विकासन्युज

कोञ्ज्योसोमका भूमिहीनले निस्सा पाए

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका ललितपुर जिल्ला संयोजक श्रीगोविन्द महर्जनले भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको बताए। ‘स्थानीय तहबाट पर्याप्त सहयोग र समन्वय भएको अवस्थामा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या छैन । हाम्रो वर्तमान संवैधानिक व्यवस्था र सरकारको नीतिअनुरुप योग्य रहेका सबै सुकुम्बासीलाई प्रक्रिया पुर्याएर निस्सा वितरण गर्न हामी तयार छौँ’, उनले भने । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर चाँडै टुङ्गोमा पुर्याउने बताए । ‘सुकुम्बासी समस्या समाधान गर्ने राज्यको नीतिअनुरुप हामी पनि सक्रिय छौँ । निस्सा वितरण भएका सबैलाई छिटोभन्दा छिटो जग्गाको व्यवस्थापन गरेर हामी लालपुर्जा वितरण गर्नेछौँ’, उनले भने । गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले निस्सा वितरणसँगै लामो समयदेखि सुकुम्बासी भएर रहेकाको समस्या समाधान हुने पक्का भएको बताए । उनले छिट्टै लालपुर्जा वितरण भएर पालिकाभित्र सुकुम्बासी र भूमिहीनमुक्त नागरिक भएको देख्न पाइने विश्वास व्यक्त गरे । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार अब गोदावरी नगरपालिकाका बाँकी १२ वडा र महाँकाल गाउँपालिकाका सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरण गर्ने गरी तयारी भइरहेको छ । आयोग जिल्ला समितिले यसअघि २०८० जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ परिवार, असार ३१ गते गोदावरी–७ देवीचौरका १४ परिवार र साउन १२ गते गोदावरी–१२ का पाँच परिवारलाई निस्सा वितरण गरिसकेको छ । रासस

राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द

बेनी । बेनी-जोमसोम सडकको राहुघाट-तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ। यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो। सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए। रघुगङ्गा गाउँपालिका- २ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उनले बताए। रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ। त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना)लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताए। बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी-जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ। सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन्। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिए। बेनी-जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भीरबाट पहिरो खस्न थालेको थियो। यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो । रासस

मैलुङको सेयर बाँडफाँट पुनरावलोकन गर्न जिल्ला समन्वय समिति रसुवाको माग

काठमाडौं । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह गरेको हो । कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको सेयर अत्यन्तै न्यून सङ्ख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँटका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन । उनले सेयर बाँडफाँटको पुनरावलोकन गराउन जिल्लाको सर्वदलीय बैठकमार्फत आयोजनालाई अनुरोध गरिएको बताए । जिल्लाको उत्तरगया गाउँपालिकाको करूम्राङबाट उत्तर पाखामा सो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएको छ । आयोजनाले आफ्नो कार्यक्षेत्र बाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत सो बैठकको सहभागी सदस्यले प्रश्न उठाएका थिए । रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार ८५० कित्ता सेयर तोकेको बताइएको छ । आयोजनाले रसुवा र नुवाकोटको भू–भागका प्रभावित र अतिप्रभावितलाई भने ८ लाख ५७ हजार १५० कित्ता निष्कासन सूचीमा देखाएको भए पनि कुन जिल्लालाई कति हो भन्ने प्रस्ट नभएको बताइएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले भने सेयर निष्कासन गर्नु पूर्व जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरेका थिए ।

