काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा क्याम्ब्रिज इङ्लिस लिडरशिप कन्फरेन्स २०२६ आयोजना गरेको छ । सम्मेलनमा विद्यालयका प्रधानाध्यापक, विद्यालय नेतृत्वकर्ता तथा अंग्रेजी भाषा शिक्षकहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई भविष्यका लागि कसरी तयार गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । विद्यार्थी केन्द्रित कक्षाकोठा, प्रभावकारी मूल्यांकन, तथ्यमा आधारित प्रतिक्रिया तथा सञ्चार सीपको विकासमा सम्मेलनले जोड दिएको थियो ।
सम्मेलनमा प्रस्तुत क्याम्ब्रिजको सर्वेक्षणअनुसार करिब १ हजार ९ सय कलेज विद्यार्थीमध्ये करिब १०० प्रतिशतले राम्रो रोजगारीका लागि अंग्रेजी महत्वपूर्ण रहेको बताएका छन् । त्यस्तै, ३० प्रतिशत विद्यार्थीले अंग्रेजी भाषा सीप र आत्मविश्वासलाई रोजगारी प्राप्तिको प्रमुख चुनौतीका रूपमा लिएका छन् भने ५७ प्रतिशत विद्यार्थीले आफू रोजगारीका लागि पूर्ण रूपमा तयार नभएको बताएका छन् ।
सम्मेलनमा बहुभाषिक शिक्षण पद्धतिले अंग्रेजी सिकाइलाई थप प्रभावकारी बनाउन सक्ने विषयमा समेत चर्चा गरिएको थियो । मातृभाषा तथा क्षेत्रीय भाषालाई अंग्रेजीसँग रणनीतिक रूपमा प्रयोग गर्दा विद्यार्थीको पढ्ने क्षमता, कक्षाकोठामा सहभागिता र आत्मविश्वास बढ्ने अध्ययनले देखाएको जानकारी दिइएको थियो ।
क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले एआई सिकाइको हिस्सा बन्दै जाँदा सञ्चार, विश्लेषण र आलोचनात्मक सोचको क्षमता झनै महत्वपूर्ण हुने बताए । उनले विद्यालयले अंग्रेजीलाई विषयका रूपमा मात्र नभई व्यावहारिक भाषा दक्षताका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा सहभागी शिक्षक तथा विद्यालय नेतृत्वकर्ताले सञ्चार सीप विद्यार्थीको शैक्षिक सफलता, आत्मविश्वास, आलोचनात्मक सोच तथा सहकार्यका लागि महत्वपूर्ण रहेको बताए । कक्षाकोठामा छलफल, परियोजना, प्रस्तुति तथा अतिरिक्त क्रियाकलापमार्फत अंग्रेजी प्रयोगका अवसर बढाउनुपर्नेमा उनीहरूले जोड दिए ।
एआईको प्रयोग बढ्दै जाँदा विद्यार्थीलाई सूचना प्राप्त गर्ने क्षमतामात्र पर्याप्त नहुने विषयमा पनि छलफल गरिएको थियो । विचारको मूल्यांकन गर्ने, सही प्रश्न सोध्ने, सहकार्य गर्ने र आत्मविश्वासका साथ सञ्चार गर्ने क्षमता विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।