काठमाडौं । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि पहिरोको जोखिममा रहेका गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उद्धार कार्यका लागि नेपाली सेनाको टोली परिचालन गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट खटिएको छ । काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
बुढीगण्डकी नदीमा आएको बाढीपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । प्रभावित क्षेत्रको अवस्था आकलन गर्दै उद्धार तथा राहत कार्य अघि बढाइएको छ ।