माउण्टेन इनर्जीको नाफा ७९ करोड नाघ्यो, ईपीएस २५.५२ रुपैयाँ
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । यस अवधिमा विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले यस अवधिमा बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, ब्याज खर्च पनि घटेको छ । अघिल्लो वर्ष २४ करोड ४३ लाख रुपैयाँ रहेको ब्याज खर्च घटेर यस वर्ष २० करोड १९ लाख रुपैयाँ कायम भएको छ । विद्युत बिक्री आम्दानी बढ्नु, बीमा दाबी प्राप्त हुनु र ब्याज खर्च घट्नु लगायतका कारण कम्पनीको नाफा बढेको देखिन्छ । कम्पनीको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ८९ करोड १८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ रहेको छ । रिजर्भमा भने १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीका आधारमा हेर्दा कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट करिब २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ । कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । हालै उक्त आयोजनाको वित्तीय व्यवस्थापनसमेत सम्पन्न भएको छ । दूधखोला आयोजना निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले कम्पनीले आगामी लाभांशमा बोनस सेयरलाई प्राथमिकता दिन सक्ने देखिन्छ । कम्पनीले विगतका वर्षमा पनि बोनस सेयरलाई प्राथमिकता दिँदै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश वितरण गर्दै आएको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) २५.५२ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस २३.७२ रुपैयाँ थियो । आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी बढाए पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको ईपीएस कायम गर्न सफल भएको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको छ ।
अमेरिकाले रद्द गर्यो १ लाख ७५ हजारभन्दा बढी भिसा, ट्रम्प प्रशासनको अध्यागमन नीतिमा कडाइ
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरिएको जनाएको छ । विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसा रद्द गरिएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने (डीयूआई), चोरी र लागुऔषधसम्बन्धी अपराध भिसा रद्द हुनुका मुख्य कारण हुन् । त्यस्तै, लापरवाहीपूर्ण ढंगले सवारी चलाउने, यौनजन्य हिंसा, बाल दुर्व्यवहार, जालसाजी र आर्थिक हिनामिनामा संलग्न व्यक्तिहरूको भिसासमेत रद्द गरिएको मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले अमेरिकी भिसालाई अधिकार नभई विशेषाधिकारका रूपमा व्याख्या गरेको छ । ‘अमेरिकी भिसा प्राप्त गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन,’ मन्त्रालयले भनेको छ, ‘यसको दुरुपयोग गर्नेहरूबाट हाम्रा समुदायलाई सुरक्षित राख्न उपलब्ध सबै कानुनी संयन्त्रको प्रयोग गर्न विभाग प्रतिबद्ध छ ।’ ट्रम्प ह्वाइट हाउसमा फर्किएसँगै उनको प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गर्दै आएको छ । यसअन्तर्गत कागजपत्रविहीन आप्रवासीविरुद्ध कडा कदम चालिनुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिको समेत निगरानी र छानबिन तीव्र पारिएको छ । अमेरिकी प्रशासनले आपराधिक गतिविधिमा संलग्न तथा भिसाका सर्त उल्लंघन गर्ने विदेशी नागरिकमाथि थप कडाइ गर्ने संकेतसमेत दिएको छ ।
भारतीयसहित ३ कम्पनी सरकारको कालोसूचीमा, सरकारी ठेक्कामा प्रतिबन्ध
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम तीन कम्पनीलाई फरक–फरक अवधिका लागि कालोसूचीमा राखेको हो । कार्यालयले साउन २५ गते गरेको निर्णयअनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् । कार्यालयका अनुसार टोखा नगरपालिका काठमाडौंको सिफारिसमा टोखा-८, काठमाडौंस्थित स्पेक्स नेपाल प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति प्रदीप केसी रहेको कार्यालयले जनाएको छ । त्यस्तै, सडक डिभिजन डोटीको सिफारिसमा गोकर्णेश्वर नगरपालिका-८, काठमाडौंस्थित रविप्रकाश सिंहको जे.डी.एम.आर. बिल्डर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा भारतको हैदराबादस्थित एम/एस सृष्टि कन्क्टेक प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्तिमा राजशेखर रेड्डी र स्मिता शुक्ला रहेको कार्यालयले जनाएको छ ।
एनएमबि बैंकले ईभी कर्जामा आधार दरमा ०.५ प्रतिशत मात्रै थप ब्याज लिने
काठमाडौं । एनएमबि बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिदका लागि आधार दरमा ०.५ प्रतिशत मात्रै थप हुने गरी विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले किफायती विद्युतीय सवारी कर्जा योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने यो कर्जा सुविधा नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको छ । सरल र छिटो प्रक्रियाबाट कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । इच्छुक ग्राहकले नाइमा अटो एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ५ वा देशभर रहेका एनएमबि बैंकका शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ वटा विस्तार काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
