नेप्सेमा झिनो सुधार, ४ अर्ब ११ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको छ ।

मंगलबार बजारमा कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार अवधिमा ९५ लाख ३४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।

कुल ३४० कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२२ कम्पनीको सेयर मूल्य घट्दा २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर (एसओएचएल) शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, रिडी पावर कम्पनी (आरआईडीआई) को ३३ करोड ६७ लाख रुपैयाँ, न्यादी हाइड्रोपावरको १७ करोड ८६ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको १३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार युनाइटेड हाइड्रोपावर लिमिटेड (यूएलएचसी) का लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४३६.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आरबीबीडी २०८८ को सेयर मूल्य ५.९२ प्रतिशत, एलयूकेको ५.२७ प्रतिशत, हिमस्टारको ३.७४ प्रतिशत र यूएचईडब्ल्यूएको ३.६० प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेमा ठूलो उतारचढाव देखिएन । परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । दिनभर कुल ५२ हजार ३३ वटा कारोबार भएका छन् ।

Share News