काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् भने केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि कोलम्बिया सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ । कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्प जमिनको सतहबाट करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ ।
अमेरिकी भू-गर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्व र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको थियो ।