बुढीगण्डकीको बाढीले ४ जलविद्युत आयोजनामा क्षति
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पु‍र्याएको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट कुल ४१२.४१ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको हो । तीमध्ये ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको देखिएको छ ।उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । आयोजनास्थलमा रहेका केही निर्माण उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ । त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पु‍र्याएको छ । उक्त आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिज बाढीले बगाएको छ । बाढीबाट ३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना पनि प्रभावित भएको छ । आयोजनाको बेलिब्रिजमा क्षति पुगेको जनाइएको छ । आयोजनास्थलमा रहेका निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको विवरणमा उल्लेख छ । यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीले आयोजनाको पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुर्याएको हो । सडक र पुलमा भएको क्षतिका कारण आयोजनास्थलसम्मको आवागमन तथा निर्माण कार्य प्रभावित हुनसक्ने देखिएको छ। यद्यपि चारवटै आयोजनामा बाढीले पु‍र्याएको कुल आर्थिक क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन ।
बुढीगण्डकीमा बाढीको जोखिमसँगै स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) सक्रिय गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ । मन्त्रालयले बुढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएकाे छ ।
‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आजदेखि सुरु
काठमाडौं । ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आजदेखि सुरु भएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष पनि ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्न लागेको हाे । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ ‘पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्न लागेको जनाएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले विगत तीन वर्षदेखि निरन्तर रूपमा पक्कु फेस्टिभल आयोजना गर्दै आएको छ । विगतका संस्करणबाट प्राप्त अनुभव, ग्राहक तथा स्वादका पारखीहरूबाट प्राप्त सुझाव र नेपाली मौलिक खानाप्रति बढ्दै गएको आकर्षणले यस अभियानलाई थप परिष्कृत र प्रभावकारी बनाउने प्रेरणा दिएको आयोजकले जनाएको छ । देखि असोज २९ गतेसम्म पाँच दिनसम्म प्रेसिडेन्ट बिजनेस ग्रुपका विभिन्न आउटलेटहरूमा पक्कुका साथै विविध परिकार प्रस्तुत गरिनेछन् । काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित आउटलेटहरूमा पक्कुको मौलिक स्वाद, परम्परागत पाकविधि र नेपाली आतिथ्यताको विशेष अनुभव प्रदान गर्ने तयारी गरिएको छ । यस अभियानलाई काठमाडौंमा मात्र सीमित नराखी लुम्बिनी प्रदेशबाट समेत नेपाली मौलिक स्वादको प्रवद्र्धन गर्ने उद्देश्यले भैरहवामा आयोजना हुने फुड फेस्टिभलमा प्रेसिडेन्टको पक्कुलाई प्रस्तुत तथा प्रवद्र्धन गरिँदैछ । यसले नेपाली मौलिक खानालाई विभिन्न भूगोल, समुदाय र पर्यटकीय गन्तव्यसँग जोड्दै यसको पहिचानलाई व्यापक बनाउने हाम्रो प्रयासलाई थप गति दिनेछ । पक्कुलाई एउटा परिकारका रूपमा मात्र होइन, नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्ने उद्देश्य आयोजनको छ । प्रेसिडेन्ट बिजनेस ग्रुप विगत दुई दशकदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा निरन्तर सक्रिय रहँदै आएको स्थापित व्यावसायिक समूह हो । यस अवधिमा हामीले खाना, सेवा, गुणस्तर, स्वच्छता र आतिथ्यतालाई आफ्नो व्यावसायिक यात्राको मूल आधार बनाउँदै आएका छन् । ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मूल मान्यताका साथ प्रेसिडेन्टले आफ्नै व्यावसायिक पहिचान, सेवा संस्कार र ग्राहकको विश्वास निर्माण गर्ने प्रयास गर्दै आएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपले आगामी दिनमा आफ्नो व्यावसायिक सञ्जाललाई थप विस्तार गर्ने तयारी गरिरहेको छ । रुपन्देहीको बुटवल तथा काठमाडौंको बुढानीलकण्ठबाट समेत नयाँ आउटलेटहरू सञ्चालनमा ल्याउने हाम्रो योजना रहेको आयोजकले जनाएको छ । यी नयाँ गन्तव्यले स्थानीय बजारमा गुणस्तरीय सेवा तथा आतिथ्यताको पहुँच विस्तार गर्नुका साथै थप रोजगारीका अवसर सिर्जना गर्न योगदान पु¥याउने अपेक्षा आयोजकको छ । हाल प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटहरूमा ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।
टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ जना कर्मचारी सुरक्षित
काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बुढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पु‍र्याएको छ । बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगेका छन् । स्थानीयले बाढी आउन लागेको सूचना दिएपछि आयोजनामा कार्यरत १८ जना कर्मचारी सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ । यसैबीच, सेनाको टोलीले ६ जनालाई हवाई उद्धार गरिसकेको जनाएको छ । घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धार तथा राहत कार्यमा परिचालित भएका छन् ।
