
काठमाडौं । काठमाडौँ स्कूल अफ लका २०६ जना विद्यार्थीहरू सोमबारबाट ट्राफिक स्वयंसेवकका रुपमा सडकमा खटिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गत शनिबार २०६ जना विद्यार्थीहरूलाई सडक सुरक्षा र आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण दिएर स्वयंसेवकको रुपमा परिचालन गरेको हो ।
काठमाडौं स्कूल अफ लले आइतबार ट्राफिक स्वयंसेवक कार्यक्रम आयोजना गरेको थियो ।
विद्यार्थीहरु सोमबारबाट बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार, अनामनगर, पद्मोदयमोड, बागबजार, पुतलीसडक र कमलादीमोडमा स्वयंसेवक ट्राफिकको रुपमा खटिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
स्वयंसेवकले पैदलयात्रीलाई जेब्राक्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौनीमा यात्रुलाई सहयोग गर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।