माउण्टेन इनर्जीको नाफा ७९ करोड नाघ्यो, ईपीएस २५.५२ रुपैयाँ

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा २९.०८ प्रतिशतले बढेको छ ।

कम्पनीले यस अवधिमा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । यस अवधिमा विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३१ प्रतिशत बढी हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले यस अवधिमा बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, ब्याज खर्च पनि घटेको छ ।

अघिल्लो वर्ष २४ करोड ४३ लाख रुपैयाँ रहेको ब्याज खर्च घटेर यस वर्ष २० करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

विद्युत बिक्री आम्दानी बढ्नु, बीमा दाबी प्राप्त हुनु र ब्याज खर्च घट्नु लगायतका कारण कम्पनीको नाफा बढेको देखिन्छ ।

कम्पनीको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ८९ करोड १८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ रहेको छ । रिजर्भमा भने १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पुँजीका आधारमा हेर्दा कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट करिब २५ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ ।

कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । हालै उक्त आयोजनाको वित्तीय व्यवस्थापनसमेत सम्पन्न भएको छ ।

दूधखोला आयोजना निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले कम्पनीले आगामी लाभांशमा बोनस सेयरलाई प्राथमिकता दिन सक्ने देखिन्छ । कम्पनीले विगतका वर्षमा पनि बोनस सेयरलाई प्राथमिकता दिँदै आएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश वितरण गर्दै आएको छ ।

यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) २५.५२ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ईपीएस २३.७२ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी बढाए पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको ईपीएस कायम गर्न सफल भएको छ ।

कम्पनीको प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको छ ।

Share News