विकासन्युज

मतदान गरेपछि मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले भने- देशले निकास पाओस्

काठमाडौं । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जन अपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौंको पुरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि उनले जनताको दैनिक जीवन र सुख दुःखमा सरकारले ध्यान दिनुपर्ने बताए । पूर्वअध्यक्ष रेग्मीले भने, ‘मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरूको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुख दुःखमा ध्यान देओस् भन्ने जन अपेक्षा पूरा होस् ।’

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौंका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए । निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनको भनाइ छ । प्रजीअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ ।

कांग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए । ‘संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो,’ उनले भने ।  उनका अनुसार निर्वाचन हुने नहुने द्विविधाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार हुन् । 

कर्मचारीले मतदान गर्न नपाए ३ लाख बढी मत समानुपातिकमा खेर जाने

काठमाडौं । आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरूको हकमा भने उनीहरूले आफू खटिएको सम्बन्धित बुथबाटै समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ । मतदानमा खटिएका तथा ड्युटीमा खटिएका निजामती कर्मचारी, प्रहरी, सेना लगायतले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचय पत्र देखाएर समानुपातिकमा मतदान गर्न पाउँछन् । यद्यपि आफूहरूले मतदान गर्न नपाएको भनेर कर्मचारीहरूले गुनासो गरिरहेका छन् । मतदान अधिकृतले मतदान गर्न दिन रोकेको भनी कर्मचारीहरूले गुनासाे गरेका छन् । कर्मचारीहरूलाई मतदान केन्द्रमा नाम नभएकाले मतदान गर्न पाउँदैन भनेर रोकिरहेको एक प्रहरी अधिकृतले बताए । यदि उनीहरूले मतदान गर्न पाएनन् भने ३ लाख भन्दा बढी मत समानुपातिकमा खेर जाने देखिन्छ । यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सहजीकरण गरिरहेको बताए ।यद्यपि यो विशेष आयोगसम्म आउनु नपर्ने र मुख्य निर्वाचन अधिकृतले हरेक जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए । उनले भने, ‘यो अस्थायी नामावली तयार गर्ने सम्बन्धित जिल्लाले मिलाउने विषय हो । काठमाडौंमा अलिअलि केही कुरा आएकाे छ । हाम्रा साथीहरूले सहजीकरण गर्दै हुनुहुन्छ । नामावली अद्यावधिक गर्ने बेलामा केहीको छुटेको हो कि भन्ने कुरा हामीले पनि थाहा पाएका छौँ । साथीहरू सहजीकरणमा जुटिरहनु भएको छ ।’ उनले सबैले मतदान नै गर्न पाउने कुराको निश्चित भने नभएको संकेत गरे । भट्टराईले भने, ‘के छ स्टाटस यताबाट हुन सक्ने जति सहयोग भएकाे छ । वास्तवमा यो आयोगमा आउन नपर्ने विषय हो जिल्लाबाट मुख्य निर्वाचन अधिकृतहरूलाई प्रमाणित गर्ने अधिकार दिइएको छ । यहाँ केही छुटेको भन्ने भएकाले गर्ने उहाँहरूले हो, आयोगले नीतिगत सहजीकरण गर्ने हो ।’

प्रधानमन्त्री सुशीला कार्कीले खसालिन् मत, भनिन्- म अत्यन्त खुसी छु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् ।  तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।’

पूर्वराष्ट्रपति भण्डारीले गरिन् मतदान, भनिन्- लोकतन्त्रका लागि जनमत लिइनु सकारात्मक

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।  मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक रुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् । 

पूर्वअर्थमन्त्री प्रकाश शरण महतले मतदान गरे

काठमाडौं । प्रकाश शरण महतले बिहीबार नुवाकोट जिल्लाबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महतले पञ्चकन्या-२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। पूर्व अर्थमन्त्री समेत रहेका उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेको बताए । उनले मतदान केवल अधिकार मात्र नभई लोकतन्त्रप्रतिको कर्तव्य पनि भएको उल्लेख गर्दै सचेत नागरिकका रूपमा सबैलाई मतदान गरेर आफ्नो आवाज व्यक्त गर्न आग्रह गरे ।

कुवेतमा इरानी ड्रोन आक्रमणबाट अमेरिकी ६ सैनिकको निधन

काठमाडौं । कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो। सैनिकहरूको परिवारका अनुसार भवन कन्टेनर शैलीको थियो र त्यहाँ पर्याप्त सुरक्षा व्यवस्था थिएन । आक्रमण भएको स्थान वरिपरि तेल ट्याङ्क, रिफाइनरी र पावर प्लान्ट रहेको बताइएको छ । पेन्टागनका अनुसार आक्रमण ड्रोनबाट भएको हो र अमेरिकी रक्षा सचिवले एयर डिफेन्सले सम्पूर्ण सुरक्षा गर्न नसकेको बताए ।  यसअघि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा प्रतिकारात्मक हवाई आक्रमण गरेको छ। यस घटनाले अमेरिकी सेनाको सुरक्षाबारे चिन्ता बढाएको छ।