स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताए । उनले भने,‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ ।’ अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताए ।
काठमाडौंमा १०० मेगावाटको सोलार परियोजना निर्माण गरिने
काठमाडाैं । सरकारले सङ्घीय राजधानी काठमाडौंमा १०० मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि यो परियोजना अगाडि बढाइने बताए । राजधानीभित्रै ठूलो परिमाणको सोलार ऊर्जा उत्पादन गरी विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन यो योजना ल्याइएको अर्थमन्त्री डा. वाग्लेले बताए ।
त्रिवि शिक्षण, वीर र पाटनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको घोषणा
काठमाडौं । सरकारले नेपालको स्वास्थ्य शिक्षा र उपचार प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेटमार्फत सरकारले त्रिभुवन शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरिने घोषणा गरेको हो । सरकारले यी संस्थालाई विदेशी विद्यार्थीलाई समेत स्वास्थ्य शिक्षा प्रदान गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ । यससँगै नेपाललाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रीय केन्द्र बनाउने रणनीति अघि सारिएको छ ।
प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि ७० अर्ब विनियोजन
काठमाडौं । सरकारले निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउँदै उत्पादन भएको बिजुली प्रभावकारी रूपमा देशभित्रै खपत गर्न र निर्यात क्षमता विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणमा बजेट केन्द्रित गरिनेछ ।
पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन ठूलो रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्डहरूलाई चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिएका हुन् । विगत केही वर्षदेखि नारायणगढ-बुटवल, कमला-कञ्चनपुर लगायतका विभिन्न खण्डहरूमा राजमार्ग विस्तारको काम भइरहेको छ । सवारी चाप बढ्दै गएकाले दुई लेनको सडकलाई चारदेखि छ लेनसम्म बिस्तार गर्ने कार्यलाई सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्वको आयोजनाका रूपमा प्राथमिकतामा राखेको छ ।
कृषि र पशुबीमा अनुदानलाई निरन्तरता दिइने
काठमाडाैं । सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउँदै लाने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कृषि र पशुबीमामा दिँदै आएको ८० प्रतिशत अनुदान निरन्तरता दिने भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अरु अनुदान हटाउँदै लाने बताए ।
नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने
काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । नागरिकलाई निःशुल्क उपलब्ध गराइने कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो । त्यस्तै, सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य निर्भरता घटाउने नीति लिएको छ ।
काठमाडौंलाई धुलोमुक्त बनाइने, २८ अर्ब ९२ करोड बजेट विनियोजन
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा, रणनीतिक पूर्वाधार र सहरी सौन्दर्यीकरणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय राजधानी काठमाडौंलाई धूलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने घोषणा गरे । राजधानीको समग्र वातावरणीय अवस्था र सहरी गुडस्तरमा सुधार ल्याउन सडकहरूको तत्काल मर्मतसम्भार, दायाँबायाँ सफाइ र स्तरोन्नतिका कार्यहरूलाई अभियानकै रूपमा अगाडि बढाइने बजेटमा उल्लेख छ। यसैगरी, देशभरका सडक सञ्जाललाई सफा, सुरक्षित र गुणस्तरीय रूपमा सुधार तथा विस्तार गर्न सरकारले २८ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरेको छ।