सात जिल्लाबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कैलाली, नवलपरासी पश्चिम, मोरङ, कञ्चनपुर, सुनसरी, पर्सा र चितवनबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

कैलालीको भजनी नगरपालिका–३ बाट २८ वर्षीय हरिप्रसाद डगौरा ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । यस्तै, धनगढी उपमहानगरपालिका–७ बाट ७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१० बाट २३ वर्षीय सन्दीप चौधरी २८८ ट्याब्लेट स्पास्मो, १७० ट्याब्लेट नाइट्रोजन, २४० ग्राम गाँजा र २४ हजार १५० रुपैयाँसहित पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट २७ वर्षीय समिर राई ३८० ट्याब्लेट ट्रामाडोल र ३७० ट्याब्लेट स्पास्पेनसहित पक्राउ परेका छन् ।

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बाट १९ वर्षीय कुशल विष्ट ४५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।

सुनसरीको धरानबाट २६ वर्षीय उत्तम राईसहित दुई जना ३६० ट्याब्लेट ट्रामाडोल र ३६२ ट्याब्लेट स्पास्पेनसहित पक्राउ परेका छन् । पर्साको वीरगन्जबाट २१ वर्षीय गणेश साह कलवार दुई ग्राम ३८० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।

यस्तै, चितवनको रत्ननगरबाट २२ वर्षीय अभिजित नेपाल १५० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । 

Share News