सियल बैंकको ११ दशमलव ६६ र कुमारी बैंकको सात दशमलव ४६ बराबर रहेको छ । खराब कर्जा कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको चार दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको चार दशमलव ३५ प्रतिशत र प्राइम बैंकको चार दशमलव २३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा चार दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको तीन दशमलव दुई प्रतिशत, ग्लोबल आइएमई बैंकको तीन दशमलव शुनय आठ प्रतिशत र सिटिजन्स बैंकको तीन दशमलव १९ प्रतिशत बराबर छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दुई दशमलव ९५ प्रतिशत, नेपाल बैंकको दुई दशमलव ८५ प्रतिशत, एनएमबी बैंकको दुई दशमलव ७२ प्रतिशत, कृषि विकास बैंकको दुई दशमलव ४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको दुई दशमलव २८ प्रतिशत, नेपाल एसबीआई बैंकको दुई दशमलव ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको दुई दशमलव १२ प्रतिशत रहेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा एक दशमलव १७ प्रतिशत, सिद्धार्थ बैंकको एक दशमलव शुन्य सात प्रतिशत, सानिमा बैंकको एक दशमलव तीन प्रतिशत, एनआइसी एसिया बैंकको शून्य दशमलव आठ प्रतिशत र एभरेष्ट बैंकको शून्य दशमलव ७९ प्रतिशत बराबर रहेको छ । स्रेडदर बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर र सङ्कलन गर्ने निक्षेपको ब्याजदरको अन्तर स्प्रेडदर हो । नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर चार दशमलव ९९ प्रतिशत छ । कुमारी बैंकको चार दशमलव ९८, ग्लोबल आइएमई बैंकको चार दशमलव ९६, प्रभु बैंकको चार दशमलव ८६, हिमालयन बैंकको चार दशमलव ७९ र लक्ष्मी सनराइज बैंकको चार दशमलव ४२ प्रतिशत बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र सानिमा बैंकको स्प्रेडदर चार प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ९८, एनआइसी एसिया बैंकको तीन दशमलव ९९, नेपाल बैंकको तीन दशमलव ९५, एनएमबीको तीन दशमलव ९९ र एभरेष्ट बैंकको तीन दशमलव ९७ प्रतिशत स्प्रेडदर रहेको छ । सिद्धार्थ बैंकको तीन दशमलव ९९, कृषि विकास बैंकको तीन दशमलव ९४, प्राईम बैंकको तीन दशमव ९८, नेपाल एसबीआई बैंकको तीन दशमलव ९९ र माछापुच्छ्रे बैंकको तीन दशमलव ९५ प्रतिशत बराबर छ । चुक्ता पुँजी चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी रू ३५ अर्ब ७७ करोड बराबर छ । चुक्ता पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको रू ३४ अर्ब १२ करोड र तेस्रो स्थानमा रहेको नबिल बैंकको २७ अर्ब पाँच करोड बराबर रहेको छ । कुमारी बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड, प्रभु बैंकको अर्ब ५४ करोड, हिमालयन बैंकको २१ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकको २१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड, एनआइसी एसिया बैंकको ११ अर्ब ५६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नौ अर्ब ४२ करोड, नेपाल बैंकको १४ अर्ब ६९ करोड र एनएमबी बैंकको १८ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको छ । त्यस्तै एभरेष्ट बैंकको १० अर्ब ६९ करोड, सिद्धार्थ बैंकको१४ अर्ब आठ करोड, कृषि विकास बैंकको १८ अर्ब ८८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड, प्राईम बैंकको १९ अर्ब चार करोड, नेपाल एसबीआई बैंकको १० अर्ब १२ करोड, सिटिजन्स बैंकको १४ अर्ब दुई करोड र माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड रुपैयाँ बराबर चुक्ता पुँजी रहेको छ । रासस
बैसरीको पहिरो बेनी-जोमसोम सडकको प्रमुख समस्या
म्याग्दी । रघुगङ्गा गाउँपालिका-२ बैसरीको अधेरीखोलास्थित पहिरो बेनी–जोमसोम सडकको प्रमुख समस्या बनेको छ । निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती भोग्नु परेको छ । बेनीका स्थानीय किशोरकुमार श्रेष्ठले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न कठीन हुने गरेको बताए । ‘पहिरो खस्न रोकिएको समयमा हेरेर वारपार गर्नुपर्छ’, उनले भने, ‘कुनबेला पहिरो खसेर परिन्छ भन्ने जोखिम र त्रास छ ।’ सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो । जीप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग गरे पनि ठूला सवारीसाधनलाई वैकल्पिक सडक छैन । वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावतका साथै आलु, स्याउलगायत कृषिउपज निकासी प्रभावित भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो खस्ने पाखोमा बग्ने अवस्थामा रहेको ढुङ्गामाटोलाई पन्छ्याउन नेपाली सेना, नेपाल प्रहरी र श्रमिक लागेका छन् । ‘आइतबार १३ घन्टा लगाएर खुलाएको सडक १५ मिनेटपछि पुनः बन्द भयो’, उनले भने, ‘भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको छ ।’ पहिरो पन्छाउन शत्रुभञ्ज्याङ गुल्मका सैनिक र जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीको साथै आयोजनाका कर्मचारी तथा मजदुर परिचालन गरिएको छ । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ । तत्काललाई जोखिम न्यूनीकरणको उपाय, अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीन समाधान गर्न माथिल्लो निकायमा पहल गर्ने आयोजना प्रमुख प्रजापतिले बताए । रासस
सामान्य अङ्कले घट्यो सेयर बजार
काठमाडौं । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो । उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ । विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ रुपैयाँ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता सेयर किनबेच भएको छ ।