आगामी वर्षमा १ हजार किमी सडक कालोपत्रे र २०० पुल बन्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका विभिन्न क्षेत्रमा गरी कुल १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सयवटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक सञ्जालको बिस्तार र यातायात सहजताका लागि यो लक्ष्य निर्धारण गरिएको जानकारी दिए । बजेट वक्तव्यका क्रममा अर्थमन्त्री डा. वाग्लेले देशको मुख्य जनजीवन जोडिएको पूर्व-पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र पूर्ण रूपमा चार लेनमा बिस्तार गरिसक्ने सरकारी योजना सार्वजनिक गरे । यसका लागि सरकारले आगामी आर्थिक वर्षका लागि मात्रै ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । लामो समयदेखि निर्माण कार्य ढिलाइ भएर सर्वसाधारणले सास्ती खेप्दै आएका दुई महत्त्वपूर्ण सडक खण्डहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् । नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको निर्माण कार्य यसै वर्षभित्र पूर्ण रूपमा सम्पन्न गरिनेछ ।
बजेटमै समेटियो ब्लुबस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा उल्लेख गरेको ‘ब्लु बस’ को विषय बजेटमै समावेश गरेको छ । रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत यसबारे जानकारी गराएका हुन्। उनका अनुसार महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसीक्यामेरासहितको आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ।
सामाजिक सञ्जालमार्फत व्यवसाय विस्तारलाई प्रोत्साहन, सञ्चार क्षेत्रका लागि ५.९३ अर्ब
काठमाडौं । सरकारले नेपालमा दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत व्यावसायिक गतिविधि विस्तार गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल अर्थतन्त्र विस्तार तथा अनलाइन व्यवसायलाई औपचारिक दायरामा ल्याउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै, छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रसारण हुने लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रको समग्र विकासका लागि सरकारले ५ अर्ब ९३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
श्रमिकको बीमा अनिवार्य गरिने
काठमाडाैं । सरकारले श्रमिकको बीमालाई अनिवार्य गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत श्रमिकको कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाइने भएको हाे ।
सञ्चार मन्त्रालयलाई ५ अर्ब ९३ करोड बजेट विनियोजन
काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार मन्त्रालयका लागि ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सूचना तथा सञ्चार क्षेत्रलाई डिजिटल पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार र सूचना प्रविधिको पहुँच बढाउने उद्देश्यसहित पर्याप्त बजेट छुट्याइएको बताए । विनियोजित बजेट सूचना प्रविधि प्रवर्द्धन, सञ्चार माध्यमको सुदृढीकरण तथा डिजिटल नेपाल अभियानलाई थप प्रभावकारी बनाउने कार्यक्रमहरूमा खर्च गरिने अपेक्षा गरिएको छ। सरकारले सूचना तथा सञ्चार क्षेत्रमा लगानी विस्तार गर्दै डिजिटल शासन प्रणालीलाई सुदृढ बनाउने नीति लिएको जनाएको छ । बजेटले सञ्चार क्षेत्रको आधुनिकीकरण, ग्रामीण तथा दुर्गम क्षेत्रमा सूचना पहुँच विस्तार र साइबर सुरक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ।
लगानी एक्सप्रेस अवधारणा तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा
काठमाडौं । सरकारले लगानी प्रक्रिया छिटो, पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने घोषणा गरेको छ । शुक्रवार संघीय ससंदको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले उक्त घोषणा गरेका हुन् । आगामी तीन महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्दै कम्पनी तथा उद्योग दर्तादेखि कर प्रणाली, वित्तीय सेवा र भिसा आवेदनसम्मका सेवा एउटै डिजिटल संयन्त्रमा आवद्ध गरिने उनले बताए । लगानीकर्ताले सूचना प्राप्ति, अनुपालना प्रतिवेदन तथा जोखिममा आधारित निरीक्षण सेवा एउटै प्रणालीमार्फत पाउने व्यवस्या गरिने उनले जानकारी दिए । सरकारले लगानी बोर्डबाट स्वीकृत भएका परियोजनाले पुनः अन्य सरकारी निकायबाट छुट्टै स्वीकृति लिन नपर्ने कानुनी व्यवस्था गर्ने पनि घोषणा गरेको छ । त्यस्तै, स्वीकृत परियोजनासँग सम्बन्धित अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने उनले बताए । सेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण तथा लिक्विडेशन प्रक्रियालाई समेत सरल बनाइने सरकारको योजना छ । सरकारले यी सुधारमार्फत विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्दै लगानी र मुनाफा फिर्ता प्रक्रियालाई सहज बनाउने लक्ष्य लिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताए । उनले भने,‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ ।’ अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताए ।
काठमाडौंमा १०० मेगावाटको सोलार परियोजना निर्माण गरिने
काठमाडाैं । सरकारले सङ्घीय राजधानी काठमाडौंमा १०० मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि यो परियोजना अगाडि बढाइने बताए । राजधानीभित्रै ठूलो परिमाणको सोलार ऊर्जा उत्पादन गरी विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन यो योजना ल्याइएको अर्थमन्त्री डा. वाग्लेले बताए ।