२९ गतेको राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन् ।

विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले आगामी २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । उक्त भेलामा नेता कोइरालाले समेत सम्बोधन गर्ने तयारी रहेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार २९ गतेको भेला एकताको आह्वान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । उनले भने, ‘यो भेला विभाजनको भेला होइन, एकताको भेला हो ।’

पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै गएपछि इतर समूहले विभिन्न गतिविधि गर्दै आए पनि कोइराला भने समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकहरूमा सहभागी भएका थिएनन् । तर, कोइरालाले राष्ट्रिय भेलामा भने सहभागी हुने निर्णय गरेका छन् ।

पार्टीभित्र देखिएको विवादमा कोइरालाले पछिल्लो समय आफूलाई मध्यमार्गी भूमिकामा प्रस्तुत गर्दै आएका छन् । देउवा पक्ष र थापा पक्षबीच बढ्दो टकरावका बीच कोइरालाको भेलामा सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा. कोइराला विगतदेखि नै पार्टीभित्र मेलमिलापको पक्षमा देखिँदै आएका नेता हुन् ।

देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । उक्त भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भएपछि इतर समूह थप उत्साहित बनेको छ । अदालतले फैसला पुनरावलोकनका लागि आदेश दिएसँगै तत्कालका लागि पार्टी विभाजनको सम्भावना टरेको निष्कर्ष उक्त समूहको छ ।

Share News