बाढीपहिरोले ५ राजमार्ग प्रभावित, यी सडकमा एकतर्फी यातायात सञ्चालन
काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साढे ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ । प्रहरीको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध छ । भदौ १० गतेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छैन । धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित खत्रीपौवामा पहिरोका कारण त्रिभुवन राजपथ प्रभावित भएको छ । असोज २१ गतेदेखि अवरुद्ध उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि बाढीपहिरोले सडक आवागमन प्रभावित बनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरको उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन भए पनि ठूला सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था रहेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै, मनाङमा बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको छ । उक्त सडकखण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय काठमाडौंको कमलादीस्थित अमिर भवनबाट आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गर्ने भएको छ । कम्पनीले आज आइतबार (असोज २५ गते) देखि नयाँ भवनबाट नियमित सेवा प्रवाह हुने जनाएको छ । काठमाडौं महानगरपालिका-२८, कमलादीमा रहेको कम्पनीको नवनिर्मित भवनबाट केन्द्रीय कार्यालयको कामकाज सञ्चालन हुने कम्पनीले स्पष्ट पारेको छ । यसअघि कम्पनीको केन्द्रीय कार्यालय सोही क्षेत्रमा रहेको अमिर भवनबाट सञ्चालन हुँदै आएको थियो । कार्यालय स्थानान्तरणसँगै सेवाग्राहीले अब कमलादीस्थित कम्पनीको आफ्नै भवनमा पुगेर सेवा लिन सक्नेछन् ।
बूढीगण्डकीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी
काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणकाका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ । त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क रहन सूचना पठाइसकेको छ । महाशाखाकाका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ । त्यसैले आरुघाटसम्मका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको हाे । गोरखाको चुमनुम्ब्री गाउँपालिका-६ स्थित चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकी नदीमा मिसिएको हो । बूढीगण्डकी नदी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्छ । बाढी आउनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नरहेको प्राधिकरणले जनाएको छ । कतै पहिरो गएर नदीको बहाव रोकिएको र पछि अवरोध हट्दा वा बाँध फुट्दा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
बडादशैं आजदेखि सुरु, बिहान ११:४७ बजे घटस्थापनाको साइत
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंआजदेखि विधिवत् रूपमा सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म मनाइन्छ। बडादशैंको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिँदै छ । घटस्थापनाका दिन पूजा कोठा वा दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आराधना गरिन्छ । बिहान नित्यकर्म सकेर नदी वा चोखो स्थानबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको स्थानमा राखेर त्यसमाथि जौं रोप्ने चलन छ । यसलाई जमरा राख्ने भनिन्छ । जौंको अङ्कुरलाई दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। घटस्थापनाका दिन रोपिएको जमरा विजयादशमीमा टीका र प्रसादसँगै ग्रहण गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने धार्मिक परम्परा छ । धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार जमरामा जौंबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन । यद्यपि, कुल परम्पराअनुसार कतिपयले जौंसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ । आज विधिपूर्वक घट अर्थात् कलश स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलले विजयादशमीका दिन अभिषेक गरी देवीको प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ११:४७ बजे रहेको छ । समितिका अनुसार आज दिनभर चित्रा नक्षत्र रहने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको हो । सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको हाे । नवरात्रभर दुर्गा देवीका तीन स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको आह्वान गरी पूजा आराधना गरिन्छ । धार्मिक मान्यताअनुसार महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गरिन्छ । दुर्गा पक्षका अवसरमा आसुरी प्रवृत्तिका प्रतीक मानिएका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायत राक्षसको वध गर्न देवीले धारण गरेका नौ स्वरूपको विशेष पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको अवधिलाई दुर्गा पक्ष भनिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ । दुर्गा पूजा र दसैँ कुनै जाति वा धर्मविशेषमा सीमित पर्व होइन। यसलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने धार्मिक परम्परा छ । घटस्थापनादेखि महानवमीसम्म प्रत्येक दिन फरक-फरक गरी नौ कन्याको पूजा गर्ने चलन पनि छ। शास्त्रीय विधानअनुसार पूजा गरिने कन्या दुई वर्षभन्दा माथिका हुनुपर्छ । बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन दसैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ। बलि दिने परम्परा भएका स्थानमा धार्मिक विधिअनुसार बलिसहित पूजा गर्ने चलन छ । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र र स्तुतिको पाठपारायण गरिन्छ । यस अवधिमा काठमाडौंका नक्साल भगवती र शोभा भगवती, नालाको भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका रूपमा चिनिने दसैँ नौ रात र १० दिनको हुन्छ। घटस्थापनाका दिन आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन विसर्जन गरेर मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ । उक्त दिन देवी विसर्जनको साइत बिहान ८:४९ बजे र टीका प्रसाद ग्रहणका लागि बिहान १०:२६ बजेको साइत निर्धारण गरिएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रातभर जाग्राम रहेर पूजा गर्ने परम्परा छ । यस दिन जाग्राम बस्नेलाई लक्ष्मीले धनधान्य र ऐश्वर्य प्रदान गर्ने धार्मिक विश्वास छ । घटस्थापनाका दिन राखिएको जमरा कोजाग्रत पूर्णिमाका दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।
महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन् : सचिव बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दसैँ, तिहार, छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महँगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ । अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यस वर्ष महँगीका कारण चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ । उनले भने, ‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरू बिर्सिसकेका छन् । आज जनताहरू यति धेरै आतंकित छन् कि अब हामीलाई आतंकमुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोका जनताका मागका मुद्दाहरू नै डाइभर्ट भएको स्थिति छ ।' उनले पछिल्लो समय जनता आतंकित बनेको बताए । सरकारको रवैयाका कारण जनताले शान्ति सुरक्षा, विकास र समृद्धिका कुरा नै बिर्सिसकेको उनको दाबी छ ।
इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गरेका छन् । पार्टीको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत कार्यशैली बदलेर आजैदेखि कांग्रेसको रूपान्तरण सुरु हुने बताएका हुन् । सभापति थापाले कांग्रेसको गौरवशाली इतिहास भए पनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको स्पष्ट पारे । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उनको भनाइ छ । सभापति थापाले कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरे । उनले भने, ‘नेपाली कांग्रेसको गौरवशाली इतिहास छ । तर हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ । हामी यस्तो कांग्रेस बनाउनेछौँ, जसलाई किसानले आफ्नो आवाज उठाउने पार्टीका रूपमा, उद्यमीले गुमेको अवसर फर्काउने पार्टीका रूपमा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो परिवारको भरोसाका रूपमा चिनून् ।’ उनले पार्टीको पुनःसंरचना र नागरिकको भरोसा पुनःआर्जन केवल मौखिक भाषणबाट सम्भव नहुने यथार्थ औँल्याए । पार्टीपंक्तिलाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिँदै उनले कर्ममार्फत परिणाम देखाउनुपर्नेमा विशेष जोड दिए । कांग्रेसलाई आम नागरिकको भरोसाको केन्द्र बनाउन पार्टी सञ्चालनका हरेक कार्यपद्धतिमा आजैदेखि आमूल परिवर्तन सुरु हुने दाबी गर्दै थापाले १५औँ महाधिवेशनले दिएको म्यान्डेट मुलुक र जनताको हितमा पूर्ण रूपमा उपयोग गरिने प्रतिबद्धता जनाए ।
