चुमनुव्री गाउँपालिकाका अध्यक्ष भन्छन् : ५ गोठाला र १०० चौंरी वेपत्ता भए
काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित चुम्बेको उन्जुल खोलामा आएको बाढीमा परी पाँचजना चौंरी गोठाला बेपत्ता भएका छन् । बाढीमा करिब सयवटा चौंरीसमेत बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पाँच जना चौंरी गोठाला बेपत्ता भएको जानकारी दिएका हुन् । बाढीका कारण पशुचौपायासमेत हराएकाले क्षतिको विवरण संकलन गर्नुपर्ने देखिएको उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भने बाढीबाट ठूलो मानवीय क्षति नभएको हुन सक्ने बताएका छन् । यद्यपि, बेपत्ता गोठालाको अवस्थाबारे यकिन विवरण प्राप्त हुन बाँकी छ । बाढी प्रभावित क्षेत्रमा भएको क्षति र बेपत्ताको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
खोला थुनिएर पानी एक्कासि बगेको हुन सक्ने मौसम विभागको प्रारम्भिक निष्कर्ष
काठमाडौं । गोरखाको बुढीगण्डकी क्षेत्रमा आइतबार बिहान आएको बाढीको मुख्य कारण सामान्य वर्षा मात्र नभई पहिरोले खोला थुनिएर पानी एक्कासि बगेको हुन सक्ने मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ । पछिल्ला दिनमा रेकर्ड गरिएको वर्षाको मात्रा ठूलो बाढी निम्त्याउन पर्याप्त नदेखिएपछि विभागले पहिरोका कारण उत्पन्न विपद्को सम्भावनालाई प्राथमिकतामा राखेर अध्ययन थालेको हो । विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार गोरखाका बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षामापन केन्द्रमा पछिल्ला दिनमा सामान्यदेखि मध्यम मात्राको वर्षा रेकर्ड भएको छ । तर, उक्त वर्षाले मात्रै ठूलो बाढी निम्त्याएको हुन सक्ने अवस्था नदेखिएकाले पहिरोले खोला थुनेर बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको उनले बताइन् । श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा गोरखाका विभिन्न वर्षामापन केन्द्रमा उल्लेख्य वर्षा रेकर्ड भएको छैन । अक्टोबर ६ मा बारपाकमा २१ मिलिमिटर वर्षा भएको थियो भने अक्टोबर १० मा विभिन्न केन्द्रमा ५ देखि २४ मिलिमिटरसम्म वर्षा मापन गरिएको थियो । अक्टोबर ७ मा घ्याच्चुङ तथा अक्टोबर ८ र ९ मा बारपाकमा पनि छोटो अवधिमा वर्षा भएको तथ्यांकले देखाएको छ । ‘प्रारम्भिक विश्लेषणअनुसार पछिल्लो वर्षाले पहिरो निम्त्याएको र पहिरोका कारण खोला थुनिएर बाढी आएको हुन सक्ने सम्भावना छ,’ श्रेष्ठले बताइन् । यद्यपि, बाढीको कारण पहिरो मात्रै भएको निष्कर्षमा पुग्न नसकिने विभागको भनाइ छ । हालैको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपात तथा हिमनदीसम्बन्धी घटनाको सम्भावनालाई पनि नकार्न नसकिने भन्दै विभागले थप अध्ययन आवश्यक रहेको जनाएको छ । विभागका अनुसार गोरखा क्षेत्रमा ठूलो वर्षा नभए पनि जमिन कमजोर अवस्थामा रहेको हुन सक्ने भएकाले सामान्य वर्षाले समेत पहिरोको जोखिम बढाउन सक्छ । हालको मौसम पूर्वानुमानले उक्त क्षेत्रमा ठूलो वर्षा प्रणाली सक्रिय हुने संकेत नदेखाए पनि छिटपुट वर्षाको सम्भावना भने छ । बाढी प्रभावित क्षेत्र र कमजोर भू-भागमा निरन्तर निगरानी तथा सतर्कता आवश्यक रहेको विभागले जनाएको छ । बाढीको वास्तविक कारण पहिचान गर्न पहिरो, खोला थुनिएको अवस्था र उच्च हिमाली क्षेत्रका सम्भावित घटनाबारे थप अध्ययन गरिनेछ ।
बुढीगण्डकीको बाढीकाे जोखिममा परेका ६ जनाको हवाई उद्धार
काठमाडौं । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि पहिरोको जोखिममा रहेका गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उद्धार कार्यका लागि नेपाली सेनाको टोली परिचालन गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट खटिएको छ । काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । बुढीगण्डकी नदीमा आएको बाढीपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । प्रभावित क्षेत्रको अवस्था आकलन गर्दै उद्धार तथा राहत कार्य अघि बढाइएको छ ।
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोलामा कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले उकालो लागेर दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुढीगण्डकी बाढीले पुर्याएको क्षतिप्रति गगन थापाद्वारा दुःख व्यक्त, तत्काल उद्धारमा जुट्न आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन् । थापाले आज बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै बुढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गरेका छन् । विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनको आग्रह छ ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडाैं । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । आज राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।
बूढीगण्डकीको बाढीले ३५ घर र सोती-मान्बु जोड्ने पुल बगायो
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुलसमेत बगाएको छ । आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरो गएको थियो । स्यार खोलामा पहिरोका कारण पानी थुनिएर एक्कासि बाढी आएको र उक्त बाढी बूढीगण्डकी नदीमा मिसिएको प्रारम्भिक विवरण छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुर्याएको छ । आइतबार बिहान करिब ४ बजे बाढी ती गाउँमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको उपाध्यक्ष गुरुङले बताइन् । बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । भौतिक क्षतिको विस्तृत विवरण पनि आउन बाँकी रहेको छ ।
बाढीपहिरोले ५ राजमार्ग प्रभावित, यी सडकमा एकतर्फी यातायात सञ्चालन
काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साढे ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ । प्रहरीको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध छ । भदौ १० गतेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छैन । धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित खत्रीपौवामा पहिरोका कारण त्रिभुवन राजपथ प्रभावित भएको छ । असोज २१ गतेदेखि अवरुद्ध उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि बाढीपहिरोले सडक आवागमन प्रभावित बनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरको उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन भए पनि ठूला सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था रहेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै, मनाङमा बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको छ । उक्त सडकखण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।