काठमाडौं । मलयालम फिल्मका सुपरस्टार मोहनलाललाई अस्ट्रेलियाले भिसा नदिएपछि सिड्नीमा आयोजना हुने भनिएको स्टेज कार्यक्रम नै रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिंगापुरबाट रेकर्ड गरिएको भिडियो सन्देशमार्फत उनले कार्यक्रममा सहभागी हुन नसकेकोमा दुःख व्यक्त गर्दै घटनाका लागि कसैलाई दोष दिन नचाहेको बताए ।
‘मेरो जीवनमा पहिलोपटक मैले भिसा पाइनँ । यस्तो कसरी भयो भन्ने मलाई थाहा छैन । यो प्राविधिक वा कागजी त्रुटि हुन सक्छ अथवा एआईबाट उत्पन्न भएको समस्या पनि हुन सक्छ,’ उनले भने ।
उनले आफू फिल्म उद्योगमा प्रवेश गरेको करिब ५० वर्ष भइसकेको उल्लेख गर्दै यस वर्ष अमेरिका, जर्मनी, बेलायत र आयरल्यान्डमा विभिन्न कार्यक्रममा प्रस्तुति दिएको बताए ।
सिड्नीको कार्यक्रम पनि राम्रो अवधारणासहित आयोजना गरिएको उनको भनाइ थियो ।
गायिका केएस चित्रासहित आफ्नो टोलीका अन्य सदस्य सिड्नी पुगिसकेको जानकारी दिँदै मोहनलालले कार्यक्रम सफल बनाउन आयोजक र आफ्नो टोलीले सक्दो प्रयास गरेको बताए ।
कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट यात्रा गरेर आएका दर्शकसँग माफी माग्दै उनले भने, ‘यो कार्यक्रम हेर्न टाढाबाट यात्रा गरेर आउनुभएका प्रत्येक व्यक्तिसँग म हृदयदेखि माफी माग्छु ।’
मोहनलालले आगामी दिनमा सोही टोलीसहित सिड्नी फर्किएर भव्य कार्यक्रम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।