एमाले महासचिव शंकर पोखरेलको आरोप– सरकार उल्टो बाटोमा हिँड्यो
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाएका हुन् । निर्वाचनबाट दुई तिहाइको सरकार बनेको भए पनि सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उनले बताए । सरकार गठन भएको छ महिनामै सुशासन र सेवा प्रवाह सुधारका प्रतिबद्धताबाट पछि हट्न थालेको उनको आरोप छ । वर्तमान सत्तारूढ दलले चुनावका बेला सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको भए पनि अहिले ती प्रतिबद्धता कार्यान्वयन गर्नुको सट्टा उल्टो दिशामा अघि बढेको उनले दाबी गरे । सरकारले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्ने भने पनि यसअघि नै अनलाइनमा गइसकेका कतिपय सेवा पुनः कागजी प्रक्रियामा फर्काएको उनको भनाइ छ । विशेषगरी विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीलाई पुनः कागजी प्रक्रियामा लैजाने तयारी गरिएको उनले बताए । ई–बिडिङ प्रणालीलाई कागजी प्रक्रियामा फर्काएर सरकारले ठेक्कापट्टामा शक्तिशाली समूहको हस्तक्षेप र अनियमिततालाई प्रोत्साहन गर्न खोजेको उनले आरोप लगाए । विगतमा ठेक्कापट्टामा पहुँच र शक्तिका आधारमा प्रतिस्पर्धीलाई बोलपत्र दर्ता गर्नसमेत रोक्ने प्रवृत्ति नियन्त्रण गर्न विद्युतीय प्रणाली लागू गरिएको उनले बताए । उनले भने, ‘निर्वाचनबाट बनेको सरकार छ । सरकार पक्षधरहरूको संसद्मा झन्डै दुई तिहाइको समर्थन छ, उपस्थिति छ । तर सरकार जुन बाटो हिँड्न लागिरहेको छ, त्यो बाटो राजनीतिक स्थायित्वका दृष्टिकोणले पनि मान्छे आश्वस्त हुन सकेको छैन ।' उनले सरकारले लोकतन्त्रमा नागरिकलाई सङ्गठित हुने अधिकारसमेत कुण्ठित गर्न खोजेको आरोप लगाए । विश्वविद्यालय र कलेजमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने तथा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीलाई समेत गतिविधि गर्न नदिने काम सरकारबाट भएको उनको भनाइ छ ।
दिल्लीमा चर्कियो आन्दोलन
काठमाडौं । दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसहित विपक्षी नेता, कार्यकर्ता, वकिल र पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले मतदाता सूचीमा अनियमितता र ‘भोट चोरी’को आरोप उठाउँदै निर्वाचन आयोगको जवाफदेहिता मागेका छन् । शनिबार दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो । तर, प्रदर्शनकारीलाई त्यहाँ पुग्न नदिन प्रहरीले विभिन्न स्थानमा अवरोध खडा गरेपछि राजधानीका फरक–फरक क्षेत्रमा विरोध प्रदर्शन भएका छन् । प्रहरीले विमानस्थलदेखि सडक, गुरुद्वारा आसपास र अदालत क्षेत्रसम्म निगरानी बढाएको समाचारमा उल्लेख छ । प्रदर्शनको आह्वान गरेको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, सहसंयोजक सौरव दास र आशुतोष रांकालाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ । उनीहरू मुम्बईबाट दिल्ली पुगेका थिए । सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । पार्टीका शीर्ष नेताहरू पक्राउ परेपछि प्रदर्शनको नेतृत्व गर्ने जिम्मेवारी अजिंक्य शिन्देलाई दिइएको पार्टीले जनाएको छ । प्रदर्शनकारीलाई रोक्न प्रहरीले गरेको कारबाही र विपक्षी नेताहरूको प्रतिक्रियाले दिल्लीमा राजनीतिक तनाव बढाएको छ । विपक्षी नेताहरूले सरकारमाथि लोकतान्त्रिक अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् भने भारतीय जनता पार्टी (भाजपा) ले प्रदर्शनलाई देशमा अस्थिरता सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ । ‘मोदीको तानाशाहीसँग डराउँदैनौं’ प्रहरीले नियन्त्रणमा लिएपछि आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले भिडियो सार्वजनिक गर्दै सरकारको आलोचना गरेका छन् । उनले युवा जागिसकेको र कथित मत चोरीलाई अब सहन नसकिने बताएका छन् । ‘देशका युवा जागिसकेका छन् । हामी मोदीजीको तानाशाहीसँग डराउने