डीडीसीले किसानको भुक्तानी ७२ करोडबाट ३५ करोडमा झार्यो
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको नेतृत्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले आक्रामक बजारीकरण तथा संस्थानमा मौज्दात रहेको दुग्धजन्य पदार्थको खपत बढाएर कृषक भुक्तानीको बक्यौता घटाएको जनाएको छ । संस्थानका अनुसार पछिल्लो तीन महिनामा कृषकलाई भुक्तानी गर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटाएर करिब ३५ करोड रुपैयाँमा सीमित गर्न सफल भएको छ । यसअघि सात महिनासम्मको भुक्तानी अवधि पुगेकोमा अहिले त्यसलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको संस्थानले जनाएको छ । बाँकी भुक्तानी अवधि थप घटाएर एक महिनामा ल्याउने लक्ष्यसहित काम भइरहेको जनाइएको छ । संस्थानमा मौज्दात रहेको ६ सय मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखनको खपत बढाएर बिक्री आम्दानी वृद्धि गरिएको संस्थानले जनाएको छ । त्यस्तै, दैनिक बिक्री आम्दानी ६० लाख रुपैयाँबाट बढाएर ९० लाख रुपैयाँ पु¥याउन सफल भएको बताइएको छ । बिक्रीबाट प्राप्त थप आम्दानी शतप्रतिशत कृषक भुक्तानीमा प्रयोग गरिएको संस्थानको दाबी छ । संस्थानका अनिवार्य खर्चबाहेक अन्य खर्चमा कटौती गर्दै कृषक भुक्तानीलाई प्राथमिकतामा राखिएको जनाइएको छ । निजी क्षेत्रसँगको समन्वयमा काठमाडौं उपत्यकामा आठवटा छुट्टै बिक्री केन्द्रसमेत सञ्चालनमा ल्याइएको संस्थानले जनाएको छ । त्यस्तै, लामो समयदेखि बाँकी रहेको रकम असुलीलाई कडाइका साथ अघि बढाउँदै बक्यौता रकम उठाइएको संस्थानको भनाइ छ । कर्मचारीलाई दिइँदै आएको सहुलियत दूध तथा घ्यूको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ थप बचत गरिएको जनाइएको छ । संस्थानका अनुसार यस अवधिमा नेपाल सरकारबाट कुनै किसिमको सहुलियतपूर्ण कर्जा वा अनुदान लिइएको छैन। संस्थानको आन्तरिक सुधार, खर्च नियन्त्रण तथा आक्रामक बजारीकरणबाट प्राप्त आम्दानीमार्फत नै कृषक भुक्तानीलाई सहज बनाइएको संस्थानले जनाएको छ ।
बुटवल धागो कारखानाले माग्यो सबै दाबी, २१ दिनपछि उजुरी नलाग्ने
काठमाडौं । बुटवल धागो कारखाना लिमिटेडले उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आफ्नो दाबी पेश गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार उद्योगमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी कार्य गरिरहेको कारखानाले जनाएको छ । कारखानाले सार्वजनिक गरेको सूचनाअनुसार उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाको लेनदेन तथा कारोबार, अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णयबमोजिम लिनुपर्ने वा दिनुपर्ने रकमलगायतका विषयमा कुनै दाबी भए प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पेश गर्नुपर्नेछ । त्यस्तै, उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति तथा संस्थालाई समेत तोकिएको अवधिभित्र सम्पर्क गर्न कारखानाले आग्रह गरेको छ । तोकिएको २१ दिनभित्र कुनै दाबी पेश हुन नआएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने र त्यसपछि उद्योगउपर कुनै दाबी नलाग्ने कारखानाले जनाएको छ ।
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् भने केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि कोलम्बिया सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्प जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ । अमेरिकी भू-गर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्व र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको थियो ।
४३ वटा गाई लिलामीमा
काठमाडौं । गाई आनुवंशिक स्रोत केन्द्र, जिरीले ४३ वटा गाई, साँढे तथा बहर, बाच्छा/बाच्छी लिलाम बिक्री गर्ने भएको छ । राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय अन्तर्गतको गाई आनुवंशिक स्रोत केन्द्रले लिलाम बढाबढ प्रक्रियामार्फत ती पशु बिक्री गर्न लागेको हो । केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार आगामी भदौ १० गते बिहान १० बजेदेखि लिलाम प्रक्रिया सुरु हुनेछ । लिलाम गाई आनुवंशिक स्रोत केन्द्र, जिरी, दोलखामा हुनेछ । केन्द्रमा रहेका ४३ वटा गाई, साँढे तथा बहर, बाच्छा/बाच्छीलाई लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिने भएकाले इच्छुक तथा सम्बन्धित सबैलाई सहभागी हुन केन्द्रले जानकारी गराएको छ ।