स्वार्थ बाझिने समितिको सभापति बन्न सांसद विनोद चौधरीको दौडधूप

काठमाडौं । संसदको अर्थ–समितिको सभापति बन्न सांसद विनोद चौधरीले दौडधुप गरिरहेका छन् । अर्थ समितिको सभापति बन्नका लागि उनले सांसदहरुसँग सहयोग मागेका छन् पार्टी नेतृत्वलाई पनि पटक पटक भेटेर छलफल गरेको कांग्रेसका सांसदहरुले जानकारी दिएका छन् । २०७९ मंसिर ४ मा संसदीय निर्वाचन भएयता गत जेठ २ गते अर्थ–समितिको पहिलो बैठक बसेको थियो । तर, राजनीतिक दलहरुबीच सहमती बन्न नसक्दा संसदका विषयगत समितिले अहिलेसम्म नेतृत्व पाउन सकेको छैन । संसदीय समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसिरहेका छन् । व्यवसायीक पृष्ठभूमीबाट आएका सांसद चौधरी नवलपसारी–१ मा निर्वाचित भएका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७५ को नियम (२) मा समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन भन्ने व्यवस्था छ । तर, व्यवसायीक पृष्ठभूमीका चौधरी भने स्वार्थ बाझिने समितिको सदस्य भएका छन् । अर्थ समितिको कार्यक्षेत्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग र सम्बद्ध विषय तथा निकायहरू तोकिएको छ । संसदका समितिहरूलाई मिनि संसद पनि भनेर चिनिन्छ । यो समितिले अर्थ मन्त्रालय र त्यसअर्गतका निकायमाथि नीतिगतरूपमा हस्तक्षेप गर्नसक्छ । अर्थमन्त्रीले गरेको निर्णयहरू माथि नै प्रश्न उठाएर कार्यान्वयन प्रभावित गर्न सक्छ । सोही प्रयोजनका लागि सांसद चौधरी अर्थ–समितिको सभापति बन्न लागिपरेको कांग्रेसकै सांसदहरु बताउँछन् । चौधरीको बैंक तथा वित्तीय क्षेत्र, खाद्यान्न, पेय पदार्थ, अटो मोबाइल्स, दूरसञ्चार सेवा प्रदायक कम्पनी तथा होटेल लगायतका क्षेत्रको व्यवसायमा लगानी छ । ती सबै क्षेत्र अर्थ मन्त्रालय र त्यस अन्तर्गतका निकायसँग प्रत्यक्ष जोडिन्छन् । सभापति बन्नका लागि सांसद चौधरीले देखाएको सक्रियता संसदकै नियमावली विपरित छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७५ मा छलफल र निर्णयमा भाग लिन नहुने सम्बन्धि व्यवस्था उल्लेख छ । नियम १७५ मा भनिएको छ, ‘कुनै समितिको विचाराधीन विषयसँग कुनै सदस्यको व्यक्तिगत स्वार्थ गाँसिएको भए सो विषयको छलफल र निर्णयमा सो सदस्यले भाग लिन हुँदैन ।’ चौधरी मात्रै होइन, अर्थ समितिका स्वार्थ बाँझिने अरु पनि सांसद सदस्य छन् । बैंक तथा वित्तीय संस्थामा लगानी गरेका जनता समाजवादी पार्टी (जसपा)का बीरेन्द्रप्रसाद महतो अर्थ समितिको सदस्य छन् । उनी माछापुच्छ्रे बैंकका संस्थापक लगानीकर्ता समेत हुन् । सांसद भएपछि उनले बैंकको सञ्चालक समितिको अध्यक्ष पद छाडेका थिए । होटल र हाइड्रोदेखि स्वास्थ्य क्षेत्रमासमेत लगानी रहेको एमालेकी सांसद जुलीकुमारी महतो, फरवार्ड लघुवित्तकी संस्थापक एवं लगानीकर्ता एमालेकी भगवती चौधरी अर्थ समितिकै सदस्य छन् । जलविद्युत् व्यवसायमा संलग्न कांग्रेसका दीपक खड्का र निर्माण व्यवसायी एवं कांग्रेसकै सांसद पूर्णबहादुर तामाङ पनि अर्थ समितिको सदस्य छन् । वित्तीय क्षेत्रमा लगानी रहेका यी सांसदहरु अर्थसमितिको सदस्य हुँदा स्वार्थ बाँझिन्छ । अर्थ समितिको ९ बैठकमा चौधरीको ७ अनुपस्थिति गत जेठ २ गते पहिलो पटक बैठक बसेयता अर्थसमितिको ९ वटा बैठक बसेको छ । सांसद विनोद चौधरी अर्थ समितिको दोस्रो जेष्ठ सदस्य हुन् । असार २१ र साउन १५ गते गरी २ पटक उनैको सभापतित्व समितिको बैठक बसेको छ । समितिको पहिलो बैठकमै चौधरी अनुपस्थित थिए । उक्त बैठक समितिका जेष्ठ सदस्य दीपक बोहोराको सभापतित्वमा बसेको थियो । तर, बोहोराले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै उनी पछिका जेष्ठ सदस्यलाई सभापतित्व दिन चाहेका थिए । तर, चौधरी अनुपस्थित भएपछि तेस्रो जेष्ठ सदस्य सन्तोष चालिसेलाई सभापतित्वको जिम्मेवारी दिएका थिए । अहिलेसम्म अर्थ समितिको ९ वटा बैठक बसेको छ । तर, चौधरी भने २ वटा बैठकमा मात्रै उपस्थित भएको अर्थ समितिको रेकर्डमा उल्लेख छ । चौधरीले २ वटा बैठकको अध्यक्षता गर्दा कांग्रेसकै सांसदहरुले चौधरीको स्वार्थ बाझिने भएकाले समितिको सभापतित्व गर्न नहुने धारणा राखेका थिए । कांग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले लगायतका दलहरुले पनि चौधरीले बैठकको अध्यक्षता गर्न नमिल्ने भनेका थिए । ‘सदस्यहरुले विरोध गरे पनि २ वटा बैठक चौधरीकै अध्यक्षतामा बस्यो, ती बैठकमा नियमित एजेन्डामा छलफल भए तर कुनै निर्णय भएन’, समिति स्रोतले भन्यो । अर्थ समितिका २४ जना सांसद सदस्य छन् । त्यसमध्ये नेपाली कांग्रेस र नेकपा एमालेका ८/८ जना सांसद सदस्य छन् । नेकपा माओवादी केन्द्रका ३, राप्रपा र रास्वपाका २/२ र एकीकृत समाजवादीवाट १ जना सांसद अर्थ समितिका सदस्य छन् । अर्थसमितिका निर्वाचनबाटै सभापति चयन भएको अवस्थामा पनि सत्तारूढ दलकै मतबाट चौधरी सभापति चुनिन सक्दैनन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सांसदको संख्या १२ मात्रै पुग्छ । सभापति चयन हुन १३ मत आवश्यक पर्छ । त्यसो हुँदा रास्वपा वा राप्रपाका सांसदको सहयोग चाहिन्छ । तर, ठूला राजनीतिक दलहरुले भने सहमतिको आधारमा संसदीय समितिको सभापति चयन गर्ने भनेर छलफल गरिरहेका छन् ।

अबिरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उनले भने, ‘भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।’ यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अबिरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।

पहिरोका कारण कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध

काठमाडौं । मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाँै सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । । वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

फाइल फाेटाे काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

२५७ रुपैयाँमा रिलायबल लाइफको आईपीओ बिक्री खुला

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आज साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।