छैनौं । अब ज्ञानेश कुमारले राजीनामा दिनैपर्छ,’ केजरीवालले भिडियोमा भनेका छन् । केजरीवाल पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ अघि बढिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसँगै राज्यसभाका सांसद सञ्जय सिंह पनि देखिएका थिए । नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै प्रहरीले पार्टीका राष्ट्रिय संयोजक केजरीवालसँग धक्कामुक्की गरेको आरोप लगाएका छन् । यसअघि कांग्रेस नेता राहुल गान्धीले पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरेका थिए । उनले संसद्को केन्द्रीय कक्षमा दिएको भाषणको भिडियो सार्वजनिक गर्दै ज्ञानेश कुमार पदबाट जाने र त्यसपछि लोकतन्त्रको पुनर्निर्माण सुरु हुने बताएका छन् । ममता बनर्जी पनि प्रहरी नियन्त्रणमा भारतीय सञ्चार माध्यमका अनुसार पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । ममता बनर्जीसहित पाँच जनालाई साउथ एभिन्युस्थित उनको निवासबाहिरबाट दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई कहाँ लगिएको हो भन्ने जानकारी खुल्न सकेको छैन । समाचार एजेन्सी पीटीआईका अनुसार ममता बनर्जी र तृणमूल कांग्रेसका अन्य नेताहरूले साउथ एभिन्युस्थित बस बिसौनीमा धर्ना दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिनुअघि ममता बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर अनुमति नपाएको बताएकी थिइन् । उनले दिल्लीको अवस्थालाई संकटकालको समयभन्दा पनि खराब भएको टिप्पणी गरेकी थिइन् । जन्तरमन्तरमा पुगेर प्रदर्शन गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले दिल्लीको गुरुद्वारा बंगला साहिबनजिकै रोकेको थियो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेको र धेरैलाई नियन्त्रणमा लिएको प्रदर्शनकारीले आरोप लगाएका छन् । प्रदर्शनमा सहभागी हुन शुक्रबारदेखि दिल्ली आइपुगेका मानिसहरू गुरुद्वारामा बसेका थिए । प्रदर्शनकारीका अनुसार शनिबार बिहानसम्म त्यहाँ करिब ६०० जना थिए । तीमध्ये करिब ३०० जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको दाबी छ । हैदराबादबाट आएका सफ्टवेयर इन्जिनियर अजय जिंगाडेले बिहानैदेखि प्रदर्शनकारीले जन्तरमन्तरतर्फ जाने प्रयास गरे पनि ठूलो संख्यामा खटिएको प्रहरीले रोकेको उल्लेख गरेका छन् । उनका अनुसार प्रदर्शनकारीमाथि लाठीचार्ज गरिएको थियो । आन्ध्र प्रदेशको वारंगलबाट आएका सीजेपी सदस्य चेतन प्रमोदले प्रहरी गुरुद्वाराको गेट नम्बर ३ बाट प्रवेश गरी प्रदर्शनकारीलाई जबर्जस्ती बाहिर निकाल्न खोजेको आरोप लगाएका छन् । शान्तिपूर्ण रूपमा बसिरहेका मानिसलाई समेत नियन्त्रणमा लिन खोजिएको उनको दाबी थियो । गुरुद्वारा आसपास दिल्ली प्रहरी, सीआरपीएफ र ¥यापिड एक्सन फोर्सका सुरक्षाकर्मी परिचालन गरिएका थिए । सडकमा अवरोधक राखिएका थिए भने दंगा नियन्त्रणका सवारीसाधनसमेत तैनाथ गरिएको समाचारमा उल्लेख छ । जन्तरमन्तरको सट्टा दिल्ली हाटमा प्रदर्शन प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न कठिन भएपछि सामाजिक अभियन्ता तथा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोराले दिल्ली हाटमा भेला हुन आह्वान गरेकी थिइन् । उनले सामाजिक सञ्जाल एक्समा ‘आज दिल्ली हाट नै जन्तरमन्तर बनेको छ, त्यहीँ भेटौँ’ भन्ने आशयको सन्देश लेखेकी थिइन् । त्यसपछि उनी दिल्ली हाटमा प्रदर्शन गरिरहेको अवस्थामा देखिएकी थिइन् । उनीसँगै सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण र सामाजिक–राजनीतिक अभियन्ता योगेन्द्र यादव पनि सहभागी भएको समाचारमा उल्लेख छ । सीजेपीले पनि आफ्ना समर्थकलाई जन्तरमन्तर पुग्न आग्रह गर्दै भिडियो सार्वजनिक गरेको थियो । पार्टीका नयाँ नामित नेता अजिंक्य शिन्देले प्रहरीले जहाँ रोके पनि त्यही ठाउँलाई जन्तरमन्तर बनाएर विरोध गर्नुपर्ने बताएका थिए । सर्वोच्च अदालतका वकिलसमेत पक्राउ प्रदर्शनका क्रममा सर्वोच्च अदालत आसपासबाट केही अधिवक्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ । पक्राउ पर्नेमा सर्वोच्च अदालतकी वधिवक्ता अन रेकर्ड सुमिता हजारिका पनि रहेको बताइएको छ । बार एन्ड बेन्चका अनुसार सर्वोच्च अदालत परिसर र वकिलका चेम्बर आसपासबाट कम्तीमा चार