तस्बिरमा हेर्नुहोस् बुढीगण्डकी बाढी
काठमाडौं । बूढीगण्डकी नदीमा बाढीका कारण गोरखाका विभिन्न गाउँपालिकाहरूमा ठूलो भौतिक क्षति पुगेको छ । बाढीका कारण चार जना मानिस पनि वेपत्ता भएको बताइएको छ । बाढीले सडक सञ्जाल जोड्ने पक्की पुल, झोलुङ्गे पुल, निर्माणाधीन जलविद्युत् आयोजना र स्थानीय बस्तीहरू बगाउँदा जनजीवन प्रभावित बनेको छ । बाढीका कारण गोरखा र धादिङबीचको मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । तस्बिरहरू : मनास्लु संरक्षण क्षेत्र परियोजना
पर्यटक बाढीमा फँसेको आशंका, उद्धारका लागि ४ हेलिकप्टर खटाइयो
काठमाडौं । चुमनुब्री गाउँपालिकाले बुढीगण्डकीमा आएको बाढीका कारण पर्यटक फसेको हुनसक्ने बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार मनास्लु ट्रेकिङ रुटमा रहेका पर्यटक फसेको आशंका गरिएको जानकारी दिए । उद्धारका लागि भने यतिबेला उक्त क्षेत्रमा ४ हेलिकप्टर खटाइएको उनले बताए । ‘३–४ ठाउँमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । मनास्लु, लार्केतिर जानु भएका पर्यटकहरू पनि फस्नुभएको छ । मानवीय क्षति यति नै भन्ने यकिन छैन,’ उनले भने । उक्त क्षेत्र हुँदै दैनिक ढेडसयसम्मको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनास्लु ट्रेकिङका लागि जाने गर्थे । यतिबेला केही सुरक्षित रहेको खबर आएपनि बाटोमै रहेका केही बाढीमा परेको हुनसक्ने उनले बताए । ‘बाटोमा जाँदै गरेका के-कति परेका छन् त्यसको खोजी हुँदै छ । बाढी आएको क्षेत्र हुँदै दैनिक सय/डेढसय जना जति पर्यटक सधैं मनास्लु, लार्के जाने हो,’ उनले भने ।
बुढीगण्डकी बाढी : जोखिममा रहेको आरुघाट अस्पतालका बिरामीलाई अन्यत्र सारियो
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ । बाढीको पहिलो र दोस्रो लहरपछि नदी आसपासका बस्तीमा जोखिम बढेसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई आज बिहानैदेखि सुरक्षित स्थानमा सार्न थालिएको हो । अस्पतालका सबै कर्मचारीलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गोरखा अस्पतालका निमित्त मेसु डा. शम्भु अधिकारीले जानकारी दिए । बाढीले विभिन्न स्थानमा पुल बगाउनुका साथै घर तथा संरचनामा क्षति पुर्याएको छ । बाढीका कारण केही बस्ती जोखिममा परेका छन् भने गोरखा र धादिङ जोड्ने सडकसमेत अवरुद्ध भएको छ । प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा क्षति पुगेको छ । धार्चे गाउँपालिका–३ सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा परेका छन् । पछिल्लो विवरणअनुसार सोही स्थानमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घरसमेत बाढीले बगाएको छ । यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ अन्तर्गत मान्वु जोड्ने सोतीमा रहेको फलामे मोटरेबल पक्की पुल पनि बाढीले बगाएको छ । आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बाढीले बगाएर क्षति पुर्याएको छ । पुलमा क्षति पुगेपछि उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । उद्धार तथा बाढी अनुगमनसम्बन्धी विवरणअनुसार बिहान ८ बजे बाढी आरुघाट पुगेको थियो भने बिहान ८ बजेर ५५ मिनेटमा घ्यालचोक पुगेको थियो । बाढीबाट भएको क्षतिको थप विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र अनुगमनको काम भइरहेको छ । मानवीय क्षति तथा विस्थापितको संख्याबारे भने अहिलेसम्म केही जानकारी नआएको डा. अधिकारीले जानकारी दिए ।
खानामा किरा परेको उजुरीपछि मन्त्र थकालीलाई साढे २ लाख जरिवाना
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीमा भान्साको सरसफाइमा लापरबाही गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । खाद्यान्नमा किरा परेको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणमा भान्सामा विभिन्न कैफियत भेटिएको हो । अनुगमनका क्रममा ग्रिन तारा हस्पिटालिटी प्रालिद्वारा सञ्चालित उक्त रेस्टुरेन्टको भान्सामा साङ्ला र भुसुना देखिनुका साथै पकाइएका खाद्य पदार्थ खुला राखिएको पाइएको थियो । फ्रिज तथा भान्सामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको र ड्रेनेज तथा खुला डस्टबिनको सरसफाइमा समेत लापरबाही भएको टोलीले जनाएको छ । त्यस्तै, फ्राइ गरिएको आलु पत्रिकामा बेरेर राखिएको पाइएको थियो । अस्वस्थकर अवस्थामा राखिएको करिब एक किलोग्राम फ्राइ आलु अनुगमन टोलीले नष्ट गरेको छ । कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो । टोलीले किट नियन्त्रणको प्रभावकारी व्यवस्था गर्न, भान्साको सरसफाइमा ध्यान दिन, खाद्य पदार्थ छोपेर राख्न र मसी लागेका कागजमा खाद्य वस्तु राख्ने अभ्यास पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । अनुगमन टोलीले देखिएका सबै कैफियत सात दिनभित्र सुधार गरी त्यसको प्रमाणसहित विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको छ । तोकिएको अवधिमा सुधार नगरे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले जनाएको छ ।