जना अधिवक्ता पक्राउ परेका थिए । उनीहरूलाई कहाँ लगिएको हो भन्ने जानकारी नदिइएको समाचारमा उल्लेख छ । पत्रकार र युट्युबर पनि प्रहरी नियन्त्रणमा प्रदर्शनको समाचार संकलनमा खटिएका केही पत्रकारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । न्युजलन्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्ससँग आबद्ध पत्रकारहरू पक्राउ परेका थिए । न्युजलन्ड्रीले सार्वजनिक गरेको वक्तव्यमा पत्रकारले आफूहरू सञ्चारकर्मी भएको जानकारी गराउँदा पनि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र मोबाइल फोनसमेत खोसेको आरोप लगाइएको छ । स्क्रोल डट इनका अनुसार उसको एक पत्रकार जन्तरमन्तरमा नभई आईटीओ क्षेत्रनजिकै रहेका बेला पक्राउ परेका थिए । प्रेस कार्ड देखाएर आफू पत्रकार भएको जानकारी गराउँदासमेत प्रहरीले भ्यानमा राखेर लगेको संस्थाको दाबी छ । नवभारत टाइम्सका सम्पादक आशीष पाण्डेले आफ्नो संस्थाका दुई पत्रकार पक्राउ परेको बताएका छन् । पछि उनले ती पत्रकार रिहा भएको जानकारी दिएका थिए । प्रदर्शनअघि चर्चित युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ । सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई प्रदर्शनकारी वकिलसँग सहभागी हुन जाने क्रममा पक्राउ गरिएको पार्टीका सहसंयोजक सौरव दासले बताएका छन् । दिल्ली विश्वविद्यालय विद्यार्थी संघका पूर्वअध्यक्ष रौनक खत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको थियो । यातायात प्रभावित प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका रेलवे स्टेसन, होटल, प्रमुख सीमा नाका र संवेदनशील क्षेत्रमा निगरानी बढाइएको थियो। फिरोज शाह रोड, मण्डी हाउस र दिल्ली–नोएडा सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ । दिल्लीका दक्षिणी जिल्ला प्रहरी प्रमुख अनन्त मित्तलले प्रदर्शनको आह्वानलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाइएको बताएका थिए । उनका अनुसार विभिन्न सीमा क्षेत्रमा करिब १२ वटा प्रहरी चेकपोस्ट स्थापना गरिएका थिए । कांग्रेस सांसद शशि थरुरले भने सुरक्षा व्यवस्थाको आलोचना गरेका छन्। उनले राजधानीमा प्रहरी र अर्धसैनिक बलको तैनाथी युद्धकालीन अवस्थाजस्तै देखिएको टिप्पणी गरेका छन् । थरुरले सामाजिक सञ्जालमा लेख्दै दिल्लीमा २२ हजार प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको, २५० रेल रद्द गरिएको र मेट्रोका ४५ स्टेसन बन्द गरिएको दाबी गरेका छन् । यसैबीच, दिल्ली मेट्रोका केही स्टेसन बन्द गरिएको र रेल सेवा रद्द गरिएको विषयमा सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गरिएको समाचारमा उल्लेख छ । निवेदनमा सम्बन्धित अधिकारीहरूले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्नेसम्बन्धी अदालतको निर्देशन उल्लंघन गरेको आरोप लगाइएको छ । भाजपा भन्छ- देश अस्थिर बनाउने प्रयास सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले सीजेपीको प्रदर्शनलाई देशमा अस्थिरता सिर्जना गर्ने प्रयास भनेका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहुल गान्धी नेतृत्वको विपक्षी गठबन्धन र अरविन्द केजरीवालसँग निकट सीजेपीका गतिविधिले देशमा अशान्ति निम्त्याउन खोजेको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतलाई भयको वातावरणबाट बाहिर निकालिएको दाबी गर्दै देशलाई अस्थिर बनाउने प्रयास सफल हुन नदिने बताएका थिए । भाजपाको यो प्रतिक्रियाले निर्वाचन आयोगको निष्पक्षतामाथि उठाइएको प्रश्न र त्यसविरुद्ध भइरहेको प्रदर्शनलाई लिएर सत्तापक्ष र विपक्षबीचको राजनीतिक टकराव थप चर्किएको संकेत गरेको छ । निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न दिल्लीमा भएको प्रदर्शनको केन्द्रमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग छ । प्रदर्शनकारीले मतदाता सूचीमा कथित अनियमितता र भोट चोरीका आरोप उठाउँदै निर्वाचन आयोगसँग जवाफ मागेका छन् । राहुल गान्धी र केजरीवालले ज्ञानेश कुमारको राजीनामाको माग दोहो¥याएका छन् । केजरीवालले सरकारमाथि लोकतान्त्रिक अधिकार कुण्ठित गरेको आरोप लगाएका छन् भने कांग्रेस सांसद थरुरले नागरिकलाई शान्तिपूर्ण रूपमा प्रश्न उठाउन दिनुपर्ने बताएका छन् ।